‘मनोज, विजय कुमार बन्नु र विजय कुमारजस्तो देखिन खोज्नु एउटै कुरा होइन,’ मैले लिएको एउटा अन्तर्वार्ता सेन्सर गर्दै नेपाल टेलिभिजनकी कार्यक्रम निर्माता दीपा दिदीले (गौतम) भनिन्, ‘यो कार्यक्रम जाँदैन। दिनेशजी (एनटिभी टुका भिजुअल अर्काइभर) गीत बजाइदिनोस्।’
विजय कुमारको ‘शैली’ मा आक्रामक प्रश्न सोधेको भनेर प्रसारण नगरिएको कार्यक्रममा अतिथि थिए, मोहनगोपाल खेतान। ‘खुसी’मा मोहनगोपाल खेतान र विजय कुमारको सम्बन्ध पढेपछि पछि पुराना दिन फेरि याद आए।
दीपा दिदीले ‘विजय कुमारको शैली’मा प्रश्न नसोध्न पटकपटक सल्लाह दिएकी थिइन्। तर, यसपटक कार्यक्रम नै रोकिने भएपछि मेरो दिमाग नै हल्लियो। साह्रै अनुरोध गरेर लिएको अन्तर्वार्ता त्यो पनि प्रसारण गर्न नपाउँदा मन हतास भएको थियो।
एक मनले सोच्थेँ, गल्ती के थियो र मेरो? विजय कुमारको जस्तो प्रस्तुति मेरो चाहना हो। बहाना होइन। त्यत्तिकै पीडित बनाइयो मलाई। अर्को मनले सोच्ने त त्यतिबेला मेरो चलन नै थिएन।
आफ्नै ‘शैली’मा ‘रिसुट’ गरेपछि अर्को हप्ता कार्यक्रम बज्यो।
मितिमा यकिन छैन म। कुरा ८÷९ वर्षअघिकै हो।
म एनटिभीको दोस्रो च्यानलमा ‘पिक आवर’ नामक कार्यक्रम चलाँउथे– ‘टक शो।’ त्यत्तिबेला विजयदाइ नेपाल टेलिभिजनमा ‘दिशानिर्देश’ चलाउँथे।
हुन त विजयदाइलार्ई ‘देख्न’ थालेको धेरै भयो। तर ‘चिन्न’ थालेको धेरै भएको छैन। म उनलाई सुन्थेँ र हेर्थेँ, तर बुझ्दिन थिएँ। विजय कुमारकै भाषामा भनुँ नँ, देख्नु र चिन्नु फरक कुरा हुन्। सुन्नु र हेर्नुमा सतह छ। बुझ्नुमा गहिराइ।
दीपा दिदीले कार्यक्रम रोकेको साँझ मैले एक जना दाइलाई बोलाएँ। जाँड खान। उनी नेपाल टेलिभिजनमै काम गर्थे। विजयदाइलाई राम्ररी चिन्थे पनि। नशाको मात चढ्न थालेपछि मैले उनलाई भनेँ, ‘ए दाइ, एउटा सहयोग गर्नुपर्यो।’
‘भन न। तिम्रा लागि ज्यान दिन्छु।’
‘ज्यान दिनु परेन दाइ। ज्यान भेटाउनु पर्यो,’ मैले भनेँ।
उनले मेरो कुरा बुझेनन्। बरु मैले कुरा बुझेर एक क्वार्टर जिन थप मगाएँ।
मैले भने, ‘दाइ, विजय कुमारलाई भेटाउनु पर्यो।’
उनलाई जिनको नशा चढ्दै थियो। मलाई विजय कुमारको।
केही दिनपछि बिहान आठ बजे हामी मण्डिखटारतिर हान्नियौँ।
‘अनि ह्वाँ को नि?’ विजयकुमारले सोधे।
‘मनोजजी।’
‘मनोजजी, एनटिभी टुमा कार्यक्रम चलाउनु हुन्छ,’ दाइले परिचय गराएँ।
उनले ‘ए’ मात्र भने क्यार।
मलाई लिएर गएका दाइलाई उनले सोधे, ‘ल भन, किन आयौ?’
‘ह्वाँ... ।’
दाइले भने, ‘तपाईँको फ्यान पनि हो। र, तपाईँजस्तो हुने इच्छा पनि छ ह्वाँलाई।’
आफूजस्तो हुन खोज्नेलाई विजय कुमार के भन्छन्, ‘खुसी’मा स्पष्ट छ। मलाई पनि त्यो दिन लगभग त्यही भने।
विजय कुमारले मतिर आँखा तन्काएर सोधे, ‘कार्यक्रमको नाम के रे?’
‘पिक आवर।’
‘कुन आवर पिक हुन्छ?’
म बोलिन।
‘कति बजे आउँछ?’
‘७ बजे।’
के? टक शो?’
‘हो दाइ।’
अब उनी कड्किए।
‘हेर..... (मसँगै गएका दाइको नाम लिँदै), नेपाल यस्तो देश हो जहाँ दर्शकभन्दा बढी ‘टक शो’ छन्।’
एकछिन बडो आनन्द मानेजसरी हाँसे। एक्लै हाँसे।
‘टक शो’का विषयमा त्यो दिन उनले जे भनेका थिए, ‘खुसी’मा लगभग त्यस्तै लेखेका रहेछन्।
त्यतिबेला पनि उनी भन्थे, ‘टक शोमा रिदम चाहिन्छ। रिदममा टक शो चलाउने मान्छे नै छैन नेपालमा।’ शायद त्यो दिन आफूलाई अपवादमा राखे क्या हो।
‘रिदम’ भन्ने शब्दको यति मज्जाले व्याख्खा गरे त्यो दिन उनले, मेरो मनमा ‘रिदम’ शब्दप्रति नै प्रीत नै जोडियो।
त्यसको लगभग ४ वर्षपछि गीतु र मैले छोरा जन्मायौँ। मैले छोराको नामै रिदम राखिदिएँ, लौ जा। मन परेपछि कसको के लाग्छ र?
विजय कुमारलाई सबैले सन्की भन्थे। यसबारे उनले ‘खुसी’मा ‘बयान’ दिइसकेका छन्।
खालि त्यो दिनको घटना मात्र सम्झेको हुँ मैले।
हामी तीनजना गफ गरिरहेका थियौँ। गफ के भन्नु, हामी सुनिरहेका थियौँ। भान्छामा काम गरिरहेको कसैलाई उनले बोलाए र भने, ‘एक कप चिया ल्याऊ।’
मान्छे छौँ तीन जना। चिया आयो एउटा।
मैले कुरा बुझिन। उनले बुझेका रहेछन्।
चिया एक्लै खाएँ।
न हामीलाई सोधियो, न हामीले सोध्यौँ।
फेरि उनले एकपटक मलाई नै प्रश्न तेर्स्याए, ‘कुन च्यानलमा आउँछ रे कार्यक्रम?’
‘एनटिभी टुमा।’
एकछिन तलतिर आँखा झुकाएर उनले भने, ‘भाइले एउटा बडो गहिरो तवरले बुझ्नुपर्ने कुरा के छ भने... ,’ उनी एकछिन अडिए। साइलेन्स सबैभन्दा पावरफुल कम्युनिकेसन हो भन्ने कुरा उनले राम्ररी वुझेका छन् ।
मैले सासै रोकेरै सुनेँ।
उनले भने, ‘हुम्लामा बसेर कविता लेखेर कोही महाकवि भा’छ?’
मलाई कहिलेकाहिँ लाग्छ उनी एड साइन्स, अर्थात विज्ञापन विज्ञानसँग राम्ररी परिचित छन्। आफूलाई महत्वपूर्ण लागेको कुरा हरेकचोटि दोहोर्याउँछन्। उनका लेख पढ्ने र कार्यक्रम हेर्नेहरु जानकार नै छन्।
त्यस दिन पनि त्यसै गरे। उनले फेरि भने, ‘हुम्लामा कविता लेखेर महाकवि भइन्न।’
उनले एनटिभी टुको ‘रिच’प्रति लक्षित गर्दै भने, ‘च्यानल फेर्नुस।’
त्यतिबेला म टेलिभिजन स्टेसनलाई पैसा तिरेर कार्यक्रम बनाउँथे। (जुन आजसम्म जारी छ ।)
पैसाको कारण उनको सल्लाह मान्न सक्ने स्थितिमा थिइन म, त्यतिबेला।
तर, जब २ वर्षअघि कान्तिपुर टेलिभिजनमा ‘उद्यम’ नामक बिजनेस कार्यक्रम सुरु गरेँ, हुम्ला र काठमाडौंबीचको ‘अन्तर’ सजिलै थाहा भइहाल्यो।
विजय कुमारकै शब्दमा भनौँ, यति बुझ्न पनि मलाई वर्षौँ लाग्यो।
‘खुसी’ विमोचनमा जाने इच्छा थियो। तर निम्ता थिएन। ‘खुसी’ सार्वजनिक हुने दुई दिनअघि मात्र निम्तो पाएँ। खुसीको सीमा नै रहेन। कार्यक्रममा गइयो। भएछ के भने त्यो दिन पैसा नै बोक्न बिर्सिएछु। डेबिट र क्रेडिट कार्डले बानी बिग्रिएको छ हिजोआज। विजय कुमारकै भाइ अभय दाइले झोलामा किताब राखिदिए।
मैले त्यसै रात किताब छिचोलेँ। मैले एकै रातमा जम्मा दुई पत्रकारको किताब छिचोलेको छु। कनकमणि दीक्षितको ‘देखेको मुलुक’ र विजय कुमारको ‘खुसी’। ‘देखेको मुलुक’मा आमा नभेटेर म हैरान थिएँ म। ‘खुसी’मा आमा नै आमा देखेर हैरान भएँ।
मेरो ममीको तिथि आउँदैछ। लगत्तै दशैँपछि। सात वर्ष भयो। २ वर्षदेखि ममीको श्राद्ध गर्न छोड्दिएँ मैले। बाहुनलाई खुवाउनुभन्दा आश्रमका केटाकेटीलाई माया गर्नु ठीक लाग्छ। तर, यसपटक ममीको श्राद्धमा केही सरकारी स्कुलका पुस्तकालयमा ‘खुसी’ सजाउने योजनामा छु।
आखिर छोराछोरी ‘खुसी’ भएको कुन आमाले हेर्न चाहँदिनन् र। ममी, मैले यसरी नै सम्झिने भएँ है यसपटक।