सार्क सम्मेलनबाट नेपाली जनताले के पाउँछन्? त्यो प्रष्ट छैन। तर, त्यसैको नाममा अहिले भने सर्वसाधारणले नपाउनु दुख पाएका छन्।
संसारका धेरै सहरहरुमा धेरै ठूला सभा सम्मेलनहरु हुन्छन्। त्यहाँको ब्यवस्थापनको लागि नेपालमा जसरी आम मानिसलाई सास्ती पक्कै दिईँदैन। बाटो थुनिदैँन अनि सवारी रोकिन्न। सरकारका दैनिक प्रशासनिक कामहरु रोकिन्नन्। देशको सञ्चार छेकिन्न। सुरक्षाका नाममा आम जनतालार्इ नाङ्गेझार बनाएर चेक गरिदैँन।
सार्कको तयारीमा गरिएको राजधानीको अघोषित बन्दको सन्दर्भमा रामायणको एउटा प्रसंग सान्दर्भिक हुन्छ। घाईते लक्ष्मणलाई उपचार गर्न सञ्जिवनी बुटी चाहिन्छ। सञ्जिवनी बुटी हिमालय पर्बतमा पाईने हुँदा उडेर छिटो समयमा पुग्न सक्ने हनुमानलाई जिम्मा दिईन्छ। हनुमानले सञ्जिवनी चिन्न नसकेपछि पूरै पहाड नै बोकेर ल्याउँछन्। सार्कको नाममा हाम्रा नेताहरुको हतारोपनले त्यस्तै हनुमानको झल्को दिन्छ।
हुँदाहुँदा विमानस्थल नै बन्द! यो त अति भयो। निजी बिमानबाट देशका विभिन्न क्षेत्रहरुमा उड्ने नेपाली अनि अरु देशबाट आएका पर्यटकहरुको के हालत होला ? हवाई क्षेत्रलाई तहस-नहस पार्ने गरी बिमानस्थल नै बन्द गर्दा नेपाल भित्रने नेपालीलगायत पर्यटकहरु पनि प्रभावित हुन जान्छन्। यसरी देशको एउटा रोजगारीको र आम्दानीको श्रोत पर्यटन क्षेत्रलाई तहस नहस बनाउन मिल्छ?
जोर बिजोर गरेर गाडीको संख्याको नियन्त्रण गरिसकेपछि सार्बजनिक सवारी साधनहरुलाई बैकल्पिक मार्गबाट सञ्चालन गर्ने, यात्रु चढाउन र ओराल्न मात्र पाउने रोकेर कुर्न नपाउने गरेरै भए पनि त यातायात नियन्त्रण हुने थियो। पुरानो बसपार्कमा आउने सवारीलाई थापाथली, टेकु, माइतीघर, सानो गौचरण र लाजिम्पाटबाट फर्काइनेछ।
त्यसबीचको दूरी यात्रुहरुले कसरी पार गर्ने? उदाहरणको लागि थानकोटबाट भक्तपुर जाने यात्रु ढुंगाअड्डामा ओर्लेर अर्को गाडी चढ्न जडिबुटीसम्म कसरी पुग्ने? यात्रुहरुमा बच्चा, बिरामी,बृद्द बृद्दा र शारिरिक रुपमा असक्त पनि त हुन्छन।
सार्क तयारी भन्दै उपत्यका बाहिरबाट आउने सबारी साधनहरुबाट नेपालीहरु ओरालेर शरिर खानतलासी गर्ने युद्धकालकै झल्को छ। कपाल पालेर चुल्ठो बा टेकाको चुल्ठोमा पनि हतियार खोजेको देखियो। यो कस्तो सकस हो ? बिद्याल लयायत शिक्षण संस्था त ५ दिनलाई नै बन्द गरिने निर्णय नै भै सक्यो। यो ५ दिन बिद्यार्थीहरुले पढ्न नपाएर हुने क्षति राज्यको क्षति हो कि होईन? के न्यूयोर्कमा संसार भरका सरकार प्रमुखहरु जम्माहुने संयुक्त राष्ट्रसंघको महासभाका बेलामा न्यूयोर्क सहर बन्द हुन्छ? त्यहाँका बिद्यालय बन्द हुन्छन? के त्यहाँ पनि यसैगरी बाहिरबाट न्युयोर्क भित्रने अमेरिकी यात्रुहरुलाई बाटोमा ओरालेर शरीर खानतलासी हुन्छ?
हबाईक्षेत्र बन्द, शिक्षण संस्था बन्द, यातायात बन्द, फलस्वरुप अघोषित रुपमा बजार बन्द हुन जाने हुँदा यी सबै क्षेत्रमा देशको कति अर्बको आर्थिक क्षति हुन जान्छ? यो सबै पक्कै पनि नेपालीहरुले भोग्नुपर्ने हुन्छ, झनै पर्यटन क्षेत्रमा हुने क्षति दीर्घकालिन हुन्छ, नेपाल घुम्न नपाएको पर्यटक कुनै अर्को क्षेत्रमा घुम्न जान्छ। यसरी अघोषित कर्फ्यू लगाएर हुन लागेको यो कस्तो सम्मेलन हो।