म के हुँ र को हुँ त्यो अहिले सान्दर्भिक नहुन सक्छ । तर, म मुटुभित्रदेखि नै मेरो दरिलो नेपाली पहिचान कुनै पनि हालतमा र कहिल्यै पनि गुमाउन चाहन्न । पाइलटको मेरो व्यवसाय र कर्तव्यपालनका क्रममा म घुमि नै रहन्छु । अनेक जात, वंश, राष्ट्रियता र मूलका व्यक्तिसँग मेरो भेट हुन्छ । उनीहरू राष्ट्रियतासँग, मुलुकसँग र सामाजिक हैसियतसँग जोडेर आफूलाई चिनाउने गर्छन् । उनीहरूको मातृभुमि प्रतिको विश्वास र आदरले मलाई आफ्नो मुलुकको महानता स्वीकार गर्न र यसप्रति थप समर्पित हुन प्रेरणा दिन्छ । त्यसैले नेपाल र नेपालीप्रति अपमानजनक कुरा कसैले भनेमा म विचलित हुन्छु, अनि उसलाई मुखभरिको जवाफ दिन्छु । यसैले त विदेशमा अवसर पाउँदापाउँदै पनि नेपालमै बाँधेर राखेको छु मलाई । बाहिर पाइने बढी सुविधा र यात्रा तुच्छ लाग्छन् मुलुकको साग र सिस्नुभन्दा ।
आफ्नो मातृभुमि त्यागेर म आफ्नै नजरमा गिर्न चाहन्न । त्यो पनि आमालाई हाम्रो आवश्यकता सबभन्दा बढी भएको बेला । त्यस्तै म मेरो वायुसेवालाई अहिले छाड्न चाहन्न । यद्यपि सबै कुरा प्रतिकूल देखिन्छ अहिले । तर, नेपाल वायुसेवा निगमबारे जति सकारात्मक कुरा गरे पनि म एक्लै या मजस्ता केही अरूले हाम्रो राष्ट्रिय ध्वजावाहकलाई बचाउन सक्दैनौं । त्यसका लागि दरिलो राजनीतिक इच्छा चाहिन्छ । असल, खराब या कुरुप जे भए पनि राजनीतिक शक्तिलाई वेवास्ता गर्न मिल्दैन । राष्ट्र निर्माणका लागि त्यो आवश्यक छ, हुन्छ । नेपाल वायुसेवाको सुधार पनि त्यसैमा भर पर्छ ।
हाम्रा कुनै पनि नेतालाई राष्ट्रिय ध्वजावाहकको महत्व थाहा छ जस्तो लाग्दैन मलाई । त्यसैले त उनीहरू हाम्रो ध्वजावाहकलाई वेवास्ता गरेर विदेशी विमान सेवामा मात्र गर्ने गर्छन् । असार १४ गते राष्ट्रपति रामवरण यादव र उनको टोली रोयल थाई एयरवेजबाट ब्यांकक हुँदै काठमाडौं आउन लागेको थाहा पाएपछि म खङ्ग्र्रङ्ग भएँ । मैले नेपाल वायुसेवा निगमको बोइङ ७५७ उडान नं.४०१ को आफ्नो ककपिटको एकदम नजिकबाट नियालेँ उनीहरूलाई । थाई एयरवेज उडेको केही बेरमै म नेपाल वायुसेवा निगमको जहाज उडाएर ब्यांककबाट काठमाडौं आउँदै थिएँ ।
नेपालमा पहिलो राष्ट्रपतिले आफ्नो ध्वजावाहक विमानमा यात्रा गरेर उनको तथा उनीसँगको टोलीलाई स्वागत गर्ने अवसर किन दिएनन् हामीलाई ?
नेपाल वायुसेवा निगमको साटो थाई एयरवेज विमान किन रोजे उनले ? जे भए पनि आफ्नो त आफ्नै हुन्छ महामहिमज्यू ! हाम्रो वायुसेवाको स्तरीयता अरुजस्तो नहोला । तर, हामी नेपाली वायुसेवा हौ । नेपाली आतिथ्य दिन्छौं र नेपाली राष्ट्रिय ध्वजाका साथ हामी उड्छौं । के हाम्रा राष्ट्रिय ध्वजावाहक राष्ट्रपतिको सेवा र सुरक्षाको अवसर हाम्रो पहिलो अधिकार हैन ? अनि आफ्नै ध्वजावाहकप्रतिको वफादारी र जवाफदेहीता नेताहरूबाट अपेक्षा गर्नु हाम्रो अधिकार हैन ? राष्ट्रिय ध्वजावाहकमै यात्रा अपेक्षित कर्तव्य हो नेताहरूको । हामी नेपालीले आफ्नो विमान सेवा, उत्पादन र पहिचानलाई सम्मान गर्न नसकेसम्म नेपाल समृद्ध बन्न सक्दैन ।
(लामा नेपाल वायुसेवा निगमका क्याप्टेन हुन् ।)