केही समयअघि एउटी महिला भेटेकी थिएँ, ‘सरोगेट मदर’ अर्थात् ‘भाडाकी आमा।’
उनले भनेकी थिइन्, ‘बिना यौनसम्बन्ध म आमा भएकी हुँ, हुन त म यो बच्चा पाई दिएवापत पैसा लिन्छु तर, पनि म पहिलो आमा हुँ, अरुका लागि आफूले जन्माइदिएको बच्दा दिँदा मेरो कलेजो कसैले जोडले तानेझै भयो, त्यो भारी दुखाइले म बेहोस भएको छु, होसमा आउँदा नर्सले सम्झाइन् तिमी भाडा कि आमा हौं!’ र, पनि सरोगेट मदरको ममता चिच्याइरहन्छ ‘म पहिलो आमा हुँ।’
र, आज मसँगै छिन्, अर्की आमा कमला।
कमला भाडाकी आमा होइनन्। यी वास्तविक सृष्टिकर्ता हुन्।
गएको वर्ष यस्तै माघ महिना, मेरो घरको आँगनमा एकजोडी मान्छे उभिए। छिमेकी कसैले भनेछ, हाम्रो घरमा कोठा खाली छ।
उभिएकी महिलाको नाम कमला सुनुवार, उभिएको पुरुष नाम टंक सुनुवार, घर ओखलढुगां जिल्ला, पलपु गाविस। मेरी आमाले साधारण सोधखोजमा उनीहरुलाई पहिला मेरो दाइ भाउजु बसेको कोठा दिने निर्णय गर्नुभयो, जुन खाली थियो।
उनीहरु हाम्रो घरमा बस्न थाले। त्यतिखेरै आमाले सोध्नुभयो, ‘तिमी दोज्यानकी हौ?’ कमलाले मुन्टो लुकाइन्। उनी दुई जीउकी रहिछन्।
पछि रहँदा बस्दा थाहा भयो, कमलाको पहिलेको लोग्ने मरेछ । अनि टंककी स्वास्नी पनि सुत्केरी हुँदा धेरै रगत बगेर अकालमै मरिछन्। नाताले कमला र टंक जेठाजु बुहारी।
कमलाका यसअघि चार सन्तान, टंकको दुई। कमला गर्भवती थिइन्, अब जन्मने समेत सात सन्तानका धनी उनीहरु। मेरो गाविसको स्वास्थ्य चौकीले सुत्केरी गराउन अस्पताल लैजान भन्यो। कमलाले प्रसूतिगृहमा छोरी पाइन्। नर्सले गरिबको सन्तान पाल्न लैजाने धनी खोजिछन्। कमला भरी कोख छोडेर रित्तो काख घर फर्किइन्।
कमलाले सुत्केरीमै गाउँमा रहेकी आफ्नी ५ वर्षीया छोरीलाई भेट्न मन लागेको कुरा बारम्बार भनिन् तर, भेट्न गइनन्। सायद रित्तो काखको पीडा भुल्न कमलाले बारम्बार आफ्नी छोरीको सम्झना गरिन्। ५ वर्षीया छोरीले पनि सम्झी होला आफ्नी आमालाई घरिघरि।
मेरी आमाले गोरीको कुरा मसँग गर्नुभयो। कमलाकी ५ वर्षीया छोरी ‘गोरी’। आमाको हृदयको पीडा आमैले बढी बुझेर होला। ‘कमला छोरीहरुको न्यास्रोले फेरिनै सकिनँ’ आमाले भन्नुभयो। एउटा गाउँमा आमा कुर्दै बसेकी छोरी, अर्की जन्माएर पनि पाल्न नसकिएकी छोरी, दुवै छोरीको न्यास्रोमा कमला झोक्राउन थाली।
यसपटक मैले सोधेँ, ‘तिमी छोरी लिन गाउँ किन जान्नौ?’ कमलाले नाक मुखै रातो पारी, आँखा रसाएर गाला भिजाउँदै आँसु झरे। कुरो खुल्यो। कमलालाई गाउँ पस्न नदिने भन्ने खबर उसैको जेठो छोराले फोनमा सुनाएछ।
मानौं कमलाले गल्ती गरिछ। उसैको जेठाजुसँग बिहे गरेर। तर उसको ‘लोग्ने’ जेठाजु यसअघि नै घेरैपटक गाउँ गइसके। कमलाको लोग्नेलाई गाउँ जान कसैले रोकेन। तर कमलाले चाहिँ गाउँ पस्न नपाउने निर्णय भएछ।
कमला र टंकको बिहेलाई कमलाका घरका र माइतकाले ठीकै भनेछन्। किन भने दुवैले आफ्नो जीवन साथी गुमाएका थिए। एकअर्काको सहारा भए।
तर, फेरि कसले गर्यो कमलालाई गाउँ पस्न नदिने निर्णय? त्यसमाथि देशमा कानुन छ, कानुनका रक्षकहरु पनि छन्। सजाय दिनै परे कानुनले देला वा नदेला। गाउँमा पाँचजना जम्मा भएर कसैलाई गाउँ पस्न नदिने निर्णय गर्नु कानुनकै बर्खिलाप हो जुन कुरा कमलालाई थाहा छैन।
यो देशका सोझा नागरिकहरु अझै आफ्नो मौलिक हक जान्दैनन्। कमलालाई पनि कानुन र संविधान थाहा छैन। थाहा छैन, मोबाइलको घन्टीमा न्याय र अन्याय बोल्न सक्तैन। थाहा छैन कमलालाई फोनमा जे सुनाइयो कानुनतः त्यसो बोल्न पाइँदैन पनि।
कमलाको मूर्छनाको साक्षी म ‘उनैलाई हेर्दै उनैको यो व्यथा’ लेख्दै छु। तर, आफैंलाई थाहा छैन कमलाको यो दर्द मेटाउन मैले के गर्नुपर्छ?
सोच्दै छु, कुनै अधिकारकर्मी कहाँ लैजाउँ या कुनै वकिलकोमा। आफैं अन्योलमा छु, कमलाको कानुनी लडाइँको बाटो के हो? कोसँग न्याय माग्ने हो, उजुरी कहाँ दिने?अथवा को व्यक्ति कसुरदार हो? कमलाको दुःखको फेहरिस्त कहाँबाट सुरु गर्ने हो ? कसका सामु सुरु गर्ने?
कमला, म आमा भएको छैन, त्यसैले आफैंले पाएको सन्तान अरुलाई दिँदा र आफैंले पाएको सन्तान भेट्नसम्म नपाउँदा तिमी कुन गहिरो शोकबाट गुज्रियौं मैले त्यसको वर्णन अक्षरमा गर्दा तिम्रो ममतामा अन्याय होला।
कमला, तिमी त यो देशकी गरिब आमा हौ, त्यो भन्दा अरु केही गल्ती भएकै छैन। तिमीले टंकलाई रोज्यौ, तिम्लाई टंकले रोज्यो। रोजाइमा गल्ती भएको होइन। गल्ती अरु नै कुरामा भएको छ, तिम्रो दुईवटा गल्तीे पहिलो यो देशको गरिब आमा हुनु, दोस्रो आफूलाई परेको अन्याय जोडले चिच्याएर भन्न नसक्नु। मेरो अनुरोध, तिमी एकपटक चिच्याएर भन्,‘कि मलाई अन्याय भयो।’ हुनसक्छ तिम्रो यो क्रन्दनको चित्कारले कुम्भ कर्णझै सुतेको सरकार ब्युँझने छ र तिम्रो न्यायका लागि पहल गर्ने छ। आजसम्मको हाम्रो देशको न्याय प्रणालीले यही सावित गरेको छ कि न्याय पाउन चिच्याउनै पर्छ। जोड जोडले कराउनैपर्छ।
कमला, तिमी त भाडा कि आमा पनि होइनौं, जसलाई आफूले पाएको सन्तान भोलि सुम्पनु पर्छ भन्ने यकिन हुन्छ। जसले आफैंले पाएको सन्तान भोलि भेट्न पाइँदैन भन्ने निधो गरेको होस्। भाडाकी आमाको पनि आफ्नै कथा र व्यथा छ। भाडाकी आमाले सन्तान नभएका जोडीलाई कुन दुःखको महासागरबाट पार लगाएकी छन्, कुनै दिन म तिमीलाई भन्नेछु।