‘१८औं सार्क सम्मेलन सम्पन्न, दक्षिण एसियाली मुलुकमा आतङ्कवाद निर्मूल पार्ने प्रतिबद्धता।’
केही दिनअघिको समाचारको हेडलाइन थियो यो। त्यस्तो प्रतिबद्धता गरिएको महिना दिन नपुग्दै काला अक्षरहरू सलबलाउँछन्—‘तालिबानीद्वारा पाकिस्तान पेशावरको एउटा सैनिक विद्यालयमा हमला। सयांै केटाकेटीको मृत्यु।’
देशमा भएको धर्म, जात, सम्प्रदाय र राजनीति वा दङ्गासँग कुनै सम्बन्ध थिएन ती केटाकेटीलाई।
न गोली लाग्दै गर्दा उनीहरूलाई ज्ञान थियो कि उनीहरूमाथि यसरी गोली वर्षंदैछ। युद्ध कस्ले थालनी ग¥यो र दोष कसको हो? भन्ने पनि ज्ञान थिएन उनीहरूलाई।
तर, वस् एउटै भूल— ती पाकिस्तानी सैनिकका सन्तान थिए?
उनीहरूका बाबु सेनामा काम गर्थे। सैन्य सन्तती भएर जन्मनु ती केटाकेटीको अपराध हो? बाबुको पेसासँग ती कलिला बालबालिकाको के सम्बन्ध अनि यो कस्तो जोडघटाऊ?
ती क्रूर हमलावरहरूले भनेछन् ‘तिमीले हाम्रा साथीमाथि धावा बोल्यौ, त्यसैले तिमीलाई पनि पीडाको महसुस गराउन तिम्रा सन्तती पढ्ने स्कुलमा हमला ग¥यौँ।’
यस्ता कुनै पनि तर्क र प्रष्ट्याईले ती बालसुलभ क्रन्दनको मूल्य चुकाउनै सक्दैन। महात्मा गान्धीले यसै भनेका होइनन् ‘ऐन आई फर एन आई मेक्स द होल वल्र्ड ब्लाइन्ड।’
विद्यालय पोसाकमा विद्यालय गएका पाकिस्तानका ती सयौं सैन्य सन्तती, जो स्कुल त आफ्नै खुटाले हिँडेर गए तर, फर्कंदा काठका बाकसहरूमा चीर निन्द्रामा सुतिरहेका थिए।
जो तालिबानी आङ्तकवादका सिकार बने तिनै केटाकेटीहरूकोे रोदन, छटपटाहट र चित्कार हावामा गुञ्जिरहेको छ। कथा यस कारण मेरो हो कि ती सबै मेरै केटाकेटी हुन् र म तिनैको शिक्षक।
घट्ना दूर देशको हो तर यो सिंगो मानवतामाथि प्रहार हो, अनि केटाकेटी पाकिस्तानी सैन्यका हुन् तर, कतै टाढै भए पनि सैन्य सन्ततीलाई पढाउँदै गर्दा ती दूर देशका सैन्य सन्ततीहरूसँग पनि आफ्नोपन हुँदोरहेछ।
जब विद्यालयमा सैन्य सन्तती अगाडि उभिन्छ, सोच्छु उसको सिपाही बाबा कुनै दुर्गम इलाकाको तारबारको चौघेरामा पराईलाई मातृभूमिमाथि धाबा बोल्नबाट कसरी रोक्न सकिन्छ भनेर दिन रात पहरेदारी गर्दैछ। बन्दुक सिरानी हालेर सुत्छ र सपनामा आप्mनै घरको आँगनमा सन्ततीसँग लुटपुटिएर खेलिरहेको देख्छ अनि बिहान ब्युँझनासाथ ती सुन्दर सपनालाई भरे रातीका लागि थाँती राख्दै बिहानी परेड र दौडमा सामेल हुन्छ।
आमा अर्काे भूगोलमा दिनभरि मेलापात सकिवरी बेलुका खाने बेला, चाडपर्वमा पनि आउन नपाउने खसम र पढ्दै गरेको छोराको अनुहार सम्झदै नुनिलो आँसुसँग गास निल्छिन् अनि चिसो विस्तारामा खसम र सन्ततीको यादलाई छातीभरि अङ्गालेर भोलि बिहान उठ्नलाई मात्र सुत्छिन्।
अनि यता तिनैका सन्तती सैनिक स्कुलमा आमा र बाबाको यादलाई साक्षी राख्दै समयको क्यानभासमा सुन्दर भविष्यको चित्र कोर्दै शिक्षा आर्जन गरिरहेको छ।
हो म तिनै सैनिक सन्ततीलाई भविष्यको बाटो देखाउने पेशामा छु। म शिक्षक हुँ तिनीहरूको। अर्को एउटा अनुहार अगाडि पर्छ, परारै बाढी आएका बखत पूर्वतिर डिउटीमा थिए रे उसका बाबा।
गाउँ बगाएर मानिस अलपत्र छन् भनेर उद्धार टोलीको सदस्य बनेर गएका थिए रे धेरैलाई बचाएर सुरक्षित स्थानमा पुरायाएछन् तर, अन्तिममा उनैलाई भेलले हुत्याएर लगेछ यो बालकलाई टुहुरो बनाएर।
देशका लागि प्राण त्याग गरेको अर्का एउटा सिपाहीको टुहुरो सन्तती मेरै अघिल्तिर फिस्स हाँस्छ सबै दुःख भुलाएर। बाबाको अनुहार पनि याद छैन उसलाई तर, गौरव गर्छ र, भन्छ, ‘सर बाबा देशका लागि बित्नुभो। म पनि आर्मी बन्छु।’
हो, म यस्तै केटाकेटीलाई पढाउँछु आजकल..। त्यसैले ती पाकिस्तानमा चीर निन्द्रामा सुतेका सयौ सैन्य पिताका केटाकेटी यिनैमध्येका हुन् जस्तो लाग्छ, म मेराअघिका विद्यार्थीमा उनीहरूकै छाया देख्छु।
एउटा सिपाहीले भर्ती हुनासाथ देशका लागि जीवन सुम्पने वाचा गरेको हुन्छ। दिन रात जाडो गर्मी नभनी गाउँ र बस्तीहरूमा मान्छेहरू आनन्दसँग आराम गरिरहून् भनेर सिमानामा आफ्नै ज्यान जोखिममा राखेर पहरा दिइरहेको हुन्छ र परिआए ज्यानै सुम्पन्छ।
तर, समय यस्तो क्रूर बनेर आउँदो रहेछ कहिलेकाँही जहाँ सैन्य पिताको बलिदानले मात्र नपुग्दो रहेछ । मानवताको खडेरीमा सयांै निर्दोष केटाकेटीहरू आतङ्कवादीको सम्मुख आफ्नो रगतको आहालमा लमतन्न सुतेर पिताको पेशालाई जस्टिफाइ गरिरहेका हुँदा रहेछन्।
आफ्नो बलिदान दिएर क्रुर र पाशविक रक्तपिपाशुहरूको भडास शान्त बनाइरहेका हुँदा रहेछन्। पाकिस्तानी हत्याकाण्डले यही नाङ्गो क्रूरता बोलिरहेको छ ।
जो बाँचे यो घटनाबाट के तिनीहरूले मानवतामाथि विश्वास गर्लान्? अब फेरि स्कूल जान सक्लान् उनीहरू? आफ्ना साथी आफ्नै अगाडि ढलेको र शिक्षक शिक्षिकाहरू जिउँदै जलाइएको देखेका उनीहरूले कसरी बिर्सेलान् यो घटना र सुरु गर्लान् अर्को एउटा सामान्य जिन्दगी?
मानवतामाथिको त्यो कालो दिनको केही घण्टाहरू पछि म ती प्रत्येक पाकिस्तानी विद्यार्थीहरू मेरै कक्षाकोठामा बसेको देखिरहेको छु। सेता कुर्ता र पाइजामामाथि हरियो आस्कोट लगाएको अनि शीरमा घुमाउरो टोपी भिरेको बच्चा गणितका सूत्र पढ्दै गर्दा गल्र्याम्मै ढल्छ र एकैछिनमा रातो हुन्छ उसको त्यो कुर्ता अनि पाइजामा।
कक्षामा खेल्दै पढिरहेका केटाकेटी एक्कासी मकै भुटेझै भुटिन्छन् र, म आगोको लप्कामा पाउँछु आफंैलाई। अनि, अन्तिमपटक म सम्झन्छु सबैभन्दा पहिले ढलेको त्यो छात्रले मलाई केही समयअघि मात्रै सोध्दै थियो, ‘सर भगवान कहाँ हुन्छन्?’ अनि म भन्दै थिएँ, ‘तिमीहरूजस्ता प्रत्येक केटाकेटीमा हुन्छन् भगवान।’
अहिले भुइँमा ढलिरहेको ऊ सुन्दैन मेरो उत्तर र देख्दैन पनि कि केटाकेटीहरूभित्र भगवान हुन्छन् भनेर सिकाउँदै गरेको उसको शिक्षक ‘अल्लाह’को नाममा जेहाद गरेको भन्नेहरूले लगाएको आगोमा गोलीले एकै चिहान भएका सयौं सानासाना भगवानहरूमाझ जलेर खरानी हुँदैछ।
र, मानवता जलेर खरानी भएको छ।