‘सुत्केरी बेथाले छटपटिएर शरीर थाक्दा मेरो लोग्ने मसँगै भइदेओस् भन्ने हुँदो रै’छ।’ लोग्ने र पेटको बच्चाको जति माया हुन्छ नि, धरोधर्म ! केटी मान्छेलाई त्यति माया अरु कसैको लाग्दैन रै’छ।’
काखको हँसिलो ३ महिने छोरीलाई सुम्सुम्याउँदै सिन्धुपाल्चोक मेलम्चीकी सीता तामाङ सुत्केरी बेथा लाग्दाका क्षण सम्झँदै थिइन्- त्यो दिन मलाई सुत्केरी बेथा लाग्दा पानी ख्वाउने मान्छेसमेत थिएनन् घरमा। लोग्ने नै परदेशमा थियो मेरो, ससुरा जाँड खाएर जहिले नि फिटान।
आँखाभरि आँसु भरिएर पोखिनै लागेका थिए उनका। जेठको टन्टलापुर घाममा त्यो दिन उनले दिनभरि घाँस काटेर, दिउँसो पानी ओसारेर, बेलुका दुई पाथी मास पिस्नसमेत भ्याएकी थिइन्। राति बिछ्यौनामा पल्टिँदा बेथा सुरु भएछ। अनि घन्टौँ एक्लै छट्पटाइन्।
अबेर छिमेकी आएर मेलम्ची प्राथमिक स्वास्थ्य चौकी पुर्याए। ‘धन्न म बाँचे,’ उनले लामो सास तानेर भनिन्, ‘दुई जिउकी हुँदा खान नपाएर सुकेको मेरो शरीरबाट खै कसरी राम्रै छोरी जन्मी।’
प्रसूति बेथाले शरीर कमजोर हुँदा श्रीमान्को न्यानो साथ किन चाहिन्थ्यो, मैले प्रष्टै देखेँ उनको आँखामा। १९ वर्षे कलिलो जोवन, दिनकै लोग्नेसँग मायापिरतीका कुरा साट्न मन लाग्छ रे। तर लोग्ने भारतको कुनै सहरमा मजदुरी गर्दैछन्। उसले देखेको सपना जति महँगो थियो, पूरा हुने सम्भावना झनै क्षीण।
सीताका सबै सपना नराम्ररी तुहिएका छन्। घरको कमाउने छोरी बन्दै १३ वर्षमा उमेर ढाँटी पासपोर्ट बनाएर उनी बहराइन गइन्। गाउँमै बसेकी भए सायद कसैले उसलाई झुक्याएर मुम्बई बेचिदिइसक्थ्यो रे!
‘अझै पनि तरुनी केटीहरू चिनजानकै मान्छेबाट भटाभट बम्बई पुर्याउँछन् नि, हामी त बरु झुठो कुरा बोलेर बहराइन गर्यौँ। कम्तीमा बेचिन परेन,’ लाई चित्तबुझ्दो लाग्यो उनको कुरा।
सीताजस्तै अनगिन्तीका कथा कसले सुन्ने? कसलाई नै मतलब छ र? कमाई नभएर उनी नेपाल फर्किइन्। यसै पनि घरेलु कामदर भएपछि मालिकले स-साना कुरामा कुटपिट गर्थे। त्यस्तो दु:ख धेरै भोग्न मन भएन, त्यसैले नेपालै फर्किएर उनले बिहे गरिन्। उनका श्रीमान्ले पनि धेरै पढेका छैनन्।
बिहे भएको ३ महिनामै श्रीमान् वैदेशिक रोजगारमा भारत गए। त्यतिबेलादेखि नै घरको हरेक जिम्मेवारी उनको काँधमा छ। गर्भ रहँदा पेटभर टन्न खान पनि धौ धौ हुन्थ्यो उनलाई। धन्न गाँउमा ‘हरेक बार, खाना चार’ भन्ने कार्यक्रम आएको रहेछ। गाउँका केही दिदीबहिनी मिलेर खोलेको आमा समूहमा गरीब आमाहरूले पनि कसरी मिलाएर पोषिलो खाना खाने भन्ने छलफल हुन्थ्यो रे। अनि माछामासु टन्न खान नपाए पनि आफैँले लगाएको मकै, कोदो, सागपात नै भए पनि पोषणको मात्रा शरीरलाई पुग्ने गरी खाइन्। सहर-बजारका गर्भवतीहरू श्रीमान्सँगै गर्भ जाँच गराउन अस्पताल पुगेको देख्दा ईर्ष्या पनि लाग्छ उनलाई। उनको बच्चाले त बाबुको अनुहार पनि देखेको छैन। मनमा कत्रो पीर।
चार महिने छोरीका लागि उनको ठूलो सपना छ। तर श्रीमान् एकाएक सम्पर्कविहीन भएका छन्। अरु नै केटीलाई मन परायो की भन्ने डर पनि छ रे! पहिले हप्तैपिच्छे फोन गर्ने श्रीमान् अहिले परपर भएका छन्।
बिहे अघिसम्म कस्सिएको मिलेको ज्यान थियो उनको, मेलम्ची गाउँकै राम्री भनेर कहलिएकी। तर, गर्भ हुदाँ पोषिलो खाना खानै नपाएर दुब्लाइन्। गर्भ हुँदा माछामासु, पोषिलो खाना अलिक नपुगेर नराम्री भएँ भन्ने पीर पनि रहेछ मनमा। उनी भन्छिन्- मेरो दुई जिउको ज्यान बासी ढिँडो खाएरै धानेको हो मैले।
सीता प्रतिनिधि पात्र हुन्। कति मान्छे बाध्यताले दिनहुँ घर छोडेर परदेसिँदा हुन्? कति गर्भवती आमाले बेथा लागेका बेला लोग्ने साथ नभएको पीर मानेर चित्त दुखाउँदा हुन्। कति कमजोर बच्चा दु:खी-रोगी आमाको पेटबाट जन्मिँदा होलान्। कम्तीमा सबै गर्भवती आमाको साथमा श्रीमान् सँगै हुनुपर्छ कि।