पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिन आयो कि प्रत्येक वर्ष, कोही उनको पक्षमा एक पक्षीय कुरा गर्छन् भने कोही उनको विपक्षमा एक पक्षीय कुरा गर्छन्। यी दुई पक्ष–विपक्षका कुराहरू नेपाली राष्ट्रियता र समावेशी संस्कारको सन्दर्भमा बडो संवेदनशील चर्चा भएको हुन्छ।
पृथ्वीनारायण शाहका पक्षधरहरूले उनलाई र उनको कार्यलाई “राष्ट्रिय एकीकरणकर्ता र राष्ट्रिय एकीकरणको काम” भन्ने गर्छन् भने उनको विपक्षमा कुरा गर्नेहरूले” पृथ्वी नारायणले गोर्खा राज्यको विस्तार गरेको मात्र हो, राष्ट्रिय एकीकरण गरेको होइन” भन्छन्। आफ्नो धारणा, अझ भनौँ भने पुर्वाग्रहबाट प्रेरित भई इतिहासको सत्यतथ्यलाई समेत ओझेलमा पारेर वा अतिरञ्जित गरेर आआफ्ना दलिलहरू प्रस्तुत गर्छन्। यसले गर्दा पृथ्वी नारायण शाह र उनको कार्यको थालनीलाई पाठकहरूले यथार्थमा बुझ्न अलमल पर्छन् र बुझे पनि भ्रममा पर्छन्। त्यसकारण यो कुरालाई तथ्यगत वा यथार्थरूपले बोध गर्नु र विचार तथा व्यवहारमा आत्मसात गर्नु आजको नेपाल र नेपाली राष्ट्रियताको भविष्यको लागि एकदम महत्वपूर्ण छ। त्यसैलाई यहाँ छलफलको विषय बनाइएको छ।
सबभन्दा पहिले पृथ्वीनारायण शाहको कार्यलाई “राष्ट्रिय एकीकरण हो” भन्ने पक्षधरहरूको कुरामा छलफल गरौँ। एकिकृत माओवादीका नेताहरू प्रचण्ड र बाबुरामले पनि उनलाई “राष्ट्रिय एकीकरण कर्ता हो” भनी भनेको सुनियो। एमाले र काँग्रेसका नेताहरू माधव नेपाल, ओली र दिवङ्गत कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र जिवित नेताहरू अर्जुननरसिंह के.सी., प्रकाशमान सिंह आदिले त पञ्चायत कालदेखि नै पृथ्वीनारायण शाहलाई “राष्ट्रिय एकीकरण कर्ता” भनी भन्दै आइरहेछन्। हालसालै, पुस २७ गतेको पृथ्वीजयन्तीलाई फेरि राज्यस्तरबाटै “राष्ट्रिय एकता दिवस” को रूपमा मनाउन आग्रह गर्न आएको गैरसरकारी पृथ्वीजयन्ती समारोह समितिलाई, प्रधानमन्त्री सुशील कोइरालाले सकारात्मक आश्वासन दिएको कुरा मिडियाबाट थाहा पाइयो।
स्मरणीय छ, पञ्चायत कालदेखि राष्ट्रिय एकीकरण दिवसको रूपमा मनाउँदै आएको “पृथ्वी जयन्ती” लाई ०६२–०६३ को जनआन्दोलन पछि बनेको सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाको कार्यकालमा ‘राष्ट्रिय एकीकरण दिवस’ त के पृथ्वी जयन्ती नै नमनाउने गरिएको थियो।
पृथ्वीनारायण शाहको कार्यलाई ‘राष्ट्रिय एकीकरण’ भन्नेहरूले सबभन्दा सशक्त भनिएको दलिल, “हिन्दुस्तानलाई उपनिवेश बनाउँदै अघि बढिरहेको अँग्रेजहरूबाट नेपाललाई बचाउन उनले ससाना राज्यहरूमा टुक्रिएको नेपाललाई एकीकरण गरेर विदेशीको हातबाट बचाउनु हो।” भन्दछन्। वास्तवमा यो कुरा इतिहाससम्मत छैन, यथार्थ होइन। किनभने समुन्द्र सतहबाट ३–४ सय फिट उचाइमा बसेका र मलेरियाको हावाले पनि नछोएका अँग्रेजहरूलाई नेपालको अनकण्टार र गगनचुम्बी पहाड तथा तराईको मलेरिया (औलो) ले पहिले देखि नै तर्साएको थियो। त्यसकारण अँग्रेजलाई तत्काल नेपालप्रति केही आकर्षण नै थिएन।
बरु नेपालको भौगोलिक बनावट र जलवायु (औलो) प्रति वितृष्णा थियो। त्यसैले नेपाललाई आफ्नो उपनिवेश बनाउने अँग्रेजहरूको कल्पनासम्म पनि थिएन। यस्तो अवस्थामा पृथ्वी नारायण शाहमा नेपाललाई विदेशीबाट बचाउने राष्ट्रिय चिन्तन कसरी आउन सक्छ ? अर्को कुरा अँग्रेजको नेपाल जित्ने र शासन गर्ने चाहना र प्रयत्न भएको भए सन् १८१६मा सुगौली सन्धि भएको एक वर्षमै पूर्वी र मध्य तराईलाई फर्काउने र आफूलाई मद्दत गरेको हुँदा पश्चिम तराईलाई राणा प्रधानमन्त्री जङ्गबहादुरलाई बक्सिस स्वरूप दिने नै थिएन। यसबाट स्पष्ट हुन्छ अँग्रेजहरूले नेपाललाई आफ्नो उपनिवेशमा गाभ्न खोजेकै थिएन। यस्तो अवस्थामा पृथ्वीनारायणले अँग्रेजहरूबाट बचाउन नेपालको एकीकरण गरेको हो भन्न कसरी सकिन्छ र ? पृथ्वी नारायण शाहको जस्तो कार्य त अँग्रेजहरुले पनि अनेकौँ राज्यमा विभाजित हिन्दूस्तानलाई जितेर एक राज्य बनाएको थियो। तर फरक के थियो भने अँग्रेज फिरङ्गीहरु सात समुन्द्र पारिका साम्राज्यवादी थिए भने पृथ्वी नारायण हाम्रै २४ से राज्य मध्येका एक राज्यका राजा थिए।
त्यसो भए तापनि पृथ्वीनारायणले वर्तमान नेपालको स्वरूप विस्तार गर्न सवल शिलान्यास गरेकै हो। पछि उनका वंशज र नेपाली योध्दाहरूले उनको मृत्यु पछि ४ दशकमा पूरा गरेको हो, जसले गर्दा ५२ ससाना राज्यमा विभाजित नेपालको भुगोल र राज्यलाई एक गरेर भौगोलिक र राजनीतिक रूपमा, अन्तर्राष्ट्रिय जगतमा एउटा सिङ्गो देशको रूप दिएको हो। यो ऐतिहासिक तथ्य हो र कसैले पनि यसलाई नकार्न मिल्दैन।
अब पृथ्वी नारायण शाहको कार्य ‘राष्ट्रिय एकीकरण होइन गोरखा राज्यको विस्तार हो’ भन्नेहरूको जिकिरमा छलफल गरौँ। तत्कालिन गोरखा प्राकृतिक सम्पदामा चौविसे राज्यहरूमा सबभन्दा विपन्न थियो। अनुसन्धानकर्ता इतिहासकारहरूले भन्छन्, “गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन।” त्यसैकारणले राजाको मात्र होइन गोरखाली जनताको पनि राज्य विस्तार गर्ने चाहना थियो। त्यो चाहना पुरा गर्ने एउटै मात्र लक्ष्य थियो, प्राकृतिक सम्पदा खास गरेर अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्नु। यो कुरा पृथ्वीनारायण शाहको उपदेशमा लेखिएको, “यी ३ नै देश (काठमाडौं, पाटन, भक्तपुर) को राजा हुन पाया त हुँदो हो।” भन्ने उनको भनाइबाट स्पष्ट हुन्छ। वि.सं. १८२६ मा उपत्यकाका ३ वटै राज्यलाई जितिसकेपछि, पश्चिमका २४ से राज्यमाथि असफल आक्रमण गर्नु र पूर्वको किरात प्रदेशमा वि.सं. १८३१ सम्ममा राज्य बढाउनु उनको अझै ठुलो देशको राजा हुने महत्वकाङ्क्षाको विस्तार मात्र थियो ः सिङ्गो नेपाल बनाउँछु भन्ने दुरदर्शिता थिएन। यस्तो महत्वाकाङ्क्षा, आठ पहरियाको जागिर खाएर दरवार पसेको जङ्गबहादुरले एकपछि अर्को गरी दरवारिया राजनीतिमा पदोन्नति गर्दै गएर प्रधानमन्त्री हुने र अधिनायकवादी जहानिया राणा शासन चलाउने जङ्ग बहादुरको महत्वाकाङ्क्षा जस्तै हो।
अब राष्ट्रिय एकीकरणको कुरा गरौँ। राष्ट्रिय एकीकरण हुनका लागि देश भित्रका सामाजिक विभेदहरू हटाएर प्रत्येक समाज, समुदायका भाषा, संस्कृति र इतिहासको संरक्षण र संबद्र्धन, गर्नु सामाजिक समाताको आधारमा समाजिक एकीकरण हुन्छ। यो काम पृथ्वी नारायण शाह र उनका वंशजहरूबाट भएन वा थालिएन। यहाँ सम्म कि पृथ्वीनारायण शाहले त भेदभावपूर्ण अमानवीय वर्णव्यवस्थालाई प्रोत्साहन हुने गरी, “मेरो देश ४ वर्ण ३६ जातको साझा फूलबारी हो ....” भनी ब्राह्मण, क्षत्री, वैश्य, शुद्र र त्यसै संस्कार–संस्कृतिमा आधारित भएको ३६ जातलाई मान्यता दियो। संसारमा कतै नभएको यो अमानवीय र विभेदकारी ठुलो जात र सानो जातको कुरा हिन्दू वर्ण व्यवस्था लागु भएदेखि अर्थात लिच्छवी कालदेखि जातभातरहित उपत्यकाको नेवार समाजमा पण्डित पुरोहितहरूले राज्यको वलमा प्रवेश गराएको थियो।
यो अमानवीय परम्परा हो भनेर त्यसलाई समयअनुसार पृथ्वी नारायण शाहले परिवर्तन गरी, समावेशी समाजको निर्माण गरेको भए उनलाई राष्ट्र निर्माता भन्नमा आपत्ति हुदैनथ्यो। तर उनी र उनका वंशजले यस्तो काम गरेनन्। विचार र व्यवहारमा जातभातको सामाजिक विभेदलाई झनै सुदृढ बनायो। वर्ण व्यवस्थाको संस्कार सांस्कृतिकै आधारमा बनेको अधिनायकवादी एकल जातिय भाषा, संस्कृति र इतिहास नेपाली समाजमा लादेर देशमा अन्य भाषा, संस्कृति र इतिहासलाई विस्थापित गरे। राजा महेन्द्रले २०२० सालमा मुलुकी ऐन बनाउँदा समयको मागअनुसार ठुलो जात र सानो जात भनेर मुद्दा नलाग्ने गरी कानूनी रूपमा वर्ण व्यवस्था हटाएर अरुको आँखामा छारो हाल्ने काम त गरे, तर व्यवहारमा भने त्यही परम्परालाई निरन्तरता दिए।
यही कारणले गर्दा समावेशीकरणको मुद्दाले अहिलेसम्म निकास पाउन सकेको छैन, सहमतिको वातावरण बन्न सकेको छैन। परम्परावादी र परिवर्तनकारीहरूको विचमा बौद्धिक विचलन ल्याई आन्तरिक राष्ट्रियता विकास गर्न दिएको छैन। यहाँ सम्म कि समावेशी संस्कार र संस्कृतिको अभावमा आजको राजनीतिलाई समेत विचलित बनाएको छ, जसले गर्दा संविधान बनाउनमा सहमति जुट्न सकेको छैन।
अब निष्कर्षमा हामीले मान्नुपर्ने कुरा के छ भने पृथ्वीनारायण शाहको क्रियाकलाप राज्य विस्तार भएपनि यसले नेपालको एकीकरण भएको छ, अन्तर्राष्ट्रियस्तरमा नेपाल राष्ट्र भनी चिनिएको छ। यसलाई इतिहासले नकार्न दिँदैन। जुनसुकै कारणले पृथ्वी नारायण शाहले वर्ण व्यवस्था जातभातलाई सुदृढ बनाएको भए तापनि, आज हामीले त्यसलाई हटाएर, त्यहाँ समावेशी संस्कार–संस्कृति विकास गर्न ठूलो जात र सानो जातको पूर्वाग्रहलाई विचार र व्यवहारबाटै निर्मूल पारी आन्तरिक राष्ट्रियतालाई अघि बढाउन र सुदृढ गर्न तिर लाग्नु पर्दछ। पृथ्वी नारायणको यो अधुरो कामलाई हामीले पूरा गर्नु पर्दछ। यो महत्वपूर्ण सन्देश दिनका लागि, सत्यतथ्य इतिहासलाई साक्षी राखेर पुष २७ गते लाई राष्ट्रिय एकीकरण नभनी “पृथ्वी जयन्ती र एकीकरण दिवस” मात्र भनेर राज्य स्तरबाटै मनाएमा बाधा पर्ने देखिँदैन।
इमेलः gehendra.pokhareli@yahoo.com