धर्मसंस्कृति अनि विभिन्न सामाजिक नीति नियमद्वारा बाँधिएको हाम्रो नेपाली समाज महिलाको बिषयलाई लिएर निकै संवेदनशील देखिन्छ। घरको छोरीलाई घरको इज्जतसँग लगेर जोड्छन्। कुलको वंश चलाउने छोरा भए पनि इज्जत भने छोरीकै काँधमाथि थुपारिएको हुन्छ। घर परिवार विश्वस्त हुन्छन कि उनीहरुको कुलको इज्जत छोरीले सम्हालेकी छे। छोरीले तलमाथि केही गरे भने पनि परिवारको नाक काटिने डर हरबखत परिवारमा छाएको हुन्छ। तर यसै बखतमा छोरीले सम्पूर्ण रेखा पार गरिदिँदा समाजले त्यस परिवारलाई हेर्ने दृष्टिकोण भने अर्कै हुन्छ। सायद यसै कारणले होला छोराले गरेको गल्तीलाई सजिलै सम्हाल्न सक्ने हाम्रो नेपाली समाजमा छोरीले गरेको गल्तीको कुनै माफी हुँदैन। छोरी जहिले पनि बेसहारा हुन्छिन्। सम्पूर्ण कुलको जिम्मा छोरीको काँधमा मात्र सुम्पिदिने हाम्रो समाजमा के उसको छुट्टै पहिचान रहने गर्छ त? किन छोरीलाई मात्र कुलको इज्जतसँग जोडेर हिंड्ने गर्दछ हाम्रो नेपाली समाज? किन एउटा छोरीको कुमारीत्व मात्र कुलको इज्जत बन्न जान्छ, छोराको चाहिँ किन गणना हुँदैन? छोरीको अस्तित्वको गणना नहुने हाम्रो समाजमा कुमारीत्वको बखान भने खुब हुन्छ।
यस्तैमा जब एउटी विवाहित नारी आमा बन्छे, उसको जीवनमा यो जत्तिको सौभाग्यको कुरा अरु केही हुँदैन। किनकि आमा बन्नुलाई नारी जीवनलाई पूर्णता दिने संज्ञाको रुपमा हेर्ने गरिन्छ। जब एउटा नारी सोह्र सिंगारमा घरको लक्ष्मी बनेर भित्रिन्छिन्, तब घरको रौनक नै अर्कै हुन्छ। जब घरको बुहारीले आमा बन्ने सुसमाचारले घरको आँगन अनि भित्ता गुन्जायमान हुन्छ, त्यस घरमा खुसीको बहार छाउँछ। एउटा नारी सु-सम्पन्न हुन्छिन्। उसको मान, प्रतिष्ठा वृद्धि हुने गर्दछ। घरमा सानो सदस्यको बास मात्र होइन, एउटा घरले वंश पाउने खुसीमा सबै झुम्न थाल्दछ। यतिबेला उसको श्रीमान, अनि उसको सम्पूर्ण परिवार उसको साथ हुन्छ खुसी आदानप्रदान गर्न। ऊ त्यहाँ आफूलाई सुरक्षित महसुस गर्छिन्, किनकि उसको सम्पूर्ण परिवार उसको नयाँ अनुभव सुन्न अनि स्याहारसुसार गर्न हरदम तत्पर रहन्छ। उसलाई केही कुराको चिन्ता हुँदैन। ऊ आफ्नो जीवन खुसीका साथ व्यतीत गर्दछे। उनीहरुको खुसीमा हामी पनि आमन्त्रित हुन्छौँ अनि हामी पनि उनीहरुको खुसीमा सरिक हुन पाउदा हर्षसहित बधाई ज्ञापन गर्दछौँ। हाम्रो समाजले विवाहिता नारीको आमा बन्नुको क्षणलाई वैधानिकता दिएको छ। फलस्वरुप आमा बन्दा चाहिने हरेक पौष्टिक आहारदेखि लिएर, स्वास्थ्य जांच अनि मानसिक रुपमा खुसी अनि सन्तुष्टिको व्यवस्था मिलेको हुन्छ।
तर उही नारी, उही शारीरिक बनावटले बनेको अविवाहित नारी “आमा” बन्दा के उसले पनि त्यही महसुस गर्छे? के आमा बन्नु उसको लागि नारी जीवनलाइ पूर्णता दिनुहुन्छ? के उनी “आमा” बन्दा हाम्रो समाजले त्यही दृष्टिकोणले हेर्दछ? के उसलाई हाम्रो समाजले “आमा” बन्नुको वैधानिकता प्रदान गर्दछ? के यस्तो बेलामा उसले उचित स्याहार अनि आहार पाउँछे? के यस्तो बेलामा उसको परिवारले खुशी साट्ने गर्दछ? के उसको “आमा” बन्नुको समाचार “शुभ” हुन्छ? के यो समाचारले उसको घरको भित्ता अनि आँगन खुसीले गुन्जायमान हुन्छ? अरुको त कुरै छोडौँ, उसलाई “आमा” बन्न साथ दिने उसको प्रेमी खुसी हुन्छ? के उसको प्रेमीले यस्तो अवस्थामा उसलाई साथ दिन्छ? जति मेरो भावनामा प्रश्न उठेको छ, त्यो भन्दा बढी प्रश्न त्यो नारीको अगाडि तेर्सिन्छ। त्यहाँ सारा समाज मात्र होइन, उसको परिवार अनि उसको प्रेमीको पनि प्रश्न त्यहाँ उब्जिन्छ। किनभने हाम्रो समाजमा विवाहपूर्व एउटा महिला आमा बन्नुलाई बैधानिकता दिएको छैन। हाम्रो समाजमा यस्तो क्रियाकलापलाई कलङ्कको रुपमा लिने गर्दछ। र अबोध भ्रुण आमाको गर्भमा कलंकित कहलिन्छ। उसको आमा कलंकिनी कहलिन्छ तर यसैबीच गर्भाशयमा भ्रुण उत्पादन गर्न डिम्बासयमा विर्य पोखिदिने उसको प्रेमी गौण पात्रको रुपमा बिलीन भइदिन्छ।
हुन त समाजमा यौन बितृष्णा नहोस्, समाजलाई सु-सज्जित रुपमा संचालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ विवाहलाई दुई लिङ्गबीचको सम्बन्धलाई बैधानिकता प्रदानता दिनको लागि संचालन गरिएको विधिको रुपमा लिइन्छ। सामाजिक तथा धार्मिक रुपले बिधि विधानका साथ विवाह सम्पन्न हुने गर्दछ। दुई लिङ्गबिचको सम्बन्ध गाँस्न त्यहाँ आफन्त जन देखि लिएर पुरा समाज नै साक्षी हुने गर्दछ। तर यही समाजमा कलकलाउँदो बैशमा, आफ्नो शरीरमा हुने अनौठो तरङ्ग अनि परिबर्तनको अनुभब हरुलाई संगाल्दै केलाउँदै ऊ यस्तो अनुभव बटुल्न पुग्छे, त्यसको फलको बारेमा उसले कल्पना समेत गरेकी हुँदिन। ऊ आफ्नो योवन बैँशमा यस्तो उन्मत्त हुन्छे कि उसले सबै सामाजिक दायरा बिर्सेर आफ्नो प्रेमीको साथ सम्बन्ध गाँस्न पुग्छे। उसको प्रेमी नै उसको लागि सबथोक हुन जान्छ।
एउटा केटी या भनौँ महिलाले उसको प्रेमीमाथिको बिश्वासमा उसले सम्पूर्ण शरीर, अस्तित्व अनि कुमारीत्व सुम्पने गर्छिन् जुन कुरालाई हाम्रो समाजले बैधानिकता दिएको छैन। जुन बिश्वास अनि साथको आधारमा उसले आफ्नो जीवन सुम्पेकी छे अनि यसको अनुभबबाट उसको कोखमा पलाएको बिउलाई के उसको मालिकले स्वीकार गर्ला त? जुन व्यक्तिको लागि समाजको सम्पूर्ण दायरा आफ्नो परिवारको मान इज्जत बोकेकी चेलीले प्रेमको आधारमा सबै तोड्नको लागि हिम्मत देखाउन सक्छे भने, के उसको सह–साथी या प्रेमीले उसलाई मर्दको छोराको रुपमा उसको कोखभित्र पलाएको उसको बिउलाई त्यही साहसका साथ आफ्नो नाम, कुल दिन सक्छ? प्रकृतिको अनौठौ अनुभब बटुल्न जसरी उसले आफ्नो प्रेमिकाको उपभोग गरे, के त्यही प्रकृतिको देनलाई उसले स्वीकार गर्दछ? जुन अनुभब प्राप्त गर्न उसले आफ्नो प्रेमिकाको भोग गर्छ के उ भोगपछि पनि प्रिय नै हुन्छिन्? उनीहरुले आफुले गरेको कामलाई पवित्र ठान्दछन् भने किन अबोध बालक फोहोरको रासमा मृत अवस्थामा भेटिन्छन्?
जसरी हाम्रो समाजमा भ्रुण हत्याको शृंखला बढिरहेको छ, किन यो सब घटनाहरु भैराखेको छ हाम्रो समाजमा? किन सुत्केरी महिलाले आफ्नो सन्तान जन्म दिएपछि अस्पताल बाट भाग्ने गर्छ? किन लुकीछिपी नाबालकहरु प्लास्टिकको झोलाभित्र आफ्नो भर्खर प्राप्त गरेको स्वा;को दम तोड्दै फोहरको डुंगुर, खोला किनारातिर फ्याँकिएको अवस्थामा फेला पर्दछ? आखिर किन अनि कहिले सम्म? विभिन्न संचार माध्यम अनि सामाजिक संजालमा माकुराको जालोझैँ फिजिने समाचार सुन्दा, पढ्दा अनि हेर्दा हामीलाई लाग्ने गर्छ कि कस्तो निर्दयी आइमाई रहिछे जसले नौ महिना आफ्नो कोखमा राखेर जन्म दिएको बालकलाई यसरी सडकमा मिल्काएर गई? कस्ती आमा रहिछे जन्म दिएको आफ्नो सन्तानलाई बेवास्ता गरी फोहरको डुंगुरमा मर्नको लागि बेसहारा छाडिदिई? म पनि यस्तै सोच्ने गर्थे किन एउटा महिला भएर पनि यस्तो कठोर कदम चाल्न सकेकी होला। यस्तो गर्दा के उसको आत्माले धिक्कारेन होला एकचोटी पनि? यस्तै यस्तै नाना थरि प्रश्न उब्जन्थ्यो त्यो अबोध बालक छोडेर जाने आमाको निम्ति। किन भने म पनि यसै समाजमा हुर्केकी बढेकी मान्छे, समाजको जस्तो सोच त्यो त अवश्य पनि म मा उब्जने नै भयो। यही सामाजिक जनजीवनमा हुर्केकी अनि बढेकी, मेरो सोच पनि त समाजले उत्पन्न गरेको तरङ्ग बाहिर जान सक्दैन थियो। तर उच्च शिक्षा हाँसिल गर्दै गरेकी म अनि आधुनिकताको होडबाजीमा उपभोग गर्ने सामाजिक संजालमा यस्तै किसिमको खबर पढें जसमा बच्चा फ्याँकिनुमा उसको आमालाई नै भागेदारी बनाएको देंखे अनि मेरो मष्तिकमा सानो झड्का पर्न गयो अनि सोच्न थाले, के एउटा अबोध बालक सडकमा फालिनुमा उसलाई जन्म दिने आमा मात्र जिम्मेबार हुन्छिन् त? के यसको पछाडि अरु कुनै कारण हुँदैन?
समाजमा घट्ने हरेक घटनाको पछाडि कुनै न कुनै कारण अवश्य लुकेको हुन्छ। बस त्यसलाई केलाउनको लागि त्यस्तै किसिमको सोच भएको चस्मा लगाएर हेर्न जरुरत छ। यदि कुनै केटीले आफूले जन्माएको बच्चा बीच सडकमा मर्नको लागि छोडिदिन्छे भने त्यसमा ऊमात्र जिम्मेवार हुँदैन, त्यसमा उसलाई त्यसो गर्न बाध्य तुल्याउने उसको प्रेमीको पनि हात हुन्छ। हाम्रो समाजमा बनेको नीति नियम, समय अनुसार परिमार्जित अनि परिबर्तन हुन नसकेको नियम पनि उतिकै जिम्मेवार हुन्छ जस्तो लाग्छ मलाई। आफ्नो प्रेमीको साथ दिन सामाजिक बन्धन तोड्न सक्ने साहसिक केटीले आफ्नै साथीले जटिल परिस्थितिमा साथ छोडिन्छ भने उसको मात्र के गल्ती? मर्दको छोरोको नाममा परिचित केटा मान्छेमा आफुले गरेको कार्यको प्रतिफल भोग्न, समाजको घेराबाट पर उठेर अघि बढ्न उसमा हिम्मत अनि सहस पैदा हुँदैन भने एउटा महिलाले मात्र के गरोस्?
यसै पनि समाजले उसलाई कमजोर ठानेको हुन्छ। सामाजिक नियम विपरीत कदम चालेकोमा समाजले उसलाई लान्छना लगाउँछ। यदि हिम्मतका साथ उसले त्यस बच्चालाइ जन्म दिएर हुर्काए पनि ऊ समाजको प्रश्नको कठ्घरामा उभिन पुग्छे। त्यहाँ फेरि उसलाई बच्चाको नाम दिन उसको बाबुको जरुरत पर्दछ। उसलाई उचित शिक्षा दिक्षा दिनदेखि लिएर देशको नागरिक हुनसमेत बाबुको नाम जरुरत पर्दछ। जो बाबु समाजको लान्छनादेखि डराएर भाग्छ, उसैको नाम हरपल त्यस बच्चाको भबिष्य निर्माणमा अपरिहार्य हुन्छ। त्यस आमा जसले प्रसव बेदना मात्र नभई समाजको अनेक चुनौतीसँग लड्दै, त्यस बच्चाको पालन पोषणमा कुनै कमी राख्दिन उसको त्यागको कुनै महत्व हुँदैन। त्यसैले हाम्रो समाजको संरचनामाथि प्रश्नचिह्न उठाउन मन लग्यो– बच्चाको पालन पोषण गर्ने समयमा आमाको अपरिहार्यता देखिए पनि देशको नागरिक बन्ने समयमा चाही त्यही गौण बाबुको उपस्थिति किन जरुरी रहन्छ? किन हाम्रो देशको कानुनमा एउटा बालकको परिचय जनाउन उसकी आमाको परिचय पर्याप्त छैन?
भविष्यमा आइपर्ने यस्तै समस्यादेखि भयभित महिलाले जब आफ्नो त्यस कलिलो बालकको अन्त्य गर्छे, त्यहाँ महिलाको गल्ती मात्र औँल्याईन्छ। तर यदि कुनै महिलाले त्यसो नगरी साहसिक कदम लिई भने पनि, पछि उसको बच्चालाई ‘नाजायज’ को उपमा दिएर उनैलाई धिक्कार्ने हाम्रो समाजको द्वैत चरित्रलाई के उपमा दिने, म रनभुल्लमा छु। आफूले जन्माएको सन्तानलाई आफ्नै नाम दिएर परिचय खुलाउन नसक्दा कति एकल आमाका सन्तान बिनानागरिकता आफ्नो जीवन काट्नु पर्ने स्थिति देखिन्छ। यदि हाम्रो कानुनी नीतिमा समयको फड्कोसँगै नयाँ धार प्रदान गर्न सके देखि समस्याको हल प्राप्त हुने थियो। एकल आमाको सन्तानले पनि गर्वका साथ “म मेरी आमाको सन्तान हो।” भनेर निर्धक्कसाथ भन्न सक्थे होला। तर अस्पष्ट कानुनी नीतिका कारण पुरुषको साथ बिना एकल नारीको साहस पनि यहाँ काम आउँदैन रहेछ। सामाजिक गतिविधिलाई हेर्ने हो भने पुरुषले कुनै पनि जिम्मेबारीपूर्ण काम नगरे पनि समाजमा उसको नाम मात्र भए पनि कसैको अस्तित्व अनि चिनारी हुने। तर एउटा नारीले चाहिँ सम्पूर्ण जीवन सुम्पे पनि उसको नाम गौण हुने। विचित्रको हाम्रो सामाजिक अनि कानुनी नीति नियमले परम्पराको ढोका फोडी कहिले आधुनिकताको बाटो अपनाउने हो?