तिहार चाड हिन्दुहरुको भनिन्छ तर अन्य धर्मका जात जातिले पनि उतिकै रमाइलो गरेर मानेको पाइन्छ। हामी रसुवाका तामाङहरु पनि तिहार मान्छौं। मनाउने तरिका हिन्दुको भन्दा केही फरक छ। ठ्याक्कै हिन्दुको झैं हुँदैन। काग तिहार खासै मनाइदैन। कुकुर तिहारमा कुकुरलाई फूलमाला लगाइदिन्छन्।
गाई तिहार अर्थात लक्ष्मी पूजाको दिन गाईवस्तु भएकाहरु आ–आफ्नो गोठमा जान्छन्। गाई नपालेकाहरु पनि छिमेकीको गोठमा जान्छन्। गोठालोलाई फूलमाला लगाइदिन्छन्। ऊ मख्ख पर्छ। गोठको अंगेना “फुदुल” र निगालोको बाकस “डेली” च्याट्ट सफा गरिन्छ। त्यसको अगाडि नौनीको बत्ती “क्षेमी” बालिन्छ। गाईवस्तुलाई फूलमाला लाइदिन्छन् र नुन खुवाउने चलन छ। तामाङ भाषामा यसलाई “चत पिन्बा” भनिन्छ। गाईलाई मात्र हैन याक, चौंरीगाई र भेडाबाख्रा समेतलाई नुन खुवाइन्छ। साँझ घर लिपपोत गरेर धूप बत्ती बालेर पुराना पैसा र गहानालाई पूजा गर्छन्।
गोठमा मासुको परिकार पाक्दैन। यो दिन मासु खाँदैन। गोठालाले दही, घिऊ, खीर र कुराउनी पकाएर राखेको हुन्छ। गोठमा आएका सबैलाई त्यही खुवाउँछन्। गोठमा जानेहरुले चामल, रक्सी, फलफूल लैजानु पर्छ। यो दिन गोठालाहरुको पनि विशेष दिन हो। गाईवस्तु फुकाउने र साँझ जम्मा गरिदिने काम अरुले गर्छन्। झाँक्रीले गाईवस्तुको आयु बढाउन देवता (गाङ्की सुङ) लाई पूजा गर्छन्। दिनभरि गोठहरुमा गीत गाएर नाचेर रमाइलो गर्छन्।
गोवर्धन पूजाको खासै महत्व छैन। तै पनि गोरुलाई फूलमाला लगाइदिएर नुनसम्म ख्वाउँछन्। गोरु र किसानबीच जमीन जोत्ने कामसँग सम्बन्ध हुन्छ।
लक्ष्मी पूजाको दिन भैलो खेल्छन्। गाउँमा भैली भनिदैन। उहिले केटीहरु भैली खेल्दैनन् रे। बुढापाका यही बताउँछन्। गाउँमा सडक पुगेपछि र स्कुलमा पढ्नेहरुले भैली खेल्न थालेका छन्। गोर्बधन पूजाको साँझदेखि राति अबेरसम्म केटाहरु देउसुरे (देउसी) खेल्छन्। बूढापाकाहरु भने “यावे” खेल्छन्। यावे पुरानो संस्कृति हो। भट्याउनेदेखि गाउनेसम्म शास्त्रीय तामाङ भाषामा खेलिन्छ।
भाइटीकामा चेलीबेटीले दाजुभाइको घरमा रोटी, रक्सी, तरकारी र फूलमाला लगेर जानुपर्छ। बिहान झिसमिसेमै टीका लगाउने चलन छ। रङ्गीचङ्गी टीका नभए पनि हुन्छ। कालो टीका लगाउनै पर्छ। उहिले कालले भाइ (फम्युङ) लाई मृत्यूलोकमा लैजानको लागि लिन आउँदा चेली (बुसिङ) ले थाहा पाएर कालो टीका लगाइदिएछ।
अँध्यारोमा कालले कालो टीका लगाएको भाइलाई देख्न सकेन। यसरी चेलीले भाइलाई बचाएको कथा तामाङ समाजमा पाइन्छ। टीका लगाएपछि चेलीलाई आफ्नो गच्छे अनुसार नगद वा जिन्सी उपहार दिनु पर्छ। तामाङ क्यालेन्डरको गन्ति अनुसार हरेक वर्ष लक्ष्मीपूजा (चत पिन्बा)औंसी र भाइटीका दोस्रो तिथि (छेबा ङी) मा पर्ने गर्छ।
हरेक वर्ष भाइटीकाको भोलिपल्ट भार्खुगाउँमा चेनक्षेपा नामको धार्मिक मेला लाग्छ। अहिंसाका शिक्षा दिने मेलामा लामा, झाँक्री, शिकारी, जरायो, कुकुर, नेपाल भोट युद्ध, राजारानी, खाम्पा नाच आदि देखाइन्छ।
तिहारको सबै पक्ष राम्रो छ। राम्रो चाड जसले माने पनि हुने रहेछ। यो हाम्रो चाड त्यो तिमीहरुको चाड भनेर किन झगडा गर्ने? सामाजिक सद्भाव बढाउने चाड सबैले मनाउँदा फाइदा नै गर्छ। तर जुवा खेल्ने परम्परा भने नराम्रो छ। लक्ष्मी पूजाको साँझदेखि भाइटीकाको विहानीसम्म जुवाडेहरु कौडा (कौरी) खेल्छन्। महिलाले जुवा खेल्दैन। कुनै महिलाहरु च्याँख्ये थाप्छन् तर कौडा हान्दैनन्। जित्नेले जितौरी बाँड्छन्। हार्नेको घरमा लोग्नेस्वास्नीबीच झगडा पनि हुने गर्छ।
हिजोआज तिहारमा प्लास्टिकको फूलमाला चलाउन थालेका छन्। यस्तो विकृति रोक्नुपर्छ। एकपटक पटाकाले ज्याद्रो गरेको थियो। प्लास्टिकको फूलमालाले घर सजाउने र दाजुभाइको गलामा पहिराउँदा पटक्कै सुहाएको छैन। यो राम्रो र हाम्रो चलन होइन। सबैभन्दा राम्रो त सयपत्री फूलको माला नै हो। यसलाई तामाङ भाषामा “फोलोमेन्दो” भन्छन् अर्थात दीर्घायु फूल। गुह प्रशासनले प्लाष्टिकको फूललाई पनि विक्री गर्न रोक्नु पर्छ। बातावरणीय दृष्टिकोणले पनि उपयुक्त होइन।
ठूलोभार्खु, रसुवा