अस्पतालले गर्ने लापरबाहीविरुद्ध गुहार माग्न कहाँ जाने? यो पीडा लिएर विगत १३ वर्षदेखि हामी (विन्दुकान्त घिमिरे, रमा पौडेल) तड्पिरहेका छौं। हाम्रो छोरा आविष्कार गत साउनदेखि १२ वर्ष पुगेर १३ वर्ष लाग्यो तर ऊ बोल्न सक्दैन, ओछयानबाट उठ्न सक्दैन, आफ्नै हातले खान सक्दैन। उसको सारा हेरचाह गर्दैमा श्रीमती रमाको जीवन बितिरहेको छ।
हर पल हर क्षण हामीलाई अत्यन्त पीडा दिएर घोचिरहने यो दुर्घटनाको कारक पाटन अस्पताल व्यवस्थापन र त्यहाँ कार्यरत चिकित्सकहरुलाई कहिलेकाहिँ प्रश्न गर्न मन लाग्छ, आखिर मैले तिमीहरुको के विगार गरिदिएको थिएँ र तिमीहरुले मेरो जिन्दगी बर्बाद पारिदियौ? पैसा कमाउन बसेका लाचार अपराधीहरुलाई प्रश्न राखेर आफ्नो पीडा शान्त होला जस्तो मलाई लाग्दैन। आखिर मैले यो समस्यासँग जुध्नु नै छ।
घटना २०५८ साल साउनको हो। २८ गते बिहान व्यथा लागेपछि नर्मल डेलिभरी गराउन श्रीमती रमा पाटन अस्पताल पुगिछन्। म त्यत्तिबेला स्पेसटाइम अखबारमा काम गर्थैं। संसद चलिरहेको थियो, आफ्नो बिट पनि संसद नै थियो। संसदभित्र रिर्पोटिङ गर्न जाने पास मेरो मात्र भएकाले अर्को साथी गएर पनि नहुने। बेलुकीपख भाउजूले फोन गर्नुभयो– डाक्टरले हेरेका छैनन्, बर्थिङ सेन्टरमै राखेर सिस्टरहरुले हेरिरहेका छन्, नर्मल छ रे, आज रातभरिमा बच्चा जन्मन्छ रे।
भाउजूको यो कुरा सुनेपछि म बेलुका अफिसबाटै अस्पताल गएँ। भाउजूको बच्चा सानो भएकाले घर पठाएँ। हामी दम्पती रातभर हस्पिटलमै यताउता टहलिइरह्यौँ। श्रीमती कतिबेला बर्थिङ सेन्टरतिर जान्थिन्, कतिबेला मसँगै बाहिर निस्केर सुखदुखका गफ गर्थिन्। आफ्नो नयाँ सन्तानबारे कुरा गर्दागर्दै साउनको छोटो रात बितेको पत्तै भएन तर अझै डाक्टरको अत्तोपत्तो छैन।
बिहान उजेलो भयो। श्रीमतीले भनिन्, आज हजुर अफिस नगइदिए हुन्थ्यो, छुट्टी मिल्दैन?
तत्काल मैले चिफ रिपोर्टर केदार कोइरालालाई टेलिफोन गरेर सबै कुरा भनेँ। उहाँले अग्रिम बधाई दिँदै मलाई त्यो दिन बिदा दिनुभयो। डाक्टरको पर्खाइमा २९ गतेको बिहान पनि गुज्रियो। यतिबेलासम्म श्रीमती रमा व्यथाले निकै गलिसकेकी थिइन्। बिहानको खाना लिएर भाउजू पनि आइपुग्नु भयो। भाउजू र श्रीमती बर्थिङ सेन्टरमा थिए। मचाहिँ बाहिर टोलाएर बसिरहेको थिएँ। सवा १२ बजेतिर भाउजू आत्तिएर बाहिर निस्कँदै भन्नुभयो, 'जन्मन त छोरा जन्म्यो बाबु, तर बाँच्लाजस्तो छैन तानेर निकाल्नु परेकाले सिस्टरहरुले बाँच्ने आशा कम गरेका छन्।'
आफ्नो बच्चा जीवित हुँदै अनुहार हेर्न म पनि बर्थिङ सेन्टरमा छिरेँ। त्यतिन्जेलसम्म डाक्टरहरु आइसकेका रहेछन्। सिस्टरहरुले मलाई रोक्दै थिए तर एक जना मुसलमान डाक्टरले तपाईँ बच्चाको बाबु हो भन्दै प्रहरीले अपराधी बकाउन गरेजस्तै रुखो प्रश्न गरे। मैले 'हो हजुर' भनेँ। 'ल हामी बचाउन सक्दो कोशिस गर्छौं, अपरेसन गरेर निकाल्नु पर्ने केश रहेछ। ढिलो भएको कारणले भ्याकुम लगाएर सिस्टरले तान्नुभएछ। टाउकोमा गम्भीर समस्या छ, बच्चाले स्वासप्रस्वास गर्न गाह्रो भइरहेको छ, हामी भेन्टिलेटरमा राख्न लैजाँदै छौं,' डाक्टरले यसो भनेर मलाई बिदा गरेँ। छसात दिन भेन्टिलेटरमा राखेपछि बच्चा आफैँ स्वास लिन सक्ने र दुध चुस्नसक्ने भयो।
अस्पतालले आठ दिनपछि नर्मल छ भन्दै डिस्चार्ज गर्यो। हामी डेरामा आयौं। देख्दा छोरा नर्मल लाग्थ्यो। अलि बढी रुन्थ्यो। किन बढी रुन्छ भनेर फेरि त्यही अस्पतालमा देखाउन लग्थ्यौं तर सब ठीक छ भन्दै डाक्टरहरुले पठाइदिन्थे। चार महिना पाटन अस्पताल आउनेजाने क्रम जारी रहयो।
मंसिर महिनातिर काम विशेषले दाजु ( ठुलीआमाको छोरा) डा. इश्वरचन्द्र घिमिरे हाम्रो डेरामा आउनु भयो, उहाँले देख्ने बित्तिकै भन्नुभयो- 'ला, केटो त बरबाद भएछ।' त्यतिबेला उहाँ कान्तिबाल अस्पतालमा वरिष्ठ सर्जन तथा रजिष्टार हुनुहुन्थ्यो। उहाँकै सल्लाहबमोजिम फिजियोथेरापीका लागि कान्ति अस्पतालको तारेख शुरु भयो। लगातार तीन वर्ष हरेक दिन छोरालाई फिजियोथेरापीका लागि कान्ति अस्पताल लग्यौँ। तर कत्ति पनि सुधार आएन। हामीले हार खायौं।
पुराना साथीभाइ तथा नयाँ चिनजानका मान्छेहरु भेट हुनासाथ हालखबर सोधेपछि छोराछोरी कति भए कति पढ्दैछन् भनेर सोध्छन् तर जवाफ के दिने। तै पनि म जवाफ दिन्छु– मेरो छोरा आविष्कार अहिले १३ वर्षको भयो, बोल्न सक्दैन, उठ्न सक्दैन, आफैँ खाना खान सक्दैन। मेरो जवाफले साथीहरु मर्माहत हुँदै थप प्रश्न गर्न थाल्छन् तर थप प्रश्नको जवाफ दिन नपरे हुँदो होजस्तो लाग्छ।
(बिन्दुकान्त घिमिरेको फेसबुकबाट साभार)