राष्ट्रका कला-सङ्गीत र बाङमय आफ्नो देशका मौलिक हुन् र तिनको परिचय विश्वव्यापी हुन्छ। तिनै मौलिकताले देश अरू देशका सामु परिचित बन्छ। तर, कलाकारको परिचय र जीवन कति सुरक्षित छ? आज कलाकारिताका क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने र गरेका जो कोहीलाई घोच्ने एउटा तीखो प्रश्न हो यो। नेपाली सङ्गीतको शुरुवात गरेका सेतुराम श्रेष्ठ वा पहिलो नारी गायिका मेलवादेवी गुरुङले पनि आफ्नो सुखद जीवन वरण गर्न पाएनन्।
लगभग १२० वर्षको नेपाली सङ्गीतको इतिहासमा धेरै कलाकारले आफ्नो जीवनलाई राष्ट्रको नाममा समर्पण गर्दा गर्दै अकालमै मृत्युवरण गर्नुपरेका दर्जनौँ उदाहरण छन्। अरुण थापाको मृत्युदेखि कोइलीदेवीको मृत्युसम्म, नारायणगोपालको उपचार खर्चको लागि चौधरी दाजुभाइले गरेको सहयोगसम्मलाई देशले मौन बसेर हेर्छ। दुई वर्षदेखि योगेश वैद्य मृगौलाको प्रत्यारोपण गरेर बसेका छन्। तारा थापा क्यान्सरसंग लडिरहेकी छिन्, बिजु बज्र हृदयघातका कारण उपचार खर्च जुटाउन नसकेर संस्कृति मंत्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेट्न पुगेका छन् तर खाली हात फर्केका छन्, उपचारमा राष्ट्रले खर्च उठाउनु त के आश्वासन पनि दिन सकेको छैन।
म जटिल सन्दर्भ उठाउँदै छु। यो देशका सामान्य नेतादेखि उच्चपदस्थ कर्मचारीलाई सामान्य रुघा-खोकी र जरो आएमा विदेशका महंगा अस्पतालमा करोडौं रुपैयाँ खर्च गरेर उपचार गराइन्छ। कलाकार तिनका गहनामात्र हुन्, राष्ट्रका सृंगारिक साधनमात्रै हुन् ? सबैको सुख-दुखमा तिनैले बनेका गीतले साथ दिन्छ। नाच्नेदेखि रुनेसम्म तिनै कलाकारका गीतले गराउँछ। अनि यिनै कलाकार तिनै नेताबाट उपेक्षित ? तिनै नेताले चुनाबमा तिनै कलाकारका कलालाई आफ्नो उपयोगको साधन बनाउँछन्। दुखको बेला तिनै कलाकार कोठाभित्र एक्लै थुनिएर रुनुपर्ने ?
सन्दर्भ म जोड्दै छु, प्रसिद्ध सङ्गीतकार,गीतकार,सङ्गीत संयोजक एवं रेकर्डिष्ट बिजु बज्रको। चालीसको दशकमा गुल्मीको वामी टक्सारबाट नेपाली कांग्रेसको राजनीतिक कलाकार बनेर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनी अहिलेको नेपाली समकालीन संगीतका मूर्धन्य सङ्गीतकार हुन्। पचासको दशकमा नेपाली रंगकर्मका चर्चित कलाकार उत्तम नेपाली, शशी विक्रम शाह, सुदर्शन राणालगायतका गीतमा सङ्गीत भरेर फत्तेमान राजभण्डारी, योगेश वैद्य, कुमार बस्नेतलगायतका गायकहरूको स्वरमा गीत रेकर्ड गराएका थिए। मूलधारको संगीत संगसगै पाश्चात्य शैलीको संगीतमा समेत उनले दखलता देखाए।
"झरी परिरह्यो मनमा थामिदैन आँसु..." (स्वर- फत्तेमान राजभण्डारी, शब्द- नरेशदेव पन्त), "बिस्तारै छायो आँखामा अँध्यारो..." (स्वर- कर्ण दास, शब्द- नरेशदेव पन्त), "तिमी मभन्दा कोसौँ टाढा छौ..." (स्वर- सुगम पोख्रेल, शब्द- सुनिता राणा), "मै ठुली भैछु रे, आइदेऊ घुम्टी ओढाइदेऊ..." (स्वर- रेश्मा सुनुवार, शब्द- भूपेन्द्र खड्का), "कुन रंगको कमी थियो र..." (स्वर- आगन्तुक खरेल, शब्द- भूपेन्द्र खड्का), "परेवाको जोडी उडेको देख्दा..." (स्वर- प्रीति कुर, शब्द - अजय अलौकिक) उनका बहुचर्चित गीत हुन्।
यी गीतका संगीतकार बिजु बज्र हृदयघातका कारण गंगालाल अस्पतालमा आर्थिक सहयोगको अपेक्षासहित जीवन-मरणको दोसाँधमा छन्। सम्झन्छु म त्यो दिन, टुंडिखेलमा रेश्मा सुनुवारले "मै ठुली भैछु रे..." गीत गाउँदा तत्कालीन प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनीसंगै कम्मर मर्काएर नाँचेका थिए। बाबुराम र हिसिलालाई उठाएर नचाएका थिए। आज कहाँ छन्, उनीहरू ? बिस्तारै छायो बोलको कर्ण दासले गाएको गीतले जनयुद्धकालमा नेपाली सेना र अन्यसंग गाँसेको सद्भाव कहाँ हरायो अहिले ? मै ठुली भैछु रे बोलको गीतले नेपाली संगीतको रिमिक्स कुप्रथाको अन्त्य गरेको इतिहास निर्माण गर्ने संगीतकार बिजु बज्रको इतिहास किन मेटाउने प्रयास हुँदै छ ? बिजु बज्रलाई आफ्नो पार्टीको झोले गायक बनाएर प्रयोग गर्ने नेपाली कांग्रेस आज के हेरे बसेको छ ?
गत वर्ष पनि उनी मृत्युको मुखबाट फर्केका थिए। गत वर्ष उनको उपचारका लागि केही सांगीतिक संघ-संस्था र व्यक्तिले सहायो गरेका थिए र उनी बाँचे। अहिले उनको मुटुको रक्त संचारका लागि केही भल्भहरू खोल्नुपर्ने र त्यसको खर्चको लागि ४-५ लाख रुपैयाँ लाग्ने अस्पतालले बताए पनि उनले त्यो खर्च जुटाउन सकेका छैनन्। आफ्नी श्रीमती कोपिला बज्राचार्यलाई पनि कुनै समयमा उनले पार्टीको गायिकासमेत बनाएका थिए। उनका जेठा छोरा कोविद बज्र पनि संगीतमै छन्। उनी अहिले लोचन रिजालसंग एथ्नो म्युजिकको अनुसन्धान गर्दै छन्। कान्छा छोरा बिक्कु र छोरी रेबिका कलेज पढ्छन्। बिजु बज्रले जीवनभर संगीतबाहेक अर्को कुनै पेशा अपनाएनन्। परिवारबाट पटक-पटक "हातमुख जोर्न गाह्रो भयो, अर्को पेशा अपनाउनुपर्यो" भन्दा सङ्गीतलाई व्यवसाय बनाउनुपर्छ भन्दै परिवारलाई नै सहमत गराए। उनी नेपाली मौलिक लोक शैलीमा आफ्नो संगीतको कलालाई प्रस्तुत गर्ने मौलिक संगीतकार हुन्। उनको उपचारमा उदासिनता देखाएर सरकार र सबैबाट उनका अन्य सृजनालाई हत्या गर्न खोजिँदै छ।
हामी अरू बिरामी पर्दा वा रोगी हुँदा आफू कहिल्यै हुन्नौँजस्तो गर्छौं तर जब आफूलाई त्यस्तो पर्छ अनि बुझ्छौँ, त्यसको पीडा। बिजु बज्र अहिले त्यस्तै पीडामा छन्। यी नेपाली सङ्गीतका धरोहरलाई तपाईं पनि मनदेखि सहयोग गर्न सक्नुहुन्छ। सङ्गीतकार संघले सिटिजन्स बैंकमा खोलेको खाता नम्बर ००१००१०००१ ७५३ ca मा आफू सक्दो सहायोग गर्न सक्नुहुन्छ। तपाईंको सानो सहयोगले उनले पुनर्जीवन प्राप्त गर्न सक्छन्।
राष्ट्रका यी निधिलाई पुनर्जीवनका निम्ति कामना गरौँ।
(लेखक गीत/गजलकार तथा रेडियोकर्मी हुन्।)