जीवन न सोचेजस्तो हुँदोरहेछ, न चाहेजस्तो। चाहनु, सोच्नु र पाउनु त फरक–फरक कुरा रहेछ। यी सबै केबल जीवन बिताउने र दिन कटाउने बहाना मात्र रहेछ।
मान्छे भन्ने गर्छन्- सकारात्मक सोचाइको प्रतिफल पनि सकारात्मक नै हुन्छ। अन्तरआत्माको आवाजले त भगवान्को दरबारसमेत ढक्ढकिन्छ। तर, त्यो पनि सायद एउटा भ्रम मात्र रहेछ। नत्र किन पुगेन हाम्रो प्रार्थना? एउटी साथीले मलाई हिजो फोन गरेर भनिन्- हामी फेल भयौँ। हामीले करिब ६ वर्षअगाडि गरेको कामना असफल भयो।
एसिड आतंक नेपालमा भित्रिएको देख्न नचाहने सपनाको महल भत्कियो। नारी सुन्दरता लथालिङ्ग भएको देख्न नचाहने हाम्रो इच्छा हावाको महलसरी भयो। यस्तै-यस्तै गन्थन गरेर उसले फोन राखी।
उसको फोन आउनुभन्दा पहिल्यै वसन्तपुरमा भएको एसिड आतंकको घटनाले म भित्रभित्रै विक्षिप्त भएको थिएँ। त्यो एसिड अनुहार र शरीरमा उम्लिरहँदा सीमा बस्नेत र संगीता मगरलाई कति डाह र पीडा भयो होला भन्ने कल्पनाले मात्र पनि मलाई पोल्यो। मेरा आँखा रसाए।
सायद, जो सुकैको आँखा रसाउँछ, जसले त्यो घटना आफैँमाथि भएको अनुभूत गर्न सक्छ। आफ्नै, छोरी, दिदीबहिनी वा साथीमाथि भएको अनुभूति गर्न सक्छ वा भोलिका दिनमा आफ्नै अनुहार आफैँले चिन्न मुस्किल पर्ने परिस्थितिको महसुस गर्न सक्छ। ती सबैका लागि यो घटना भयानक र दर्दनाक अवश्य हुन्छ। सबैको अन्तरआत्मा रून्छ।
आखिर कसरी भित्रियो यस्तो कुकर्म नेपालमा? कसरी जोगाउने आफ्नो छोरीचेली र उनीहरुको सुन्दरता। सबैका लागि एउटा ठूलो चुनौती विषय बनेर खडा भएको छ।
करिब ६ वर्षअगाडि एसिड चुनौती सामना गर्न नसक्दा बन्दना केसी (नाम परिवर्तन)ले बिदेसिनु परेको थियो। एसिड छर्कने धम्की दिने र पिछा गर्नेबाट छुटाकारा पाउन उनले नचाहँदा नचाहँदै सबै कुरा छोडेर विदेशमा गुमनाम हुन बाध्य भइन्। डाक्टर बन्ने सपना बोकेर साइन्स पढ्दै गरेकी बन्दनालाई आफ्नो प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एउटा केटाले निकै दुःख दिएका थिए।
जनकपुर घर बताउने ती युवकले ‘आफूलाई स्वीकार नगरे, अरुको पनि हुन नदिने’ भन्दै केटाहरूको समूह लिएरै कहिले बाटो छेक्ने, कहिले घरसम्म पछि लाग्ने त कहिले क्याम्पसको गेटमा ढुक्ने गरेर हैरान पारेका थिए।
प्रेम प्रस्ताव अस्वीकार गरे एसिड हालेर अनुहार कुरूप बनाउने धम्की त उनीहरू प्रत्येक दिन दिन्थे। पुलिसलाई बताए, इन्टरनेटमा फोटो राखेर नांगो तस्बिर बनाउनेसमेत धक्की बारम्बार आउँथे। सबैलाई चिन्ता हुन्छ भनेर उसले यो कुरा परिवारसँग पनि भन्न सकिनन्। प्रहरीकहाँ पनि पुग्न सकिनन्। न त साथीहरू भएर पनि हामीले त्यतिबेला केही सहयोग गर्न सक्यौँ। ‘आत्महत्या गर्छु’ भनेर ऊ धेरैचोटि रोएकी थिई। त्यसपछि हामीले विदेश जाने सल्लाह दिएका दिएका थियौँ।
यस्तो धम्कीको शिकार कसैले हुन नपरोस् भनेर कामना गरेका थियौँ। त्यो बीचमा केटाको एसिड आतंकबाट बच्न ‘मन पराउँछु’ भनेजस्तो गर भन्ने सल्लाहसमेत दियौं। ‘मनै नपरेको केटाको प्रेमिका बन्नुभन्दा त जीवनमा फरक लक्ष्य लिएर अघि बढ्नु राम्रो भन्दै उनी सबै सपना असरल्ल छोडेर हिडेँकी थिइन्। यति लामो विदेश बसाइको क्रकमा उनी केबल एकचोटि मात्र नेपाल गएकी छिन्। अझै पनि त्यतिबेला दुःख दिने ती समूहहरू बाटो ढुक्दै एसिड लिएर आउने हो कि भन्ने डर लाग्ने बन्दना बताउँछिन्।
बन्दनाजस्तै एसिड धम्कीले वाक्क भएर बुटवलकी अनु भण्डारी पढाइ छोडेर विदेसिएकी छिन्। ‘आफ्नै देशमा बस्न चाहेर पनि डराएर के बाँच्नु? बरु विदेशमा पर्ने दुःख नै भोगुँला’ भन्ने उनको कुराले मानसिक पीडाको गहिराई बुझ्न मुस्किल पर्छ। तर, अनुमान गर्न सकिन्छ। हुन त हिजोआज राम्री युवतीहरूले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरे एसिड छरेर अनुहार नै बिगादिन्छु भन्ने युवापुस्ता पनि भेटिन्छन्।
यसबाट मानसिक पीडा खेपिरहेका युवतीहरू समाज र परिवारको इज्जतका कारण मूकदर्शक हुन विवश छन्। भित्रभित्रै त्रसित छन्। कतिले आत्महत्याको प्रयाससमेत गर्ने गरेका छन्।
सीमा बस्नेत र संगीता मगरको अहिले के हाल होला? उनीहरूको मानसिक अवस्थाको परिकल्पना गर्नु असम्भव नै छ। उनीहरूमाथि एसिड छ्यापिनुको वास्तविक कारण त थाहा छैन। तर यति पक्कै भन्न सकिन्छ- त्यहाँ अवश्य केही न केही स्वार्थ थियो। कुभाव थियो। प्रतिशोध थियो। कुभावना छताछुल्ल थियो। जुन नपुग्दा यस्तो भयानक घटना गराउने दुस्साहस हुन गयो।
यो घटना संगीता र सीमामाथि नै लक्षित थियो वा अरुको रिस उनीहरूमाथि पोखिए, त्यो पनि अहिलेसम्म रहस्य कै विषय छ। तर, यो एसिड काण्ड नेपालमा घटेको सम्भवतः पहिलो हुनुपर्छ। मिडियामा आएको पहिलो एसिड आतंक हुनुपर्छ।
जुन घटना भारतका विभिन्न सहरमा सधैँजसो नै सुनिन्छ। एकथरी जमातमा प्रेम प्रस्ताव स्वीकार नगर्दा, बिहे गर्न नमान्दा वा अर्कै केटासँग लागेको भन्दै एसिड छरेर सुन्दरता बिगार्ने घटना प्रवृत्ति भारतमा प्रशस्तै पाइन्छ। दाइजोको मामला, पारिवारिक झगडा वा अन्य कारणलाई लिएर पनि यस्तो घटना घट्ने गरेको छ। तर बढी मात्रामा भने प्रेम प्रस्ताव मान्य नहुँदा यस्तो भएको सुन्न पाइन्छ। भारतमा यस्तो घटनाले ठूलै अपराधको रूपमा जरो नै गाडेको पाइन्छ। यसबाट कति युवतीहरूले ज्यान गुमाएका छन् भने कतिले जीवनभर पीडित भएर बाँच्न विवश छन्।
हुने खानेले प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरी गरेर विगत भुल्दै अघि बढ्न प्रयाससमेत गरेका छन्। जुन नाना, दाना र छानाका लागि संघर्षरत हुनुपर्नेहरूका लागि सम्भव छैन। त्यसैले एसिड आतंक हुनबाट समाजलाई जोगाउन जरूरी छ।
वसन्तपुरको घटनाले सीमा र संगीताको परिवार र आफन्तलाई मात्र होइन, समस्त नेपालीलाई झस्काएको छ। स्वदेशदेखि विदेशसम्मका नेपालीबीच यो बहसको विषय बनेको छ। स्वदेशभन्दा विदेश नै ठीक भन्नेहरू पनि बढ्न थालेका छन्। यो एउटा ठूलो अपराध हो। जुन समाजमा फैलियो भने रोक्न असम्भव हुन्छ। जसले समाजलाई अझ विकृत बनाउने छ।
हुनेखानेले प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरी गरेर विगत भुल्दै अघि बढ्न प्रयाससमेत गर्लान्। तर नाना, दाना र छानाका लागि संघर्षरत हुनुपर्नेहरुका लागि यो सम्भव छैन। त्यसैले एसिड आतंक मच्चाउनेहरूको जरै उखेलेर फ्याल्नुपर्छ। सीमा र संगीतामाथि एसिड छर्केनेहरूका लागि यस्तो कानुनी सजाय हुनुपर्छ कि अर्को कुनै व्यक्ति वा समूहले त्यस्तो आतंक मच्चाउने सम्बन्धमा कल्पना गर्नसमेत नसकोस्।
सीमा र संगीताको मनलाई केही हदसम्म सन्तोष मिलोस्। त्यसका लागि सम्बन्धित निकाय संवेदनशील र चनाखो हुन आवश्यक छ। गल्ती गर्नेले सजाय भोग्नै पर्छ भन्ने संस्कारको विकास हुन जरुरी छ।
- लेखिका अमेरिकामा बस्छिन्।