कुरो केही वर्षअघिको हो, काठमाडौंमा एक माइक्रोबसमा म र मेरो स्कुल (वीरगंज) पढ्दाको सहपाठी यात्रा गर्दैथियौँ। काठमाडौंको माइक्रो यसरी कोचिएको हुन्छ कि भाडा दिन पैसा त के मुखबाट बोली निकाल्न पनि गार्हो हुन्छ कतिपय बेला। भन्नुको मतलब, हामी खासै बोलिरहेका थिएनौँ। एक्कासी माइक्रोको सहचालक भाइले मसँग भाडा मागे- 'दाइ, भाडा झिक्नु त।' मैले खल्तीबाट पैसा झिक्दै थिएँ, उसले मेरो साथीसँग पनि भाडा माग्यो, 'ओ भैया, भाडा झिक त।' हामी दुवै ट्वाँ पर्यौँ। न सहचालकलाई केही भन्न सकियो न त साथीलाई नै। मलाई लज्जाबोध भयो।
आखिर किन त? किन मलाई दाइ अनि उसलई चाहिँ भैया? हाम्रो उमेर एउटै, पढाइ एउटै, ओहोदा एउटै, रहनसहन एउटै, देश एउटै, भेष एउटै। तर पनि सम्बोधन किन दुइटा? हामी दुई साथीबीच फरक भनेको एउटै थियो, हाम्रो छालाको रङ। के छालाको रङले त्यती फरक पार्दो रैछ त? यो कुरा र यी प्रश्नहरुले घोचिरहे मलाई र अझै घोचिरहन्छ।
’भैया’ शब्द काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा जनजिब्रोको चल्तीको शब्द भएको धेरै भएको छैन। मैले सुनेअनुसार धेरै पहिले काठमाडौंका रैथाने बासिन्दाले बहिरबाट काठमाडौं आउनेलाई काँठ्बाट आएका काँठे भन्थे। त्यसैगरी काठमाडौंको विकासक्रम बढ्दै जाँदा बिभिन्न रहर वा बाध्यताले गर्दा प्रायजसो पहाडी भेगका मान्छेहरु काठमाडौं भित्रिन थाले। उनीहरुलाई पाखाबाट आएका भनेर पाखे भनिन थालियो। पछिल्लोक्रममा देशको अन्तरिक द्वन्दले गर्दा काठमाडौं देशैभरिका मान्छेहरुले भरिए। योपालि देशको दक्षिणी भाग तराईका मधेसी मूलका मानिसहरु पनि धेरै मात्रामा काठमाडौं आए। यिनै मधेसी मुलका मानिस र खासगरी कालो वर्ण भएकाहरुलाई अचेल सम्बोधन गर्ने शब्द भएको छ 'भैया'।
काठमाडौंबाट सुरु भएको यो सम्बोधन काठमाडौंबासीले मात्र प्रयोग गर्दैनन। अध्ययन वा रोजगारीको सिलसिलामा काठमाडौं लगायत हेटौंडा, पोखरा आदि देशभरिकै प्रमुख शहरहरुमा आएर बसेका प्रायजसो मानिसहरुको चलनचल्तीको शब्द भएको छ।
हुन त 'भैया' शब्द आफैँमा नराम्रो शब्द हैन। तराईका केही भाषामा दाइलाई भैया भनिन्छ, र कतिपय बेला भाइलाई पनि। तर शहरी भेगमा यस्को प्रयोग नराम्ररी भैराखेको छ। सम्मानजनक सम्बोधन गर्ने शब्द अहिले हेप्नलाई प्रयोग गरिदैँछ। हो, भैया तराई मूलका मनिसलाई हेप्न भनिन थालेको छ। यस्को सामान्य उदाहरण हेर्न धेरै टाढा जानुपर्दैन। आफ्नो घर नजिकको चोकमा कपाल काट्ने सैलुन छिर्नुस्, पानीपुरी बेच्ने ठाउँ जानुस् र साइकलमा फलफूल झुन्ड्याउँदै बेच्ने मान्छेलाई सोध्नुस्।
यी तीन ठाउँमा अधिकांश तराई मूलका श्रमिकहरु हुन्छन। यी श्रमिकहरुलाई बिरलै कसैले दाइ वा भाइ भन्छन्। कतिपय मित्रहरुसँग यस् बिषयमा छलफल गर्दा "भैया भनेर हेपेको कहाँ हो र, झन दाइ भनेर सम्मान गरेको पो हो त' भन्ने कुरा आउँछ। तर माफ गर्नुस्, एउटा २० वर्षको युवकले आफ्नो बाउको उमेरको हजामलाई 'भैया, यो साइडमा अलिकति मिलाइदेऊ त' भन्नुमा वा स्कुल जाने केटाकेटीले पानीपुरी पसलेलाई 'ओ भैया, अझै देऊ न' भन्नुमा कतै सम्मान देखिदैँन। भैया भनेर सम्मान दिने नै भए कि त पुरै वाक्य मधेसी भाषामा बोलेर दिन सकिन्छ, हैन भने दाइ भनेर आदर गरेर अथाह सम्मान दिन सकिन्छ।
यी उदाहरणहरु त दैनिक रुपमा अन्तर्क्रिया गरिने ठाउँ हुन्। यीबाहेक झन तल्लो स्तरको श्रमिकहरुलाई कस्ले टेर्ने? मैले देखेअनुसार भैया शब्द प्रयोग गर्ने प्रायजसो अहिलेका युवापुस्ता हुन्। स्कुल जाने केटाकेटीहरुदेखि लिएर स्नात्कोत्तर गरिसकेकाहरुले र अझै बिहे गरेर बालबच्चा हुर्काउँदै गरेका बाउआमाले पनि भैया भनेको देखिन्छ। म त त्यतिखेर छक्क परेँ, जब मेरी छिमेकीकी भर्खर बोली फुटेकी नानीलाई, तिम्रो कपाल कसले काटेको नानु भनेर सोध्दा 'भैयाले' भनेर उत्तर दिइन्। सुन्नेहरु सबै हाँसे, तर ती अबोध नानीलाई त्यसो भन्न हुन्न भनेर कसैले सिकाउने चेष्टा गरेनन्।
कपाल काट्ने भैया, तरकारी बेच्ने भैया, फलफूल बेच्ने भैया, पानीपुरी बेच्ने भैया, स्टोभ बनाउने भैया, कुकर बनाउने भैया, सिरक-डस्ना बनाइदिने भैया, खालि सिसी पुरानो कागज लाने भैया, मेहेन्दी लगाइदिने भैया, चाट बेच्ने भैया। हाम्रो दैनिक जीवन चलाउन यति मद्दत गर्नेलाई हेप्न सिक्ने र सिकाउने हामी कस्तो समाज बनाउँदैछौ? हाम्रा अहिलेका युवापुस्ता त्यही युवा हुन् जसले सामाजिक सन्जालहरुमा रङभेद बिरोधी नाराहरु ठूला-ठूला अक्षरमा लेख्छन्, कय्यौं पिटिसनहरु हस्ताक्षर गर्छन् तर जानेर वा अन्जानमा आफैँ रङभेदी बन्न पुग्छन्। तराई मूलकालाई हेपेर भैया भन्नु पनि रङभेदी हुनु नै हो।
दुई अक्षर पढेको, संसार चिनेको मेरो साथीले त आफ्नो हक अधिकारको लागि लड्ला, कसैको हेपाइ नसहेर बोल्ला, तर जसले पढ्या छैन, शहरमा कोही छैन, अबोध छन्, उसको लागि कसले बोल्ने? उसले कहिलेसम्म हेपाइ सहने? अरुको देश, अन्जान ठाउँमा आएर आफू दु:ख गरेर दुई पैसा कमाउँदा कसैले केही भन्दा वा सानो भन्दा सानो कुरामा हेपेको जस्तो लाग्दा मनमा लाग्ने पीडा बिदेशिएका नेपालीलाई जति कसैलाई थाहा हुँदैन। अझै, यी श्रमिकहरु त आफ्नै देशमा छन्। अर्काको देशमा कसैले हेप्दा त त्यति नराम्रो लाग्छ, झन आफ्नै देशमा आफ्नै देशबासीले हेप्दा ती श्रमिकहरुलाई कस्तो पीडा हुदो हो। पीडाहरु मनमा कति कुन्ठित पारेर राख्दा हुन्। एकछिन आफैँलाई त्यो ठाउँमा राखेर सोचौं त!
शहरको संघर्ष र हेपाहा प्रवृत्तिका बावजुद आफ्नो घरबार छोडी, टाढा अन्जान शहरमा आएर दुई पैसा कमाउन र बचाउन, आफ्नो परिवार र छोरा-छोरीको उज्जवल भबिष्य कल्पना गर्दै संघर्षरत रहने यी श्रमिकहरुको आत्मबललाई म हृदयदेखि सलाम गर्छु र साथसाथै अहिलेका पढेलेख्या, बुझ्या, युवाबर्ग, र मेरा साथीहरुलाई आग्रह गर्छु - रङभेदी नबनौँ, सबैलाई सम्मान गरौँ। दाइ भनेर सानो भइन्न!