सेक्स, विशाल विषय। यसको व्याख्या गर्ने व्यक्तित्वको खोजी अहिले पनि भइरहेको छ। यो अनुभव, या बुझाइका हिसाबमा दिइने टिप्पणीको आधारविन्दुमात्र बनिरहेको छ। संसारमा हज्जारौंले सेक्सका बारेमा बोलेका छन्। तर, ठ्याक्कै त्यहि नै यसको परिभाषा हो या हामीले बुझेको 'गुरुत्वाकर्षण'को व्याख्याजस्तो चाँही पटक्कै होइन रहेछ।
इन्टरनेटका साइटहरुमा सेक्सको डिफिनेसनमात्र हज्जारौं पेजहरुमा आउँछन्। अनेक साइटकहरुले दिन्छन्। तर, ती सवै सेक्सको वैज्ञानिक परिभाषा होइनन्, वैचारिक तर्कहरु मात्र हुन्। कामसुत्र, ओसोको तर्कहरु हुन् या प्रत्येक आम मानिसले भनुन्, बस त्यो तर्कमा मात्र सीमित भएको पाइन्छ। यो अहिले पनि बहसको विषय होला या बहसभन्दा बाहिरको विषय होला। तर, अन्ततः यो समान आवश्यकता, स्वस्थ्य जीवमा हुनैपर्ने सम भोगको प्राकृतिक नियम होला। यद्यपि, यो गहिरो विषयमा भन्दा पनि सेक्स : बाध्यता, इन्जोयमेन्ट र अहिलेको नेपाली परिप्रेक्षतामाथि टिप्पणी उठाउने प्रयत्न गरेको छु। यो पर्याप्त होइन, पटक्कै।
'क्लिन्टनले ढाँटे, एउटा मान्छेले विर्सन सक्छ कि उसले कहाँ पार्क गर्यो र कहाँ बस्छ भन्ने तर उसले अप्राकृतिक सम्भोगलाई कहिलेपनि विर्सन सक्तैन त्यो जति नै नराम्रो होस्।' ९० को दशककी अमेरिकन फस्ट लेडी बारबारा बुसले यसरी टिप्पणी उठाइन्। बारबारा अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुसकी पत्नी र पूर्वराष्ट्रपति जर्ज वाकर बुसकी आमा पनि हुन्। उनले ४२ औं राष्ट्रपति बिल क्लिन्टनको स्टेटमेन्टबारे यसो भनेकी थिइन्।
नयाँ शताव्दि अर्थात् २१ औं को सुरुआत हुनुअघि नै अमेरिका सेक्सकाबारेमा खुला थियो। उनीहरु सेक्सका बारेमा राम्रो बहस गर्दथे, त्यसबारेमा इमान्दार पनि थिए। त्यसकारण अमेरिका पहिलो विश्व हो र नेपाल तेस्रो। त्यहाँको राज्य, राष्ट्रप्रमुख, उपल्ला निकायका मानिसहरु सेक्सका बारेमा खुला स्टेटमेन्टमात्र दिँदैन थिए, कहिलेकाँही विवादमा पनि तानिन्थे। जसरी क्लिन्टन बारम्बार तानिए। त्यतिमात्र होइन, यस्तै विषयमा विश्वका सर्वशक्तिमान शक्तिपुरुषका नाममा फोर्व्सको अध्ययनमा परेका रसीयाका राष्ट्रप्रमुख भ्लादिमर पुटिन पनि मुछिएका छन्, यौन कान्डहरुमा। अनि, युरोपका धेरै प्रमुखहरु यदाकदा समाचारका शीर्षक बनिरहेका छन्। त्यहाँ सेक्सका बारेमा बहस हुँदैन, त्यसको कारण हेरेर चर्चा हुन्छ। चाहे बेलायतका राजकुमार चार्ल्स र राजकुमारी केटको चर्चा होस् या अरु कसैको।
पश्चिमा मुलुकहरुमा सेक्सको बारेमा अपराध कम र गसिप ज्यादा हुने गरेको छ। तर, नेपालमा अहिलेपनि सेक्स, मुद्दा, अपराध र बहसका क्रममा रहेको छ। केही घटनाक्रमहरुलाई यसरी राख्न चहान्छु।
क्रान्तिकारी बाध्यता?
एकजना इमान्दार र क्रान्तिकारी माओवादी कार्यकर्ता। मेरा मित्र (नाम गोप्य राखें)। जो काठमाडौंको गल्लीगल्लीमा नयाँ क्रान्तिको बाटो कसरी सहज हुन्छ भन्ने विषयमा जानकारी खोजिरहेका छन्। उनी, दरबारमार्गमा भेट भए। शेर्पा मलमाथिको कफीसपमा गयौं हामी। त्यो आधुनिक सहरका उत्तराधुनिक मानवहरुको कफी खाने ठाउँ। युवाहरुको गर्लफ्रेन्डलाई गिफ्ट किन्ने थलो। किशोरहरुको पहिलो डेटिङ स्पट। बैंकरहरुको मिटिङ प्लेस। विजनेश पर्सनको इन्टरटेनमेन्टसहितको पेइङ गेस्ट बोलाउने ठाउँ जस्तो। पहिलोपल्ट, यो पंक्तिकार र त्यो क्रान्तिकारी त्यहाँ छिरेका थियौं, कुरा गर्न। जीवनका केही अन्तरंग एकआपसमा विसाउन।
जीवनमा उनले गरेको क्रान्ति असफल भयो, क्रान्तिको बाटो विग्रियो तर क्रान्तिकारीपन कसै–कसैमा जिउँदो हुन्छ भन्ने उदाहरणका रुपमा पनि उनी जीवित छन्। हुनसक्छ, उनको यो अविरल क्रान्तिकारी मार्ग सफल नहोला र होला पनि तर, वास्तविक जीवनको कथा खोज्नका लागि उनले भेट्टाएका तथ्यहरु मुद्दाका रुपमा मलाई बेलिविस्तार लगाए, त्यहिँ सुकिलो मलमाथि।
कुरा यौनका। कुरा यौवन व्यापारका। कुरा वाध्यतामा पिल्सिएर यौनलाई नयाँ हतियार बनाएका लडाकूहरुका। कुरा, महिला लडाकूहरु जसले जीवनलाई एक दशक बन्दुकको नालमा विताए र अहिले शारिरीक खेलमा बाँचिरहेका छन् आफू र बचाइरहेका छन् आफ्ना सन्तती, तिनका बारेमा। 'त्यस्ता पात्र धेरै भेट्टाएँ, तिनीहरुको बारेमा कथा लेख्नुहोस्, ठमेलमा धेरै र काठमाडौंका कयन डान्सबारका मोलमोलाइमा पनि भेटिन्छन् उनीहरु।', मित्रले हौसाए, निबन्ध लेख्नका लागि। 'यी कुराहरु मिडियामा उठ्नुपर्छ र जवाफ सवैले माग्नुपर्छ। क्रान्तिले सेक्स नगर भन्दैन। तर, क्रान्तिले सम्मानित, सुसज्जित र मनोरञ्जनात्मक सेक्सुअल 'एरा'को डिमान्ड गर्दछ।', उनको तर्क थियो। त्यो कस्तो त? 'यही मलमाथिको पेइङ गेस्टको जस्तो। यही मलमा हुने गरेको संभ्रान्त पुँजीपतिहरुको मनोरञ्जनजस्तो।', उनको थप तर्क थियो,'हर नेपालीको आर्थिक हैसियत यस्तै भयो भनेमात्र त्यो डिमान्ड पूरा हुन्छ।' तर संसार संभ्रान्तहरुलेमात्र बनेको हुँदैन।
ति मित्रले दिएको कथाको आडमा एक्सक्लुसिभ समाचार तयार पार्ने सोच पनि नआएको होइन। तर, समाज उही हो, व्यथा उही हो। सम्बन्धित क्षेत्रका व्यक्तिले पहिचान गर्न सक्छन्, त्यो किस्सा बन्न सक्छ। तर, एउटा पत्रकारका लागि समाचार बनाउनका लागि तथ्यको नजिक पुग्न सक्नु अनिवार्य हुन्छ। यस्तो कथाको तथ्य सम्बन्धित पात्रको 'आत्मकथा' नै हुन्छ। उसले त्यो कथा त्यति सहज ढंगले भन्दैन। केही पात्रहरु चिनेपनि उनीहरुले अहिलेसम्म आफ्नो कथालाई खुलेर अभिव्यक्त गर्ने प्रयत्न गरेका छैनन्। सहर हो, हर हिसावले बाँच्ने अधिकार सवैलाई छ, मेरो एउटा फिचर लेख्ने लोभका कारण उनले पालिरहेका सन्ततीको भविष्यप्रति पनि सोच्नु मानवता हुन्छ। त्यसकारण यो विषयको निबन्धमा त्यति गहिरोसँग पस्ने कि नपस्ने भन्ने सोचको विरोधाभाष मनोसंवादमा अहिले पनि अल्झिरहेको छु।
होटेलमा 'एन्जोयमेन्ट', मोटेलमा 'अवैध सम्बन्ध'
सहरमा यस्ता हाईप्रोफाइलका एसएमएस पनि पढिएको छ की, इन्टरटेनमेन्ट इनअफका लागि उनीहरु घरैमा पनि अर्को सम्बन्ध राख्न तयार छन्। 'सवैसँग सेक्सको अनुभव बटुलियो, अव टिभी प्रिजेन्टरसँग गर्न बाँकी छ।' यस्ता भर्सनहरु पनि आउन थालिसकेका छन्। महिलाहिंसाविरुद्धको नारा काखीमा च्यापेर काखमा 'सेक्सुअल नेसेसिटी' बनाउनेहरु पनि कम छैनन्। यी कुरामा सहर वेखबर छैन। बस, यो ओपन सेक्रेट विषयका रुपमा कहिँ चियापसलमा, कहिँ रक्सी भट्टीमा चर्चा मात्र हुन्छ।
को छुटेका छन्, यो व्याख्याबाट? तरकारिको परिकार जस्तो हो, हाइप्रोफाइलका लागि सेक्स। र, उनीहरुले जे सोच्दछन्, आफ्नो ठाउँबाट त्यहि नै सही पनि होला। यो सोचको वर्ग र तहको कुरा हो। गाउँमा च्यातिएको चोली, फाटेको गुन्यु सेक्सी नदेखिनु र वानपिसमा उही दृश्यको व्याख्या विलकुल फरक हुन्छन्।
कतिपय अखबारहरुमा सेलिब्रेटी र आजको पुस्ताले सेक्सको बारेमा फरक व्याख्या गरेर अन्तर्वार्ता नै दिने गरेका छन्। यदि ति अन्तर्वार्ताहरुको मुल्यांकन गर्ने हो भने पनि आजको पुस्ता, सहरले कसरी सेक्सको व्याख्या गरिरहेको छ भन्ने प्रष्ट त हुन्छ नै। यौन स्वतन्त्रताको कुरा गर्छाैं हामी, मानव आवश्यकता, सम चाहना र समझदारीको कुरा गर्छौं हामी। तर, झिनामसिना र सामान्य ठाउँमा यहि आवश्यकतालाई समझदारीका रुपमा पूरा गर्न गएका कयन जोडी पक्राउ परेका समाचार पनि पढ्छौं।
मोटेलहरुमा भएका सेक्सहरु 'यौनधन्दा' हुने सहर, व्याख्या गर्ने प्रशासनयन्त्रका लागि पनि 'तारा' जोडिएका होटलहरुमा हुने अप्राकृतिक सम्भोगहरुचाँही समझदारी हुन्छ, त्यो कानुनसम्मत हुन्छ।
'अवैध सम्बन्ध राख्दा १९ जोडी पक्राउ' शीर्षकको समाचार व्याइफ्रेन्ड या गर्लफ्रेन्डसँग बसेर फाइभस्टारको वेटिङरुममा अखबार पढेर टिप्पणी हुन्छ,'के भएको यो सहरलाई? किन यस्तो गरेको? पुलिसले ठीक काम गरेछ।'
त्यसमाथि विवेचना हुँदैन कि त्यो वर्गका लागि त्यही फाइभस्टार थियो या त्यही नै आवश्यकता पूरा गर्ने या समसहभागिता अपनाउने उयुक्त स्थान थियो तर प्रशासनले त्यहाँ हस्तक्षेप गर्यो। त्यसकारण पनि हाम्रो सोचको तहले भन्दछ, ठान्दछ– होटेलहरुमा इन्जोयमेन्ट हुन्छ। त्यहाँ सुख प्राप्त हुन्छ। तर, मोटेलहरुमा भने अवैध सम्बन्ध। इलिगल रिलेशनसीप। यो प्रश्नको झटारो सवैका लागि– यौन सम्बन्ध कहिल्यै अवैध हुन्छ? सम्बन्ध कहिले अवैध हुन्छ? त्यसो भए वैधानिकता के हो? सेक्सको औपचारिकताको प्रमाणपत्र के हो? त्यसो भए नेपालमा फस्टाउने गरेको 'सोसियल कस्ट, उही प्रशासनयन्त्रमा रहेका धुरुन्धरहरुको अनेक सम्बन्धहरुको प्रमाणपत्र खोई?'
यौन। गम्भीर विषय कारण फरक। आकर्षण, सहभागिता र समभोग। तर चर्चामा अवैध सम्बन्धहरुको नाममा समाचार मात्र? सहरभित्र अनेक कथा छन् तर तथ्यलाई अगाडि सारेर कुरा गरौं न। कुनै पनि विषयको एकपक्षीय बहसमात्र उक्ति हुन सक्तैन, समानताको कुरा गर्दा मुद्दाको पनि कुरा गरौं। समानता कुनै स्थानका आधारमा निर्धारण गर्न मिल्दैन, समानता भनेको वर्गीय हिसावको आवश्यकताका आधारमा हुनुपर्छ। जति लेख्या उति सेक्सका बारेमा प्रश्नहरु उठ्छन्।
तर, विट मार्नुअघि यत्ति भन्दछु– जबरजस्ती करणी या बलात्कारको परिदृश्य भने अवश्यपनि अपराधका सूचीमा पर्छन्। बालिका, किशोरी, बृद्धहरुको नाममा आउने यस्ता समाचारका दोषीहरुचाँही अपराधी नै हुन्।