ललितपुर बस्दै आएकी १८ वर्षीय नेहा गुरुङ डाक्टर बन्न सबै हिसाबले लायक थिइन्। तरपनि उनको डाक्टर बन्ने सपना अधुरै रहने भएको छ। एउटै कारण उनीसँग एक थान नागरिकता छैन। आमाको नाममा नागरिकता लिन तीन वर्ष संघर्ष गर्दा पनि उनले सकिनन्। अन्तत: गतवर्ष विज्ञान संकायमा १२ पास भएकी नेहाले डाक्टर बन्ने सपना छोडिन्। नागरिकता पेश गरिरहन नपर्ने कानून विषय पढ्ने अन्तिम तयारीमा छिन् उनी।
उनी भन्छिन्,'साइन्स पढेर समाजको सेवा गर्ने ठूलो इच्छा थियो। म जस्तो जेहेन्दार विधार्थीलाई नागरिक भनेर स्वीकार नगर्दा मलाई मात्र हैन देशलाई पनि घाटा हुन्छ।'
पढाइकै शिलशिलामा अर्को साल उनका धेरै साथी केही दिनका लागि जापान जादैछन्। उनी मात्रै त्यस्तो एक्लो विद्यार्थी हुनेछिन् जो जान पाउने छैनन्। किनभने, उनीसँग नागरिकता छैन, पासपोर्ट छैन। बल्लतल्ल उनले शुरू गर्न खोजेको नयाँ जीवनमा फेरि बाधा सुरू भइसकेको छ।
दुई छोरीलाई एक्लै हुर्काइरहेकी नेहाकी आमा दिप्ती गुरुङसँग ललितपुरबाट जारी भएको नेपाली नागरिकता छ। दिप्ती आफ्नो नागरिकताका आधारमा दुई छोरीलाई नागरिकता दिन चाहन्छिन्। पाँच वर्ष बित्यो तर छोरीलाई उनी जन्मेको मुलुकको नागरिकता दिलाउन सकेकी छैनन्।
'म एक्लैले कुनै कमी हुन नदिइ यत्रो वर्षसम्म दुई छोरी हुर्काए। नागरिकता दिने बेला यिनीहरुको बाउ पत्ता नलागेसम्म, यिनीहरुका बाउ यो हो भनेर प्रमाणित नगरुन्जेलसम्म नागरिकता दिन मिल्दैन भनेका छन्। छोरीको अस्तित्व यो देशले स्वीकार गर्दैन,' दिप्तीले भनिन्।'
पछिल्लो जनगणना २०६८ अनुसार झण्डै ४३ लाख मानिस नागरिकता विहिन छन्। त्यसपछिको झण्डै तीन वर्षको अवधिमा नेहा जस्तै दश लाखभन्दा धेरै नागरिकता विहिन भइसकेको गैरसरकारी क्षेत्रको तथ्याङ्क छ। जनसंख्याका अनुपातमा विश्वकमा सबैभन्दा धेरै अनागरिक रहेको देश नेपाल हो।
दिप्ती भन्छिन्, 'मैले मेरो छोरीलाई नागरिकता बनाइदिन सजिलो हिसाबबाट सुरु गरे, जसरी एउटा बाउले प्रशासन कार्यालयमा प्रकृया अनुसार गर्छ। प्रशासनले श्रीमतीको बारे एक शब्द पनि नसोधी बाबुका सन्तानलाई नागरिकता दिइरहेको छ।'
दिप्तीलाई भने ठीक उल्टो व्यवहार गरियो। बाउ किटानी नभइ नागरिकता दिन नमिल्ने भन्दै सुरूमै फिर्ता गरियो। धेरै पटक वडा कार्यालय, सिडियो कार्यालय, यता र उता भन्दै वर्षौ झुलाइयो।
अन्तत: जिल्ला प्रशासनका मान्छेले भने, 'तिम्रो लोग्ने फलानो भनेर औलाले मात्रै देखाइदेउ जे गरी भएनी, घिसारेर, तानेर ल्याएर, डिएनए परीक्षण गरेर नागरिकता दिलाई दिन्छौ।'
दिप्ती भन्छिन्, 'कतिपटक त आँखाभरी आँशु पार्दै मैले भनेकी छु, 'डिएनए परीक्षण गर्ने नै हो भने मेरो गर, मेरो छोरीको गर तर, यिनीहरुलाई मेरै नाममा नागरिकता देऊ। उनीहरु बाउ बिनानै मसँग बस्न चाहन्छन। जो यिनका जन्म दिने बाबु हुन उनीसँग हाम्रो अन्जान व्यक्तिको भन्दा अब अरु नाता छैन।'
सबै तिरबाट निराशा मात्रै हात लोपछि दिप्तीले एकदिन त्यति बेलाका प्रधानमन्त्री बाबुरामा भट्टराइसँग ट्वीटरमार्फत छोरीलाई नागरिकता दिलाइदिन अनुरोध गरिन्। त्यसको भोलिपल्टै प्रधानमन्त्री कार्यालयमा भेट्न बोलाईयो। सिंहदरबार छिर्न पनि नागरिकता नै चाहिने रहेछ। उनीलाई गेटमै रोकियो। दिप्ती र नेहालाई अर्को चोट लाग्यो। उनीहरुले प्रधानमन्त्रीलाई खबर गरे। सचिवको गाडी आएर उनीहरुलाई भित्र लगियो।
वरीपरी सचिवहरुले घेरिएका प्रधानमन्त्रीले समस्या सुनेपछि सोधे, 'उहाँहरुले किन नागरिकता नपाउनु भएको?'
एक सचिवले फ्याट्टै भने, 'उहाँहरुको बच्चालाई नागरिकता दिइयो भने सीमापारिका 'भान्जाभान्जी' सबैले आएर नागरिकता लिन्छन्, अनि त देश सखापै हुन्छ नि।'
प्रधानमन्त्रीले झर्किदै भने, 'के उहाँहरु भारतीय जस्तो देखिनुहुन्छ? अनि आदेश दिए, 'उहाँहरुलाई गृहमार्फत नागरिकता दिने व्यवस्था गरियोस्।'
भोलिपल्ट गृहमा ठूलो बहस भयो। गृहसचिवका सामुन्ने ललितपुर जिल्लाका सीडियोले भने, 'नागरिकता नदिने कस्ले भनेको छ। बच्चाको बाउ यस्तो छ भन्न किन यति गाहो, बच्चा जन्माउन गारो नहुने भन्न गाहो हुने, अनि त कसरी नागरिकता दिने?'
दिप्तीले जवाफ फ़र्काइन, 'हो हामी भन्न चाहदैनौ हाम्रो पनि आत्म स्वाभिमान छ।' गृहको बैठकले कुनै निकास निकालेन।
तै पनि नागरिकता पाइन्छ कि भन्ने दिप्तीलाई झिनो आशा थियो। त्यसको एक महिनापछि प्रधानमन्त्रीले पद छाडेको घोषणा भयो। उनी सम्झन्छिन् त्यही दिन साँझ प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा भो, प्रधानमन्त्रीले भने, 'हाम्रो पितृसत्तात्मक सोचसँग जुध्न सकिन नानी, म हारे।'
दीप्तीका दुवै छोरीलाई कदमै पिच्छे प्रश्न छ, 'तिम्रो बाबु को हो?'
दिप्ती र उनका छोरीहरु पिडादायी बिगत बिर्सेर नयाँ जीन्दगी सुरु गर्न चाहन्छन्। अगाडि बढ्न चाहन्छन्। किन दिप्तीलाई 'कोसँग यौन सम्वन्ध राखेर बच्चा जन्मायौ खोजेर ल्याउ भनेर सजाय दिइन्छ?' जवकि बाउले आफ्ना सन्तानलाई नागरिकता बनाईदिँदा उसको श्रीमतीसँगको सम्वन्ध खुलाइ राख्नुपर्दैन?
छोरीले नागरिकता पाईहाल्छन् कि भनेर दिप्तीले सविना दमाईको नजिर र परिपत्र फेटोकपी गरेर अड्डा धाईन। धेरैसँग शारीरिक सम्वन्ध राखेका कारण बाउ पत्ता नलागेको भन्ने सविनाको आमाको जस्तै प्रमाण देखाउ, आजै नागरिकता दिन्छौं भने, हाकिमहरुले।
हाकिमहरुका अनुशार, दिप्तीले छोरीहरुलाई उनकै नाममा नागरिकता दिने भए फलानो समयमा, फलानो ठाउँमा, फलानोले बलात्कार गरेको मेडिकल रिपोर्ट ल्याउनु पर्यो। अथवा विभिन्न परपुरुषसँग यौन सम्वन्ध भएकाले बाउ को हो भनेर भन्न नसक्ने प्रमाण ल्याउनु पर्यो। दिप्ती भन्छिन्, 'मेरो र छोरीहरुको स्वाभिमान बेचेर उनीहरुलाई नागरिकता थाप्न लगाउदिन बरु संघर्ष गर्दा गर्दै मर्छु।'