एक वर्ष अगाडि अमेरिकामा हुँदा एक दिन मलाई केही सामानहरू किन्न सुपरमार्केट जानुपर्ने भयो। मेरो घरबेटीले भनिन्,'फलानो मलमा जाऊँ, सस्तो पर्छ सामानहरू', मैले हुन्छ भनेँ। त्यो मल हामी बस्ने ठाउँभन्दा अलि पर नै थियो। रेल चढेर जानुपर्ने।
हामी दुई त्यो मलमा गयौँ। सामान किनिसक्दा दु्वैजनाकाे मिलाएर निकै धेरै सामान भए। अब त्यति सामान बोकेर रेलमा फर्किन गाह्रो हुनेभयो। हामी ट्याक्सी खोज्न थाल्यौँ। निकै बेर खोज्दा पनि व्हिलचियर जाने ट्याक्सी भेटिएन्। फेरि यहाँ जस्तो जुनसुकै ट्याक्सी यसो उचालेर चढौं न भन्दा नहुने, ड्राइभरले नमान्ने। कानूनले नै नदिने। त्यस कारण हामीले सल्लाह गर्यौ-घरबेटी सामानसहित ट्याक्सीमा घर फर्किने। म चाहीँ रेल चढेर घर जाने। त्यसपछि घरबेटी एउटा ट्याक्सी चढेर फर्किइन्।
अघि भर्खर आएको भएपनि मलाई ट्रेन स्टेसन जाने बाटो पक्का याद थिएन। फेरि स्टेसन सपिङ मलभन्दा अलि टाढै थियो। अघि आउँदा पनि हामी २० मिनेट जति हिँडेका थियौँ। मैले आफ्नो मोबाईल निकालेँ र गुगल म्याप्समा ट्रेन स्टेसन खोजेँ। एउटा बाटो देखियो। त्यही बाटो पछ्याउँदै गएँ। १५ मिनेट जतिमा म एउटा बाटो सकिने स्थानमा आईपुगेँ। मभन्दा माथि फ्लाईओभरको पुल थियो, म चाहीँ मुनि। तर, त्यसभन्दा अगाडि बाटो नै थिएन। घारीजस्तो थियो। तर, नजिकै कतै ट्रेनहरू हिँडेको आवाज पनि थियो। मोबाईलमा हेर्छु, अब स्टेसन आउन १ मिनेट बाँकी भन्छ। सायद, त्यो फ्लाई ओभरबाट नजिकै थियो होला। गलत बाटो आइएछ भन्ने बुझेँ।
फेरि फर्किएँ पुरानो बाटोतिर। मोबाईलमा त्यो फ्लाईओभरमा कसरी पुग्ने भनेर हेर्न खोजे बुझिन। नजिकैको ठेगानाहरू थाहा थिएन, सर्च गर्ने कुरा भएन। मेरो अपार्टमेन्टको एड्रेस हालेर हेरेँ। ट्रेनमा चढेर जाउ भनेर फेरि अघिकै बाटो देखायो। यसरी भएन भनेर मोबाईल गोजीमा थन्काएर अघि बढेँ।
मेरो अगाडि अलि पर, त्यो फ्लाईओभर थियो, तर त्यसको दुवै फेँदचाही देखिँदैन थियो। मैले सोचेँ- यसलाई पछ्याउँदै जान्छु कसो नभेटिएला। त्यो परको फ्लाईओभरलाई हेर्दै-हेर्दै त्यो फेद खोज्न म अघि बढेँ। जति गए नि, मैले खोजेको स्थान भेट्न सकिन।
अब त झन् म मेन हाईवेतिर पो पुग्न लागेँ। त्यहाँ त फुटपाथ पनि थिएन। फुटपाथ नभएको स्थानमा मुख्य सडकमा हिड्न त्यहाँ धेरै खतरा हुनेथियो। अगाडि जाने कुरा भएन। पछाडि त्यत्रो बाटो हिँडेर आएँ के फर्कनु! मसँग अब के गर्ने भन्ने उपाय भएन।
कोही मान्छे आउँछ कि भनेर कुरेँ। गाडी मात्र स्पीडमा आउने-जाने गर्थे। घडी हेरेँ- डेढ घण्टा भएछ एकोहोरो घुमेको। व्हिलचियरको ब्याट्री नि कम हुँदै थियाे। दिक्क मानेर फेरि मोबाईल निकालेर नक्सा हेर्न थालेँ। यतिकैमा एकजना मान्छे परबाट आउँदै गरेको देखेँ। मद्दत माग्छु भनेको सोचेको थिएँ, नजिकै आएपछि पो अलि डर लाग्यो।
मेरो घरबेटीले “होमलेस” मान्छेसँग सावधान हुनु भनेकी थिइन्। उनले बताउने होमलेस मान्छेको हुलिया यी मान्छेसँग मिल्थ्यो। मैले मोबाईल गोजीतिर हालेँ। उनी नजिकै आईसकेका थिए। मैले त्यसो गरेको देखेर हाँस्दै भने- त्यसो गर्नुपर्दैन साथी। म अब बेग्लै मान्छे भइसकेको छु। पहिला भए बेग्लै कुरा।
उनी फेरि हाँसे।
मैले केही भनिनँ।
उनैले सोधे- केही समस्या छ?
मैले सोचेँ, यिनले केही बिगार्दैनन् होला।
भनेँ- म हराएँजस्तो छ। ट्रेन स्टेसन जानुपर्ने, २ घण्टा भो घुमेको घुम्यै छु।
उनले भने- ल हिँड, म पुर्याई दिन्छु।
मलाई डर लाग्यो। मसँग अरू उपाय थिएन- त्यो बाटोमा मान्छे पनि हिँड्दैन थिए। जान्छु भन्दा-कतै लगेर सबै लुट्ने पो हुन् कि!
मेरो चिन्ता उनले बुझे सायद। भने-नडराउ। मेरो विश्वास लाग्दैन भने हातमा मोबाईल बोकेर पुलिसको नम्बर निकाली राख्नु, मैले केही नराम्रो गरे- कल गर्दिनु। उनी हाँसे।
मलाई ती मान्छे त्यस्तो खराब जस्तो लागेनन्। उनीसँग जाने नै भए। हामी फर्कियौँ। अलि अगाडि पुगेपछि, उनले एउटा सानो बाटो तिर पो लगे। म रोकिएँ।
उनले भने- आउ न आउ, यहाँबाट हामी दश मिनेटमा स्टेशन पुग्छौँ।
म फेरि उनलाई पछ्याउन थालेँ।
म केही बोलेको थिईन, उनले नै भने- पहिला म फटाहा थिए। धेरै पल्ट जेल नि गएँ। परिवारलाई धेरै रुवाएँ। मेरी छोरीले मलाई कति पल्ट यस्तो नगर भनिन्। तर, अहँ मैले टेरिन।
मैले सोधे- अहिले नि?
उनले हाँस्दै भने- अहिले म बेग्लै मान्छे भाको छु। सज्जन।
मैले सोधेँ- कसरी त यस्तो परिवर्तन?
उनले भने- मेरी छोरीले एक दिन आत्महत्या गर्न खोजीछन्। हस्पिटलमा लगेछन्। म त जेलमै थिएँ। किन यसो गरेको भन्दा- मेरो बुवालाई यस्तो देख्न सक्दिनँ भनिन् रे।
यति भनेर उनी टक्क अडिए। म तिर हेरे। सूर्यकाे प्रकाशमा पनि पनि उनको आँखामा टल्केका पानी प्रस्ट देखिन्थ्यो।
मैले सोधेँ- अनि के भयो?
उनले भने- अनि उनकी आमाले मलाई छोडेर गइन्। छोरीलाई सँगै लगिन्। राम्रै गरिन्। मैले जेलमै यी कुराहरू सुनेँ। त्यहाँबाट निस्केपछि, म बदलिएँ। मुश्किल भयो, तर बद्लिएरै छोडेँ।
मलाई उनको कथा अझ जान्न मन थियो। तर, हामी ट्रेन स्टेसन नजिक आईसकेका थियौँ।
उनले भने-ल त्यहाँ छ स्टेसन। अब जान सक्छौ।
मैले उनलाई विदा माग्नु अगाडि सोधेँ- पहिला र अहिले के फरक छ त जिन्दगीमा?
उनले एकछिन सोचेर भने- आजकल म राम्ररी निदाउन सक्छु। किनभने मेरो निद्रामा मैले दुःख दिएका मान्छेहरू आएर रुँदैनन्।
यति भनेर उनी हाँसे। म हाँस्न सकिन। उनले कति सजिलै कति गम्भीर कुरा भने। मैले उसँग हात मिलाए र भने- धन्यवाद मलाई बाटो देखाउनु भएकोमा!
उनले सोधे- ट्रेन स्टेसनसम्मको बाटो?
मैले भने- होइन। जिन्दगीको!
यसपाली म हाँसे। उनले बुझेनन् क्यार- हाँसेनन्।
म छुट्टिएर ट्रेन स्टेसनतर्फ लागे। घर जाँदा पनि मैले ती मान्छेको बारेमा सोचिरहेँ। आज पनि म मैले केही गर्नु अगाडि सोँच्छु- के यो काम गरेपछि, म राति राम्ररी निदाउन सक्छु?
जिन्दगीको यत्रो पाठ यति सजिलै सिकाउने ती “होमलेस” मान्छेलाई आज पनि मनबाट धन्यवाद दिन्छु।