थापाथलीको ट्रेड टावरबाट अनामनगरको गुम्म कोठासम्म आइपुग्दाको करिब आधाघन्टाको पैदलयात्रामा मतिष्कमा धेरै कुरा तरंगित भए।
मसँग शब्द र अनुभव पोको पार्ने डायरी थियो, उनीहरुका शैली र भनाइ कैद गर्ने क्यामेरा थिएन। सायद हुने थियो तर, कथा कहाँ योजनाअनुसार फेला पर्छ र? यो त योजनाहीन ढंगबाट गुज्रेको समयको एक अंश न हुन्छ।
मैले तीन घन्टा, तीन एचआइभी संक्रमित महिलासँगै बसेर कुनै औपचारिक कार्यक्रममा उपस्थिति जनाएँ। यो पहिलो अनुभव पनि थियो मेरा लागि। उनीहरु खुलेर आफ्ना अनुभव राखिरहेका थिए। तर, म यहाँ तीनै जनाको नामचाहिँ खुलाउन चाहन्न। उनीहरुको अनुभव उतार्ने प्रयत्न गर्छु। कार्यक्रममा प्रश्न पनि उठ्यो- नाम परिवर्तन गरेर छाप्दा पनि अनौठो प्रभाव पर्छ। त्यसकारण तीनै पात्रलाई नाम परिवर्तन नभनी पात्र १, पात्र २ र पात्र ३ लेख्ने कोसिस गर्छु।
स्थान- थापाथलीको ट्रेड टावरको सभाहल।
समय- दिनको ११ देखि २ बजेसम्म।
कार्यक्रम- प्रजनन् स्वास्थ्य र एचआइभी न्यूनीकरणमा मिडियाको भूमिका विषयक अन्तर्क्रिया।
यही क्षेत्रमा काम गरेका केही संघसंस्थाका पट्यारलाग्दो प्रिजेन्टेसनदेखि वाक्क भइसकेको थिएँ। भाषण सुनेर कति बस्ने? पानी तीन गिलास खाइसक्दा पनि भाषण सकिने छाँट थिएन।
बल्लबल्ल सकियो। फ्लोर ओपन भयो। झन्डै एक डेढ घन्टाको त्यो पट्यारलाग्दो समयपछि खुल्यो- कथाको विषयवस्तु।
पात्र १
कार्यक्रमस्थलमा छिर्दै गर्दा उनको नमस्कार गर्ने शैलीबाट म प्रभावित भइसकेको थिएँ। उनले आफ्ना अनुभव सुनाउन सुरु गरिन्। तेजिलो अनुहारमा निर्धक्क भएर उनले भनिन्- एआरटी लिन थालेको ११ वर्ष भयो। बाँचेकै छु। अनुभव साट्नका लागि साँचेकै छु। पत्रकारहरुले टेलिफोनबाट अन्तर्वार्ता लिनुहुन्छ, कृपया प्रत्यक्ष लिइदिनुहोस्।
उनले आफू एचआइभी संक्रमित भएको थाहा पाएको ११ वर्ष पुगिसकेको रहेछ। उनमा औषधि प्रयोग गर्ने र कसरी लामो समय बाँच्ने भन्ने ज्ञान रहेछ। एनजिओका प्रतिनिधिहरु र मिडियाकर्मीहरुको ठूलो उपस्थिति रहेको कार्यक्रममा उनले भनिन्- एचआइभी शून्यमा झार्ने भनेको के हो? अहिलेको तथ्यांक शून्यमा झार्ने भनेको कि? अहिलेको समस्यालाई शून्यमा झार्ने भनेको?
आफू कम पढेको जनाउ दिएकी उनले काठमाडौंमा बसेर सुविधा पाइरहेको भन्दा पनि पीडा अनुभव गरेका, उपचार नपाएका, समाजमा घृणामा बाँचिरहेका र सामाजिक रुपमा अपहेलनामा परेका जिल्ला-जिल्लाका पीडितहरुको कथा, उनीहरुको प्रेरणालाई मिडियामा उतार्न सुझाव दिइन्। उनले थपिन्- त्यस्ता पीडितहरु नथप्ने योजनाअनुसार एचआइभी शून्यमा झार्ने प्रयत्नमा लाग्नु नै अहिलेको अनिवार्य आवश्यकता हो।
आँखाबाट आँसु झारेर होइन, अनुभवलाई सार्वजनिक गरेर एचआइभी संक्रमणको समस्याको न्यूनीकरणमा अघि बढ्न सकिन्छ भन्ने आत्मविश्वास उनीमा थियो।
पात्र २
आफू एचआइभी संक्रमणमा परेको सुनाउँदै उनले मिडियाको शैलीसँग असन्तुष्टि जनाइन्। उनको गुनासो र सुझाव दुवै थियो - मिडियाले अनुभवहरु बटुल्दा सकस हुने होइन, गोपनियतासहितको भ्यालुलाई बुझ्ने कोसिस गरिदिनुपर्छ। अल्छे पत्रकारहरुले टेलिफोनबाट संवाद गर्छन्, मुद्दामा उभ्याउँछन् र बोल्ने मौका कम दिन्छन्।
हुन त अनुभव नै सबैभन्दा ठूला ‘डिग्री’ हुन्। उनलाई कति पीडा थियो, उनले पोखिनन्। तर, यत्तिचाहिँ भनिन्- बोल्ने मौका डाक्टरलाई मात्र होइन, हामीलाई पनि उत्तिकै दिनुपर्छ। डाक्टर पढे-लेखेका हुन्छन्, सिद्धान्तका कुरा गर्छन्, मिलाएर बोल्न जान्दछन्। हामी अनुभवमात्र गरेका मान्छे हौं, बोल्न जान्दैनौं। भाषा मिल्दैन। तर, खास यथार्थचाहिँ हामी नै बकिरहेका हुन्छौं।
पीडाको बकपत्र लेख्ने साहस केही बलात्कृत नारीहरुले गरेका थिए। तर, पीडाको वक्तव्यबाजीसहितको उदाहरण र प्रेरणा दिनसक्ने आँट धेरैले गर्दा रहेछन्।
पात्र ३
मेरो छेउको गिलासको पानी आधा भइसकेको थियो, छेउमै बसेकी पात्र ३ ले परिचय खुलाउँदै आफ्नो कथा सुनाइन्।
कतिसम्मको अनुभव र सिकाइलाई उनले जनाइन् भने एचआइभी संक्रमित महिलाहरु ज्यादातर क्यान्सरपीडित भएर मरिरहेका छन्। उनीहरुलाई क्यान्सर हुन नदिन के गर्ने? एचआइभी संक्रमण हुन नदिने सरल उत्तर पनि उनले दिइन्। त्यसका लागि चेतनाको विकास, सूचनाको प्रयोग होस् भन्ने उनको कामना थियो।
उनले सुनाइन्- १५ वर्षसम्म मलाई एक्स्पोज हुन गाह्रो भयो। म ट्राफिकिङको सिकार भएँ। बेचिएँ। मलाई एचआइभी संक्रमण भयो। म खुल्न सकिनँ। १२/१३ वर्षको उमेरमा बेचिएकी म, खुल्दा समाजले के भन्ने थिए? धेरैले अहिले पनि बुझेका छैनन्। तर, म बाँचिरहेकी छु। बेचिएका चेलीहरुको उद्धारमा लागेकी छु। चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा जुटेकी छु। एचआइभी लाग्ने अनेक कारणमध्ये बेचिएका चेलीहरु पनि हुन्, तिनको सुरक्षाका निम्ति पनि सोच्नुपर्छ। यो काम मिडियाले मात्र गर्नसक्छ।
तीन घन्टा बिताउने कसरी? भन्ने चिन्ता लागिरहेको थियो। तर, आफ्ना अनुभवको पोको खोलेर एचआइभी संक्रमित महिलाहरु मै बसेको छेउका कुर्सीहरुबाट तन्दुरुस्त तर्क गर्न थाले, म अचम्मित भएँ। उनीहरुभित्र कति पीडा छ, उनीहरु जानुन्। तर, त्यो तीन घन्टाको तर्क र जाँगरका लागि उनीहरुलाई ‘पीडित’ भन्न मिल्दैन, ‘प्रेरणा’ भन्न सुहाउँछ।
उनले आफ्ना अनुभव सुनाए। उनीहरु चाहन्छन्- मिडिया एचआइभी संक्रमितहरुको पीडा र अनुभव सबैतिर पुर्याउन सफल होस्। तर, टेलिफोन गरेर मनलाग्दी समयमा प्रश्न सोधेर होइन, प्रत्यक्ष भेटेर, अन्तर्वार्ता गरेर र अनुहारहरुको तरंग क्यामेरा, आवाजहरुको आरोह-अवरोह अडियोमा रेकर्ड गरेर अनि हाउभाउहरु पक्राउ गरी तस्बिरको माध्यमले सार्वजनिक होस्।
३० हजार एनजिओहरु नेपालमा एचआइभी एड्स न्यूनीकरणका लागि काम गरिरहेका छन् भन्ने पनि सोही कार्यक्रममा एक विज्ञले जानकारी दिए। त्यसो भए ती एनजिओहरु कहाँ छन्? चेतनाको काममा किन उनीहरु कमजोर भए? उनीहरुको अध्ययन छ- अन्यलाई भन्दा यौनकर्ममा लागेकाहरुलाई एचआइभी संक्रमणको जोखिम १२ गुणा बढी हुने रहेछ। त्यसो भए, त्यसको न्यूनीकरणका लागि क-कसले कहाँ-कहाँ समय दिनुपर्यो त? कार्यक्रममा सहभागी भएका सरकारी अधिकारीले कन्डम दिवसका दिनमात्र ५ करोड कन्डम वितरण हुने जानकारी दिए। त्यसो भए किन फेरि पनि यौन सम्पर्ककै एचआइभी संक्रमणको त्रास बलियो भइरहेको छ? यसको जवाफ सबैले मागिरहेका छन्।
सबै मान्छे सबै कुरामा अब्बल हुँदैनन्। अचेल एचआइभीपीडित होइन, एचआइभी संक्रमित मात्र भन्नुपर्ने व्यावहारिक ज्ञान पनि थाहा पाइयो। उनीहरु पीडितभन्दा झन् पीडामा पर्दा रहेछन्, संक्रमितभन्दा पीडालाई दबाएर खुलेर न्युनीकरणका उपाय दिँदा रहेछन्। कहीँकतै पोस्टर, पम्प्लेट र ब्रोसरहरुमा एचआइभी संक्रमणसम्बन्धी जानकारी पढेर ठूला भाषणबाजी गर्नेको तर्कहरु पनि झेलेकै थिएँ। तर, आफूलाई परेर सामाजिक उद्धारका अभियन्ताका रुपमा उभिएका ती तीन पात्रको अनुभव ज्ञानले पोस्टर पढ्न भ्याएकाहरुको तर्कलाई थिचेको थियो।
हरेक बसाइ सार्थक हुँदैनन्। औपचारिक कार्यक्रमहरु अधिकांश टालटुले हुन्छन्। कथाहरु त्यहाँ फेला पर्दैनन्। तर, मिडिया एडभोकेसी ग्रुपलाई धन्यवाद दिनुपर्छ- त्यो सार्थक तीन घन्टाका लागि, जहाँ तीन ‘पीडित’ हैन प्रेरणाका सार्थक पात्रहरुसँग अन्तरंग अन्तर्क्रिया गर्ने मौका मिलाएको थियो। यी पात्रहरु सधैँभरी एचआइभी संक्रमणलाई पीडामा राखेर आत्महत्यासम्मको सोच बनाउनेका लागि प्रेरणा हुन्, जसले बाँच्नका लागि साहस चाहिन्छ, साहसका लागि आत्मविश्वास र समाजसँग तर्क गरेर हिँड्नसक्ने सोच बोक्नुपर्छ भन्ने ज्ञान छरिरहेका छन्।
उनीहरु यो कुरामा प्रष्ट छन् - किन अरुले मेरा बारेमा अनेकथरी सोचेको कुरामा रुमल्लिने? म जे छु, ठिकै छु। म यो संसारमा नयाँ सिकाइको पात्र बन्न चाहन्छु।
तीनै प्रेरणाका पात्रलाई सार्थक बसाइका लागि मुरीमुरी धन्यवाद।