जब म,
यि भोकमा डुबेका चोकहरूमा
यि बौलाएका कलिजस्ता गल्लीहरूमा
हेर्छु एक-दुई दिन बसेर बास
तब मलाइ गलत लाग्छ
मेरो देशको इतिहासl
कवि भूपि शेरचनले लेख्नु भएको “गलत लाग्छ मेरो देशको इतिहास” शीर्षकको कविताबाट माथिको एक हरफ कविता “बिम्ब’लाई मैले सापटी लिएको हुँ। भूपिले बुझेको मेरो देशको इतिहास जस्तै करिब १६ वर्ष अगाडि नयाँ बानेश्वरको ति चोकहरूमा, त्यही फुथपाथहरूमा दुई-चार दिन बास बसेर यो देशको मुहारलाई नचिनेको भए, यि बौलाएका कलि जस्ता गल्लिहरूलाई नदेखेको भए मेनुका थापाको बर्तमान के हुन्थयो होला ?
हुन त, बसन्तपुरको व्यस्त चोकहरूमा जिजिबिशाको पूरानो “बोरा” बोकेर निस्फिक्रि घुमिरहेका, कमिज र जाङ्ग फाटेका घरबारविहिन बालबालिकाहरूको निर्दोष मुहार देख्दा यो मन पनि त्यसै-त्यसै फाटेर आँउछl
त्यो सुन्धारा र गौशालाको खुल्ला सडक पेटिहरूमा प्लास्टिकको थैलो भित्र “फेविकल”को गन्ध सुँघ्दै कठ्याङ्ग्रिने जाडो सहन नसकेर पिडा पोख्दै रोइरहेका, भोका, नाङ्गा अनाथ नानिबाबुहरूको चित्कार सुन्दा अन्ततः मलाइपनि कवि भुपि शेरचनलाई जस्तै गलत लाग्छ मेरो देशको इतिहासl
यिनै गलत-गलत जस्तै लाग्ने मेरो देशको इतिहास भित्र यहाँ कमै मानिसहरूलाई थाहा नहुन सक्छ, मेनुका थापाको एउटा फुटपाथ इतिहाँस, तर धेरै मानिसहरूलाई थाहा भइसकेको छ मेनुका थापाको साँचो वर्तमानl
म उहाँको संघर्षशिल जीवनको इतिहासलाई सबै-सबै सत्य मान्छुl फुटपाथको जीवनदेखिमाथि उठेको बिश्वासहरू त्यसै पनि असत्य हुँदैनन्l बरु धरहरा जस्तै ऊभिएको उहाँको शिर देखेर इतिहाँस ओकेल्नु किन–किन हो अफ्ठ्यो हुन्छ। मन मान्दैन। सम्मानको भाव जागेर आउँछ।
काभ्रेको कुनै गाँउमा २०३८ साल तिर जन्मेर काठमाडौंसम्म आइपुग्दा अहिले मेनुका थापाको जीवन संघर्ष २०७१ सालमा चलिरहेको छ। सिंङ्गो राज्यले गर्न नसकेको “परोपकारि” काम उनी एक्लैले गरिरहेकि छिन्l असैय्य पिडा खप्न नसकि मानसिक रुपमा बिचलित कलिला चेलिहरूको आँखाको आँशु बिना सर्त पुछिदिने एउटी मनकारी महिला मेनुका थापा।
पदीय हिसाबले मेनुका रक्षा नेपालकी अध्यक्ष हुन्। यद्यपि जिम्मेवारीका हिसाबले यो मुलुकको आमा-मेनुका थापा।
निर्दयी बलात्कारीहरूको पन्जामा परेकी चेलि पूजा बोहोरा अनि उनको अनुनय र बिलौनाको पत्र पढेर जब यो मुलुकको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पहिलो पटक डाँको छाडेर रुन्छन्, जब यो मुकुकको कानुन मन्त्री नरहरि आचार्यलाई साँच्चिकै दया जागेर अँउछ अनि पीडितमाथि न्याय दिलाउन मन जाग्छ, तब भन्नुहोस पीडितको पिडा कस्तो हुन्छ? उनै पीडित चेलि पूजा बोहोरालाई आफ्नो संस्थामा राखेर साहरा दिइरहेकि छिन् मेनुका थापाले।
चेलि पूजा बोहोराको दर्दनाक पत्र कान्तिपुरमा छापिएपछि रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले आफ्नो पेसबुकमा स्टेटस लेख्नु भएको थियो-
“हाम्री प्रिय छोरी 'पूजा' ( रक्षा नेपालले दिएको नाम) आज कान्तिपुर जस्तो मुलधारको पत्रिकामा उनको अस्रुमिश्रित आवाज, लेखाई पहिलो पेजमा मुख्य समाचारको रुपमा छापिएकोमा गम्भीर छिन्, कान्तिपुरलाई हार्दिक आभार ब्यक्त गरेकी छिन् अनि आफूले न्याय पाउँछु कि सजाय पाउँछु भनि प्रतिक्षारत् पनि छिन्। आदरणीय शुभचिन्तक मित्रहरू यहाँहरूले उनको हृदय विदारक रोदन, बास्तविकता थाहा पाईहाल्नु भयोहोला! रक्षा नेपालले आश्रय दिने यस्तै बालबालिका तथा महिला हुन्। यसरी टुक्रीएका जीवनलाई उठाउन त्यति सजिलो छैन। तर तपाईहरू जस्तो मनकारी, विवेकवान व्यक्तिको साथ र माया पाउन सकियो भने असम्भब भन्ने कुरा केहि छैन।
हिजोआज एउटा पत्र पढेर सबै जना मर्माहित बनेको खबर सुनिन्छ। आफू बलाकृत भइसके पछि पनि अपराधिलाई सजाय दिनुको साटो उन्मुक्ति दिएको भन्दै न्यायको लागि चेलि पूजा बोहोराले कान्तिपुर दैनिकमार्फत कानुन मन्त्री नरहरि आचार्यलाई बडो खुल्ला पत्र लेखेकि थिइन्।
निकै नै भावुक बनाउने पत्रको अन्तिम तिर पूजाले उल्लेख गरेकि थिइन-“मेरो किटानि जाहेरिले पक्राउ परेपछि दोषि साबित भइ १३ वर्षको लागि जेल चलान भएका ती बलत्कारीहरू छुट्नु भनेको के उनीहरू निर्दोष हुनु अनि म चाँहि दोषि हुँ त? यदि म दोषि हुँ भने मलाइ तुरुन्त कारबाही गर्नुहोस् हैन भने ती बलात्कारिलाई पक्राउ गरि कारबाही गर्नुहोस।”
पूजा बोहोरा जस्तै सयौ चेलिहरू यसरि नै दिनानुदिन बलात्कार भइरहेको खबरहरू आइरहन्छन्। उनीहरूको पीडा,बेदना पूजा बोहोराको भन्दा भिन्न देखिदैन। बरु उल्टै बलत्कारिलाई उन्मुक्ति दिन कानूनको पालना गर्ने अनि गराउनेहरू कम्मर कसेर लागेको देखिन्छ।
यो कुराको पुष्टि पूजा बोहोरा प्रकरणबाट पनि प्रष्ट भइसकेको छ। यस्तै कुनै पिडादायी घटनाप्रधान बाहेक भुसको आगो झै फैलिएको सामूहिक बलत्कारको खबर सुनेर हाम्रा नेताहरू अघिपछि किन भावुक हुन जान्दैनन्? किन डाँको छाडेर रुन सक्दैनन्? सबैभन्दा ठूलो कुरा त कानूनको सहि पालना गराउन किन सकिरहेका छैनन्?
आफ्नो अस्मिता गुमाउँदै मानसिक पिडामा रहेका कयौं चेलिहरूलाई आश्रय दिएर एउटा साझा नेपाली आमाको भूमिका निर्वाह गरेकी रक्षा नेपालकी अध्यक्ष मेनुका थापासँग मैले बुधबार साँझ केहिबेर कुरा गरेको थिए। खास गरि पीडित चेलि पूजा बोहोरा र अन्य बाल बालिकाको बारेमा मलाइ चासो राख्न मन थियो।
उहाँले भन्नु भयो-“२०६७ सालतिर सरकारले मलाइ एउटा सम्मान दिइको थियो त्यहि सम्मान पत्र बाहेक सरकारले यि पीडित बालबालिकाहरूको लागि भनेर एक रुपैया पनि सहयोग उप्लब्ध गराएको छैन।”
अघिपछि गोहिको आँशु चुहाउँदै घटनाप्रति गम्भीर बनिदिने राज्यका सञ्चालकहरूलाई यस्तो परोपकारि काम गर्ने संस्थालाई कम्तिमा अलिकति भएपनि आर्थिक साहायता गर्दा के बिग्रन्छ? बाध्यात्मक देह व्यापार तथा बलत्कार जस्तो जघन्य अपराधलाई न्युनिकरण गर्नको निम्ति मेनुका थापाले देखेको सपना सहि हुन्छ भने,मेनुका थापाले सञ्चालन गरेको एउटा सामाजजिक संस्था यति प्रभावकारि अनि कामयावि हुन्छ भने, यस्तो काम सिंङ्गो राज्यले गरेमा बलत्कारको घटनाहरू न्युनिकरण हुँदैन थियो होला र?
अहिले रक्षा नेपालमा २० जना बालबालिका र १४ जना किशोरि गरि कुन ३५ जना बस्छन्। यौन जन्य हिँसा तथा मानसिक रुपमा पीडित बालबालिकाहरूलाई हेरचाह गरिरहेको हुदाँ संस्थालाई केहि बिदेशि डोनर र व्याक्तिगत सहयोग गर्न चाहने मनकारिहरूले बाहेक सरकारले एक रुपैयाँ पनि आर्थिक सहयोग गरेको देखिदैनl केबल नेताहरू पिडादायि खबरलाई कान भित्रै घुस्ने गरि सुने पछि, अनि आँखा भित्रै पस्ने गरि पढेपछिमात्र गम्भीर बन्न जानेका छन्। तर, पीडित बालिकाहरूलाई सहयोग पुर्याउनको लागि मेनुका थापाले जस्तै परोपकारि कदम उठाउन किन सकिरहेका छैनन्?
मेनुका थापासँगको कुराकानीको क्रममा उहाँलाई मैले सोधेको थिए- “तपाइको परोपकारि काम देखेर म निकै प्रभावित बनिसकेको छु अब म के सहयोग गर्न सकुला त मेनुका जी?
उहाँले सानो अपिल गर्नुभयो-
‘यौनजन्य हिंसा तथा बलात्कारको जड हामी नेपली नै भएका कारण यसको समाधान निर्मुल पनि हामी आफै मिलेर गर्नुपर्छ। स्वदेश तथा बिदेशबाट मनकारी नेपाली दाजुभाइ दिदि बहिनीहरूले यस्तो किसिमको परोपकारी कामको लागि दिल खोलेर सहयोग गरिरहनु भएको छ। कोहिले बालबालिकालाई स्टेशनरी दिएर सहयोग गरिरहनु भएको छ। कोहिले राशन तथा तल्ता-कपडा पनि दिइरहनु भएको छ। कोहिले आफ्नो कलम चलाएर सहयोग गरिरहनु भएको छ। मुख्य रुपमा हामिलाई आर्थिक समस्या पनि छ।”
उहाँको कुरा सुनेर मलाइ निकै दुःख लाग्यो किनभने राज्य विल्कुल असहयोगि देखिन्छ। वास्तवमा यस्तो सामाजिक तथा परोपकारि कामको लागि राज्यले केहि न केहि आर्थिक सहयोग गर्नुपर्थ्यो। आफूलाई सामान्य रोग लागेको उपचार समेत बिदेशमा गएर गर्ने र त्यसको लागि राज्यको करोडौं रकम खर्च गर्न सक्ने हाम्रा नेताहरू आफ्नै नेपली चेलिहरूको उद्दार, कानूनी परामर्श तथा पालनपोशणको निम्ति एक रूपैयाँ पनि खर्च गर्न तयार देखिँदैनन्। के यो बिडम्बना होइन र?
त्यसकारण, यस्तो परोपकारी कामको लागि केवल एक व्याक्ति मेनुका थापाको अग्रसरताले मात्रै सोचे जस्तो सफलता हाँसिल हुन सक्दैन। हाम्रा बालबालिकाहरूको सुन्दर भविष्य निर्माण गरिदिनु हामी सबैको कर्तब्य पनि हो।
नेपालमा परोपकारी काम गर्ने उद्श्य बोकेर थुप्रै संघ संस्थाहरू खुलेका छन्। तिनको सेवा समूदायको निम्ति निकै प्रभावकारी पनि बनिरहेका छन्। बाटो घाटो र पुस्तकालय बनाउने सेवादायी काम पनि महत्वपूर्ण छन्। तर, बलात्कातर जस्तो गम्भीर पिडामा परेका चेलीहरूलाई तत्काल सामाजिक उद्दार गर्नुपर्ने,मानसिक तनाबबाट मुक्त गराउन पर्ने जस्ता काम त्यति सजिलो छैन।
उनीहरुको आवास, पढाइलेखाइ, लत्ताकपडा अनि भोजनको लागि आर्थिक पाटो प्रमुख समस्याको रूपमा देखिन्छ। हामीले पूजा बोहरा वा अन्य जोकोहि पीडित चेलीहरूको पीडा सुनेर, पढेर बेखुसि त भयौ। दुःख पनि मान्यौ तर, के अब हामी उनीहरूको दुःखमा साथ दिएर खुसी बन्ने बेला भएर र?
भोलिको नेपाल हाम्रा कणधारहरूलाई मानसिक पीडादेखि टाढा राख्ने वातावरण सिर्जना गर्न हाम्रो पनि हात रहन्छ। तपाइ हामी पनि संस्थामा रहेका पीडित बाबालिकाहरूको दुःखमा खुसि बनेर उपस्थित हुन सक्छौ। उनीहरूको घाउमा मलम बन्न सक्छौ।
हाम्रा पाठकहरूले पनि केहि आर्थिक सहयोग गरेर पीडित बालबालिकाहरूको सुन्दर भविस्य निर्माणमा लागेकी मेनुका थापालाई सहयोग गर्न चाहानु हुन्छ भने रक्षा-नेपालको बैंङ्क खाताबारे जानकारि यस्तो रहेको छ।
Rakasha Nepal- Global Bank Limited.
Branch Office, kantipath,KTM
A/C Number-01-01-01-000-6115
Swift Code: GLBBNPKA
यसका साथै अन्य कुनै पनि किसिमको सहयोग जस्तै स्टेशनरी, रासन, लत्ताकपडा आदि सहयोग गर्न चाहानु हुन्छ भने पनि सँस्थाको इमेल ठेगनामा सम्पेक गर्न सक्नु हुनेछ info@rakshanepal.org