झण्डै १२ घन्टा आकाशमा चराझैँ उडिरहेँ। पखेटा थिएन। धन्न राइट दाजुभाइले चिलगाडी बनाइदिएका थिए र मज्जाले हावामा उड्दैछु। वुद्धि हुनु त यी गोराहरूको जस्तो, सयौं वर्षअघि तिनले बनाएको प्लेन सम्झेर अझैँ आनन्द मान्नुपर्ने। यात्रा काठमाडौं बिमानस्थलबाट अन्त्य भयो, अनि नेदरल्यान्डको आमर्स्टडमबाट सुरु भयो। बैग्लै लाग्दैछ, यो सहर आएदेखि नै सहर मात्रै होइन, आफैँ बेग्लै लाग्दैछु।
बिहानै उठेर हामीले सुन्दर बुसुम सहर चहार्यौँ। म उत्साहित भएर बाटोबाटै फोटो खिचाउँदैछु, मेरा अफ्रिकी दाइबाट। उनी टिभिसी नाइजेरियाका पत्रकार हुन्। ऊ मलाई मायालु पारामा ‘बोइनी’ भन्छ। एउटा पोज त झक्कास् दिनुपर्यो भनेर हावामा उफ्रेको उफ्र्यै गरेँ। खुला सडकमा मान्छेहरुको ओहोरदोहोरमा हावामा उफ्रिँदा जुन खुशी बटुलेको थिए, त्यति खुसी त तीन वर्षअगाडि पोखराको सराङकोट डाँडाबाट प्याराग्लाइडिङ गर्दा पनि मिलेको थिएन। पोखरामा हावामा उड्न मैले पाँच हजार तिरेको थिएँ। तर यहाँ हावामा ५ सेकेन्ड उफ्रन सक्ने आँटले मलाई दोब्बर खुसी दिँदैछ।
मेरो मनले सुटुक्क भन्यो– बीच सडकमा बेपरवाह स्वतन्त्र भएर हावामा उफ्रिन मैले युरोप नै आउनुपर्यो है! के? काठमाडौंको बीच सडकमा म त्यस्तो गर्न सक्थेँ? पक्कै सक्तिनथेँ। गरी नै हाले पनि म अरुका लागि उत्ताउली साबित हुन्थे।
* * *
म बुसुमको सुपरमार्केटमा थिएँ। एउटा डच केटोले मुसुक्क हाँसेर ‘यु आर ब्युटिफुल’ भन्यो। मैले हतपत जवाफ दिएँ, ‘थ्याङक यु।’ मानौं एउटा अटोमेटिक मेसिन डच केटोले दबायो, र मेसिनबाट आफसेआफ ‘थ्याङक यु’ आवाज आयो।
मनमनै सोचेँ– कुनै नेपाली केटोले बाटोमा हिँड्दाहिँड्दै ब्युटिफुल भन्दिएको भए के भन्थेँ होला? पक्कै पनि गाली गर्थेँ।
विदेशी र नेपालीले भन्ने ‘ब्युटिफुल’ शब्दको टोनबाहेक भावमा कुनै फरक थिएन तर ‘थ्याङ्क यु’ भन्न सक्ने खुसी पोख्न मैले नेडरल्यान्डमा आफसेआफ सिकेछु। नेपाल र युरोपबीचको एउटै व्यवहारको फरक बुझाइ, म यही अनुभवबाट सिक्दैछु क्यारे।
* * *
बिहान पौने ९ बजे। हिउँले सेताम्मै ढाकेको छ बुसुम सहर। म थर्थरी काम्दै हिल्भरसमको मिडिया स्कुल पुग्न बस स्टेसनमा १०७ नम्बरको बस कुर्दैछु। अग्लो हेन्डसम हेर्दै हलिउड एक्टरजस्तो केटो टुप्लुक्क आइपुग्यो। मतिर फर्केर ‘गुड मर्निङ’ भन्यो अनि बस चढ्यो।
‘ओहो! नचिनेका मान्छे पनि बोल्दा रै’छन बाबै।’ अनजान गोराको गुड मर्निङले चिसो सहरमा न्यानो खुसी थपियो।
हुन त कोर्स लिडर जिन्जरले वेलकम डिनर लिने साँझ नै सिकाएकी थिइन्– ड्राइभरलाई ‘हेलो’ भन्न नबिर्सनू। अचेल म सधैँ ड्राइभरलाई ‘हेलो’ भन्ने गर्छु। उसले हाँसेर फर्काउने ‘हेलो’ले मेरो मन आनन्द गराउँछ। अनि लाग्छ– मान्छे–मान्छेबीच सम्बन्ध बुन्न मद्दत गर्दैछ, यो हाँसोले।
म घरीघरी सोच्छु– काठमाडौं फर्केपछि म कोच्चिएर बस्नुपर्ने माइक्रोबस चढेर ड्राइभर दाइलाई ‘नमस्ते दाइ’ भन्न सक्छु होला? सायद सक्छु। अहँ सक्दिन कि? गरी नै हाले पनि माइक्रोभरीकाले सोच्छन् होला– पागल केटी वा खुब जान्ने पल्टिनुपर्ने, ढोँगी। मनमनै हाँसे र भने– म के–के सोच्दैछु यो युरोपमा।
* * *
राति सवा ८ बजे हामी ७ देशका पत्रकार हिल्भरसमको मिडिया स्कुलबाट बुसुमको ब्यास्टन होटल पुग्न हरियो बस कुर्दैछौँ। हामीले पौने ८ को बस छुटाएछौँ। अब बस ढिला आउने पक्का थियो। झण्डै आधा घन्टा कुर्यौँ, बस आएन। अब के गर्ने? बस अझै आधा घन्टापछि मात्र आइपुग्छ रे! गुगल सर्चले जवाफ दियो।
मैले ल्यापटप ब्याग भुइँमा बिसाए। खल्तीबाट मोबाइल झिकेर सकिराको ‘हिप्स डोन्ट’ बजाएर कम्मर मकाईमकाई नाचेँ। आहा! बस स्ट्यान्डमा राति सवा ८ बजे नाच्दा आउने मज्जा त कता हो कता। घरको बन्द कोठामा लुकीलुकी यु ट्युब खोलेर बेली डान्सिङ सिकेको अनुभव त युरोपको बस स्ट्यान्डमा अभ्यास गर्न पो जुरेको रै’छ।
* * *
रेडियो नेडरल्याण्ड ट्रेनिङ सेन्टरमा हामी इन्टर कल्चर कम्युनिकेसनबारे कुरा गर्दै थियौँ। कोर्स लिडर जिन्जर पालैपालो हाम्रो अनुभव सुन्दै थिइन्। मंगोलियाकी टेलिभिजन पत्रकार ऐरी भन्दै थिइन्– मेरी ९ वर्षे छोरी उसलाई सधैँ झक्झक्याएर भन्छे, ‘मोम तिमी र तिम्रो ब्वाइफ्रेन्ड मिलेर मलाई छिटो बहिनी उपहार देऊ।’
म एरीको छोरीको कुरा सुनेर दंग परेँ। डिभोर्स भएको ४ वर्ष भयो तर उसको छोरीलाई आमा एरीको ब्वाइफ्रेन्ड हुनु स्वभाविक लाग्छ। मंगोलियाका डिभोर्स्ड आमाहरू छोरीलाई आफ्ना अफेयरबारे सुनाउन सक्ने ‘कन्फिडेन्स राख्दा रै’छन्।
एरीले मलाई सोधिन्, ‘तिमी नेपाली केटीहरू लिभिङ टुगेडर रिलेसनसीपमा त बस्छौ नि?’
मैले हाँस्तै जवाफ दिएँ, ‘हामी आफ्नो श्रीमान्को हात समातेर बाटोमा हिँड्न त सक्तैनौँ, अरु त परै जाओस्।’
‘अनि पब्लिक प्लेसमा किस नि?’
मैले भनेँ, ‘साथी, म जत्तिको कन्पि्कडेन्ट केटीले पनि बाटोमा ब्वाइफ्रेन्डलाई किस गर्ने आँट गर्दैनन्। लिभिङ टुगेडर त परकै कुरो हो।’
एनडी टिभीकी इन्डियाकी मेघना निजावनले जिस्क्याउँदै भनिन्, ‘देख, हम लोगों को भी करने नही देते थे। तु करना पब्लिक प्लेस मे, फिर और भी सुरु कर देगें।’
छिमेकी देश भारतमा हामी जस्तै मान्छेका व्यवहार बद्लिँदै छन्। उनीहरु खुसी हुने हजार बहाना खोज्दैछन्। हामी अझै पनि पुराना व्यवहार र बुझाइमा अल्मिलिएका छौँ। चाहे हावामा उफ्रन होस् या बस स्टेसनमा नाँच्न हामी खुलेर बाँच्न पनि धक मानिरहेका रहेछौँ।
युरोपियनहरूले स–साना व्यवहारबाट खुसी बटुल्न जानेका छन्। मुसुुक्क हाँसेर एउटा मीठो ‘हेलो’ शब्द बोलेर उनीहरु हरेक क्षण रमाइलो बनाउने बहाना खोजिरहेछन्। हामी आफैँ खुसी साट्न पनि कतै अल्मलिएका पो छौँ कि?