महात्मा बुद्धले भन्नु भएको छ– तीन चिज कहिल्यै लुकाउन सकिँदैन; सूर्य, चन्द्रमा र सत्य!
केही दिनअघि सेतोपाटीमा प्रकाशित डा. बाबुराम भट्टाराईको डाकोले मलाई पनि चैनले सुत्न दिएन।
‘हिजो सामूहिक बलात्कार पीडित नेपाली छोरी पूजा बोहराको मार्मिक पत्र पढेर जिन्दगीमा सम्भवतः पहिलोपटक डाको छोडेर रोको थिएँ।’
१६ डिसेम्बर १०ः२८ बेलुकाको फेसबुक स्याटस् अनुसार तपाई पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका नेता बाबुराम भट्टराई डाको छोडेर रुनु भो। रुनु भो, भएन त्यो तपाईलाई नै थाह होला तर फेसबुकमा रुनु भो। कम्प्युटरको स्क्रिनमा देखिन ‘फेसबुक’मा रुनु र जीवन भोगाइको ‘लाइफबुक’मा रुनुको फरकबारे थाह पाउनु भयो, भएन? त्यो कुरा आगतले फेरि बताउला, विगतले बताई सकेको छ।
फेसबुकमा हामी धेरै त्यसै गर्छौ। रुन्छौं, कराउँछौं, चिच्याउँछौं, रीस पोख्छौं, पीडा ओकल्छौं, सराप्छौं, भावुक बन्छौं, वेदना–संवेदना पोख्छौं, हार्दिकता देखाउँछौं, दरिद्रता पनि देखाउँछौं, राम्राराम्रा फोटा राख्छौं, राम्रा देखिन्छौं, राम्राराम्रा कुरा गर्छौ, राम्रा हुन चाहन्छौं। तर हामी कति असल छौं? तपाई–हाम्रो वास्तविकता र व्यवहार त्यो फेसबुकलाई के थाह?
हामी विश्वास मान्छौ, तपाई रुनु भयो ! रुने अवस्था आउनु राम्रो होइन तर रुनु राम्रो हो। अरुको पीडामा रुन सक्ने मान्छेसँग संवेदना हुन्छ। संवेदनाले मान्छेलाई सोच्न वाध्य गराउँछ। पीडाको समानुभूतिले हो मान्छेलाई रुवाउने? तपाई साच्चिकै रुनु भएको हो भने तपाई लगायत तपाई जस्ता धेरै नेताहरुले बाँकी जीवन रोएरै बिताउनु पर्ने छ। अब यो तपाईको रुवाई देखावटी हो कि नैतिक रुवाई? हेर्ने दिन आउँदैछन्।
रुने पङ्तिमा तपाईपछि प्रचण्डजी आउनु हुन्छ। तर उहाँले आफू रोएको दावी गर्नु भएको छैन। दावी नभए पछि उहाँसँग तपाईको जस्तो संवेदना झिँगाको पित्त बराबर पनि छैन भन्ने अनुमान लगाउन सायद तपाईलाई पनि गाह्रो भएन होला! उहाँ जस्तै संवेदनाहिन कति हो कति छन्। हरेक ‘पाटी’ र पार्टीमा छन्।
तपाईले पूजालाई न्याय दिलाउने र उनका सबै सपना साकार गर्ने महानतम् अभिव्यक्ति दिनु भएको छ। कस्तो राम्रो ! त्यसैले तपाईको वौदिकताको हामी सधैं कदर गर्छौ। तर त्यो वौदिकताले एउटा प्रश्न जन्माएको छ–कुखुरा पहिले कि अण्डा? वौदिकता पहिले जन्मिन्छ कि बुद्धि?
बाबुराम भट्टराईज्यू तपाई रुनु भो, समाचार बन्यो ! थाह छ किन? तपाई आजसम्म रुनु भएकै थिएन, त्यसैले! रुनु पर्ने कारणहरु तपाईसँग थिएनन्, त्यसैले ! तपाईले बल्ल भरखर थाह पाउनु भो रुनु पर्ने कारणहरु। यस अर्थमा वौदिकतामा बुद्धि भरखर पसेको हो कि बुद्धिमा वौदिकता घुसेको हो छुट्याउन गाह्रो भो!
विचार गर्नुस् भट्टराईज्यू, तपाईको देशमा कति पूजाहरुको जीवन निमोठिएको होला? कतिको अस्तित्व लुटिएको होला? कतिको नारीत्व बेचिएको होला?
फेसबुकको ‘आदर्श रुवाई’ मात्र हैन भने अरु त अरू, तपाईका लालसेनाले कतिको नारीत्व लुटे? युद्ध उन्मादभित्र बलेको यौन उन्मादको आगो निभाउन तपाईका लालजत्थाले कति चेलीलाई विवश बनाए? कतिलाई बेसाहारा बनाए? प्रतिकार गर्ने कतिको प्राणपखेरु उडाए? आफैले विधवा बनाएर किरिया बसेकी कति नारीलाई घिसारे? गर्भवती र मानसिक अपाङ्गता भएका पीडितहरूलाई समेत बाँकी छोडेनन्।
सरकारी सेना र प्रहरी नाउँका राक्षसले त गरे गरे, तपाईका लालधोजे मुक्तिसेना नामका राकसले पनि कतिको जीवन बरवाद गरे? तिनलाई संसारबाट मुक्ति दिलाए?
संयुक्त राष्ट्र संघको मानवअधिकार रिपोर्ट २०१२ अनुसार झण्डै १२ प्रतिशत बलात्कार तथा यौनहिंसा तपाईको लालदस्ताका राकसबाट भएको थियो। यसलाई हामी तपाईको निर्देशन र सुरक्षामा भएको भन्छौं। किनभने ती लालसेना तपाईको निर्देशनमै चल्थे। ती लालमुखे वलात्कारीलाई तपाईले अहिलसम्म सुरक्षा र छहारी दिनु भएको छ। स्याबासीको धाप मारेर राख्नु भएको छ। हैन भने देखाउनुस् ती मध्ये कसलाई के कारबाही गर्नु भो? कति आँशु चुहाउनु भो ती नारी लुटिँदा, कुटिँदा, मारिदा? त्यतिबेला तपाईको डाको त थियो तर त्यसमा रोदन थिएन, युद्धको मद थियो। त्यो मद एक्कासी अहिले कसरी रुन्चे डाको भयो? हामी कसरी पत्याऊँ बाबुरामज्यू, तपाई डाको छोडेर रुनु भो भनेर?
तपाईका लालसेनाको यौनज्वाला निभाउन लाचार ती अरु सयौं पूजा बोहराहरुको अवस्था के होला अहिले? कतिले आफ्नो जीवन नै निभाए होला? कतिले मानसिकता गुमाए होला? कतिले नगरवधुको उपाधि पाए होला?
के ती नारीहरु तपाईकै छोरी जस्तै कसैका छोरी थिएनन्? तपाईका श्रीमती जस्तै कसैका श्रीमती थिएनन्? तपाईकै आमा जस्तै कसैका आमा थिएनन्? तपाईकै दिदीबहिनी जस्तै कसैका दिदीबहिनी थिएनन्? खै कहाँ गएको थियो तपाईको संवेदना? सक्नु हुन्छ तिनको जिम्मेवारी लिन? कसरी पत्याऊँ हजूर, तपाईका तीनै आँखाबाट आँशु चुहिए भनेर?
तपाईका लालसेनाले कतिको जीवन निमोठे? कतिलाई जिउँदै खाल्डामा गाडे। कतिलाई मर्न न बाँच्नु पारेर छोडे। के कसैले बिर्सेला बाँदरमुढे? बालक भनेनन्। बृद्ध भनेनन्। चेली भनेनन्।
‘बाँदरमुढे बमले खरानी बनाइएका ६ वर्षे वालक र ८० वर्षे बुढा मार्ने निर्देशन दिने मै हुँ, विद्यालयका निर्दोष प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई रुखमा झुण्ड्याएर मार्ने निर्देशन दिने मै हुँ’ भन्ने तपाईको त्यही वौदिक मस्तिष्कबाट अस्तिसम्म यस्तै शब्द चुहिन्थे। अहिले फेसबुकमा त्यही मस्तिष्कबाट शब्दरुपी आँशु मात्र चुहिएका त हैनन्? खै कहाँबाट कसरी पत्याऊँ?
कमरेडज्यू, तपाईकहरुका कारणले १५ हजार मान्छे मारिए। को थिए ती? तपाईकै देशका गरिब जनताका छोराछारी थिएनन् ती? तिनलाई मारेर के ल्याउनु भो? के दिनु भो देशलाई?
तपाईलाई साच्चिकै संवेदनाले छुन थालेको छ भने एउटाका लागि एकदिन ‘इमानदार रुवाइ रोइदिनुस्। १५ हजारका लागि १५ हजार दिन रोइदिनु भो भने ती आत्माले शान्ति पाउने छन्। हामी पनि पत्याउँछौ, तपाई साच्चिकै डाको छोडर रुनु भो। तपाईभित्र संवेदना जन्मियो। तपाईका आँखामा आँशु पनि रहेछन् भनेर !
जिम्मेवारी तपाईको मात्र छैन। देशको अस्मिता लुट्नु पनि वलात्कार हो। हामी जनता हौं। देश, हामी जनताकी जननी हुन्। हाम्री आमाको अस्मिता चिथोर्ने कति छन् तपाईका वरिपरि? हत्या, हिंसा, भ्रष्टाचार, दुराचार गर्ने लोभीपापी कति छन् तपाईका दलमा? कति छन् अरु दलमा? कति छन् अदलमा, बदलमा, दलदलमा? देशलाई ढाट्नु ठग्नु, लुट्नु भनेको देशलाई वलात्कार गर्नु हो कि हैन? तर तपाईहरुका लागि राजनीतिको पर्याय भएका छन् ती कर्म र कृत्यहरु !
यो हिंसाका लागि तपाईहरु सबै दलका, प्राय: सबै उत्तिकै जिम्मेवार हुनुहुन्छ। सक्नुहुन्छ, नैतिक जिम्मेवारी लिएर हामी पनि वलात्कारी हौं भन्न? हामीलाई पनि कानुनको कठघरामा उभ्याइयोस् भनेर माग गर्न? खै कसरी पत्याउनु तपाईसँग संवेदना छ भनेर?
भट्टराईज्यू, तपाईको डाको, रुवाइको पुलिन्दा मात्र हैन भने पूजाप्रति चुहाउनु भएको फेसबुके आँशुका लागि सादर साधुवाद ! पूजा बोहोरा सहित सबै पूजालाई न्याय दिलाउनु भो भने त्यतिखेर महान् भनेर मानौंला, पुजै गरौंला।
केही दिन अघि ‘बाबुराजी, स्तम्भ लेखनमा स्वागत छ !’ भन्ने आलेखमा बाबुरामजीले झूठो बोलेको र बोले अनुसारै झूठो लेखेको भनेर सेतोपाटीले सत्य स्थापित गर्न खोजेको रहेछ।
‘बाबुरामजी, तपाईहरुलाई न त चुनावको घोषणापत्रमा गरेको भीष्म प्रतीज्ञाले छुन्छ, न त आफैंले कोरेको लक्ष्मण रेखाले। तपाईहरुले लेखेको, बोलेको र भनेको कुराको कुनै नैतिक बन्धन नै नभएपछि नागरिकले तपाईलाई किन गम्भीरतापूर्वक लिने?’ भनेर सम्पादक अमित ढकालज्यूबाट प्रश्न सोधिएको रहेछ।
थाह छैन, वौदिक व्यक्तित्व डाक्टर सापबाट कस्तो उत्तर गयो? तर सेतोपाटीको त्यो प्रयासलाई आरोपमा अवतरित गरिए जस्तो लाग्दैछ।
लेनिनले भनेका छन् भनेर ‘पोलटिक्स इज मोर लाइक अलजेब्रा देन अर्थम्याटिक्स’ भन्दै २२+१९=३० हुन सक्छ भनिन्छ। ‘संविधानलाई नरोक्ने गणितीय प्रकृयामा गएर भए पनि निर्णय हुने’ भन्ने कुराको तपाईको अंकगणित यही हो? दोस्रो संविधानसभाको चुनावमा तपाई आफैंले लेखेर जनताबीच लगेर चिच्याई चिच्याई हामीलाई सुनाएको घोषणापत्र एकवर्ष नपुग्दै कसरी विर्सनु भयो? कतै तपाईलाई पनि झलनाथ खनाल भन्ने एक नेता उपनामका मान्छेलाई जस्तै भिटामिन डीको कमी भएर विर्सने रोगले ग्रस्त त पारेन?
कि भिटामिन डी खान अमेरिका उड्ने टिकट काटी सक्नु भएको छ?