हतियारको बलमा भएको ‘द्वन्द्व’ अब सकिइसकेको छ। तर पनि देशको दूर दराजमा बसेर त्यो बेलाको ‘युद्धपीडा’को भोगाई मिल्ला जुल्दा छन्। युद्धका बेला कति युवाले घर छोडे, परिवार छोडे वा छोड्न लगाइयो, कति मरे, मारियो, कति वेपत्ता भए, बनाइयो कति यातना सहन नसकेर थात थलो छोडे। ठाउँ फरक भएर के भो ? आखिर पीडा सबैको एउटै थियो।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, फुरुम्बुका कृष्णप्रसाद लिम्बु र त्यो ‘युद्ध’को उद्गम थलो मानिने रोल्पा गामका ‘स्टोन’(युद्धकालमा राखिएको नाम, वास्तविक देउसिंह घर्ती)को जीवन कहानी बडो गज्जवको छ। फरक ठाउँमा राज्य र विद्रोही पक्ष दुवैबाट यातना पाए उनीहरूले। यातनाको तरिका फरक भएर के भो ? पीडा एउटै भोगे उनीहरूले।
नेपालको पूर्वी क्षेत्र पश्चिमभन्दा अलि बढी विकसित छ। यहाँको रहन–सहन, रीतिरिवाज अनि जीवनशैली नै फरक छ। तर पनि ताप्लेजुङका कृष्ण दाइ अनि रोल्पाका स्टोन दाइका कथा एकै छन्।
गाउँमा दुवै अगुवा हुन् यिनीहरू। सारा गाउँले उनीहरूकै आँगनमा आउँछन्, दुःख बिसाउन। पीडा बिसाउन। दुवैले ६० नाघे। युद्धकालमा बाध्यताले यी दुवैले फरक फरक राजनीतिक आस्था भएका पार्टी रोजे, बच्नका लागि।
तर, अहिले दुवै गाउँका अगुवा हुन्। गाउँमा केही काम हुन थाल्यो, उनीहरूकै निर्णय चाहिन्छ, उनीहरू सल्लाहबिना केही हुँदैन गाउँमा। स्थानीय विद्यालय होस्, चाहे स्थानीय संघसंस्था जहाँ पनि उनीहरूकै सल्लाह चल्छ। आँटिला र निर्भिक यी दुवै युद्धकालमा मृत्युको मुखबाट फर्केका हुन्।
कृष्णप्रसादको क्षेत्रमा लिम्बु जातिको बाहूल्य छ। ताप्लेजुङ जिल्लाको सदरमुकाम पुग्ने बाटो भर्खरै ३ बर्षअघि मात्रै कालोपत्रे भएको हो भने उनको गाउँ फुरुम्बुसम्म पनि अहिले मोटरबाटो पुगिसकेको छ।
त्यहाँका अधिकांस युवाहरू विदेशिएका छन्। तिमध्ये पनि धेरै रोजगारीको लागि उत्कृष्ट मानिएका राष्ट्रमा छन्। त्यस्तै बेलायति अनि भारतीय सेनामा पनि प्रशस्तै छन्। उनको गाउँमा ‘कालो सुन’ फल्छ। अर्थात् त्यो गाउँमा फल्ने अलैचीँले पूरै गाउँलेको जीवनस्तर फेरेको छ। आधुनिक जीवनशैलीसँग परिचित छन््, यहाँका गाउँलेहरू। गाउँकै लघु जलविद्युत् योजनाको बत्ती बाल्छन् यिनीहरू।
अर्काेतिर स्टोन दाई, जसको वास्तविक नाम देउसिंह घर्ती हो। तर, उनलाई यो नामले चिन्दैनन्। स्टाने दाई भन्यो भने केटाकेटीले पनि थाहा पाउँछन्। उनको क्षेत्रमा मगर जातिको बाहुल्य छ। दशकौँअघि रोल्पा जिल्लाको सदरमुकामसम्मको बाटो कालोपत्रे भएपनि सुलीचौरबाट उनको गाउँ पुग्ने बाटोको ट्रयाक गत २ बर्षअघि मात्रै खोलिएको हो।
जसमा हिँउदभरि मुस्किलले साना जीप अनि ट्याक्टरमात्रै चल्न सक्छन्। विदेशिएका युवाहरू धेरैजसो खाडी मुलुक अनि भारतमा छन्। धेरैजसो ‘कालापहाडे।’ गाउँलेको जग्गाजमिन धेरै छ तर मकै, कोदो र गहुँको मात्रै खेती हुन्छ। त्यै पनि बारीमा काम गर्ने युवा जनशक्ति छैन गाउँमा। द्वन्द्वका कारण विस्थापित भएका अझैँ फर्किसकेका छैनन्। धेरै जनता गरिबीकोे रेखामुनि छन्। बिजुली छैन। अहिलेसम्म, सोलारको बत्ती बाल्छन्। सञ्चारको सुविधा पनि छैन।
ताप्तेजुङका ती लिम्बु दाइ अरु साथीभाइजस्तो लाहुरे भएनन्। गाउँमै बसे। गाउँमै पसिना बगाइरहेका उनलाई कहिले सरकार त कहिले विद्रोहीले दिनुसम्म दुःख दिए। धेरै समय भागेर बिताए। युद्धकै क्रममा उनको घरमा विद्रोही पक्ष खाना खान बसेको बेला सरकारी पक्षले भिषण आक्रमणसमेत ग¥यो। त्यसमा उनकी कान्छी छोरीको ३ वटा गोली लाग्यो। दुईवटा त निकालियो। तर, दाहिने खुट्टाको एउटा गोली भने अझै छ, निकाल्न सकिएको छैन।
यता देउसिंह घर्ती मगरलाई पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेको आरोपमा माओवादीले खुब दुःख दियो। युवा अवस्थामा उनी भारत पसे। गाउँमा फर्केका उनलाई माओवादीले धेरै सताउन थालेपछि फेरि मुस्ताङसम्म पुगे। केही समयसम्म मजदूरी गरेपछि उनी त्यहाँबाट फर्किए, गाउँ झन् युद्धले ग्रस्त भएको थियो।
पहिला माओवादीबाट लखेटिए। उनी घर फर्किए। सेनाले हत्कडी लगाएर लग्यो। गाउँमा खनिएको बङ्करमा राख्यो। सात दिनसम्म । त्यहीँ भिडन्त भयो, उनी जसोतसो बाँचे। आक्रमणपछि फेरि माओवादीले भेटे, सेना गइसकेका थिए। उनलाई माओवादीले मार्नै आँटेका थिए, धन्न हातमा हत्कडी थियो, उनलाई छोडिदिए।
त्यसपछि उनी माओवादी भए। उनी अहिले पनि गाउँमै छन्। गाउँकै विकासमा लागेका छन्।
कतिले द्वन्द्व पीडितको नाममा लाखौँ रकम ‘राहत’ लिएका छन्। तर यी दुइ कसैले पनि त्यस्तो दावी गर्न कतै गएनन्। राहत वा क्षतिपूर्तिको नाममा उनीहरूले कतै बिन्तीपत्र हालेका छैनन्। गाउँमै बस्छन्, गाउँकै विकासका लागि। गाउँमै मर्ने सपना छ, उनीहरूको। कृष्ण र स्टोन दाइजस्तो गाउँमा अरु पनि भइदिए, कस्तो हुन्थे होलान् हाम्रा गाउँघरहरू।