विवाहको एउटा पार्टीमा पसिनैपसिना भएर नाँचिरहेकी काकीलाई मैले सोधेँ, 'हैन अमेरिका डुल्दा त खुब क्वाटर प्यान्ट लाउनु भो रे नि? साठी कटेकी काकीले गधापश्चिसे जोशमा जवाफ फार्काउनुभयो, 'फेसबुकमा त्यत्रो राखेको हेरिनस्'?
त्यसपछि बुढाबुढीकै हुलमा दक्षिण भारत घुम्न गएँ। टिमकी एक बृद्धा आमाले समुद्रमा पोज दिइन् कुर्ता सलवारमा। अनि मलाई भनिन्, 'ए नानी तिम्रो फेसबुक होला नि? मेरो फोटो हाल्देऊ है। अष्ट्रेलियामा मेरो छोरोले देख्ला नि। कति तीनका मात्र फोटो हेर्नी?' मैले हुन्छ भनेँ। उनका छोरा मेरो फेसवुक साथी नभएकोले देख्दैनन् भनेर खिन्न पारिनँ। मेरी काकी र यी आमाको तन्नेरी जोशले मलाई झन् तन्नेरी बनाउन सघायो।
यता पत्रपत्रिकामा मेरा फाट्टफुट्ट लेख देखिन थालेपछि 'फ्रेन्ड रिक्वेस्ट' बढ्न थाले। लेख मनपराएको उल्लेख गर्दै 'मेसेज' आउन थाले 'इनबक्स'मा। यी सबैलाई म उपहार सम्झन्छु। यसले पनि लेख्नको लागि उर्जाकै काम गर्छ। केही समय नलेखे 'खै त लेख?' भन्ने प्रश्न आउँछन्। यसले उत्तरदायी बनाउँदो रहेछ। जीवनमा खुसी थप्दो रहेछ।
अब 'इनबक्स'मा 'मेसेज' आउन थाल्छन् 'तपाईं जस्तो 'इन्टेलेक्च्वल' मान्छेले जोक 'पोष्ट' नगरे हुने।' पोष्ट गरिएका फोटोहरूमा कमेन्ट आँउछ, 'सार्वजनिक गर्न लायकको लेख लेख्नेजस्तो सफल भएन कि?' ¬¬(सारी, कुर्ता वा जिन्स बाहेकका लुगा लगाइएको छ भने)। सरसर्ती हेर्दा यी कुनै एक व्यक्ति विशेषगरी केटीको 'वाल'मा भइरहने कुरा हुन। तर, यस्ता खाले टिप्पणी र सल्लाहभित्र गहिरो संस्थागत मनोविज्ञान लुकेको देखिन्छ।
अपेक्षाकृत क्वाटर प्यान्टमा ढल्किन रमाइलो मान्ने काकीलाई तन्नेरी पुस्ताले आफ्नो नजिक मान्छ। समयसँग चल्न सकेकोमा रमाइलो मान्छ। केहीले टिप्पणी गर्छन्, बुढेसकालमा पनि कति चम्कनु परेको होला। विदेश गए पनि आफ्नो संस्कार झल्कने लुगा लाउनु नि! उनी यस्तो अपेक्षा पूरा गरेर 'इम्प्रेसन' दिन पटि्ट लागिनन्। जवानीदेखि मनमा लुकेको 'फेसनेवल' हुने रहर पूरा गररे आफूलाई निर्धक्क अभिव्यक्त गरिन्।
यस्ता कुरा नियालिरहेकै बेला, केही अघि कान्तिपुर कोसेलीमा एउटा लेख पढेँ। मिथिला शर्माको बिहेलाई लिएर रमण घिमीरेले लेखेको। लेखको समग्र आशय मिथिला शर्मालाई शालिन र सुशिल सावित गर्नु थियो। उनले बजारमा जतिथरि फेसन आए पनि त्यसको पछाडि लागिनन्। मिथिलाले मोतिलाल बोहरासँग बिहे गर्दैछन् भन्ने कुरा चलेपछि दुइजनाको पहिल्यै देखि प्रेम सम्बन्ध थियो भन्ने हल्ला चलेको छ। त्यसो होइन, प्रेमगरेको कारण होइन जीवनको उत्तरार्धमा सहाराको लागि बिहे गर्दैछिन् भन्ने आशय लेखमा बुझाउन कोसिस गरिएको थियो। मिथिला शर्मा साँचो अर्थमै शालिन छन् भन्नेमा मेरो विमति छैन।
पोशाकको सम्बन्धमा पनि उनको आफ्नो रोजाइ होला त्यसको पनि सम्मान गर्छु। उनी शालिन हुनुको पछाडि कुर्ता र साडी अनि कोही व्यक्तिलाई प्रेम नगर्नुको सम्बन्ध जसरी दिन खोजियो त्यो भने बुझिनसक्नु छ। र कोही व्यक्तिलाई प्रेम गरेको कारणले बिहा गर्नु मेरा लागि आदरणीय पक्ष हो। सहाराको लागि भन्दा। मिथिलाले प्रेम गर्दैमा शालिनता कसरी कमजोर हुन्छ यो पनि बुझ्न गाह्रो कुरा भयो। नाम चलेका लेखकको यो मनसायले के जनाउँछ भने शालिन हुनको लागि देखावटी रुपमै अवलम्वन गर्नुपर्ने निश्चित मापदण्ड छन। र यो परिधिको अपेक्षा व्यक्तिगत मात्र नभएर समूहगत हो भन्ने कुरा फेसबुकमा गरिने टिप्पणीले प्रमाणित गर्छ।
जजमेन्टल स्वभाव ४६ सालपछि नेपाली समाज राजनीतिक रुपमा खुला भयो। ०६२/६३ पछि सामाजिक रुपमा पनि खुल्दै जान थाल्यो। नेपाली महिलाहरू अभिव्यक्ति र जीवनशैलीको सवालमा खुलेर अगाडि आउन थाले। दुई/तीन बर्षयता सामाजिक संजालहरूमा उनीहरूको उपस्थिति बढ्न थाल्यो। यो उपस्थिति नेपाली समाजलाई नियाल्ने एउटा माध्यम बन्यो। घरको भान्सादेखि समुद्रको किनारमा नेपाली महिलाहरू देखिन थाले विभिन्न स्वरुपमा। लोग्ने मरेपछि सती जाऊ, जीवनभरि सेतो सारी लाऊ, तिम्रो अस्तित्व आफैँमा केहि होइन भनिएको समाजमा सारी देखि स्वीम सुट सम्ममा उनीहरूले आफ्नो सुन्दरता अभिव्यक्त गरिरहेका छन्। राजनीति देखि, दाल चाम को भाउको बिषयसम्ममा महिलाका विचार पनि छरपष्ट भइरहेछ । शान्त देखिने समाजको एक पाटो एक्कासी बोल्न थालेको छ ।
एकातिर महिलाहरू खुलिरहेछन् भने अर्कोतिर आदर्श नारी वाला ह्यांगओभर समाजमा बाँकी नै छ। पछाडिी फर्किएर बाँच्न महिलाहरूलाई मन छैन। अगाडि बढिरहँदा 'आदर्श नारी 'को चश्मा लगाएर गरिने 'जजमेन्ट'को सिकार हुनुपरिरहेको छ। प्राविधिक रुपमा समाज खुलिरहेछ तर मनोबैज्ञानिक रुपमा संकीर्णतासँग जुधिरहनु परेको छ। आधुनिकता, खुलापन अनि बन्द समाजका मान्यताका अवशेष एउटै समाजमा तरंगित भइरहेछन्। यो कुनै व्यक्ति खराब हुनु वा पुर्वाग्रही हुनुको कारण होइन। बद्लिँदै जाने समाजले ल्याउने संक्रमणकालीन अवस्था हो। हातमा आइफोन लिएर फेसबुक चलाउने पात्रले नै आदर्श छविको वकालत गर्दै फेसबुक टिप्पणी गर्छ। गुगल सर्च गरेर एन्जेलिना जोलीको तस्बिर हेरिरहेकै समयमा नेपाली नायिकालाई प्रहार गर्दै 'स्ट्याटस' मारिरहेको हुन्छ। विश्वस्तरको प्रविधिको सुविधा पनि लिइरहेको र महिला प्रति लोकल तहबाट जजमेन्ट गरिरहेको अनौठो अवस्थामा हामी छौं।
एक्प्रसेन भर्सेस इम्प्रेसन '
हामीसँग एउटा साझा मनोबिज्ञान छ। मानिसले आफूलाई कसरी अभिव्यक्त गरिरहेको छ भन्ने भन्दा पनि कसरी इम्प्रेसन जमाइरहेको छ भन्ने पक्षबाट व्यक्तिबारे टिप्पणी दिने। इमानदार अभिव्यक्ति भन्दा कुटनीतिक अभिव्यक्तिलाई बढ्ता प्रोत्साहन गर्ने। व्यवहारिक तहबाटै राम्रो आचरण हुने भन्दा प्रस्तुतिमा राम्रो देखिने कुराको पछि हामी धेरै लाग्छौं। आफूलाई कसरी व्यक्त गर्ने भन्दा अरुलाई कसरी प्रभाव पार्ने भन्नेमा जोड हुन्छ। यसले एक त हाम्रो अभिव्यक्तिलाई खुम्च्याउँछ भने अर्को इमान्दारिताको चमकलाई कमजोर पारिदिन्छ।
र यो सत्य हो मान्छेको हरेक पल एउटै तरिकाले बितेको हुँदैन। एकैदिनमा अनेकौ रंगका जीवन उसले बाँचिरहेको हुन्छ। हामी केटीहरूलाई कहिले राजनीतिक बातावरणले वाक्क पार्छ। कहिले सामाजिक कुरामा चासो लिइरहेका हुन्छौ। कहिले घुम्न मन लाग्छ। कहिले फोटोसेसन गर्न मन लाग्छ। कहिले जोकको मुड हुन्छ। एउटा मान्छे गम्भीर हुन्छ, ऊसँग 'सेन्स अफ ह्युमर' पनि हुन्छ। रिस, आवेग, भावुकपन,रोमान्टिक मुड सबै हुन्छन्। इन्दे्रणीमा सात रंग हुन्छन। मानिसभित्र त कति हो कति रंगहरू। मलाई शास्त्रीय संगीत पनि मनपर्छ, हिपहप पनि मनपर्छ। यो कुरा सेलरोटी पनि मन परेको, मोमो पनि मन परेको जस्तै हो। आज सेलरोटीको मजा लिएको कुरा फेसबुकमा लेखियो भने भोलि मोमोको स्वादमा रमाएको लेख्न नहुने? आज झरिमा रुझ्नुको मजा लुटेको कुरा लेखियो भने भोलि घाम तापेको आनन्द सेयर गर्न नहुने? फेसबुकमा तिमीले इम्प्रेसन दिनुपर्छ एउटा शालिन छविको, तिमी आफ्ना रंगहरूको अभिव्यक्ति दिन सक्दिनौं भन्नेहरूलाई म 'सरी' मात्र भन्न सक्छु। र नारायणगोपालले गाएको एउटा गित समपर्ण गर्न चाहन्छु–
'म जे छु ठिकै छु
बिथोल्न नआऊ'।'
यो लेख प्राविधिककारणवस पुनः प्रकाशन भएकोमा क्षमाप्रार्थी छौ। -सम्पादक