श्री ज्योति पाण्डे ज्यू,
सिईओ, नेपाल ईन्भेष्टमेन्ट बैंक लि, काठमाडौं।
मेरो नाम सागर प्रसाई हो। नेपाल ईन्भेष्टमेन्ट बैकमा मेरो व्यक्तिगत, मेरो परिवारका अन्य सदस्यको र म संलग्न रहेको एक संस्थाको गरेर विभिन्न खाताहरू छन्। यस कारण म तपाईको ग्राहक हुँ। म एक व्हिलचियर प्रयोग गर्ने व्यक्ति पनि हुँ। आज तपाईको बैकमा मेरो अपाङ्गताको कारणले गर्दा ममाथि भएको विभेद विरोध स्वरूपमा तपाईलाई यो पत्र लेख्दैछ।
नेपालको एउटा प्रमुख बैकको सिईओ हुनको नाताले यहाँलाई यो अवगत होला कि मेरो अपाङ्गताले गरेर म तपाईको अन्य ग्राहकभन्दा कम महत्वपूर्ण हुन्न। किनभने, अपाङ्गता भएका व्यक्तिहरूबाट आएको होस् वा अन्यबाट, पैसाको मोल उत्तिनै हुनेगर्छ। त्यस बैकले नाफा कमाउने बेलामा अपाङ्गता भएका व्यक्तिहरूले र उनीहरूका संस्थाले जम्मा गरेको रकमले पनि केही योगदान गैरेकै हुन्छ भन्नेमा म विश्वस्त छु।
आजको दिन, विदेशमा बस्ने मेरो साथीले मलाई वेस्टर्न युनिननबाट पठाएको रकम निकाल्न म यहाँको बैकको बत्तीसपुतली शाखा पुगे। त्यस बैकमा रेमिट्यान्सको काम हुने शाखा चौथो तल्लामा रहेकाले म त्यहाँ स्वयं जान सकिन र म तल्लो तलामै बसेर मेरो भाईलाई माथि पठाए। मैले सोचेको थिए, मेरो ओरिजनल नागरिकता र अपाङ्गताको परिचय पत्र समेत बोकेर माथि गएको भाईलाई तपाईको स्टाफले सहयोग गर्नेछन् र मेरो काम एकैछिनमा सकिनेछ।
तर, त्यसो भएन। "एकदमै कामको प्रेसर भएको बेला, तल गएर साईन गराउनु पर्ने ग्राहक आईपुगेकोमा" तपाईका स्टाफले झर्को माने।
उनीहरूले मेरो भाईलाई भने- " पैसा पठाउनेले पनि सक्ने मान्छेको नाममा पठाउनुपर्छ नि!"
मेरो भाईले त्यसको जबाफमा भन्यो- "उहाँ कसरी नसक्ने मान्छे हो?"
उनीहरूले भने- "हैन भन्न खोजेको हिड्न सक्ने। यहाँ आफै आएर साईन गर्न सक्ने।"
मेरो भाईलाई रिस उठ्यो रे। उनले सोधेछन्- म उहाँलाई सहयोग गर्न आफै आउँदा त तपाइहरू यस्तो अफ्ट्यारो मान्नु हुन्छ, उहाँ एक्लै आउनुभयो भने के उहाँले आफ्नो नाममा आएको पैसा झिक्न पाउनुहुन्न त? तपाईले त तल गएर उहाँलाई सहयोग गर्न भ्याउनुहुन्न होला!"
तपाईको स्टाफले भने- कस्टमर धेरै छन् भने त अभियस्ली भ्याउँदिन। बरु अर्को पल्टदेखि अर्को ठाउँबाट झिक्नु के, तपाइहरूलाई सजिलो हुन्छ। नजिकै अर्को तल्लो तलामै भएको वेष्टर्न युनियन छ।"
यति भएपछि तल आएर मेरो भाईले मलाई यी कुरा सुनायो। मैले तत्काल त्यहाँ तल हुनुभएको एकजना स्टाफलाई कम्प्लेन गरे। उहाँले मेरो भाईलाई नै लिएर गएर- एकजना सिनियर स्टाफकोमा जानुभयो। अनि ती स्टाफले- अबदेखि तपाईको काम छिट्टै गराइदिने र स्टाफलाई सम्झाउने बताउनु भयो।
तर सर, यहाँ कुरा मेरो हैन, अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने तपाईको बैकको दृष्टिको हो। एक त तपाईको बैकका कार्यालय र एटिएम् हरू व्हिलचियर मैत्री छैनन्। त्यसमाथि पनि आफै सहयोग लिएर आउने एउटा अपाङ्गता भएको ग्राहकलाई यस्तो व्यवहार गर्नु कहाँसम्म न्यायोचित हुन्छ?
आजकै घटनालाई हेर्दा पनि यहाँ समक्ष मेरा केही प्रश्न छन्
१. तपाईको स्टाफले सहि गराउन तल आईरहनुपर्ने झन्झटले "सक्ने मान्छेको नाममा पठाउनु नि" भन्नुभयो तर तपाईले भन्दिनस् कि म कसरी नसक्ने मान्छे हुँ? म तपाईको रेमिट्यान्सको मा यसै जान नसकेको कि त्यो चार तल्लामा भएर अनि त्यहाँ सम्म जाने लिफ्ट नभएर?
२. तपाईको बैंकमा अपाङ्गता भएका व्यक्तिहरूले कुन बेला कस्टमरको चाप कम हुन्छ, त्यही समय मिलाएर आउनुपर्ने हो- ताकि तपाईका स्टाफलाई "अन-नेसेसरी प्रेसर" नहोस्?
३. वेस्टर्न युनियनको कुनै पनि शाखाबाट पैसा लीन सकिने भनेर विज्ञापन आउने गरेकोमा मैले यहाँको बैकबाट पैसा लिन किन नसक्ने? कि तपाइहरूले "अपाङ्गता भएका ग्राहकको काम गरिने छैन" भनेर सूचना टाँस्न सक्नु हुन्छ?
अन्त्यमा हजुरलाई मेरो विनम्र आग्रह, या त तपाईले अपाङ्गता भएका ग्राहकको पैसा राख्दैनौ, खाता खोल्दैनौ र उनीहरूलाई कुनै पनि सेवा दिँदैनौ भन्नुपर्यो या त मेरो प्रश्नहरूको जबाफ दिएर तपाईको बैकको अपाङ्गता प्रतिको आधिकारिक धारणा प्रस्तुत गरेर सम्पूर्ण स्टाफहरूलाई त्यहि अनुसारले संवेदनशील बनाउनुपर्यो। तपाईको जबाफको प्रतिक्षामा छु।
सागर प्रसाई
काठमाडौँ