सबैलाई थाहा छ एकदिन हामी सबै मर्नेछौँ, जुन शाश्वत सत्य हो। तर सबैले एकै किसिमको मृत्यु पाउँदैनन्। कोहि समय पुगेर शरीर गलेर मर्छन्, कोहि कुनै दुर्घटनामा परेर मर्छन्, कोहि आत्महत्या गर्छन्। सुनेकि छु मृत्यु हुनेबेला कष्ट हुन्छ। मृत्यु भन्नेबित्तिकै कुन्नी किन एक किसिमको डर लाग्छ र विभिन्न सम्बन्धित कुराहरु मनमा खेल्छन्।
कत्तिले भन्छन् ‘मलाई मृत्युदेखि डर लाग्दैन।’ साँच्चै डर नलागेकै हो? तर नढाँटि भनुँ भने मलाई त लाग्छ। यो आत्महत्या पनि एउटा आश्चर्य नै हो। एकछिनको रिस वा पिडाले जीवन नै समाप्त गर्नुलाई केहिले ‘कायरता’ पनि भन्छन् तर आत्महत्या गर्न पनि धेरै साहस बटुल्नुपर्छ , मेरो अनुभव। तर के आत्महत्या सहि हो ? आत्महत्या गर्दा पनि पिडा त हुन्छ होला। आफ्नो ज्यान आफैले लिदाँ पनि छट्पटाउँदा होलान् त।
केहि वृद्धवृद्धाले भन्छन् ‘ अब बाँच्ने इच्छा छैन। भगवानले उठाइहाले हुन्थ्यो। ’ दुःख पाउँदा वा पिडा हुँदा मात्र यसो भन्छन् वा साँच्चै बाँच्ने रहर समाप्त भइसकेको हुन्छ उनीहरुको ? के कसैलाई जीवनले पुग्छ ? कति त अकालमै मर्छन्। उनीहरुलाई त यतिसम्म थाहा हुँदैन कि म आज वा केहिबेरमा मर्दैछु। अचानक दुनियाँ, आफन्त , शुभचिन्तक छोडेर जानुपर्दाको अनुभव कस्तो हुन्छ ? मान्छेमा प्राण रहुञ्जेल सामान्य र प्राण गएपछि कति त लाशदेखि डराउँछन् पनि। मलाई पनि लाशदेखि डर लाग्छ विशेषगरी नचिनेको मान्छेको लाशदेखि , किन ?
कोहिले मर्नेबेला यमराजले लिन आएको देख्दारहेछन् त कोहि मरेर स्वर्ग पुगेर फर्किएको सुन्न पाइन्छ। सोच्न शुरु गर्नुअगावैदेखि ‘मृत्यु’ शब्द सुन्दै आइरहेको छु तर यो विषयमा सोच्न शुरु गर्नेबित्तिकै मनमा प्रश्नहरुको बाढि नै आउँछ। मरेपछि फेरि कोहि विश्वाशयोग्यले आएर मर्नेबेलाको पिडा र मनोस्थिति बताइदिए शायद यस्ता दुविधा कम हुन्थ्यो। धेरै प्रश्नहरुको जवाफ पाइन्थ्यो।
चैतको महिना , बिहान खाना पकाउँदै थिएँ। टोलकै केहि मान्छे हजुरआमालाई बोलाउन आए , फलानो सरको आमाको अन्तिम श्वाश चलिरहेको छ अन्तिमपल्ट जिवित हेरिहालौँ भनेर। मैले पनि एकपल्ट सरको घर जाँदा वहाँकी आमालाई देखेकि थिएँ , त्यसैले मेरो पनि जाने इच्छा भयो र हजुरआमाको पछि लागिहालेँ। ति मरणासन्न वृद्धालाई हेर्ने हुलमा म सबैलाई चिन्थेँ। तिमध्ये गाँउघरको सम्बन्धमा मेरी दिदी पर्नेले मेरी ठुलीआमाकी छोरीको विवाहको बारेमा सोध्दै थिइन्। उनको प्रश्नहरुले दिक्क लागिरहेको थियो मलाई। मर्नलागेको मान्छे हेर्न जाँदा पनि उक्त विवाहको बारेमा कोट्याइ कोट्याइ सोधिरहिन्। म भनेँ घरिघरि सरको आमाको बारेमा सोच्न पुग्थेँ।
एकपल्ट कामविशेषले सरको घर पुगेकि थिएँ। ति वृद्धा आँगनमा राखिएको खाटमा बसेकि थिइन्। गर्मी महिनाको साँझ भएकोले धेरै लामखुट्टे थिए। ति वृद्धाको पनि टाउकोमाथि र चारैतिर लामखुट्टे थिए। घरिघरि जीउ हल्लाउँदै उनी केहि गर्दै थिइन्। ध्यान दिएर हेरेको त उनी आफ्ना हात र खुट्टाका औँलामा रङ्ग लगाउँदै थिइन्। हाम्रो संस्कृतिले एक विधवालाई आफूलाई यसरी रंगन वा श्रृङ्गार गर्न अनुमति दिँदैन। तरपनि उनी त्यसो गरीरहेकि थिइन्। कालो चाउरी परेको अनुहार , नाक नेप्टो , गिज्रीङ परेको कपाल फुलेर सेतै थियो। कहिलेकाँहि उनी आफ्नो कपाल बेस्सरी कन्याउँथिन्। मेरो काम सकिसकेकोले त्यस बेला मैले बिदा माग्नुपर्ने थियो।
त्यसदिन घर आएर ममीसँग सरको आमाको बारेमा सोधेँ। वहाँले सरको आमाको मानसीक स्थिति ठिक नभएको भन्नुभयो। उमेर धेरै पुगिसकेको पनि थाहा भयो। उमेर हुँदा बुहारी अर्थात् सरकी श्रीमतिलाई धेरै दुःख दिन्थीन् रे। अहिले बुहारीले स्याहार गर्दिनन्। आमाको हेरचाह र विद्यालय दुवै भ्याउनुपर्ने भएकोले सरले पनि राम्ररी स्याहार नगर्ने थाहा भयो।
एकबारकै जुनीमा कस्तो कस्तो दिन देख्नुपर्छ मान्छेहरुले। आफूले गरेको कामको परिणाम त्यहि जुनीमा पाउँछन् मान्छेले। ति वृद्धाले के सोचेर आफ्नी बुहारीमाथि अत्याचार गर्थीन् ? गर्थीन पनि कि गर्दैनथिन् ? अहिले उनकी बुहारीलाई पुरानो कुरा याद आएर होला सासूलाई हेर्दिनन्। कि ‘ आफ्नी आमा हुन् र ’ भनेर नहेरेकी ? उनी पनि त एकदिन यस्तो अवस्थामा पुग्लिन्। ति वृद्धाको माया लाग्दैन होला यिनलाई ? एउटि वृद्धाप्रति कति निष्ठुरी हुन सकेकी ?
सोच्दासोच्दै सरको घर आइपुग्यौँ। सोचेको जस्तो भिड , रुवाबासी केहि थिएन। भीड त हामी गएपछि पो बन्यो। सबै आ आफ्नो काममा लागेका थिए। सर आँगनमा कुर्सीमा बसीरहनुभएको थियो भने म्याडम नुहाएर साडि फेर्दै हुनुहुन्थ्यो।
मेन गेटबाट भित्र छिर्नेबित्तिकै पर्ने दाहिनेपट्टिको कोठामा ति वृद्धालाई राखिएको थियो। दुइजना आइमाई वृद्धानजिक बसेका थिए जसमध्ये एकले वृद्धाको हात सुम्सुम्याउँदै थिइ। वातावरण एकदम शान्त थियो। वृद्धालाई भुइँमा कपडा ओच्छ्याएर सुताइएको थियो। एकएक गरी हामी सबै अर्थात् पाँचै जना भित्र पस्यौँ।
मरेको मान्छे जहाँ देखेपनि टाढैबाट भए पनि ढोग्ने चलन छ। तर ति वृद्धा त मर्नलागेकि थिइन् मरेकि त थिइनन्। त्यसैले त्यहाँ गएपछि हामीले त्यसतो केहि गरीराख्नु परेन। हामीमध्ये केहि कोठामा राखेको खाटमा बसे भने म र एकजना अझै ढोकामा उभीरह्यौँ। हाम्रै टोलीकी एकजनाले ‘ कहिलेदेखि अवस्था गम्भीर छ ’ भनेर सोधिन्। ३ दिन देखि यस्तो अवस्था रहेको थाहा भयो। वृद्धानजिकै बसेकि एक महिलाले मेरी काकि पर्नेलाई सोधिन् ‘ अस्ति गौदान हुँदा आउनुभएको थियो ?’ काकिले जवाफ दिनुभयो ‘ होइन ’। एकछिन वातावरण शान्त नै रह्यो। सीमित औपचारिक कुराकानी मात्र भए।
एकछिनपछि हामीमध्येकाले नै शुरु गरे। जिवन पछि मृत्यु नै हो नि , एकदिन सबैको यहि हाल हुनेहो , मर्नेबेला धेरै धर्म गरेकाहरुको मात्र सजिलै प्राण जान्छ , यिनलाई जस्तै धेरैलाई स्वर्गे हुनेबेला बेस्सरी ज्वरो आउँछ , फलानोको ससुरो यसरी मर्यो , फलानोलाइ बडो कष्ट भयो यस्तै कुरा भयो। गौदान पनि भइसक्यो अब त बुढि स्वर्गमै जालिन् , हातखुट्टा पनि चल्न छाडे यसपाली बुढि साँच्चै जाने भइन् , प्राण छातिमा आएर अड्किएको छ लगायतका कुरा गरे सबैले एकछिन। म भने चुप थिएँ। सोच्दैथिएँ भोलीदेखि अलि बढि नै पुजापाठ गर्नुपर्यो।
यस्ता आदर्शका कुरा समाप्त भएपछि अब आइमाइहरुको वास्तविक गफ शुरु भयो। शुरुवातमा सोधियो ‘ वहाँ फलानोको बुहारी है ? ’ यसपछि भयङ्कर गफगाफ हुन थाल्यो। वहाँको माइति फलानो ठाउँ हैन र , त्यहाँ सबै एकै वंश छन् रे , ए मेरी छोरीकी नन्द पनि त्यहिँ बस्छिन् , म त यसैपाली आफ्नो छोराको बिहे गर्ने सोच्दैछु , दाइजो कतिसम्म लिने यस्तै यस्तै कुरा भइरहेका थिए।
सबै कुराकानी उच्च स्वरमा भइरहेका थिए। म सोच्दै थिएँ , यि बीचरी वृद्धालाई कति झ्याउ लाग्दो होला यिनीहरुको गफले। बिचरीलाई मर्नेबेला पनि शान्त हुन दिँदैनन्। फेरी मनमा अर्को कुरा आयो , के यिनले सबै गफ सुन्दै छिन् होली ? यिनले यस्तो अवस्थामा सोच्न सक्छिन होली ? त्यस वृद्धाको ठाउँमा म भएकि भए उठेर चिच्याउँदै ति आइमाइहरुलाई बेस्सरी ‘ नकराओ ’ भन्नेथिएँ होला। यहाँ एउटा मान्छे मर्दैछ उनीहरु बिहेको कुरा गर्दैछन्। मलाई दिक्क लागिरहेको थियो। तर फेरी मनमा कुरो आयो , अब यिनी मर्छिन नै , चुप लागेर वा कानेखुसी गरेर यिनी बाँच्ने होइनन् क्यारे।
ध्यान दिएर ति वृद्धालाई हेरेँ। दाँत नभएकोले होला जिब्रो मुखबाहिर निस्केको थियो। हिक्का छुटेकोजसरी साँस लिँदै थिइन्। हातखुट्टा केहि नचलाइ पल्टेकि थिइन्। कपाल काटिएको थियो। हात पाखुरामा हड्डिमाथि पातलो छाला ओढाइएको जस्तो लाग्थ्यो। आँखा बन्द थियो। स्लाइन बाट पानी चढाइँदैथियो। एकटकले हेरीरहेकि थिएँ र अब उनी उठ्छिन कि लागिरहेको थियो। हाम्रो टोलीले अब घर जाने निर्णय गर्यो र हामी कोठाबाहिर निस्क्यौँ।
हजुरआमाले सरलाई वृद्धाको नातिनातिनालाई खबर गरिएको छ कि छैन सोध्नुभयो। उनीहरु भोलीसम्ममा पुगिसक्ने कुरो सरले भन्नुभयो। अब जानेलाई कसले नै रोक्न सक्छ र , तपाइँले त आफ्नो कर्तव्य पुरा गर्नुभयो , भगवानले अब कष्ट नदिइ उठाइहालुन् लगायतका सहानुभूतिपुर्ण वाक्यहरु राखियो एकछिन। फेरी ठाउँ नभएर घाँस छतमा राख्नुपरेको कुरा भयो , जब सरकी छोरी बाख्राका लागि भनेर छतबाट घाँस ल्याउँदै थिइन्। सबै गलल्ल हाँसे।
बिदा लिइवरी मेन गेटबाट निस्केपछि फेरी त्यहि विषयमा कुरा चल्न थाल्यो। सबै सहमत थिए कि अब बुढि मरेकै ठिक। किनभने छोराछोरी सबैको विवाह भइसक्यो , केहि नातिनातिनाको पनि विवाह भइसक्यो तिनका छोराछोरीको पनि यिनले मुहार हेरिसकिन्। सोचेँ वास्तवमा बुढिको धेरै इच्छा पुरा भइसकेछ। तर के यिनको अर्को कुनै इच्छा छैन होला ? तर मानसिक सन्तुलन ठिक नभएकिले के नै सोच्न सक्लिन् र ? यिनलाई एकपटक दिमाग सहि गरेर ‘ के तिम्रो बाँच्ने इच्छा पुरा भइसक्यो वा अझ बाँच्न चाहन्छौ ’ भनी सोध्न पाए। यिनले के जवाफ देलिन् ?
अहिले त्यो घरमा कति शान्ति छ , बुढिलाई बिरामीसरी रुङ्दै छन्। तर अहिले बुढि मरिन् भने सबै ह्वाँ ह्वाँ कराउन थाल्छन्। अहिले बुढि मर्न आँटेकि छिन् त कसैलाई केहि मतलब छैन मरीन् भने रुवाबासी चल्छ। छिमेकि सम्झाउन आउँछन्।
अब केहिबेरमा नै मर्लिन जस्तो लागेपनि, उक्त वृद्धालाई भेटेर आएको १०/१५ दिनपछि मेरो जन्मदिनमा उनको मृत्युको खबर पाएँ तर हेर्न गइँन। कारण थियो डर। दिनभरी सोचिरहेँ उनी मरेपछि पनि अस्ति मैले देखेजस्तै होलिन् कि अझ दुब्लाइन होली ? सबै रुइरहेका होलान्। कसैको मृत्यु भयो भने मृतकको नाममा जतिजनालाई ख्वाइयो त्यति मृतकलाई पुण्य हुन्छ भन्ने मान्यता अनुसार उनको मृत्युको ११÷१२ दिनपछि ठुलै भोज आयोजना गरियो। आफ्नै जातभाइ भएका कारण निम्तो परेपछि म पनि गएँ र खाएर आएँ। ति वृद्धा आवश्य पनि स्वर्गमै जालिन् किनकि खाना वास्तवमा स्वादिलो थियो। सबैले टन्न खाए।