कम्युनिष्ट भनेको आफैं साना/ ठूला, पैसा भएका/ नभएका भनेर असमानता र विभेदविरूद्ध लड्ने आन्दोलन हो। नेपाल कम्युनिष्ट पार्टी पनि विधान र कम्युनिष्ट आचरण पालनामा त्यस्ता आधारमा कसैलाई छुट दिँदैन भन्ने हामी धेरै कार्यकर्ताको विश्वास छ।
तर कतिपय ठाउँमा गम्भीरतापूर्वक होस नपुर्याउँदा यो पार्टीमा गलत तत्वहरूको प्रवेश भएको छ। ती केही गलत प्रवृत्तिका मान्छेको कारण पार्टी बदनाम बन्दैछ र देश अप्ठेरोमा पुगेको छ।
पर्सा जिल्लामा बसरुद्दिन अन्सारीजस्ता गैरकम्युनिष्ट चरित्रका मान्छेको नेकपा प्रवेश यस्तै एउटा उदाहरण हो। उनको प्रवेशदेखि लिएर वीरगन्ज महानगरमा उनको उम्मेदवारीसम्मका शृङ्खलामा पर्साको कम्युनिष्ट आन्दोलन लजाउनु पर्ने परिस्थिति बन्यो। जे ढंगले उनलाई पार्टी प्रवेश गराइयो, जसरी उम्मेद्वार बनाइयो र त्यसबीचमा जे जस्ता प्रकृतिका कामहरू भए त्यसमा एक सिन्को पनि कम्युनिष्ट पद्धतिले काम गरेको थिएन। बरू नेपालमा बलियो कम्युनिष्ट आन्दोलनको जगमा आफ्ना असामाजिक गैरकम्युनिष्ट स्वार्थका रोटी सेक्ने बसरुद्दिन दाउ भने प्रत्येक पटक सफल रह्यो। र आज यो सिंगो पार्टी नै बदनाम हुने तहमा पुगेको छ।
उनको विगतको कुरा गर्ने हो भने पनि जुन बेला जो बलियो जस्तो देखिन्थ्यो उनी त्यही झण्डा मुनि बसेर आफ्ना स्वार्थ पूर्ति गरिरहेका हुन्थे। कहिले कंग्रेस , कहिले फोरम , कहिले माओवादी। उनी सबै पार्टीका बने। तर जनताका माझमा उनी जता लागेर जे गर्दा पनि विवादित मात्र भए।
उनको निकट इतिहास हेर्ने बुझ्ने जो कोहीले यो कुरा सजिलै थाहा पाउन सक्छ।
दुई तिहाइ बहुमतको समर्थनमा नेपाल कम्युनिष्ट पार्टीको सरकार चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समृद्ध नेपाल सुखी नेपालीको भावनालाई यथार्थ बनाउन अहोरात्र लाग्नुभएको छ। कोही कसैबाट नठगिने, नहेपिने, कसैले कसैलाई अमानवीय व्यवहार गर्न नदिने आम कम्युनिष्ट नीति पनि हो। र नेकपाको सरकार यही बाटोमा लागिरहेको बेला बसरुद्दिनको लगानीमा रहेको नेसनल मेडिकल कलेजमा राज्यले तोकेभन्दा बढी शुल्क लिने मात्र होइन, त्यसको विरोध गर्ने विद्यार्थीलाई धम्क्याउने, तर्साउने बन्धक बनाउने काम भैरहेको छ। यो कुरा वीरगन्जमात्र होइन राष्ट्रिय समाचार बनिरहेका छन्। अति लज्जास्पद कुरा त यो छ कि बसरुद्दिन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध मानिसका रूपमा परिचित छन्।
यसलाई अबिलम्ब नसच्याउने हो भने कम्युनिष्ट आन्दोलन र पार्टी प्रतिको जनभरोसामा प्रश्न चिन्ह उठ्ने छ।
बसरुद्दिनले विगतमा क्रमश: गिरिजाप्रसाद कोइराला , पुष्पकमल दाहाल, माधवकुमार नेपालसँग उनको नेसनल मेडिकल कलेजको उद्घाटन गराए।
यो पनि पढ्नुस् :
अन्सारीले कलेजमा चलाएको आतंकको फेहरिस्त (भिडियोसहित)
उनी काँग्रेस त्यसको नीति विचरलाई लिएर होइन, मेडिकल कलेजका नाममा अकुत धन कमाउने आफ्नो लालसा रक्षाको निम्ति भए। जब कांग्रेस कमजोर भयो उनी आफ्नो मेडिकल कलेजमार्फत गरिने सबैखाले हर्कतको रक्षाका लागि फोरममा लागे। तत्कालिन माओवादी बने र अहिले नेकपामा छन्। उनले पार्टी पंक्ति, राजनितिक आन्दोलनसँग कहिल्यै आफूलाई जोडेनन्। किनकी उनी कम्युनिष्ट कांग्रेस वा जुन पार्टीमा गए पनि उनको मक्सद पैसा थियो, निष्ठा थिएन। प्रभावशाली बरिष्ठ नेताहरूसँगको उनको उठबस विद्यार्थी ठग्ने लाइसेन्स थियो। र यो विशुद्ध आरोप होइन कि आज उनको मेडिकल कलेजमा भइरहेका घटनाले यसलाई पुष्टि गर्दछन्। नेताहरूसँगको सम्पर्क र सम्बन्ध बसरुद्दिन अन्सारीको दादागिरीको बल बनेको छ। र यो अन्ततः बिद्यार्थी ठग्ने धन्दाको रूपमा प्रयोग भइरहेको छ।
सम्माननीय प्रधानमन्त्रीको केही समय अघि सिङ्गापुरमा गरिएको उपचार बसरुद्दिनको खर्चमा गरिदिएको कुरा उनी र उनका निकटहरू ठाँटका साथ सुनाउँछ्न्। यो साँचो हो या दुस्प्रचारमात्र हो थाहा छैन। तर यसले प्रधानमन्त्री समेतको बदनामी भैरहेको छ।
नेकपामा उनको लोभमा फस्ने कार्यकर्तालाई त यसले केही फरक नपर्ला तर पार्टीका इमान्दार कार्यकर्ता, आन्दोलनमा निष्ठापूर्वक लागेकाहरुलाई भने यस्ता कुरा सुनेर मन पोल्छ। प्रधानमन्त्री र प्रभावशाली नेताहरू सबै आफूअनुकुल रहेको बताउँदै, नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूबाट राज्यले तोकेभन्दा बढी असुल गर्ने, उनीहरूलाई धम्क्याउने, कुट्पिट गर्ने, मानसिक मनोवैज्ञानिक तनाव दिने र आफूलाई कम्युनिष्ट बताउने कुरा देखेर यहाँका प्रत्येक इमान्दार र वफादार नेता कार्यकर्ताको शिर नुहेको छ।
यो कसैको व्यक्तिगत कुरा होइन, सामाजिक कुरा हो कि नेपाल कम्युनिष्ट पार्टीको नाममा केही नेतासँगको उठबसको हवाला दिएर शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा र अझ मेडिकल शिक्षाजातो संवेदनशील कुरामा आफ्नो निजी आम्दानीबाहेक कुनै जिम्मेवारी नैतिकता नदेख्ने कुरा स्वयं पार्टी नेकपाको लागि असह्य हुनुपर्ने कुरा हो। यस विषयमा अविलम्ब कठोर कदम चाली, बसरुद्दिन अन्सारीलाई पार्टीबाट बर्खास्त गर्न र कानुनी कारबाहीको प्रकृया अगाडि बढाउन अब ढिला गर्नुहुँदैन। अन्यथा नेकपाका लागि बसरुद्दिन अन्सारी राष्ट्रिय लज्जाको विषय बन्दैछन्।
नेकपाले सभामुखजस्तो पदमा रहेकालाई पनि खराब आचरणका लागि कारबाही गरेर एउटा महत्वपूर्ण सुुरूवात गरेको छ। निर्लज्जताका साथ मेडिकल शिक्षामा बढी शुल्क लिने, विद्यार्थीलाई धरपकड गर्ने, कुटपिट गर्ने र कानुनी शासनमा जंगली गुण्डगर्दी प्रदर्शन गर्ने कमरेड बसरुद्दिन वा जोकोहीलाई पनि नेकपाले अबिलम्ब कारवाही गर्नुपर्छ। नेकपा र सरकार चलाउने अध्यक्ष कमरेडहरू यसो गर्न अब ढिलो भैसकेको छ।
(यादव अनेरास्ववियूका पूर्व विद्यार्थी नेता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हुन्)