लिडर। अर्थात् नेतृत्व कर्ता। यो शब्द सुन्नेबित्तिकै हाम्रो दिमागमा के आउँछ? संसारमा नाम चलेका नेता, सामाजिक काममा लागेर उदाहरणीय काम गरेका व्यक्तिहरू, धेरै फ्यान भएका कलाकार तथा खेलाडीहरू, वैज्ञानिक आदि!तर यदि कसैले नेतृत्वकर्ताको व्याख्याको दायरालाई अहिलेको लागि ग्लोबल हैन लोकल भनेर कायम गर्दियो भने- हाम्रो लागि “लिडर” को हुन्छन्? पक्कै पनि हाम्रा देशका नेता, उद्योगपति, समाजका सम्माननीय व्यक्ति, कलाकार आदि। अझै साँघुरो रूपमा खोजी गर्न थाल्यौं भने हाम्रा आफ्नो गाउँका अगुवासम्मलाई हामी “लिडर” देख्नसक्छौँ होला तर त्यहाँ भन्दा लोकल हुन हामीलाई मुस्किल हुन्छ।
तर मैले आज यो लेखबाट- तपाई आफू पनि “लिडर” हो भनेर भनेँ के भन्नुहुन्छ? तपाईँ मात्रै हैन, तपाईँ वरिपरिका सबै मानिस, म, ऊ, उनी, राम, सीता सबै “लिडर” हुन् भनेर भनेँ नि? यसले पनि मोटिभेसनल सेमिनारहरूमा प्रस्तुत हुने जस्तै कुरा पो भन्ने रहेछ भनेर दिक्क मान्नु हुन्छ होला। तर मलाई मेरो एउटा अनुभव बाँड्ने मौका दिनुस्।
हिजो मलाई एउटा फोन आयो। चिनेको नम्बर थिएन। काठमाडौँ बाहिरको जस्तो लाग्यो। उठाएँ। उताको मान्छेले भने- ‘सागर सर नमस्कार। म फलानो।'
तर मैले उनलाई चिन्न सकिन। अनि उनले नै भने- “तपाईले मलाई अनामनगरमा कम्प्युटर पढाउनु भएको थियो नि।'
मैले लगभग ४ बर्ष अनामनगरको एउटा संस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई कम्प्युटर पढाएँ। त्यहाँ त्यो समयमा धेरै जना व्यक्तिहरूले कम्प्युटरको तालिम लिएका थिए। मैले त्यो संस्था छोडेको नै ३ बर्ष हुन लागिसकेको थियो। ती फोन गर्ने व्यक्तिलाई सम्झन सकिन। मैले माफ मागेँ।
उनले भने- “केही छैन सर।मैले अहिले भैरहवा बाट कल गरेको। सरलाई कति फोन गर्न खोजेँ पुरानो नम्बरमा लागेन। फेसबुकमा खोज्न खोजेको सरको पुरा नाम नै बिर्से छु। कति प्रयास गरेपछि बल्ल यो नम्बर भेटेँ।'
मैले भने-'ओहो, दुख भएछ। म आजकल नया नम्बर बोक्छु। केही अर्जेन्ट थियो कि?'
उनले भने-'त्यस्तो अर्जेन्ट केही हैन सर। म एउटा बैकको भैरहवा शाखामा काम गर्छु आजकल। मैले त्यो बेला कम्प्युटर सिक्दा मलाई बैकमा काम गर्न मन छ भनेपछि हजुरले मेरोजब डट कम मा आफैले खाता खोलिदिएर जागिर खोज्न सिकाइदिनु भएको थियो। पछि मैले त्यहीबाट यो बैकमा जागिर खाएँ सर। तपाईलाई धन्यवाद पनि भन्न पाएको थिइन। मलाई बाटो देखाई दिनुभयो, त्यही बाटो हिँडेर मेरो जिन्दगी नै अर्कै भयो।'
एक्कासि आएको त्यस्तो फोनले म छक्क परेँ। उनले त्यस्तो महत्वपूर्ण मानेको क्षण मलाई भने सम्झना नै छैन। मैले कति प्रयास गर्दा पनि उनको अनुहारसमेत सम्झन सकेको छैन। त्यो बेला उनलाई कम्प्युटरबाट जागिर खोज्न सिकाउनु एउटा शिक्षकको नाताले मेरो कर्तव्य थियो। त्यसकारण मैले त्यो कुरा सामान्य ठानेँ र बिर्सेँ। उनले भने त्यो घटनालाई जीवन परिवर्तन गर्ने मोड माने र त्यो मोडमा डोर्याउने मलाई गुरु माने। हामी सबैले नै अरूको लागि यस्ता साना काम त कति पल्ट गरेका हुन्छौं। तर मैले जस्तै त्यसलाई सामान्य ठानेर बिर्सिन्छौं पनि। फरक यत्ति हो, ती मान्छेले मलाई मैले गरेको त्यो कामले उनको जीवनमा कसरी परिवर्तन ल्याउन सक्यो भनेर सुनाए अनि मैले गर्व गर्न सकेँ।
हाम्रो लागी “लिडर” त्यस्तो लक्ष्य हो जुन हामी भविष्यमा हुने कल्पना गर्छौं। तर हामी वर्तमानको हाम्रो अवस्थालाई “लिडर” मान्न सक्दैनौ। किनभने हामीले गरेको कामको प्रभावको बारे प्रभावित हुने मान्छेले स्वयं आएर नभनेसम्म हामीलाई थाहा नै हुँदैन। फेरि हाम्रो समाजमा धन्यवाद भन्ने चलनै पनि कम छ। यसकारण हामीलाई हाम्रो नेतृत्व भूमिकाका बारेमा अन्योल हुनु स्वाभाविक हो। तर यसो भन्दैमा हामीले गरेको काम हराएर जाँदैन।
मैले भन्नु पर्दा मेरा लागि ती अनगिन्ती मान्छे “लिडर” हुन् जसले उकालोमा मेरो व्हिलचियर ठेल्दिन सहयोग गरे जसको कारणले म मेरो गन्तव्य पुग्न सकेँ। गन्तव्य पुग्न सक्नु पनि मेरो जिन्दगी परिवर्तन गर्न मद्दत गर्ने एउटा पाटो हो। मेरो लागि नेपाल आर्मीका ती एकजना सिपाही पनि “लिडर” हुन् जसले पोहोर साल घनघोर वर्षामा मलाई सकुशल घर पुर्याइदिए, मलाई सडकमै पानी जमेर बनेका खोलामा डुब्न दिएनन्। तर न ती मान्छेहरूलाई, न ती सिपाहीलाई उनीहरूले मलाई कत्रो गुन लाए भनेर थाहा होला किन भने उनीहरूले त त्यसलाई आफ्नो ड्युटी वा सानो सहयोग सम्झेर भुलिसके होला- मैले मेरो विद्यार्थीलाई मेरोजब डट कम चलाउन सिकाएको कुरा बिर्से जस्तै। मैले उनीहरूलाई गएर यो कुरा भन्न नसकेकाले उनीहरूले “लिडर” भएको अनुभव गर्न नपाएका हुन्, “लिडर” नै नभएका भने हैनन्।
हामी “लिडर” भनेको संसार परिवर्तन गर्ने हुनुपर्छ भन्ने सोच्छौँ।तर लिडरसिप सिकाउने एकजना प्रख्यात गुरु ड्रिउ डुडलिले आफ्नो “टेड टक” मा भन्नु भएअनुसार- 'यहाँ संसार भन्ने यस्तो कुनै चिज नै छैन। संसार भन्नु त सात अर्ब मान्छेहरूको सोच, बुझाइ र जिन्दगीहरू को बृहत चौतारी हो। त्यस कारण हामीले कुनै दिन एकजना मान्छेको सोच परिवर्तन गर्न सक्यौं भने, कुनै पनि कुरा उसलाई बुझाउन सक्यौं भने वा उसको जिन्दगीमा केही खुशी ल्याउन सक्यौं भने- बुझ्नुस्, यो संसार कुनै न कुनै रूपमा परिवर्तन भयो ।'
तपाईको जीवनमा पनि कसैले नजानेर नै केही मद्दत गरेको छ र त्यो कुराले तपाईको जीवनमा खुशी ल्याएको छ भने उसलाई थाह दिनुस् कि ऊ एउटा “लिडर” हो। पृथ्वी गोलो छ, सबैको पालो आउँछ। तपाईले अरूलाई ऊ नेतृत्वकर्ता हो भनेर बुझाउँदै गर्दा, तपाईले पनि थाहा नपाई मद्दत गरेको कोही मान्छे तपाई सामु पनि आउनेछ- मलाई हिजो आएको कलजस्तो। अनि त्यो बेला तपाईले पनि म जस्तै बुझ्नु हुनेछ, हामी सबै नेतृत्वकर्ता हौं। 'लिडर'रहौं।
तपाईँहरू सबै जना लिडरहरूलाई मेरो साधुवाद!