जनवरी महिना लाग्नुअघि देखि नै मानिसहरू निकै उत्साही हुन्छन्। किन हुन्छन् यो भनिरहन पर्दैन। किनकी सारा विश्व नै नयाँ वर्षलाई स्वागत गर्न तम्तयारी गरिरहेको हुन्छ। अनि एक हप्ताअघि मात्र क्रिसमस पर्व मनाएर मिलन, भेटघाट अनि उपहार, कोसेलीको तरेलीमा झुलिरहेको हुन्छ र त्यसमाथि लामो विदा। यसरी क्रिश्चियनहरू क्रिसमस र नयाँ वर्षको पर्वोत्सवमा हुन्छन् र साथै सारा विश्व पनि यसै नयाँ वर्ष मनाउन लालायित हुन्छ। साथै मैले पनि यस ईस्वी सम्वत्को नयाँ वर्षको स्वागत गर्दैआएको छु। हाल वर्षमा तीन पटक नयाँ वर्ष मनाउँदै आइरहेको छु। (बताइदेऊं, जन्मदिन भने दुई पटक मनाउँछु, वर्षमा।) तर यो जनवरीको नयाँ वर्षमा म रोमाञ्चित हुने कुरा अर्कै छ। र त्यो हो, जनगणतन्त्र चीनको उत्तरपूर्वी प्रान्तमध्येको एक, है लोङ्ग च्याङ्गको सदरमुकाम हार्बिनको यात्रा। कहिले नमेटिने अमित छाप छोडेको बर्फिलो यात्रा।
हरेक वर्षको अन्त्यमा पुरानो वर्षलाई विदाई गर्ने र नयाँ वर्षलाई हामी विविध ढङ्गले स्वागत गर्दै आएका छौं। यसरी स्वागत गर्ने क्रममा एउटा भनेको सङ्कल्प र अर्को उत्सव मनाउनु हो। जीवन उत्सव पनि हो र आशा र सङ्कल्प पनि जीवन हो। म भने पाएको विदाको उपयोगको साथै उत्सव मनाउनका लागि गएको थिएँ। त्यो चीनको उत्तरी ध्रुव। पुर्वको पेरिस, पुर्वको मस्कोको नामले समेत परिचित यस हार्बिन शहरमा हरेक हिँउदमा हिँउ तथा बरफ महोत्सव हुँदैआएको छ। साथै बरफ शहरको नामले पनि परिचित यस शहरमा डिसम्बरदेखि मार्चसम्म विविध बरफ तथा हिँउका मूर्तिहरू जताततै देख्नपाइन्छ।
पैचिङ्गबाट उत्तरपुर्वमा रहेको हार्बिन शहर १२३३ किमी टाढा पर्दछ। यो क्यानाडाको मन्ट्रियल शहरकै अक्षांशमा पर्दछ अनि -३८ ° C सम्मको तापमान रेकर्ड गरिएको छ, यहाँ। यो शहर अति जाडो मौसमको लागि चिनिन्छ। यसैकारण मैले आफ्नो हात, खुट्टा तथा सशरीरको रक्षा गर्न जुत्ता, बाक्लो मोजा, पन्जा, गलबन्दी, टोपी, मास्क र कान छोप्नेसहीत पर्याप्त न्याना लुगा बोकेको थिएं। जाँदा पैचिङ्गबाट रात्री रेलमा सुतेर त्यहाँ बिहान पुगेको थिएं भने फर्किँदा हाइस्पीड रेलबाट छ साढे छ घण्टामा पैचिङ्ग आइपुगेको थिएं।
भनिन्छ कि, ईसा पूर्व २२०० वर्षअघि, पाषाण युगमा नै हार्बिनमा मानव बस्ती थियो। साथै चीन वंशका प्रथम सम्राट वानयान अगुडाले आजको हार्बिन शहरको आछङ्ग जिल्लामा सन् १११५मा माथिल्लो राजधानी बनाएका थिए रे। त्यस्तै, सन् १८९७मा ट्रान्स-साइबेरिया रेलवे सर्वेक्षणको क्रममा रूसी ईन्जिनियरहरुका लागि एक शिविर खडा गरेसँगै यो शहरको रुपमा स्थापित भएको थियो। यो ऐतिहासिक शहर छिमेकी देश रूसबाट धेरै प्रभावित छ। शहरको भ्रमण क्रममा घर-भवन, वास्तुकला शैली र खाद्य पदार्थमा त्यो स्पष्ट देखिन्छ। यसै शहरलाई दोस्रो विश्वयुद्धको दौरानमा जापानले कब्जा गरेको थियो र पछि सन् १९४६ मा अन्ततः चीनले आफ्नो कब्जामा लिएको थियो।
सोङ्ग ह्वा नदी नजिकैको क्षेत्र तथा स्टालिन पार्कको वरपर लगायत हार्बिन शहरमा अझै पनि प्रायः १९ औं शताब्दीमा निर्माण भएका रूसी भवनहरु देख्न सकिन्छ। ती सबै भवन बरोक वा बीजान्टाइन शैलीमा निर्माण गरिएको छ जसको माथिल्लो भाग चुच्चो या गुम्बज आकारका छन् अनि पहेंलो, सेतो, हरियो र रातो रङ्गको बेजोड मिश्रण देख्नसकिन्छ। हार्बिनको सडक डुल्दा म कतै रुस त पुगिन भन्ने भान पनि नभएको होइन। सेन्ट सोफिया चर्च देख्दा त मलाई तस्वीरमा देखेको रुसको सेन्ट पिटर्सबर्ग या मस्कोको चर्चजस्तै नै लागेको थियो। हाल त्यसलाई हार्बिन वास्तुकला म्यूजियमको रुपमा परिणत गरेको रहेछ, त्यसको भ्रमण अवलोकनले पनि हार्बिन चिनाउन अझै मद्दत गर्यो। १९औं शताब्दीमा नै रुसबीच रेलगाडीमार्फत आवत-जावत हुने गरेको रहेछ यहाँबाट र त्यस्तै ऐतिहासिक दस्तावेजले सजिएको थियो। सेन्ट सोफिया चर्च।
नयाँ वर्षको अवसर पारेर माइनस बीस वा बीसभन्दा मुनिको तापक्रम भएको हार्बिनको यात्रामा आफ्नो रोमाञ्च, खुशीको पारो भने अधिकतम बनेको थियो। बाटोभरि ठाउँ-ठाउँमा बरफ अनि हिँउबाट बिभिन्न आकृतिका मूर्तिहरू बनाएर राखेको थियो। त्यस्तै कतिपय बाटामा कलाकारहरू तल्लिन थिए, आफ्ना कालीगढी देखाउन। हलिवुड सुन्दरी मेरलिन मुनरोको हिँउको विशाल मुर्ति बनाउँदै गरेको दृश्य पनि लोभलाग्दो थियो। अनि हिँउ तथा बरफ मेलाको त कुरै भएन। त्यस मेला भित्र जनवरीको पहिलो दिन यानि कि नयाँ वर्षको दिन प्रवेश गरेको थिएं। एउटा बेग्लै संसारमा पुगेको अनुभव भयो। हिँउ अनि बरफबाट बनाइएको शहर। घर, भवन, दरबार, टावर, क्यासल, भगवान बुद्ध, सुपर हिरो, कार्टुन क्यारेक्टर आदि-आदि। ती सबै आकृति या मूर्तिभित्र बिजुलीको तारबत्ती राखिएर रङ्गीन बनाएबाट अझै चित्ताकर्षक देखिएको थियो। वरफको लाल्टिन जस्तो, झिलीमिली बरफको वास्तुकला। साँझभन्दा राति अझै रमाइलो। दर्शनीय। त्यो दृश्यले झङ्कृत बनाएको मेरो मनलाई शायदै शब्दमा पोख्नसकुंला। त्यो अनुभव त्यो पलको जति व्याख्या गरूं त्यति नै कम लाग्ने छ। त्यो क्षण सम्झिँदा पनि मन प्रफुल्लित हुन्छ, शरीरमा काँडा उम्रन्छ। काँडा हैन फूल उम्रन्छ र साथै बरफझैं हुन्छ मन। अनि बिस्तारै पग्लिन्छ तनमनभरि।
हुन त हार्बिन अन्तर्राष्ट्रिय हिउँ तथा बरफ पर्व औपचारिक रुपमा हरेक वर्षको जनवरी 5देखि एक महिनासम्म आयोजना हुने गर्दछ। तापनि यो अगाडिदेखि नै खोलिएको हुँदो रैछ डिसम्बरदेखि मार्चसम्म नै चल्ने रहैछ। म भने जनवरी 1 तारिखको दिन यस मेलाको अवलोकन गर्नगएको थिएं। मात्र एक दुई वटा आकृतिको निर्माण बाँकी थियो या तयारी भइरहेको थियो। शहरभरी जताततै स-सानादेखि ठुल्ठूला हिउँका र बत्तीजडित बरफका आकृति देखिएता पनि २४० यूआनको टिकट काटेपछि मात्र प्रवेश पाउने यस मेला भित्र प्रवेशसँगै मन चङ्गा बनेको थियो। पुर्वको मस्कोमा आयोजना हुने यस मेला जापान, क्यानाडा र नर्वे सहीत विश्वकै ठूलो तथा उत्कृष्ट चारमध्ये पर्दछ। यस किसिमको महोत्सव सन् १९६३मा शुरु भएको र रुसेली साँस्कृतिक क्रान्तिको अवधिमा केही वर्ष स्थगित भएपछि सन् १९८५ जनवरी ५ देखि निरन्तर सञ्चालन भइरहेको छ। बताए अनुसार, सन् २००१ देखि हार्बिन आइस फेस्टिभल र है लोङ्ग च्याङ्ग अन्तर्राष्ट्रिय स्की फेस्टिभल गाभेर हार्बिन अन्तर्राष्ट्रिय आइस तथा स्नो फेस्टिभलको नयाँ नाम दिइएको हो। यस मुख्य महोत्सवबाहेक स्नो स्कल्पचरको नाममा र अरु साना तथा ठूला पार्कमा स-साना कार्यक्रम हिँउदभरि नै हुने गर्दछ।
यस बरफ शहरको अर्को विशेषता खाद्य परिकारको पनि केही चर्चा गर्नु आवश्यक ठान्छु। चिनियाँ खानाको एक विशेष खाना हटपट हार्बिनमा बसेर खानुजस्तो मजा कतै नहोला कि भन्छु, म त। तात्तातो खानु भनेको जाडो र चिसोमा त हो नि। माइनस बीस डिग्री सेल्सियस अनि हटपट। ता पनि तुरुन्तै सेलाउने। हा...हा..। यस हटपटबाहेक ससेज, मःम अनि क्वो पाउ रौ मिठो खानेकुरामा पर्दछ। यहाँका सम्झनाहरू पनि सबै-सबै मीठामिठा छन्।
-अजय अलौकिक
हाल: पैचिङ्ग
जनगणतन्त्र चीन