‘छठी मैया सुनी हें अरजिया हमार....!’
देशभरि छठ भाकाको गीत तिहारदेखि नै घन्किन थालिसकेका छन्। मधेशको प्रमुख र कठिन पर्व मानिएको छठको गीत दशैंलगतै बज्न थाल्छन्। मधेशको माटोको सुगन्धसँग एकाकार गर्ने छठ पर्वले हाम्रो समाजलाई धेरै राम्रा कुराहरूको सन्देश दिएको छ। सामाजिक सद्भाव र एकताका लागि छठभन्दा राम्रो अरु उदाहरण सायदै होलान्। बाघ र बाख्रीले एउटै ‘घाट’मा पानी पिएको किवंदन्ती छठपर्वमा पूर्णरुपमा जीवन्त भएको देख्न पाईन्छ।
चार दिनसम्म मनाईने यो पर्वको तेस्रो र मुख्य दिन साँझमा अस्ताचलगामी(अस्ताउन लागेको)सूर्यतिर फर्केर जब हजारौं हातहरू अघ्र्ये दिन उठ्छन् त्यो बेला साँच्चिकै अलौकिक अनूभुति हुन्छ। जहाँ जातपात धनी गरिबको सबै भेद मेटिन्छ। छठी माईको गीतले गुञ्जिएको पवित्र घाटमा जब सबै भगवान दीनानाथ (सूर्य)लाई एकैपल्ट आराधना गर्छन् त्यो बेला मनमा उत्पन्न हुने धार्मिक भावनाको वर्णन गर्न सकिदैँन। वर्षमा एकपल्ट देखिने यो अलौकिक दृश्यलाई हेर्न लाखौँको भीड लाग्छ।
कार्तिक र चैत्र गरेर वर्षमा दुईपल्ट मनाईने छठ पर्वलाई मुस्लिम धर्मावलम्बीले पनि उत्तिकै श्रद्धाका साथ मनाउँछन्।
अरुबेला त्यति सरसफाई र चोखोनितो नगर्ने तराईका बहुसंख्यक मधेशवासी यो पर्वमा सफाई र चोखोनितोलाई बढी ध्यान दिन्छन्। त्यसैले पनि छठपर्वलाई सबैभन्दा कठिन पर्व मानिन्छ। महिनौँ अघिदेखि डोम समुदायले ढक्की, दौरा, सुपली आदि बनाउन सुरु गर्छन्। त्यस्तै कुमालेहरूले माटोको दियो, कलश र छठको कोशी भर्न लागि चाहिने कलात्मक माटोको हात्ती बनाउन थाल्छन्।
छठ पर्वको सबैभन्दा राम्रो पक्ष हो स्थानीय वस्तुसँगको लगाव। यो पर्वमा प्रयोग गरिने हरेक वस्तु र पूजामा चढाईने सामानहरू सबै स्थानीय स्तरकै उत्पादन हुन्छन्। चाहे त्यो केरा, उखु, बोडी, अदुवा र मूला नै किन नहोस्। सबै स्थानीय स्तरमा किसानले उब्जाएका तरकारी र अन्न नै छठी माईलाई भोग लगाईन्छ।
छठमा समस्त मानव समुदायले अस्तचलगामी सूर्यलाई दिएको अर्घ हेर्ने र त्यसबाट प्रेरणा लिनुपर्दछ। समाजले जहिले पनि सिंढी उक्लिरहेको र सफल मान्छेको मात्र जयजयकार गरिरहेको हुन्छ।
अस्ताउँदो सूर्यको पूजाले मानवता पनि सिकाएको छ। बलेको आगो मात्र ताप्ने, निमुखा अनि ‘ओरालो’ लागेकालाई हेलाको दृष्टिले हेर्ने हाम्रो सामाजिक (कु)संस्कारलाई अस्ताउँदो सूर्यको पूजाले समाजमा हरेक मान्छे, जाति, समुदाय र वस्तुको महत्व उत्तिकै छ भन्ने पाठ सिकाएको छ। आज ओरालिएको मान्छे भोलि फेरि माथि चढ्नसक्छ, जसरी आज साँझ अस्ताएको सूर्य भोलि बिहान फेरि नयाँ उर्जाका साथ उदाउँछ।
आज समाप्त भएको दिन भोलि फेरि बिहान भएर आउँछ। सूर्य अस्ताउनु भनेको चन्द्रमालाई उदाउने मौका दिनु हो। सबैले आफ्नो अधिकार प्रयोग गरेर अरुलाई पनि उसको अधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने गहिरो सन्देश छठ पर्वले दिइएको छ।
हाम्रो हिन्दु धर्ममा छठमा मात्रै पश्चिमतर्फ अस्ताउँदै गईरहेको सूर्यलाई अघ्र्ये दिइन्छ। हाम्रा विभिन्न पुराणहरूले पनि सूर्यलाई प्रत्यक्ष देव मानेको छ, ईश्वरका अरु अवतारका बारेमा हामीले सुनेका मात्र छौँ। सूर्यलाई हरेक दिन आँखाले प्रत्यक्ष हेर्न र अनुभव गर्न पाएका छौ। छाला र हड्डीजन्य कतिपय रोगको उपचार सूर्यको किरणबाट प्राप्त हुने भिटामिन ‘डी’ ले गर्दछ भन्ने तथ्य विज्ञानले पनि प्रमाणित गरिसकेको छ। कुनै रोगब्याधि वा समस्या हुँदा छठमा भाकल गर्दा वा ब्रत गर्दा पूरा हुने जनविश्वास अन्य ब्रतको तुलनामा बलियो छ। त्यही भएर पनि मधेशी समुदायले ऋण गरेर र भिखै मागेर भएपनि यो कठिन ब्रत गरेरै छाड्छन्।
छठको लागि केही दिन अघिदेखि नै विभिन्न नदी, नहर र पोखरी र तलाउको सरसफाई गरिन्छ। त्यहाँ पलाएका झारपातलाई सफा गरेर पानीलाई सङ्लो बनाईन्छ। छठको ब्रत लिएकाले यही सफा पानी घाटको बीचमा उभिएर अघ्र्ये दिन्छन्। यसरी छठ पर्व प्रकृतिको पनि नजिक छ, यो पर्वले पुरुष र महिलालाई बराबर मानेको छ। छठी माता(देवी)को नाममा निराहार ब्रत बसेर साँझ र बिहान सूर्य(देव)को पूजा गरेर यो कठिन ब्रत समापन गरिन्छ। समाज र सृष्टिमा स्त्री र पुरुष दुबैको बराबरी महत्व छ र एउटालाई पाखा लगाएर अर्को अघि बढ्न सक्दैनन् भन्ने सन्देश पनि यो छठ पर्वले दिएको छ। किनकी छठमा महिला पुरुष दुवै ब्रत बस्छन्।
छठ पर्वमा दुलही झैं सिंगारिएर जाज्वल्यमान भएको छठ घाटमा हरेक जातिका मानिसहरू आफ्नो समूह बनाएर बसेका हुन्छन्। अरुबेला तल्लो र माथिल्लो जातको नचाँहिदो झगडामा विवाद गर्नेहरू सबै एउटै घाटमा बसेर एउटै ईश्वरलाई सम्झिरहेका हुन्छन्। त्यो बेला न त्यहाँ कुनै जातपात हुन्छ न कोही गरिब वा धनी नै हुन्छन्। सबैले आफ्नो गच्छे अनुसारको खर्च गरेर यो पर्व भक्तिभावका साथ मनाउँछन्। कसैलाई यो पर्वमा कसैसँग कुनै ईष्र्याद्वेष हुँदैंन। घट्दो गर्मी र बढ्दो चिसोको मौसममा पर्ने यो पर्वमा किसानहरू खेतको अन्न भकारीमा थुपारेर सुखी र आनन्दित भएर बसेका हुन्छन्। अरु बेला खर्च गर्न कन्जुस्याँईं गर्नेहरू पनि यो बेला छठीमाताको नाममा मन खोलेर खर्च गरिरहेका देखिन्छन्। ब्रतको समापन गर्ने दिन बिहानैदेखि घाटमा मान्छेहरूको भीड हुन्छ। छठीमाईको गीत गाउँदै उदाउँदै गरेको बालसूर्यलाई अघ्र्ये दिएर ब्रत बसेकाहरू आफूमा न्यानोपन अनुभव गरिरहेका हुन्छन्। त्यही भएर ब्रत सकिएपछि छठी माईको दर्शन गर्न आएका भक्तहरू श्रद्धाका साथ प्रसाद मागेर खाने गर्दछन्।