रुक्मिणीले राधाको रुप र स्वभावको प्रशंसा आफ्ना पति भगवान श्रीकृष्ण र अरुको मुखबाट धेरैपटक सुनेकी थिइन्। त्यही भएर श्रीकृष्णकी प्राण प्रिय राधालाई एकपल्ट आफ्नो दरबारमा निमन्त्रणा गर्न पतिलाई आग्रह गर्छिन्। श्रीकृष्णले पनि रुक्मिणीको आग्रहलाई मान्दै राधालाई आफुहरुसँग केही दिन बिताउन निम्तो पठाउँछन्। राधाले पनि आफ्नो अनन्य प्रेमीको निम्तो स्विकार्दै श्रीकृष्णको दरबारमा आउँछिन्। पत्नी रुक्मिणीले राधाको भव्य स्वागत गर्दै मानमनितो गर्छिन्। तर, मनमा राधाको रुप सौन्दर्य र श्रीकृष्णको उनीप्रतिको अनुराग देखेर रुक्मिणीमा इर्ष्या उत्पन्न हुन थाल्छ।
दिनभरि हासपरिहास र रमाइलो गर्दै बित्छ। राति राधा आफ्ना लागि ठीक पारिएको कोठामा सुत्न जान्छिन्। उनको पछिपछि रुक्मिणी पनि तातो दुधको गिलास लिएर पुग्छिन् र राधालाई दुध पिउन आग्रह गर्छिन्। राधाले एकदमै तातो दुध आँखा चिम्लेर घटघट पिउँछिन्। रुक्मिणी मनमनै 'खुच्चिङ भयो' भन्ने भाव मनमा लिएर आफ्नो कोठामा फर्किन्छन्। कोठामा ठूलो पलङमा श्रीकृष्ण आँखा चिम्लेर पल्टिएका हुन्छन्। रुक्मिणीले नजिक गएर हेर्दा श्रीकष्ृणको छातीमा तातोले पोलेर फोका उठेको देख्छिन। रुक्मिणीले 'प्रभु के भयो हजुरलाई' भन्दै कृष्णको हात समाउछिन्। तब श्रीकृष्णले अश्रुपूर्ण आँखाले रुक्मिणीलाई हेर्दै भन्छन् 'तिमीले राधालाई उम्लेको दुध पिउन दिएकी थियौ हैन? हो त्यही दुध राधाले आँखा चिम्लेर पिइन् तर मेरो छाती पोल्यो र फोका पर्यो।'
यो त राधाकृष्णको पुराणहरुमा वर्णित त्यो अलौकिक प्रेम थियो। जसलाई हामीले देख्न त सकेनौं तर कथा एवं किवंदन्तिको रुपमा अहिलेसम्म पढ्दै र सुन्दै आइरहेका छौं। तर लौकिक जगतमा अनौठा र दुर्लभ प्रेम कथाहरु देख्न र पढ्न पाइन्छ। भारतको बिहार गहलौर का दशरथ माझी पनि त्यस्तै दुर्लभ प्रेमी हुन्। जसले तीनसय फिट उचाइ भएको पहाडबाट जाँदा भीरबाट लडेर बिरामी भएकी पत्नीको लागि एक्लै पहाड फोडेर बाटो निकाले। त्यो तीनसय फिट उचाइ भएको पहाडलाई २२ वर्षसम्म एक्लै छिना र हथौडाले पिटेर ३ सय ६० फिट लामो र ३० फिट चौडा र उचाइ भएको बाटो बनाए। आफ्नी पत्नीले त्यो बाटोबाट हिँडेर घाइते भएको घटना माझीको मनमा यसरी बिझ्यो कि उनले त्यहाँ बाटो नै बनाइदिए। 'माउन्टेन म्यान' सम्बोधन दिएर माझीको नाममा वृतचित्र नै बनाइ सकिएको छ। तिनै माझीको सन २००७ मा क्यान्सरबाट मृत्यु भयो।
एकातिर मुगल बादशाह शाहजहाँले आफ्नी बेगम मुमताज महलको नाममा बनाइएको विश्व प्रसिद्ध कृति ताजमहल शीर ठाडो पारेर बसेको छ। ताजमहल बनाउन पनि २२ वर्षसम्म २० हजार मजदुर अहोरात्र खटिएका थिए। अर्कोतिर अत्यन्त गरीब र निरक्षर दशरथ माझी जस्ता व्यक्ति जोसँग न सीप थियो न पैसा नै। मात्र थियो त आफ्नी पत्नीप्रतिको अगाध प्रेम र निष्ठा अनि जाँगर। त्यही जाँगरलाई छिना र हथौडाको मद्धतले आफ्नो प्रेमलाई उनले साकार रुप दिए। साढे चारसय वर्षभन्दा अघि बनेको ताजमहल र यही युगमा करिब २० वर्ष अघि माझीले बनाएको सडक। शाहजहाँ होस् वा एउटा गरीब व्यक्ति, दुवैले आफ्नो प्रेमलाई आ–आफ्नो तरिकाले अभिव्यक्त गरेका थिए। एउटाले आफ्नो प्रेम दुनियाँलाई देखाउन राज्यको ढुकुटी र अरुको पसिना खर्च गर्यो भने अर्कोले आफ्नै पसिनामात्र खर्च गर्यो। आखिरमा प्रेम त प्रेम नै हो जसरी व्यक्त गरेपनि।
सायद संसारमा सबैभन्दा बढी मान्छेले चाहेको र प्राप्त गर्न खोजेको वस्तु प्रेम नै होला। प्रेम के हो त? उत्तर फरक, फरक आउन सक्छ, कसैले दैहिक आकर्षणलाई अनि कसैले दुई मुटुको मिलनलाई प्रेम भन्लान। तर, प्रेमको परिभाषा दिन कठीन छ। प्रेम जहाँपनि हुनसक्छ र जोसँग पनि हुनसक्छ। मात्र भावना पवित्र हुनुु पर्दछ। प्रेम भनेको लगावमात्र पनि हैन। घरमा पालेको कुकुर र छिमेकमा थुप्रै वर्षदेखि बसेको कुनै व्यक्तिसँग लगाव हुनसक्छ तर उसँग प्रेम हुनै पर्दछ भन्ने छैन। दुई युवायुवतीको आँखा जुध्छ र त्यो आकर्षणलाई उनीहरु प्रेम ठानेर त्यसमा चुर्लुम्म डुब्न थाल्छन्। तर परिपक्व हुदैँ जाँदा र दुई व्यक्तिबीच विचारको फरकपनले पनि प्रेममा प्रभाव पार्दछ। त्यसैले भनिएको छ 'एकअर्काको आँखामा हेर्नु नै प्रेम होइन कि दुवै मिलेर एउटै दिशातर्फ हेर्नु नै प्रेम हो।'
ताजमहलका निर्माता शाहजहाँकै कुरा गर्ने हो भनेपनि उनको 'हरम'मा भएका थुप्रै रानीहरु मध्ये मुमताज महल पनि एक थिइन्। जसलाई शाहजहाँ विशेष प्रेम गर्दथे। उनी लडाईंमा गएका ेबेला चौधौं सन्तानलाई जन्माउने व्यथामा मुमताजको ज्यान गएको थियो। वास्तवमा शाहजहाँ सौन्दर्यका उपासक थिए, प्रेमको होइन। भलै उनले पत्नी वियोग सहन नसकेर मुमताजको सम्झनामा ताजमहल बनाए। उनी मुगल सम्राट थिए र अपार धनसम्पति उनीसँग थियो त्यसैले प्रेमको त्यो स्मारक निर्माण गर्न सके। मुख्य प्रश्न त उनी दशरथ माझी जस्तै गरिब भएका भए त्यो स्मारक बनाउन सक्थे होला भन्ने हो? तर, आजसम्म उनै शाहजहाँ प्रेमीको आधुनिक अवतारको रुपमा सर्वत्र चर्चित छन्।
प्रेम मौन बस्दछ र भावनामा बग्दछ। जसरी नदी एक्लै सुसेलिन्छ। यो प्रकृति नै प्रेममय छ। सूर्य उदाउनु र अस्ताउनु, चन्द्रमा उदाउनु, ताराहरुको झिलीमिली, रुखबिरुवाको लिनु हैन दिनुमा नै केन्द्रित कर्म। प्रकृतिले ब्रम्हाण्डका यावत् जीवात्मालाई जसरी आफ्नो सृष्टिका वस्तुहरु एकनासले बाँडेकी छन्, त्यो पनि प्रेम हो। भनिन्छ, जबसम्म मान्छेका संवेदनाहरु जीवित रहन्छन् तबसम्म प्रेम पनि रहन्छ। युद्ध गर्नका लागि थुप्रै हातहतियारको आवश्यकता पर्दछ तर प्रेमको लागि भावना र विश्वास नै पर्याप्त छ। युद्ध हतियारहरुको प्रयोगशाला हो भने प्रेम भावना र सम्बन्धहरुको।
हाम्रो समाजमा प्रेम भन्ने बित्तिकै प्रेमी, प्रेमिका वा पति, पत्नीलाई मात्र सम्भि्कन्छ। के प्रेम त्यति सानो र संकुचित घेरामा अटाएको हुन्छ? आमाको स्नेह र पिताको वात्सल्य के प्रेम होइन? दुःख र पीडाको बेला आमाबुवा, आफन्त वा साथीभाइले काँध थपथपाएको र गालामा गरेको स्पर्श के त्यो प्रेम होइन? यही भएर बजार वा चोकमा मानिसहरु जब झगडा र लुछाचुँडी गरेको देख्छु त्योबेला मनमनै सोच्छु 'झगडा यसरी लाइव टेलिकास्ट गर्छन अनि प्रेम चाँही लुकाएर किन गरेका होलान्?' एक अर्कासँग यो आपसको रिस राग बिर्सेर अँगालो मार्नु अनि एक अर्काको आँसु पुछेर त्यसको लाइव टेलिकास्ट गर्दा के नै बिग्रिन्छ र? तर हाम्रो समाज र नियम कानुन बनाउने अगुवाहरुले 'प्रेम शारीरिक आकर्षणमात्र हो र त्यो विपरीत लिंगको बीचमा मात्र हुने गर्दछ' भनेर ब्याख्या गर्दा त्यसको परिणाम घृणा वा झगडाको रुपमा सर्वत्र देखिन्छ।
प्रेम त अनुभुतिको कुरा हो। जसरी पोल्दा वा चिमोट्दा दुख्छ त्यसरी नै मीठो मुस्कान र संवेदनाले भरिएको आँखा र व्यवहारले कठोर मान्छेको मन पनि पग्लिन थाल्छ। मान्छले झगडा वा युद्ध गर्न त समय निकाल्छ। अरुसँग बदला लिने योजना पनि बनाउँदछ। तर, प्रेम गर्ने र अरुप्रति सहानुभुति वा संवेदना राख्नका लागि न उसँग कुनै समय छ, न योजना नै। यो पृथ्वीमा मान्छेको सृष्टि नै प्रेमको समष्टि रुप हो। मान्छे प्रेम गर्नको लागि नै जन्मिएको हो। भनिन्छ 'साहित्य, संगीत र प्रकृतिमध्ये एउटासँग पनि प्रेम नभएको मानिस, मानिस हैन रे।' मानिस हुनकालागि पनि यो सृष्टि वा प्रकृतिसँग प्रेम गर्नु जरुरी छ। तर एकदिन मात्र प्रेम गर्न र ३६४ दिन घृणा गर्नलाई होइन। सन्त भ्यालेन्टाइनले तत्कालिन परिस्थितिमा १४ फेबु्रअरीलाई प्रेम दिवसको रुपमा मनाएको भएता पनि प्रेम सधँै गर्नु र हुनु पर्दछ। प्रेमको लागि कुनै वार र तिथी आवश्यक छैन। प्रेम अक्षुण र अनन्तसम्म हुनु पर्दछ। व्यक्ति, लिंग र देशकाल समेटिएको 'प्रेम' प्रेम नै होइन।
राधाकृष्णलाई के थाहा प्रणय दिवस, शाहजहाँलाई पनि के थाहा प्रेम दिवस भनेको अनि दशरथ माझीलाई पनि के थाहा १४ फेबु्रअरी भनेको के हो? यीनले त समपर्ण गरे र आफ्नो प्रियलाई अन्तरमनदेखि सम्मान र प्रेम दिए। हाम्रो देशमा अहिले पनि प्रेम पूर्ण रुपमा फल्न र फुल्न सकेको छैन्। जुनदिन हाम्रो देश र समाजबाट जातपात, उचनिच, लिंगभेद, छुवाछुत, धनी, गरीब, धर्म र वर्गको विभेद हटेर सबैले हाँस्ने र सँगै बाँच्ने अवसर पाउनेछन्, त्यो दिन नै वास्तवमा साँचो अर्थमा 'प्रेमदिवस' हुनेछ।
दशवर्ष अघि पशुपतिको वद्धाश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाहरुको बारेमा एउटा फिचर लेख्नु थियो। त्यहाँ घरबार नभएका र आफन्त भएर पनि परित्यक्त जीवन बिताउन बाध्य भएका वृद्धवृद्धाहरुले पनि राज्य र समाजबाट प्रेम खोजिरहेका थिए। तिनै मध्येकी एउटी वृद्ध महिलाले धरधरी रुँदै व्यथा सुनाउँदै गर्दा मेरो गाला मायाले धेरै बेरसम्म मुसारेकी थिइन्। आज १० वर्षपछि पनि ती वृद्धाको हातको स्पर्श अहिले पनि मेरो गालामा ताजै छ। ती वृद्धा अहिले जीवित छन् की मलाई त्यो पनि थाहा छैन। तर प्रेम भनेको त्यही हो, शायद ती वृद्धाले गरेको जस्तो।