उनको पनि १२ कक्षा उत्तीर्ण भएपछि, व्यवस्थापन संकाय पढेका हजारौं विद्यार्थीहरू जस्तै बिबिए पढ्ने लक्ष्य थियो। त्यसैले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागले लिने सिम्याट परीक्षाको फारम खुल्ने बित्तिकै उत्साहित हुँदै भरे। देश भरका अन्य दसौँ हजार विद्यार्थीहरू जस्तै उनले पनि सिम्याट परीक्षा दिए। केही दिनमा त्यसको रिजल्ट भयो। उनले १०० पूर्णाङ्कमा ७१ नम्बर ल्याए। त्यो नम्बर शंकर देव क्याम्पसको राम्रा नम्बरहरूको स्थान थियो। उनी औधी खुशी भए। तर उनको यो खुशी धेरै समय टिक्ने वाला थिएन।
अरूको लागि भए त्यति नम्बर आएपछि, अब शंकरदेव वा मिनभवन क्यामपसमा बिबिए पढ्न निश्चित प्रायः हुने थियो। तर सौरभ कार्कीको लागी भने त्यो कुरा त्यति सजिलो थिएन। उनी जन्मिदै देखी मानसिक पक्षघातले पीडित थिए। उनलाई हिँड्न साहारा चाहिन्थ्यो। उनले बोलेको जो कोहीलाई बुझ्नलाई मुश्किल पर्थ्यो। उनको हातले सजिलो गरी लेख्न सक्दैनथ्यो। सौरभ एकजना अपाङ्ता भएका व्यक्ति थिए र उनलाई थाहा थियो- हाम्रो देशमा अन्य धेरै कुराहरूमा जस्तै शिक्षामा पनि अपाङ्गता भएका व्यक्तिहरूको पहुँच धेरै कम छ। उनलाई थाहा थियो- प्रवेश परीक्षामा राम्रो अंक ल्याउँदैमा उनको बिबिएपढ्ने चाहना पुरा हुन्छ भन्ने थिएन। उनी अगाडि आउन सक्ने चुनौतीका लागी तयार भएर बसे।
--
२०६९ को एसएलसीको परीक्षा फलप्रकासित भइसके पछि मलाई फेसबुकमा एउटा म्यासेज आयो। मेरो एकजना मिल्ने साथीले लेख्नुभएको रहेछ- “सागर, एकजना अपाङ्ग भाइले ८८% ल्याएका रहेछन्। तर अब कहाँ पढ्ने, के पढ्ने भनेर अन्योलमा भएर परिवार चिन्तित रहेछन्। आर्थिक अवस्था पनि कमजोर रहेछ। केही सहयोग गर्न सकिएला कि!” मैले त्यस्तो म्यासेज पढेपछि, ती भाई र उसको परिवारसँग सम्पर्क गरेर कुरा गरे। उहाँहरू धेरै वटा कलेजमा बुझ्न जानुभएछ। तर धेरै कलेजमा व्हिलचियर नजाने, जाने ठाउँमा पनि यस्तो मान्छेलाई पढाउन गार्हो हुन्छ होला भनेर कलेजले पन्छिन खोजेका रहेछन्। मैले सो जानकारी पाएपछि सो भाईको समस्यालाई फेसबुकबाट सेयर गरे। त्यहाँ धेरै जनाले सहयोग गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यहि स्टाटसमा सौरभ भाईले पनि कमेन्ट गरेको थियो। उसले लेखेको थियो- “दाई, म पनि अपाङ्गता भएको विद्यार्थी हुँ। म अहिले गोल्डेन गेट कलेज मा पढ्दै छु। यहाँ माथि जान लिफ्ट पनि छ। कलेज ले पनि छूट्टै व्यवहार गर्दैन। तपाईले भनेको भाइलाई यहि बुझ्न पठाईदिनुस् न।“
त्यो बेला नै हो मैले सौरभ लाई चिनेको। मैले उसको प्रोफाईल पहिलो पल्ट हेरेको पनि त्यहि बेला हो। सौरभको र मैले फेसबुकमा सहयोगको अपिल गरेका भाइको अपाङ्गता पनि उस्तै उस्तै खालको रहेछ। सौरभको सल्लाह मानेर नै मैले गोल्डेन गेट कलेजका प्रिन्सिपलसँग कुरा गरेर त्यो अर्को भाईलाई पढ्ने अवसर मिलाउन सके।
त्यसपछि म र सौरभ फेसबुकमा कुरा गर्न थाल्यौँ। उसले मलाई आफ्नो बारेमा धेरै कुरा सुनायो। मैले उसलाई एकदमै लगनशील व्यक्तिको रूपमा देखे। पछि एक दिन उसको बुवा सँग उ मलाई भेट्न मेरो घर पनि आयो। त्यो बेला उसले अफ्ठ्यारो गरेर भन्यो- म राम्रो पढेर, केही गरेर, अपाङ्ग पनि अरु जस्तै सक्षम हुन्छन् भनेर देखाउन चाहन्छु दाई। मैले उसका प्रत्येक शब्द त बुझिन, तर उसमा रहेको विश्वासले मैले उसको भाव बुझिसकेको थिए- फगत शब्द बुझ्न पर्ने आवश्यकता नै रहेन। मलाई भेटेर गएको दिन मैले सौरभ को बारेमा अबेर सम्म सोचे। मलाई विश्वास थियो- यो मान्छे फरक हुनेछ।
--
सिम्याट परीक्षामा राम्रो नम्बर आएपछि थप भर्ना प्रकिया बारे बुझ्न लाई सौरभ र उसको बुबा शंकरदेव क्याम्पस जानुभयो। त्यहाँका प्रिन्सिपलले सौरभलाई, तिम्रो अपाङ्गताले गरेरबिबिएपढ्न गार्हो हुन्छ, बिबिएस्पढ भन्नुभएछ। सौरभले भने आफुले केही सहयोग पाए, बिबिएसजिलै पढ्न सक्ने बताए। प्रिन्सिपलले शंका गर्नुभयो। वहाँ सौरभलाई भर्ना गराउन खासै ईच्छुक हुनुभएन। भर्नाको लागी अझ अन्तरवार्ता हुन बाँकी नै थियो। अन्तरवार्ताको नतिजा पछि विचार गरौला भन्नुभयो।
सौरभ र उसको बुवा मिनभवन क्याम्पस पनि जानुभयो। त्यहाँ पनि खासै फरक व्यवहार भएन। सबैले सौरभले बिबिए पढ्नै सक्दैन भनेर ठोकुवा जस्तै नै गरे। सौरभको बुवाले साँझ मलाई फोन गर्नुभयो र भन्नुभयो- के गर्ने त सर, बिबिएस् नै पढाउने?
मैले भने- म सौरभसँग कुरा गर्छु।
उँसग फोनमा कुरा गर्न अफ्ठ्यारो थियो, फेसबुकमा च्याट गरे। उसले भन्यो- म सक्छु दाई बिबिए पढ्न। मलाई बिबिएस्पढ्नै मन छैन। पहिला पनि अपाङ्ग भनेर साईन्स पढ्न पाईन, अब फेरी बिबिए पनि छोड्न लाउँदै छन्।“ यति भनेर उसले च्याटमा उदास भएको अनुहारको ईमो पठायो।
म उसको कुराले दश बर्ष पछाडी पुगे।
--
मैले १२ कक्षा सकेर कम्प्युटर ईन्जिनियरीङ्ग पढ्नको लागी पुल्चोक ईन्जिनियरिङ्ग कलेजमा प्रवेश परीक्षा दिए। सौरभले ल्याए जस्तै टप नम्बर त ल्याउन सकिन तर पैसा तिरेर सजिलै ईन्जिनियरिङ्ग पढ्न मिल्ने अंक ल्याएको थिए। तर भर्ना गर्ने बेलामा कलेज प्रशासनले मानेन। तपाईको व्हिलचियर हाम्रो कलेजमा जानै सक्दैन; कसरी पढ्ने भनेर प्रश्न गरे। त्यसको उत्तर मसँग थिएन। अझ क्याम्पसका साहायक चीफले त सिधैँ भन्नुभयो- भाई तिमीलाई यस्तो टेक्निल विषयहरू पढ्न गार्हो हुन्छ। तिमी बरु लिट्रेचर पढ। आर्ट्स पढ।“
मैले केही गरी ईन्जिनियरिङ्ग पढ्न सकिन। त्रिचन्द्र कलेजबाट बिएस्सी गर्नुपर्यो। मलाई आज सम्म पनि त्यो घटना सम्झदा न मज्जा लाग्छ।
आज दश बर्ष पछाडी पनि त्यसतै हुन लाग्दै थियो। तर यो हुनुहुदैन भन्ने मलाई थाहा थियो। दश वर्षमा खोलामा धेरै पानी बगि सकेको थियो।
---
सौरभले शंकरदेव क्यामपस र मिनभवन क्याम्पस दुवैमा अन्तरवार्ता दिए। बिबिए पढ्ने फाईनल लिस्टनिस्कदा सौरभको मिनभवन क्याम्पसमा ३ नम्बरमा र शंकरदेव क्याम्पसमा १६ नम्बरमा नाम निस्क्यो। तँ सक्दैनस् भन्नेलाई सौरभले आफ्नो मेहनत र लगनशीलताले उनीहरूकै कलेजमा उनीहरूले नै लिएका परिक्षामा अब्बलरुपमा छनोट भएर देखाईदिए। अब उनीहरूले भन्न बाँकि केही भएन।
तर अझै पनि शंकरदेव क्याम्पसमा सौरभलाई भर्ना भईहाल्न सहज वातावरण बनेन। सौरभ र उसको बुवा अन्तिम प्रयास गर्न त्रिविका व्यवस्थापन संकायका डिनलाई भेट्न गए। डिनले सबै कुरा बुझेर- शंकरदेवका प्रिन्सिपललाई खबर पठाउनुभयो- हामीलाई सौरभबाट अपाङ्गता भएका विद्यार्थीहरूको बारेमा धेरै कुरा बुझ्ने मौका हुनेछ। फेरी उ परिक्षामा छनोट भईसकेपछि उसलाई रोक्ने आधार छैन। नया उदाहरणको लागी पनि उसलाई भर्ना गर्नु। चाहिने सहयोग गर्नु!
अन्ततः सौरभले बिबिए पढ्न पाउने भयो। त्यो पनि उसको रोजाइको पहिलो कलेज- शंकरदेव क्याम्पसबाट। त्यहाँ भर्ना भएर आएको दिन सौरभले मलाई फेसबुकमा म्यासेज पठायो- “म बिबिए पढ्ने भएँ दाई।“यस पाली उसले च्याटमा हाँसेको अनुहारको ईमो पठायो। उसको त्यो ईमो हेरेर म पनि मुस्कुराएँ।
सौरभको बुवाले मलाई भन्नु हुन्थ्यो- कलेजबाट छात्रवृति चाही एक रुपियाँ पनि पाईएन भाई, अब छोरालाई दुख-सुख जे गरेर नि पढाउनु पर्छ।
मैले सोधे- पैसा त निकै लाग्छ रे दाई, कसरी जुटाउनुहुन्छ?
उहाँले भन्नुभयो- एक न एक थोक होला नि भाई। अहिले भर्ना गर्दा नि रिन लिए आफन्त सँग। तिरिन्छ होला नि त एक दिन।
यति भनेर वहाँ मुस्कुराउनुभयो। मलाई अलि नराम्रो त लाग्यो। तर फेरी सोचे- सौरभ भाई कति भाग्यमानी यस्ता असल बुवा पाए।
मैले धेरै जना मान्छेको धेरै वटा कथा सुनेको छु, पढेको छु। कति वटा त्यसता कथा त आफै पनि लेखेको छु। तर आज सौरभ भाईको यो कथा सुनाउँदा, मेरो मनमा अथाह खुशी भरिएको छ। सायद यो एउटा सङ्घर्षको कथा भएर होला। वा यो कथा मेरो जीवनसँग पनि मिल्ने भएर होला। अथवा सौरभले मैले दश बर्ष अगाडी जित्न नसकेको लडाई जितेकोले होला। कारण जे सुकै होस्।
हामी मध्ये धेरै जना मान्छेहरूलाई आफ्नो जिवनमा वा आफ्नो वरीपरी गलत भईरहेकोछ भन्ने थाहा हुन्छ। तर केही थोरैत्यसता व्यक्तिहरू सँग मात्र त्यो साहस हुन्छ- जसले सबैको अगाडी उठेर गलतलाई गलत भन्न सक्छ। मेरो लागी सौरभ त्यसतै साहसी हुन्। उनलाई बिबिए पढ्ने यो यात्राको लागी धेरै धेरै शुभकामना!