आज डिसेम्बर २२ तारिक। यो दिन आउनासाथ अनायाशः स्कूले जीवनका ती रमाइला दिनहरु सिनेमाका दृश्यहरुझै आँखा अघिल्तिर घुम्छन्। विशेषगरि ८ कक्षामा पढ्दाताकाको घटनाहरु, सहपाठीहरु, स्कूलको वातावरण एकाएक यो दिनले दिमागमा ल्याइदिन्छ।
डिसेम्बर २२ सबैभन्दा छोटो दिन हो भनेर भूगोल पढाउने चन्द्रप्रसाद उप्रेती सरले भन्नुभएको शव्दहरु झण्डै तीन दशक हुनलाग्दा पनि दिमागमा घुमिरहेको छ। भूगोलका अक्षांस, देशान्तर, भूमध्य रेखा, प्रधानमध्यान्ह (ग्रीनवीच) रेखा आदि आदि यो दिनले दिमागमा घुमाएर ल्याइदिन्छ।
अनि कतिपय पाठहरु घोक्न नसक्दा सहपाठीहरुले उप्रेती सरको सिमलीको छडी खानु परेका ती रमाइला दिनहरु पनि अहिले घुमिरहेको छ। सरले निकै मेहनत गरेर सरल तरिकाले बुझाउँदै पढाउनुभएको यी कुराहरुप्रति लाग्थ्यो–'यी कुराहरु जीन्दगीको कुनचाँही पानामा गएर प्रयोगमा आउने होलान्?' त्यतिखेर घोक्न नजान्दा अनि चुरो कुरो नबुझ्दा उप्रेती सरका छडीहरु नखाने मेरो सहपाठीहरु कोही भएनन्।
–०–
प्रसंग सिलिकन भ्यालीमा हुँदाकै समयको हो। सेप्टेम्बरको एक बिहान सारै चिसो भयो। फेसबुकमा चिसो बढ्यो भनेर स्टाटस राखेको थिए अष्ट्रेलियामा पुगेकी साथी मेनुका लोहनीले तुरुन्तै प्रतिकृया दिइन् –'ओहो दाइ, यहाँ त कस्तो गर्मी छ, त्यहाँ त्यस्तो चिसो?'
पृथ्बीको उत्तरी भागमा जाडो हुँदा दक्षिणी भागमा निकै गर्मी हुन्छ। अनि दक्षिणी भागमा साह्रै जाडो हुँदा उत्तरी भागमा गर्मी। पृथ्बीलाई भुमध्य रेखा नामक काल्पनिक रेखाले दुई फ्याँक लगाएको छ– उत्तर र दक्षिण। भूगोलविद्हरुले भूमध्यरेखाभन्दा उत्तरतिर पर्ने भागलाई उत्तरी गोलार्द्ध र दक्षिणतिरको लाई दक्षिणी गोलार्द्ध नाम दिएका छन्।
पृथ्बीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्यको प्रकाश मार्च २१ देखि सेप्टेम्बर २३ सम्म उत्तरी गोलार्द्ध माथि केन्द्रीत हुन्छ। अनि सेप्टेम्बर २४ देखि अर्को बर्षको मार्च २० सम्म दक्षिणी गोलार्द्धमा केन्द्रीत हुन्छ। मार्च र सेप्टेम्बरको बीचमा पर्ने जुन २१ तारिक उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन हो भने दक्षिणी गोलार्द्धका निम्ति सबैभन्दा छोटो। अनि सेप्टेम्बर र मार्चको बीचमा पर्ने डिसेम्बर २२ तारिक उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन हुन्छ भने दक्षिणी गोलार्द्धको सबैभन्दा लामो दिन हो।
सूर्यको प्रकाश जहाँ केन्द्रीत हुन्छ त्यहाँ गर्मी हुन्छ भने अर्को गोलार्द्धमा त्यतिखेर जाडो हुनपुग्छ। यही रितले चलिरहेको छ पृथ्बीमा जाडो र गर्मीको खेल।
अनि जुन गोलार्द्धमा सूर्य केन्द्रीत हुन्छ त्यहाँ दिन लामो हुन्छ। अर्थात २४ घण्टामा धेरै समय उज्यालो हुन्छ। अनि अर्को गोलार्द्धमा चाँही बढी समय अँध्यारो हुनपुग्छ।
सुरुमै उल्लेख गरिसके आज सबैभन्दा छोटो दिन। तर दक्षिणी गोलार्द्धको भने सबैभन्दा लामो दिन। आजको दिन नेपालदेखि अमेरिकासम्म सबैभन्दा छोटो हो। नेपालको राजधानी काठमाडौंमा आज बिहान ६ बजेर ५० मिनेटमा उदाएको घाम साँझ ५ बजेर १३ मिनेटमा अस्ताउँदैछ। अर्थात २४ घण्टामध्ये १० घण्टा २३ मिनेटमात्र उज्यालो हुँदैछ।
दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलियाको सिड्नीमा आज बिहान ५ बजेर ४१ मिनेटमा उदाएको घाम राति ८ बजेर ५ मिनेटमा अस्ताउँदैछ। २४ घण्टामध्ये सिड्नीमा १४ घण्टा २४ मिनेट पूरै घाम लाग्दैछ। उता उत्तरी गोलार्द्धमा रहेको अमेरिकाको न्यूयोर्कमा सोमबार ७ बजेर १६ मिनेटमा उदाउने घाम साँझ चार बजेर ३१ मिनेटमा अस्ताउँदैछ। अर्थात ९ घण्टा १५ मिनेटमात्र उज्यालो हुन्छ न्यूयोर्कमा।
जुन, जुलाईमा राति ८ बजेसम्म घामको प्रकाशले उज्यालो हुने न्यूयोर्क यतिखेर साँझ ५ नबज्दै पुरै अँध्यारो भैसकेको हुन्छ। अनि म बसेको ओक्लाहोमा सिटी जहाँ तीन महिना अघि सिलिकन भ्यालीबाट सरेर आउँदा साँझ साँढे ७ बजेसम्म बाहिर उज्यालो हुनेगरेकोमा अहिले साँझ ५ बजेनै पुरै अँध्यारो भैसक्छ।
धेरैले सुनेको हुनुपर्छ अन्टार्कटिकामा ६ महिना पूरै उज्यालो र बाँकी ६ महिना पूरै अँध्यारो हुन्छ भनेर। अनि सामान्य ज्ञानमा उल्लेख भएको अर्को तथ्य आधा रातमा सूर्य देखिने देश नर्वेका बारेमा पनि धेरैलाई धेरथोर अवश्यै जानकारी हुनुपर्छ। ६ महिना पूरै घाम लाग्छ भनिएपनि यथार्थतामा ६० दिन भने यी दुई ठाउँमा घाम अस्ताउँदैनन्। अन्टार्कटिकामा नोभेम्बर अनि जनवरीका केही दिन र डिसेम्बर महिनाभरि घाम अस्ताउँदैन।
अनि उत्तरी ध्रुब नजिक पर्ने नर्वेमा पनि मे अनि जुलाईका केही दिन र जुन महिनाभरि घाम अस्ताउँदैन। त्यही भएर नर्वेलाई आधा रातमा सूर्य उदाउने देश भन्ने पनि गरिन्छ।
उत्तरी गोलार्द्धमा पर्ने एसिया, युरोप, उत्तर अमेरिका लागि आज सबैभन्दा छोटो दिन हो। अनि दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाको सबैभन्दा लामो दिन पनि। हुनतः अफ्रिका महादेशलाई भुमध्य रेखाले बीचमा चिरेर दुई भाग लगाएको छ। तरपनि अफ्रिकाका ठूला एवं महत्वपूर्ण शहरहरु दक्षिणी गोलार्द्धमै पर्छन। हिजोआज दक्षिणी ध्रुबको अन्टार्कटिकामा घाम अस्ताएको छैन।
चार बर्षअघि दक्षिण अफ्रिकाको केपटाउन पुग्ने अवसर मिलेको थियो। जुन अफ्रिकी महादेशको सबैभन्दा दक्षिणी टुप्पो पनि हो। नेपालमा भरखरै जाडो सकिएर गर्मी सुरु हुँदै थियो। तर केपटाउनमा भने गर्मी सकिएर जाडो सुरु हुँदैथियो। दक्षिणी गोलार्द्धबाट सूर्यको प्रकाश उत्तरतिर केन्द्रीत हुँदैथियो। जसले गर्दा काठमाडौंमा जाडोले बिदा लिएर गर्मी सुरु हुँदैथियो भने केपटाउनमा जाडो सुरु हुँदैथियो। केपटाउन र काठमाडौंको मौसम ठीक विपरित थियो।
आज डिसेम्बर २२ बाट उत्तरी गोलार्द्धमा पर्ने देशहरुमा दिन केही लामो हुँदैजानेछ भने दक्षिणी गोलार्द्धमा छोटो हुँदै। दक्षिणी गोलार्द्धमा दिन छोटोसँगै चिसो पनि विस्तारै बढ्दैजानेछ।
हामी सानो हुँदा आमा–हजुरआमाले भन्नुहुन्थ्यो–'आज पुस १५ सबैभन्दा छोटो दिन हो।' तर पछि बुझ्दै जाँदा पुस १५ होइन रहेछ डिसेम्बर २२ अर्थात पुस ७ गते हामी बसेको, हुर्किएको गोलार्द्धको सबैभन्दा छोटो दिन रहेछ। अनि असार १५ आएपछि उहाँहरु भन्नुहुन्थ्यो–'आज सबैभन्दा लामो दिन हो।'
हुनपनि असारमा राति साँढे ८ बजेपनि उज्यालै हुन्थ्यो। आमा–हजुरआमाहरु त्यति रातिसम्म पनि खेतबारीमा काम गरिरहनुहुन्थ्यो। ८ कक्षामा पुगेपछिमात्र जानकारी भयो कि पुस ७ सबैभन्दा छोटो र असार ७ गते सबैभन्दा लामो दिन रहेछन्।
धेरैपछि टेलिफोनमा कुराकानी हुँदा हिजो बिहान आत्मिय मित्र आत्माराम शर्माले सोध्नुभयो–'त्यहाँ अहिलेको मौसम कस्तो हो जाडो कि गर्मी?' मैले संक्षेपमा जवाफ दिए–'सर, अमेरिका पनि उत्तरी गोलार्द्धमा पर्ने हुँदा यतिखेर नेपालकै जस्तो जाडो छ यहाँपनि। केही दिनअघिमात्र हिउँ पनि परेको थियो।'
मेरो जवाफ उहाँले कति बुझ्नुभयो त्यो त थाहा छैन। तरपनि यो ब्लग आद्योपान्त पढ्नुभयो भने चाँही पक्कै बुझ्नुहुनेछ जाडो–गर्मी अनि भूगोलको अलिकति भएपनि विवरण।