'दिउसो देखिएको मेरो मायालु बाबा राती रक्सी खाएर कहाँ हराउँछ होला? दिउसो सबैलाई सहारा दिने बावा राती आउँदा वेसहारा कसरी हुन्छ होला?' जँड्याहा बाबुप्रतिको यो प्रेमपीडा बिजय कुमारकी सानी छोरीले कुनै दिन यसरी नै लेखर छोडेकी थिइन्, सानो चिर्कटमा।
१९ वर्षीय ठिटोले २०३६ सालमा दाङको लक्ष्मीपुर गाविसको मसोट जंगलमा मनोरञ्जन वा लहलहैमा लिएको एक 'तुर्की' कुनै बेला बिजय कुमारको जीवनको एक असैह्य पीडा बन्यो।
ख्यालख्यालैमा सुरु भएको एक गिलास, जीवनको कुनै काल हज्जारौँ भरिए र रित्तिए। मदिरा खाए पनि नखाए पनि टेलिभिजनका विजय कुमार, रेडियोका रविन्द्र मिश्र र छापाका खगेन्द्र संग्रौला नाम 'सेलिब्रेटी' हुन् मेरा लागि, सायद आम स्रोता, पाठक अनि दर्शकका लागि।
भोको पेट, नाङ्गो शरीर, रित्ता कक्षा कोठा, उपचार अभावमा मर्दै गरेका आमाहरुका भाषा बोल्न इच्छा देखाउनै नचाहनेहरु।
र पनि नायककै पंक्तिमा, मन लागे पनि नलागे पनि हेर्नैपर्ने, सुन्नैपर्ने र पढ्नैपर्ने, एक प्रकारको 'कुलत' नेपालीको।
खुसी
हप्ता–हप्तामा टेलिभिजनका स्क्रीनमा विजय कुमार र उनको दिसानिर्देश, उनको विगत र वर्तमान पोखिएको छ, खुसीमा।
सायद बिजयकुमारका बुवा बाँचेका भए, उनी पत्रकार बन्ने थिए वा थिएनन्, अड्कलमात्रै हो, हाम्रो।
कुनै पनि बुवाले सायद हुँदाखाँदाको सरकारी जागिर छोडेर पदम ठकुराठीको पत्रिकामा लेख्न अनुमति दिंदैनथ्यो, त्यसमा पनि त्यो बेलाको राजनीतिक याममा।
'खुसी'मा पोखिएअनुसार त्यो बेलाको दाङको यौन बजारमा विजयकुमार गएनन्, वा पुगे कि कि उनलाई थाहा छ, कि प्रत्येक साँझ त्यहाँ पुग्ने जिरेललाई नै थाहा होला। उनका केही व्यक्तिगत प्रसङ्गमात्रै हुन् यी। 'कुखुराको मासु समेत भित्र छिर्न नपाउने त्यो घरमा मदिराले लठि्ठएर सम्हालिनै नसक्नेगरी धङ्धङिएको छोरो देख्दा कुनचाहीं आमाको मन निमोठिदैन होला?'
यी सबै थाहा पाएका विजयकुमार, होटल ह्यातमा पल्टिएकोे, छादिएका कपडाको गन्ध सँग श्रीमतीको बास। अनि छोराछोरीको पीडा। यी सब थाहा छ, तर पनि 'नशा' छुटेन वर्षाैसम्म यसले पछ्याइरह्यो।
देश विदेश घुमेका, पढेका। कूलिन वर्गको संगत। सँगको संगत त्यो पनि उच्च वर्गीय। र पनि बिजयकुमारको आधा जीवन त्यही नशामा डुबिसकेको थियो। उनले आफूलाई चिन्ने प्रयास गरे। उम्किने प्रयास गरे। दशकौँपछि उनी त्यो लतबाट उम्किए पनि। अनि पारस?
त्यस्तै त हो नि! अर्को मानिस 'पारस'। जसलाई यही 'नशा' चुर पारिसकेको छ। विजयकुमार आम जनताका छोरा हुन्। मदिराले मोतर होटलमा लडे पनि, बजारमा छादे पनि, 'यौन' बजारमा 'पानी' फेरे पनि नफेरे पनि, चर्चा भएन।
तर राजकुमार थिए पारस, सार्वजनिक ठाउँमा ठूलो स्वरले खोकेर खकार निकाले भने पनि 'युवराजलाई क्षयरोग लागेको आशंका' भनेर फोटोसहितको समाचार बन्थ्यो।
हाम्रो जस्तो पारिवारिक सामिप्यता अलि कम पाउने राजखलक भित्रका पारस। नफस्नु थियो, कुलतमा फसे। उनका लागि राज संस्था नढल्नु थियो ढल्यो। श्रीमती सँगको सम्बन्ध न हो, चिसियो मात्र।
बा–आमालाई राजकाजको चिन्ता। आर्थिक रुपले कहिले खडेरी नलाग्ने पारस र उनको संगत। अनि समग्र राजसंस्थाको वर्वादी।
सायद यी सबले हुनसक्छ, पारस गालिए, थलिए।
विदेशी भूमिमा एउटा नेपाली। हिंज उनी को थिए, के थिए, कस्तो थिए? ती सब कुरा परिस्थितिका हुन्। आज फेरि मानवताका आँखाले हेर्ने हो भने ती पनि एक नेपाली हुन्, नेपालीका छोरा हुन्। चाहेर वा नचाहेर, विदेशी भूमिमा पासरको त्यो
हालत नेपाल र नेपालीको पनि इज्जतसँग गाँसिएको कुरा हो। पारस त्यो रुपबाट यो रुपमा झर्दा, अहिले धेरैले काखी बजाईरहेका छन्।
विवाद, तर्क–वितर्क, खुच्चिङ! कठै! केही जरुरी छैन। टेलिभिजनका स्क्रीन, पत्रिकाका पाना र रेडियोका बुलेटिनमा पटक–पटक दोहोर्याउनु पर्ने जरुरी छैन, 'फेरि पारस पक्राउ।'
समाचार हो बज्यो–छापियो सकियो। तर राज्यले भने कर्तव्य भुल्न मिल्दैन। पारसलाई नेपाल ल्याउनुपर्छ।
विदेशीको कैदमा एउटा नेपालीको छोरो।
त्यो बेलो 'रक्सी'ले बनाएको बिजयकुमारको हालत देखेर जसरी उनकी इजाको मन खिन्न हुन्थ्यो, आज ज्ञानेन्द्र अनि कोमलको मन पनि पारसको हालतमा त्यस्तै भएको होला। कुन चाहीं बाबु आमा नहोला, छोराको त्यस्तो हालत देखेर मन नकाटिने।
'खुसी'मै बिजयकुमारले लेखेका छन्, 'ज्ञानेन्द्रलाई सबैभन्दा दुःख पारसको हालत देखेर हुन्छ होला।'