फेब्रुअरी १४, २००७ (समय १३:५० बजे)
त्यो दिन चिसो अलि बढेको थियो, उपत्यकाको आकाश पूरै बादलले ढाकिएको, हावा नचलेको, पानी पर्लापर्ला जस्तो धुम्म थियो। म ललितपुर मानभवनस्थित नेपालयका किरणको अफिसमा ल्यापटप चलाउँदै थिएँ।
'ए, के हो यो, हिउँ हैन?', एक्कासी किरणले झ्यालतिर हेर्दै भन्यो। मैले जिस्केको ठानेँ।
'हेर त, हेर!', उसले फेरि भन्यो। झ्याल बाहिर हेरेँ। नभन्दै आकाशबाट कपास झैं झर्दै थियो।
'हो त यार!,' मेरो आङ् जिरिङ्ग भयो। काठमाडौं सहरमै हिउँ परेको कहिले नदेखेको मैले झ्यालबाट एकछिन हेरिरहेँ। झल्याँस्स सम्झेँ यो समय त क्यामेरामै कैद हुनुपर्छ। फोटोग्राफी पेशा नभए पनि मसँग सँधै क्यामेरा किट तयार रहन्छ। म शिखन फोटोग्राफर हुँ र मिडियामा संलग्न भएको नाताले कहिलेकाहीँ फोटोपत्रकार पनि हुँ।
मेरो दौड सुरू भयो। दौडिँदै तल गाडीमा भएको क्यामेरा झिकेर माथि आएँ। झ्यालबाट दुई चार शट खिँचे। नेपालय जिल्ला प्रशासन कार्यालय अगाडि थियो। धुपीका रूख र जिप्रकाको गेट आउने गरि केही शट खिँचेँ। क्यामेराकै स्क्रिनमा हेरेँ चित्त बुझेन। किनभने ति तस्बिरले काठमाडौंमा हिउँ परेको बोलेका थिएनन्, क्याप्सनमार्फत बुझाउनु पर्ने हुन्छ।
तस्विरमा सहरै आउने गरी कैद गर्नसके तस्विर आफै बोल्छ भनेर म गाडी कुदाउँदै बाहिर मानभवन मूल सडकमा आइपुगेँ। त्यहाँ पनि सडककै दुई चार शट खिँचे। यसपालिका तस्विरमा सहर चैं झल्कियो। फेरि दिमागमा आयो- अझै काठमाडौंको ल्यान्डमार्कसमेत कैद गर्न पाए त ऐतिहासिक नै हुन्छ। धरहरा, बसन्तपुर, घन्टाघर, रानीपोखरी सम्झँदै उतैतिर जाने निधो गरेँ। मनमा तनाव र चिन्ता पनि थियो। बसन्तपुर पुगुञ्जेल हिउँ रहला त?
झल्याँस्स सम्झिएँ नजिकैको 'पाटन दरबार स्क्वाएर र कृष्ण मन्दिर!' ह्यत्तेरी किन उती पर पुग्नु पर्यो भन्दै मैले गाडी कुदाएँ कृष्ण मन्दिरतिर। मलाई हिउँ परेको बेला खिँच्ने बानी थिएन। हिउँ पर्दै गरेको कसरी कैद गर्ने होला? विभिन्न टेक्निक सुझाउँदै गए गाडीमा। सटरस्पिड स्लो गर्ने कि फास्ट? एपेरचर टाइट गर्दा हिउँ क्याप्चर होला? अनेकन कुरा मनमा खेल्न थाले। फेरि सोचेँ फ्लासको प्रयोगले त हिउँका फ्लेकमा रिफ्लेक्ट भएर हिउँ स्पष्ट देखिएला नि। फेरि ब्याकग्राउन्ड हराउने हो कि? धेरै तनाब र सोचपछि फ्याक्स प्रयोग गर्ने नै निधो गरेँ। मेरो गाडीको हेडलाइट र इमर्जेन्सी लाइट बलेको थियो। सकेसम्म हर्न प्रयोग नगर्ने म वर्षौंभरिको हर्न त्यति खेरै बजाएँ हुँला।
मेरो लागि त्यो क्षण कुनै दमकलको लागिभन्दा कम थिएन। विन्डशिल्डमा हिउँका फ्लेक बाक्लिदै थियो। गाडीको वाइपर छरिता थिए। मनमनै प्रार्थना पनि थियो- तस्विरमा कैद गर्न पाउँ!
केही मिनेटमै लगनखेल बसपार्क तर्फबाट पाटन दरबार स्क्वाएर पुगेँ। हिउँ झर्दै थियो। मोटरसाइकल पार्क गर्ने ठाउँमा गाडी पार्क गरेँ। फ्ल्यास अन गरेर क्यामेरामा फिट गरेँ । त्यहीँबाटै खिँच्दै लम्किन थालेँ। पाटन दरबारको केही शट खिँचे। कोही मलाई नै सोध्दै थिए 'हिउँ परेको हो, दाइ?'
'हो, हो' भन्दै म संग्रहालयको नजिक पुगेर कृष्ण मन्दिरको खिँच्न खोजेँ, तर ध्वार्रर मुसलधारे पानी दर्कियो र हिउँ बिलाए। कृष्ण मन्दिरको खिँच्न भ्याइन।
एकैछिन अडेर म गाडीतिर फर्किएँ। गाडीको ढोका खुल्लै रहेछ। सिटमा लेन्सहरू पनि छरपस्ट रहेछन्। गाडीमा बसेर तस्विर हेर्न थालेँ। कृष्ण मन्दिरको नभ्याए पनि पाटन दरबार तर्फका चित्त बुझ्दा केही तस्विर कैद भएछन्। म आँखा चिम्लिएँ, ज्यादै खुसी भएँ। गाडी र आफैलाई धन्यवाद पनि भने।
बेलुकी कान्तिपुर पत्रिकाको अफिसमा साथीहरुसँग गफ भयो। उपत्यका खाल्डोमा ६२ वर्षपछि हिउँ परेको रहेछ। अन्य साथीका पनि रमाइला रमाइला घटना भएछन्। कसैले फोनमा खबर गर्नेको कुरा नपत्याएर फोनै राखेछन्। कोही हिउँ परेको सुन्नेबित्तिकै नगरकोट र धुलीखेलतिर कुदेछन् आदि। कान्तिपुरको कम्प्युटरमा हिउँ परेका रमणीय तस्विरहरु थिए।
मेरो तस्विर दुबै काठमाडौ पोस्ट र कान्तिपुरका सम्पादकीय मण्डलले छाप्ने निर्णय गरे। पोस्टमा मुख्यपृष्ठमा ठूलो तस्विर छापियो। कान्तिपुरमा अन्तिमपृष्ठमा ठूलो छापियो। मलाई लाग्यो पोष्टले बाजी मार्यो । किनभने त्यो ऐतिहासिक तस्विर आफै बोलेको थियो-