माघ ६ गते एमाओवादी नेतृत्वमा रहेको मोर्चाले आह्वान गरेको नेपाल बन्दमा काठमाडौंका सडक घुम्न निस्किएँ। यसरी सडकमा नडुलेको दुई वर्षभन्दा बढी भएको थियो।
चावहिल चोकमा बन्दको गर्ने ५०- ६० जनाको समूहमा रहेका एमालेका पूर्व सभासद् पासाङ शेर्पाले मेरो ध्यान ताने। उनी भन्दै थिए, 'हिजो संविधानसभामा केही कुर्सी र माइक्रोफोनमात्र भाँचिए। तर, हामी पहिचानमा आधारित संघीयताको विरोध गर्नेहरूको टाउको फोड्न पनि तयार छौं। यो कांग्रेस एमालेको यथास्थितिवादी सरकार राजा ज्ञानेन्द्रको शासन ढलेजस्तै ढल्नेछ। र, नेपालमा एकल जातीयतामा आधारित बाहुनवादको अन्त हुनेछ।' बन्दकर्ताले उनको भाषणमा ताली पिटे।
भाषण सुनिरहेका दुईजना बाहुन, क्षेत्रीजस्ता देखिने पुरुषहरूलाई भाषण कस्तो लाग्यो? भनेर सोधेँ। उनीहरूको उत्तर यस्तो थियो–हामीलाई कति गाली गर्छन् यिनीहरूले। न सुशील कोइराला हाम्रा बाबु हुन्। न केपी ओली हाम्रा दाजु। न त प्रचण्ड, बाबुराम नै हाम्रा नातेदार। बाहुन भएर यो देशमा हामीले गाली बाहेक आखिर के नै पाएका छौ र?'
नेपालमा जातीय पहिचानको मुद्दा उठन हुन थालेपछि बाहुन, क्षेत्री पुरुषहरूबाट यस्ता खालका प्रतिक्रयाहरू सुनेको पहिलो पटक भने होइन। साथीहरू, आफन्त तथा परिवारका सदस्यबाट पनि बारम्बार सुन्छु।
'अल्पसंख्यक' को आक्रोश
धेरैजसो अवस्थामा नेपालमा अल्पसंख्यक समुदायको आक्रोश सरकारी सेवा, सेना, प्रहरी तथा राज्यसत्तासँग बाहुन क्षेत्रीको पहुँचप्रति लक्षित पाइन्छ। आधुनिक नेपालको निर्माणसँगै सीमित समूदाय र वर्गले नेपालको महत्वपूर्ण राजनीतिक, व्यापारिक तथा सामाजिक नेतृत्व लिइरहेका छन्। अहिलेको परिवेशमा पनि, केपी ओली जस्ता बाहुन पुरुष नेतागणहरू अल्पसंख्यकले उठाएका मुद्धाप्रति गम्भीर देखिँदैनन्। अल्पसंख्यकको राज्यप्रतिको आक्रोश चुलिँदो छ। यस्तो प्रवृतिलाई लक्षित गर्दै जनजाति तथा अल्पसंख्यक समूहले प्रयोगमा ल्याएको 'बाहुनवाद' शव्दावली अहिले विवादको केन्द्रमा छ। बाहुन क्षेत्रीहरू योग्यताको कारणले मात्र नभई त्यो समुदायमा जन्मेकै नाताले समाजमा सर्वश्रेष्ठ मानिन्छन्। यसैका आधारमा राज्य सञ्चालनका लागि योग्य बनिरहेका छन् भन्ने आक्रोश अल्पसंख्यक समुदायले बोकेको पाइन्छ।
मैले अल्पसंख्यकको प्रतिनिधित्व गर्दै उनीहरूको भावनाबारे बोल्न सक्दिनँ। तर, नेपाली महिलाको नाताले दैनिक जीवनमा अनुभव गर्ने रोष, निराशा, पुरुषवाद, वहिष्करण र समाजसँग हुने मेरो अन्तर्क्रियाको आधारमा नेपालमा अगाडि आइरहेको अल्पसंख्यकले उठाएको जातीय मुद्धाको बारेमा बोल्न सक्छु।
सामाजिक वहिष्करण र भेदभावको अनुभव जहिले पनि देखिने खालका हुँदैनन्। प्रायः यस्ता अनुभवहरू सुक्ष्म तथा जुध्नका लागि जटिल हुन्छन्। धेरैजसो सामाजिक भेदभावहरू व्यक्तिको नियतले भन्दा पनि सामाजिक सोच र संरचनाबाट निर्देशित हुन्छन्। महिला र पुरुषको सम्बन्धलाई नियालेर हेर्यो भने जति नै समानताको कुरा गरे पनि महिलाहरू घरभित्र पसेपछि धरधन्दाको काम गर्न बाध्य हुन्छन्। महिला र पुरुषले कहिल्यै पनि घरायसी समान भूमिका निभाउँदैनन्। महिला र पूरुषहरूको भूमिका कसैको त्रास वा कानुनी बन्देजले भन्दा सांस्कृतिक र सामाजिक बुझाइले नियन्त्रित छन्। यस्तो बुझाइमा आधारित भेदभाव समाजिक तथा सांस्कृतिक मान्यताको रुपमा वर्षाोैंदेखि चलिआएकाले यसको विरुद्ध लडन सहज हुदैन। मेरो अनुमानमा नेपालका अल्पसंख्यक समुदायको अनुभव पनि केही हदसम्म महिलाका अनुभवहरूसँग समान हुनुपर्छ।
यो अदृष्यजस्तो लाग्ने तर दैनिक जीवनमा अनुभव गर्नुपर्ने वहिष्करणको अनुभवले दीर्घकालीन आक्रोश सिर्जना गर्दोरहेछ। यसको पहिचान र सम्बोधन ख्यालठट्टाको विषय होइन। अल्पसंख्यकको आवाजलाई चुटकिला बनाइनु हुँदैन।
अब अर्को प्रसङ्ग, नेपालभित्र विभिन्न भौगोलिक क्षेत्रमा बस्ने जातजातिहरूको बारेमा एक किसिमको समाजिक चित्र निर्माण गरिएको छ। तीमध्ये केही समुदायको बारेमा कोरिएका समाजिक चित्रहरू अरुकोभन्दा अति नै नकारात्मक पाइन्छन्। जस्तो कि सबै बाहुनहरू लोभी र बाठो भनेर बुझ्नु र मधेशी समुदायलाई नेपालीभन्दा फरक भारतीयहरू वा खाली कागज बोतल बेच्नेहरूको रुपमा चित्रण गर्नुमा आकास जमिनको फरक छ। नेपाली समाजमा स्थापित कतिपय जातीय पहिचानहरू शिक्षा र भौतिक सम्पन्नताभन्दा पनि बलिया हुन्छन्। जुन विशेषगरी दलित र मधेशी समुदायको हकमा लागु हुन्छ।
यी पहिचानसँग जोडिएका समाजिक धारणाहरू धेरै लामो समय पार गर्दै विकसित भएका हुन्। यिनीहरूलाई तुरुन्त परिवर्तन गर्न गाह्रो छ। कुनै पनि समुदायको बहिष्करण र नकारात्मक पहिचानको विकासमा धेरै शासकरुले विभिन्न कालखण्डमा भूमिका खेलेका हुन्छन्। जसको दोष धेरै पक्षहरूमा आैल्याउन सकिन्छ।
बहुसंख्यकको दावा
बन्द सकिएर घर फर्केपछि, यो दोष र दोषी देखाउने खेलमा मेरो पक्ष कुन हुन सक्छ? गम्भिरताका साथ सोचेँ। मैले धेरै वर्षसम्म नेपालमा सुरु भएको पहिचानको आन्दोलनलाई एक महिला तथा मार्क्सवादको आँखाबाट मात्र हेरेँ। तर, यसपटक पहिचानको आन्दोलनलाई एक बाहुन महिला तथा मेरो परिवारको बाहुन पहिचानको आँखाबाट हेर्न खोजेँ। मेरा आँखा अगाडि पटकपटक नेपाली गाउँहरू डुल्दा भेटेका विपन्न परिवारहरू आए। आफूलाई गरिब, अशिक्षित बाहुन, क्षेत्री पुरुषहरूको ठाउँमा पनि राखेर हेर्न खोजेँ। मलाई त्यो ठाउँ पनि सुरक्षित छ जस्तो लागेन।
एउटा बाहुन परिवारमा जन्मेर, यूरोपमुखी कम्युनिष्ट विचारधारबाट प्रभावित शिक्षा पाएको पारिवारको सदस्यको नाताले मलाई लाग्ने गर्थ्यो–जसरी गोरा जातिहरूले 'ह्वाइट प्रिभिलेज' लाई स्वीर्काछन्, त्यसैगरी नेपालमा बाहुन क्षेत्रीहरूले आफ्नो जातीय फाइदालाई स्वीकार्नु पर्छ। नेपालमा यो जातिको लागि भाषिक र सांस्कृतिक लगायत अरु धेरै तुलनात्मक फाइदाहरू छन्। तर, अहिले बुझ्दै छु, 'ह्वाइट प्रिभिलेज' को अवधारणा पश्चिमी मुलुकहरूमा सामाजिक विभेदलाई बुझन् सहयोगी रहे पनि पर्याप्त रहेनछ।
सेाच्छु, किन बाहुन क्षेत्री पुरुषहरू सामान्यतयाः जातीय पहिचानको मुद्धामा सकारात्मक पाइदैनन्? के उनीहरू आफ्नो तुलनात्मक रुपमा रहेको फाइदालाई जोगाइराख्न चाहन्छन् जुन फाइदाले आफ्नो आधारभूत आवश्यकता जस्तै गाँस, बास पनि पुरा गर्दैन? कांग्रेस र एमालेले कसरी दोस्रो संविधानसभाको चुनावमा दुई तिहाईभन्दा बढी बहुमत ल्याए? के बाहुन क्षेत्रीहरूले आफ्नो जातीय सर्वोच्चतालाई जोगाइराख्नका लागि यी दलहरूलाई दुई तिहाइ बहुमत दिएका हुन्? किन दोस्रो संविधानसभाको चुनावपछि 'खस आर्य समाज' र 'दशनामी समाज' जस्ता समूहहरू चुपचाप छन्? के कांग्रेस, एमाले सत्तामा आएपछि बाहुन क्षेत्रीहरूले सुरक्षित महसुस गर्न थालेका हुन त? के कांग्रेस, एमाले तथा राप्रपा नेपालले बाहुन क्षेत्रीहरूको राजनीतिक सोच तथा विचारको प्रतिनिधित्व गर्दछ? मलाई त्यस्तो लाग्दैन।
दुःख लाग्छ, नेपालमा उठेको पहिचान र समावेशी बहस ध्रुवीकरणको दिशामा अघि बढिरहेको छ। यो बहस शासकविरुद्ध शोषित, बाहुन क्षेत्री उच्च जात विरुद्ध आदिवासी जनजाति, चुच्चे नाक विरुद्ध थेप्चे नाकजस्ता उक्साउने शब्दावलीहरूको वरिपरि घुमेको छ। यस्ता विशेषणहरूले पूरै समूदायलाई एकअर्काविरुद्ध उभ्याइदिन्छ। बाहुन क्षेत्रीहरू जो हरेक दिन गास बासको सुरक्षाका लागि मजदुरी गरिरहेका छन् या कडा परिश्रम गरेर सफलता पाएका छन्। पक्कै पनि आफूलाई सम्भ्रान्त शासित वर्गसँगै 'शासक' को रुपमा चित्रित हुन तयार छैनन्। उदाहरणका लागि पश्चिमेली मुलुकहरूमा पनि निम्न वर्ग (वर्किङ क्लास) का वा आफ्नो पौरखमा यो वर्गबाट माथि उठेका गोरा जातिहरूले 'हवाईट प्रिभिलेज' लाई सहजै स्वीकार गर्दैनन्।
नेपालमा पहिचानको वहसले बाहुन क्षेत्री पुरुषमा त्रास सिर्जना भएको छ। नेपालका शासक वर्गसँगै एउटै कित्तामा राखेर समान्य बाहुन क्षेत्री पुरुषहरूलाई गरिने गालीलाई उनीहरूले आफ्नो स्वाभिमानमा भएको आक्रमणको रुपमा लिँदा रहेछन्। सामान्य बाहुन क्षेत्री पुरुषहरूमा उत्पन्न डरलाई पहिचान र समावेशीका लागि गरिएको आन्दोलनले सम्बोधन गर्न नसक्दा यसको सामाजिक र राजनीतिक फाइदा कांग्रेस, एमाले र राप्रपाजस्ता दलहरूले उठाइरहेका छन्।
नेपालमा उठेको पहिचानको मुद्धाले एक, दुई जातिलाई नै दोषी देखाएर, इतिहासको सम्पूर्ण दोष उनीहरूमाथि थुपारेर समाजिक तथा राजनीतिक निकास पाउन असम्भव छ।