तिमीले सोचमा परिवर्तन ल्याउनुपर्थ्यो तर सोचले तिमीमा परिवर्तन ल्यायो।
मान्छेको मनमा रचनात्मकताले शासन गर्नुपर्छ। हरेक कर्म र पेशा रचनात्मक कार्य हुन्। मान्छे कार्म र पेशाले कहिल्यै सानो हुदैन। अकर्म र अकर्मण्यताले हो मान्छेलाई सानो बनाउने। जीवनलाई ध्वस्त पार्ने बारुद हुन् अकर्म र अकर्मण्यता।
तिमीले यो समाजलाई यही सन्देश दिनु पर्थ्यो। मलाई लाग्छ– सकेनौं, चुक्यौ तिमी। तर सम्भावनाका ढोका सधैं खुला हुन्छन्।
व्यक्तिगत रुपमा उनीसँग मेरो घनिष्ठता छैन। २०६५ सालमा भक्तपुर भिजिट कार्यक्रम भेट भयो। त्यो नै पहिलो देखभेट थियो।
नेपालका केही लेखक–कविलाई भक्तपुर चिनाउने कार्यक्रम हरेछ। पर्यटन पत्रकारितामा मौलिक ख्याति कमाएका भाइमित्र अमृत भादगाउँलेको संयोजन भएको थियो, त्यो। संयोगले त्यो संयोजनमा म पनि संयोजित भए। एकदिन एकरात उनीसँगै विताइयो। त्यो दिन र त्यो रात अविस्मरिण रहयो।
प्रदीपकुमार राई नामको नामलाई आफ्नै सर्कलले मात्र चिनेको थियो होला! म र म जस्ता हजारौंका लागि त्यो नाम गुमनाम नै थियो। २०६४ वैशाखमा त्यो नाम एक्कासी चर्चामा आयो। नयाँ राष्ट्रियगीतका रचनाकार व्याकुल माइला भनेका तिनै प्रदीपकुमार राई रहेछन्। जसले १२ सय ९१ जनालाई उछिनेका थिए।
मैले भक्तपुरमा एकदिन एकरात सँगै विताएको मान्छेको नाम पनि व्याकुल माइला नै थियो। भेटेपछि उनीसँग बसेर फोटो खिच्ने लोभले नछुट्टिउन्जेल तानिरह्यो।
मेरो स्मरणको फराकिलो आयतनमा फैलिएका व्याकुल केही दिन अघि केही समाचारमा तानिएर फेरि आए। कमिला हिँडे जस्तो हिँडे मेरा आँखा ती समाचारका एक एक शब्दामा। पढेर दिक्क मात्र हैन, दुःख लाग्यो। केही दिन पछि नै केही सुखद खालका समाचार आए। तर खासै खुसी लागेन।
सामान्यतया राज्यको स्वाभाव साहित्यप्रति उदासिन नै हुन्छ। बेरोजगार बसेका सेलिब्रेटीलाई महिनाको २५ हजार भत्ता दिने सरकारी निर्णयलाई धन्य भने। राज्यले आफ्नो अनुदार अनुहार पनि देखाउन सक्थ्यो– सरकारले प्रतियोगिता गराएको हो, पुरस्कार रकम प्रदान गरिसकियो। त्योसँगै हाम्रो जिम्मेवारी सकियो।
राज्यले एक स्रष्टाप्रति केही उदारता देखायो। त्यो उदारताले तिमीभित्र खुसीको तरङ्ग नल्याए पनि उद्गम त गरायो होला। तर म खुसी हुन सकिन। राज्यसँग हैन व्याकुल, तिमीसँग।
तिमीले भन्यौ– ‘सार्वजनिक मानिस भएपछि जीवन यापनका लागि गर्दै आएको पेशलाई निरन्तरता दिन सकिदो रहेनछ (सेतोपाटी)।’
तर किन व्याकुल ? हामीलाई विश्वास छ, तिमी चोरी–डकैती गर्दैनथ्यौ, अनुचित–अनैतिक कुनै काम गर्दैनथ्यौ। फेरि किन त्याग्नु पर्यौ आफ्नो पेशालाई ? के थियो कारण ?
तिमीले सोचमा परिवर्तन ल्याउनु पथ्र्यो तर सोचले तिमीमा परिवर्तन ल्यायो। तिमीलाई परिवर्तन गर्ने सोच तिम्रो निजी थिएन। तिमीले तिम्रो मस्तिष्कमा अरुलाई हावी हुन दियौ।
थाह छ, त्यो को थियो ? त्यो समाज थियो। तिमी समाजसँग डरायौं। त्यसैले हायौ।
समाजले तिमीलाई बनाउँदै, समाजलाई तिमीले बनाउँनु पर्छ। तिमीलाई आफ्नो क्षमताले सेलिब्रेटी बनयो तर समाजले तिमीलाई नेपथ्यतिर पुर्यायो।
देशको राष्ट्रगान परिवर्तन गर्न सक्नेले तिमीले आफूलाई परिवर्तन गर्न सकेनौ। तिमी प्रदीपकुमार भएर जहाँ थियौ त्यही बसेको भए व्यकुल माइला भएर अझ माथि हुन्थ्यौ। जसरी अरु धेरै छन्।
एल गोर युनिभर्सिटीका शिक्षक थिए। अमेरिकाको उपराष्ट्रपति भए। संसारभर चिनिए। फर्किएर फेरि जनताका छोराछोरी पढाउन।
१३ वर्ष सांसद सदस्य भएर सोफी मिराबेला मेलवर्न युनिभर्सिटीमा पढाउन गइन्। दशकभन्दा बढी अमेरिकी सिनेटर भएर उपराष्ट्रपतिको उमद्वार भएका जो लिवरमेन केही वर्ष अघिमात्र शिक्षण पेशामा लागेका छन्।
भारतीय सिनेमा जगतका महानायक अमिताभ बच्चन लोकसभाबाट आफ्नो पुरानै संसारमा फर्किए। जो अहिलेसम्म छाइरहेका छन्।
विश्वाविख्यात बक्सर मोहमद अलिले सन्यास पछि पनि रिङ् छोडेनन्। पराजित भए तर बक्सरको परिचयलाई सेलिब्रेटीमा मात्र सिमित राखेनन्।
‘द आइटम टु किल’ लेखेर लेखक बनेका जोन ग्रिसह्याम पेशाले तिमी जस्तै वकिल थिए। आफ्नै पेशासँग सम्वद्ध कथावस्तुलाई अक्षरमा उतातेर उनले सन् १९९१ मा अर्को उपन्यास लेखे– ‘द फर्म’। १९ मिलियन डलर रोयल्टी पाए। सेलिब्रेटी भए तर पेशा र लेखन छोडेनन्।
‘क्यारि’का लेखक स्टेफन किंग साधरण स्कुलका शिक्षक थिए। उनले लेखनमा ख्याति, प्रसस्ति र पैसासँगै आफ्नो पेशलाई पनि निरन्तरता दिए। विश्वमा सर्वाधिक विक्री हुने किताबमा पर्छ क्यारी पनि।
पश्चिमा मुलुकमा यस्ता लेखक–कवि कति हो कति छन्। सेलिब्रेटी भएर पनि जसले आफ्नो पेशालाई निरन्तरता दिएका छन्। ती मध्ये धेरै शिक्षक, वकिल नै छन्। हामी भाषणमा, लेखनमा पश्चिमा उदाहरण प्रसस्त दिन्छौं तर अनुशरण किन पटक्कै गर्दैनौ ?
हाम्रै कृष्ण धरावासीले २०६७ मा मदन पुरस्कार पाएपछि सेलिब्रेटी जस्तै भए। तै पनि उनले कृषि विकास बैंकको जागिर छोडेनन्। धुवचन्द्र गौतम पनि अर्का उदाहरण हुन् लेख्दै रहे, पढाउँदै गरे। तीभन्दा अर्का ठूला उदाहरण हुन् कविवर माधवप्रसाद घिमिरे। अझै सक्रिय छन् लेखनमा।
खोज्दै जाने हो भने समाजका यी उदाहरणीय पात्र देशमै कति भेटिन्छन्, जसले सामाजिक सम्मानसँगै आफ्नो पेशालाई अपमान गरेनन्। के उनीहरुको ख्यातिमा पहिरो लागेको छ ?
बाबुराम भट्टराई बाख्रा पाल्छु भन्दा हाम्रो समाजले दिल्लगीमा उडाउँछ। बाबुरामले कुनै पेशा गर्नु हुदैन ? कस्तो छ हाम्रो सोच र सँस्कार ? व्याकुल तिमी तिनैको शिकार भयौ।
सामाजिक सोच र व्यवहार कानुनभन्दा बलिया हुन्छन्। छुवाछुतलाई मुलुकी ऐनले २०१९ सालदेखि नै अपराध ठाने पनि त्यो स्वीकार्न समाजलाई धेरै समय लाग्यो। यिनैसँग हो लड्नु पर्ने।
तिमी समाजको एक सुन्दर उदाहरण बन्नु पथ्र्यो। उत्प्रेरणा बन्नु पथ्र्यो। तिमीले आफ्नो पेशालाई निरन्तरता दिनु पथ्र्यो।
सेलिब्रेटी भएर पनि अदातलका न्यायधीशहरुसँग सत्य र न्यायका पक्षमा व्याकुल कालो कोट लगाएर लडिरहेको छ भनेर लेख्न पाउँदा गर्वले मेरो छाती कति फुल्थ्यो होला ! समाजमा एक सुन्दर उपमा बन्थ्यो होला त्यो व्याकुल। नयाँ पुस्ताका पलागि प्रेरणा बन्थ्यो होला त्यो व्याकुल ! यस्तै असाहयका लागि साहस बन्थ्यो होला त्यो व्याकुल। धेरैका लागि उर्जा हुन्थ्यो होला त्यो व्याकुल।
तर तिमी डरायौ व्याकुल। कायरतालाई स्वीकार्यौ।
जीवन निर्वाहका लागि गरिने कुनै पनि कार्यलाई पेशाभन्दा माथि मिशनका रुपमा लिन सकियो भने त्यो सधैं सम्मानित हुन्छ।
जीवन जिउने कला आफ्नो हुन्छ। त्यो कलालाई कसरी प्रस्तुत गर्ने त्यो पनि आफ्नै शैली हुन सक्छ। त्यो शैली समाजको सोचको आकारमा हुनु पर्छ भन्ने छैन। मानवीय र नैतिक मूल्यलाई उँचा राख्न सकेमा विस्तरै त्यही शैलीले सामाजिक आकार लिन्छ।
केहीलाई हेरेर बाँच्न खोज्दा बाँचेभन्दा बढी मेरेको अनूभुत हुन सक्छ।
जीवनका सुनौला वर्षलाई निष्क्रीय पारेर तिमीले समारोहमा आथितिको कुर्सी भरे पनि समाजको आवश्यतालाई खाली नै राखेका छौं।
आऊ पुरा गर। फर्क, काममा। लेखनमा। बनाउँ फेरि आफूलाई समाजको अर्को सेलिब्रेटी। जुन सोचले तिमीलाई परिवर्तन गरायो उखेल त्यसको जरा। जाऊ, खडा होऊ त्यही समाजमा जसले तिमीलाई लखेट्यो।
चेतनाको मुना बन। समाजको नमुना बन।
हजारौं पाइलाहरु तिमीलाई पच्याउन पर्खिरहेका छन्। तिमी हिड्दा समाजका आखाँ तानिन्छन्। तिमीले लेख्दा देशका मगज भरिन्छ। तिमी काममा फर्कदा निष्कृय हातहरु सल्बलाउँन थाल्छन्। तिम्रो बोली कानमा तेल हालेर बसेको समाजले पनि सुन्छ।
तिमी झोक्राउँदा सयौं फूलका थुँगा झोक्राउँछन्।
व्याकुल तिमी युवा हौ। युवाले नै हो परिवर्तनको हाँक दिने। युवा नै हो परिवर्तनको सम्वाहक बन्ने। युवा नै हो परिवर्तनको साधन बनेर विचारको रथलाई साध्यमा पुर्याउने।
नलडी हार माने लडेर कहिल्यै जित्न सकिदैन।