हुडहुड आधिको असरले काठमाडौ १३ अक्टोवर सोमबार दिनभरी निथ्रुक्कै भिज्यो। यो पटकको मनसुन पछिल्ला दिनहरुमा बढी सक्रिय भएकाले हुडहुड आधीले ल्याएको जलवायु परिवर्तनतिर सरोकारवालाहरुको त्यति चासो गएन।
सामान्य रूपमा यो प्रकृतिको परिवर्तनलाई लिइयो, प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन भनेपनि यो पटक पूर्व संकेतहरू पक्कै पाइएको हो। मनाङ र मुस्ताङको सेरोफेरोमा सोमबार बिहानबाटै पानी परेको भए पनि हिउँ भने थोरै मात्रामा तीन बजेतिर नै खस्न थालेको थियो। थोराङ्गफेदीको ४ हजार ४ सय २० मिटरमा अवस्थित लो क्याम्प र ४ हजार ८ सय मिटरको हाइ क्याम्पमा बसेका पर्यटक र सहयोगीहरु नै यस पटकको अन्नपूर्ण हिउँ प्रकोपमा परे।
सोमबार रातभरी जसो परेको हिउ र मंगलबार दिनभरी जसो परेको पानी र हिउले थोरङ्ग लो र हाइ क्याम्पमा सोमबार रात बिताएर मंगलबार मुस्ताङ हिडेका पर्यटक र तिनका सहयोगीको ज्यान लियो। परिस्थितिले साथ दिएका मंगलबार मुक्तिनाथ पुगे। जो बिहान ३ देखि ५ बजे हाइ वा लो क्याम्पबाट हिँडेका थिए। तर, अलि ढिला हिडेका पदयात्री वा हिउँले बाटो बिराएका मंगलबारको रातभर थोरङ्गपासमा नै रहन पुगे।
थोरङ्ग जस्तो उच्च र अत्याधिक हिउँ पहिरोको जोखिमयुक्त पासमा बाटो भुल्नु वा पार गरी मुक्तिनाथ पुग्न नसक्नुको विकल्प मृत्यू नै थियो र दूर्भाग्य त्यही भइदियो। कालो मंगलबार अक्टोबर १४ बन्यो नेपाली पर्यटन उद्योगमा।
पर्वतीय पर्यटनसँग सम्बन्धित व्यापारीहरुको संस्था टानले मंगलबार अक्टोबर १४ मै उसको फेसबुक पेजमा प्रतिकूल अवस्थामा पर्यटकहरुलाई सुरक्षित पदयात्राको कामना गर्दै पहिलो अपडेट गर्यो। सम्बन्धित व्यवसायीहरु र सुरक्षा केन्द्रलाई सतर्क हुन टानले सर्कुलर जारी गर्यो। तर, त्यसै दिन दूर्भाग्यवस पर्यटकहरुलाई हिमपातले थोरङ्गमा कठ्याग्रिएर नत मुक्तिनाथ झर्न सक्नु नत थोरङ्गफेदी फर्कन सक्नु बनाएको थियो। उनीहरु अक्टोबर १४ को दिन, साँझ र रातभरी जीवन र मृत्यूसँग लडिरहे।
बुधबार बिहानै आर्मी र निजी क्षेत्रले थोरङ्गमा गस्ती गर्न थाले। हिउँमा फसेका स्वदेशी तथा विदेशी पर्यटक गरी करिब ३ दर्जनको हाराहारीमा मृत र सयौको संख्यामा घाइतेको उद्धार गरिसकेका छन्। तर, तथ्याङ्ग यति नै भनेर दिन नत मन्त्रालयले नै सकेको छ नत पर्यटकीय संस्थाहरुले।
रेस्क्यू र सर्च अभियान जारी छ। मनास्लु, धौलागिरी तिलिचो जो अझ दुर्गम क्षेत्र छन् ती क्षेत्रहरुमा हाल खोज केद्रित छ।
गत स्प्रिङको १८ अप्रिलमा आएको सगरमाथा आधार सिविरको हिमपहिरो र हालको अन्नपूर्ण र थोरङ्ग क्षेत्रको हिमपातको दुरी नाप्ने हो भने धेरै फरक देखिन्छ। हालको थोरङ्ग हिमपात सजिलै छल्न सकिन्थ्यो यदि सम्बन्धित गाइडहरुले बदलिदो मौसमको राम्रो ख्याल गरेको भए। हिउँले हान्दै छ, बाटो बिलाउदै छ, भिजिविलिटी कमजोर छ। तरपनि पदयात्रीहरु मुक्तिनाथ पुग्ने सपनामा उक्लिरहे र यही प्रतिकूल मौसममा पनि विजय खोज्नु ठूलो भूल थियो, जसको परिणाम ठूलै मानवीय दुर्घटना हुन पुग्यो। पत्रकार दिलभूषण पाठकको टोली उभो नगइकन उधो झर्यो, परिस्थितिको आकलन गरेर।
सवैले यो आकलन गर्न सकेको भए हामीले त्यो दिन प्रकृतिलाई जित्थ्यौ, तर अफसोच प्रकृतिले नै हामीलाई जित्यो।
हिमाल आफैमा विवादस्पद चिज हो ताकि यसलाई पैतालाले छोएरै मनोरञ्जन लिने वा सपना झै सजाएर? हामीले हिमाललाई जित्न मात्र खोज्यौ। हालको दुर्घटना भएको थोरङ्ग क्षेत्र पदयात्राको लागि वरदान नै मानिन्छ। यो कुनै ८ हजार मिटर अग्ला हिमाल आरोहणका सुत्र लगाएर हिड्ने ठाँउ होइन तर पनि ५ हजार मिटरभन्दा माथिको हिमरेखा हो जो यति कठोर बन्दोरहेछ कहिलेकाँही।
मौसम विभागले बेलैमा मौसमको पूर्वानुमान गर्न नसक्नु, पर्यटन व्यवसायीले उनका गाइडहरुलाई काडमाडौबाट बदलिँदो मौसमको अवगत गराउन नसक्नु, गृह मन्त्रालयले क्षति हुनु अगावै सुरक्षाकर्मी परिचालनमा ल्याउन नसक्नु, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले थोरङ्ग लो क्याम्प बाट मुक्तिनाथ सम्मको बाटोमा जस्तो सुकै हिमपातको बेला पनि प्रस्ट देख्न सकिने प्रसस्त संकेत र सूचना पार्टीहरुको व्यवस्था पहिल्यै गर्न नसक्नु र अन्तमा गाइडहरुले बदलिदो मौसम सापेक्ष पदयात्रालाई बेलैमा ब्रेक लगाउन नसक्नु नै मूलतः हालको दुर्घटनाको कारण र कमजोरी देखिन्छ।
राष्ट्रिय र अर्न्तराष्ट्रिय संचार माध्यमले यतिखेर यो विपद्लाई संसारको कुना कुनामा पुर्याएका छन्। अन्नपूर्णको दुःख संसारको दुःख बनेको छ। अब दुःखबाट हामीले बेलैमा पाठ सिक्नु पर्दछ ताकि भोलिको दिनहरुमा यस्ता समस्याले दुःख नदियोस्। यो घटनाबाट पाठ सिकेर स्वयं पयर्टक, पर्यटन व्यवसायी, मजदुर, स्थानीय निकाय, सरकार, सम्बन्धित संघ/संस्था गम्भीर बन्नुपर्दछ र मुख्य कुरा हिमालको चिसोमा जो नेपालीहरु सदाको लागि बिलाए उनीहरुका परिवारले उचित क्षतिपूर्ति पाउनु पर्दछ। ट्रेकिङ एजेन्टहरुले मजदुरहरुलाई उचित क्षतिपूर्ति दिन खुट्टा नकमाउन्।