पञ्चायत कालदेखिका राजनीतिज्ञ बुद्धिमान तमाङको बोराङ गाउँ र पृष्ठभूमिमा गणेश हिमाल।
विकट र चर्चामा नआएका नयाँ स्थानहरु घुम्न रुचाउने पुरानै बानी अनुसार यो पटक बिदा मनाउन साथी यादव घिमिरेको साथमा धादिङको उत्तरी भेग गयौं। यात्राकै क्रममा धादिङवेसीमा भेटिएका एक भद्रजनले हामीलाई यात्रा शुरूनै नगर्न अनुरोध गरे। कारण रहेछ- हामी जान खोजेको क्षेत्र र विशेष गरी झर्लाङ गाविसमा विगतमा आगन्तुकहरु प्रति भएका अप्रिय घटनाहरु।
तरपनि हामी अगाडि बढ्यौं। गाडी बिग्रिएकोले ५ घन्टामा पुगिने ग्याङगसाङ बजारमा १४ घण्टामा पुगियो। मोटरबाटोले धादिङवेसीसँग जोडिएको यो बजारबाट खाद्यान्न, गाईबस्तु र जडिबुटी मात्र होइन वन्यजन्तुका ओखेटोपहारसमेत धादिङवेसी पुग्ने गरेको सुनेपछि नरमाइलो लाग्यो।
असुरक्षाको डरले कमजोर मनोविज्ञानका कारण दुरबिन र क्यामेरा बिरलै प्रयोग गर्दै अघि बढ्यौं। गणेश हिमाल, पारीपट्टीका विशाल पहाडी शृंखला, कोदोबारी, पुराना शैलीका घरहरु, साच्चै नै यो क्षेत्रले प्रशस्त पर्यटकीय सम्भावना बोकेको थियो। अबेला नै भए पनि पञ्चायत कालका चर्चित राजनीतिज्ञ बुद्धिमान तामाङको गाउँ बोराङमा बास बस्न पुगेपछि अलि सुरक्षित महशुस भयो।
भोलिपल्टको केहि घण्टाको कोदोबारीको यात्रा र त्यसपछिको उकालो पछि लापा गाउँ पुगियो। स्थानीय बालबालिकाहरुले गुच्चा र डण्डिवियो खेलेको देखेर आफू सानो छदाँको सम्झना आयो। राजमार्गमा यात्रा गर्दा देखिने धादिङभन्दा असाध्यै राम्रो थियो उपल्लो धादिङ। तर, अफसोस, हामीले यात्रा गरिन्जेल उराठ वन मात्र देख्यौं – वन्यजन्तु विनाको मृत वन।
गोरखाको माग्मु गाविस पुग्दै गर्दा पनि केहि वन्यजन्तु भेटेनौं। ७ दिनसम्मको पैदल यात्रामा वन्यजन्तुहरु देखिएनन्। देखिए त केवल औंलामा गन्न मिल्ने केही बाँदर, चरा र पुतली मात्र। ४६ जिल्लाको भ्रमण गरिसक्दा यति निरास र उजाड प्रकृति कहिले पनि देखेको थिइन।
यहाँ चरा मार्न लिस्नु, स्तनधारी मार्न बन्दुक, रुख काट्न बन्चरोसहितका मानिसहरुको ओईरो नै लागेको थियो। कोहि औठींमा प्रयोग गरिने ढुङ्गा खनीरहेका थिए, कोहि जडिबुटि खोजिरहेका थिए।
काठ चिर्नेको भीड उस्तै थियो। १५ जनाको टोली वन्यजन्तु मार्नको लागि १३ वटा जाल बोकेर वन तिर जाँदैं थिए। उपल्लो धादिङ र गोरखाको सीमानामा यी घट्नाहरु सामान्य जस्तै रहेछन्।
धादिङ्को झार्लाङ्ग गाविसबाट बोराङ्ग तिर लाग्दा बन्दुक बोकेका दुईजना भद्र भेटिए। उनीहरु “जे पाईन्छ त्यही ठोक्ने हो” भन्दै वनतिर छिरे। लापा गाविसबाट माथि लाग्दा एक जना युवाले भने “सरले हेर्न आउनु भएको वन्यजन्तुहरु भेटिन्न होला। यहाँका मानिसले भ्यागुता र पुतली बाहेक सबै खान्छन्।'
हामीले भन्यौं - ५ वटा बाँदर त देखियो नी। उनले फर्काए - “बिदेशबाट आउनेहरुले बाँदरबाट इबोला भाइरस सर्न सक्ने भनेकोले आजभोलि बाँदर मार्न चाहिं छोडिएको छ।” धादिङ्ग र गोरखा सीमामा गत वर्ष ५ वटा हिमाली भालु मारेको तथ्य एक जनाले आगो ताप्दै खोले। माग्ने लेकमा आगो ताप्दै स्थानीयले धेरै रहस्यहरु खोले। सोही क्रममा एक स्थानीयलाई नेपालका स्तनधारीको किताब देखाईरहँदा उनी कस्तुरी मृगको तस्विर भएको पानामा घोइरीए र भने “यसको डल्लो त सुनभन्दा पनि महङ्गो हुन्छ। सकियो भनेको त पोहोर पासोमा एउटा पर्यो नी।”
बिहानै माग्ने लेक छाड्नु अघि धादिङको सुन्दरतालाई हेरीरह्यौं। ३,००० मीटरको उचाइमा रहेको माग्ने लेकबाट बिहानीको सुर्योदय भने बिछट्टै राम्रो देखिएको थियो। यो क्षेत्र भौगोलिक रुपमा राम्रो, तर वन्यजन्तुका हिसाबले अति नाजुक थियो। यसले उपल्लो धादिङ र यससँग जोडिएका गोरखाका गाउँहरुमा शुरु भएको पर्यापर्यटनलाई नकारात्मक असर पार्ने निश्चित छ।
यहाँ सरकारको दरो उपस्थिती आवश्यक त छंदैछ, संगसंगै स्थानियहरु पनि जागरुक हुन आवश्यक छ । प्रकृतिमा आधारित पर्यटनलाई केन्द्रमा राखेर संरक्षणका कार्यक्रमहरु प्रवर्धन गर्दा उचित हुने देखिन्छ ।
वन्यजन्तु संरक्षणको “मसिहा”हरुलाई यो परिस्थितिको बारेमा जानकारी छ कि छैन होला कुन्नि? गैंडा वा बाघ भएको भए, शायद परिस्थिति अर्कै हुन्थ्यो। सबैको चासो बढ्थ्यो। यस क्षेत्रको स्थिति हेर्दा लाग्थ्यो – तुरुन्तै केही गरिएन भने पहाडी र हिमाली भेग वन्यजन्तु विहिन हुनेछन्।
वन्यजन्तु विनाको प्रकृति मृत सरह हुने छ। यात्रा टुंगिने बेलामा यादव घिमीरे भाईले भनेको सम्झिरहेको छु – “वन्यजन्तु संरक्षणमा काम गर्ने थुप्रै संस्थाहरु छन् तर यहाँका वन्यजन्तुको लागि कोहि पनि छैनन् जस्तो छ।” उनले ठट्यौलो पाराले थपेका थिए – “कामै नगरी हरियो बोर्ड झुन्डाउनेहरु पनि आइपुगेका रहेनछन् नि दाई यहाँ त।”
फोटोको क्याप्सन
धेरै ठाउँमा कोदो खेती गर्न छाडिएपनि यस क्षेत्रलाई कोदोको राजधानी भन्दा पनि हुन्छ । बोराङ गाउँ नजिकैको कोदोबारी।
३,००० मीटरको उचाईमा रहेको माग्ने लेकबाट देखिएको बिहानको दृश्य
३,००० मीटरको उचाईमा रहेको माग्ने लेकबाट देखिएको हिमाल
वनमै रुखहरु काटेर थुपारिएको छ । गाँउमा कर तिरे पछि मात्रै काट्न पाईन्छ । गत वर्ष सम्म निशुल्कै प्रयोग गर्न पाईन्थ्यो ।
डढेको जङ्गल । हरियो रुख काट्दा समातिने डरले यस क्षेत्रका बासिन्दाले बर्षेनी वनमा डढेलो लगाउँछन् । रुखहरु सुकेपछि अर्को वर्ष काटिन्छ ।
रतुवा, घोरल लगायतका वन्यजन्तु मार्नका लागि थापीने जालहरु । एकै गाँउमा बर्षमा कम्तिमा ३० पटकसम्म पासोहरु थापिन्छन् ।
घरको छानामा सुकाउँदै गरेको वन्यजन्तुको छाला ।
इबोला भाईरसको डरले नमारिएको यो लंगुर ।
म्यापलेट प्रजातीको पुतली ।
लापा गाउँकी बालिका ।
स्थानीय गुरुङ महिला, यस क्षेत्रका गुरुङहरुले गुरुङ भाषा बोल्दैनन् ।
स्थानीय बालकहरु डण्डिबियो र गुच्चा खेल्दै ।