भदौ १९ गते लखनऊबाट काश्मिरका लागि उड्न हामी १८ गते नै लखनऊका लागि हिँड्यौ, धनगढीबाट। हामी दुई परिवारका आठजना थियौं। मित्र हरिशंकर ठाकुर, उनकी धर्मपत्नी मधु पाठक ठाकुर, छोरीहरु १२ वर्षका सन्ध्या, ८ वर्षकी शीतल र तीन वर्षको सात्विक यात्रामा थिए भने म, मेरी श्रीमती सुजा पोखरेल उपाध्याय र मेरी साढे चार वर्षकी छोरी सान्वी थियौं।
लखनऊबाट दिल्ली हुँदै १९ गते ४:३० बजे धरतीको स्वर्ग श्रीनगर पुग्यौँ। हामी त्यहाँ पुग्दा वर्षा भैरहेको थियो। भारतीय मौसम विभागका अनुसार भदौ १७ देखि १९ सम्म पानी पर्ने र त्यसपछि मौसम सफा रहने भन्ने जानकारी हामीले पाएका थियौँ। तथापि पानी रोकिने कुनै संकेत भने देखिएको थिएन।
श्रीनगर एयरपोर्टबाट हामी बस्ने श्रीनगरको मुनवराबादस्थित अल समाद होटलमा पुग्दा बाटोभरि ठाउँठाउँमा पानी जमेको थियो भने वर्षा निरन्तर जारी थियो। त्यस दिन हामीले थकाइ मार्ने र अर्को दिन बिहानैदेखि घुम्न जाने भनेर एउटा गाडी बुकसमेत गर्यौँ।
भदौ २० गते बिहानको खाजा खाएर हामी लाग्यौँ, गुलमर्गतिर। वर्षा निरन्तर जारी थियो। हामी बाटपोरा पुग्दा पानी सडकको बीच बगिरहेको थियो। मित्र हरिशंकर र गाडी ड्राइभर उत्रिएर बाटोको वस्तुस्थिति बुझेपछि अगाडि जान नसकिने ठम्याएपछि हामी निराश भएर फर्कियौँ।
भदौ २१ गते अर्को प्रख्यात ठाउँ लद्दाख जाने बाटो सोनमार्ग जाने निर्णय गरी बिहानै बाटोमै खाजा खाने भनेर त्यसतर्फ लाग्यौँ। वर्षा जारी नै थियो। कठीन यात्राबीच करिब ३ घण्टाको दूरी पार गर्दै त्यस ठाउँमा पुग्दा हिउँ परिरहेको थियो। एकछिनको विश्रामपछि हिउँ भएतिर जाने निर्णय गरेर हामी त्यहीँ रहेको होटर नुरमा पुग्यौँ। होटल पुग्दा त्यहाँ रहेका स्टाफहरुले ‘आप लोग जितने जल्दी हो सके, यहाँ से निकलो’ भन्दा हामी एकछिन त अक्क न बक्क भयौँ। साथी हरिशंकरले ‘क्योँ’ भन्दा उनीहरुको जवाफ थियो, ‘यहाँ अब बाढ आनेवाला है, जिस रास्ते से आप लोग आए हो, वह रास्ता भी बन्द हो जाएगा।’
हामी करिब १० मिनेटमै फर्कियौँ। नभन्दै अघि आएको बाटोको एउटा पुल बगाइसकेको थियो। हामीसँग होटल फर्कने अर्को विकल्प पनि थियो तर त्यो बाटो निकै लामो रहेको ड्राइभरले बतायो। हामी त्यही लामो बाटो भएर करिब ५ घन्टाको दुरी पार गर्दै होटल पुग्न सफल भयौँ।
भदौ २२ गते त श्रीनगर शहरको विभिन्न ठाउँमा पानी पसेको, यातायातहरु अबरुद्ध भएका र बत्ती तथा टेलिफोनहरु समेत नरहेको अवस्थाको जानकारी पायौँ। कास्मिरको प्रसिद्ध स्थान डाललेकमा पानीको मात्रा बढेर दुई तलासम्मका घरहरु डुबानमा परेकाले कलकत्ताबाट काश्मिर घुम्न आएको टोलीका पुरुषहरु हामी बसेको होटलमा आइपुगे भने सँगै आएका महिलाहरुको कुनै अत्तोपत्तो थिएन। उनीहरु विलौना गर्दै थिए, ‘फोनउन कुछ नहिँ है, कैसै और कहाँ सम्पर्क करे, ढुँडने जाउँ तो कहाँ जाउँ चारो और पानी हि पानी है।’
उनीहरुको कुरा सुनेर हाम्रा परिवारका सदस्य पनि चिन्तित देखिन्थे भने हामी सान्त्वना दिइरहेका थियौँ।
हाम्रो फर्किने दिन भदौ २३ गते थियो, हामीसँग रिटर्न टिकट थियो। तर, एयरपोर्टसम्म जाने सम्पूर्ण बाटा बन्द थिए। हामी सबै निरास भैसकेका थियौँ। घरको चिन्ताले पनि सताउन थालिसकेको थियो। त्यही बेला एकजना ड्राइभरले बिहारबाट श्रीनगर घुम्न आएको दुई जोडीलाई एयरपोर्टबाट हामी बसेको होटलसम्म ल्याएपछि हामीले पनि आफूहरुलाई भोलि बिहान (भदौ २३ गते) पुर्याउन उसलाई आग्रह गर्यौं। ‘आप लोग सुबह ५ बजे रेडी हो जाना, मैँ आ जाउंगा’ भन्दै ऊ गयो। हामी प्याकिङका लागि भन्दै आ–आफ्नो कोठातिर लाग्यौँ।
रातिको २ बजेतिर बाटोमा निकै हल्लाखल्ला भयो। के भयो भनेर हेर्दा त हामी बसेको होटलअगाडि झेलम नदीको भेल पसेर चार फिटसम्म पानी जम्मा भइसकेको रहेछ। त्यसपछि साथी हरिशंकरलाई उठाएर हामी रातभरि जाग्राम बस्यौँ।
श्रीनगरमा रहेका डाललेक, नापुरा, लालचौक, राजबाग, गुलमर्ग, तुलिप गार्डेनलगायत सम्पूर्ण क्षेत्रहरु डुबानमा परेका छन्।
भदौ २३ गते बिहानदेखि वर्षा रोकिए पनि झेलम नदीको पानीको मात्रा बढ्दै गइरहेको भन्ने हल्लाले मनमा डर पैदा गर्दै रह्यो। पानीको मात्रा निरन्तर बढ्दै थियो, मनमा डर पनि त्यसै बढ्दै थियो। हिजोसम्म मोटर गुड्ने बाटोमा आज भने डुंगा चलिरहेको थियो। निकै हल्लाखल्लाले एक किसिमको तनाव पैदा गरे पनि हामीसँगै रहेका अरुलाई भने सान्त्वना दिइरहेका थियो। जसै दिनहरु बित्दै गए, पानीको मात्रा पनि बढ्दै जान थाल्यो। यता हामीलाई घरको चिन्ताले सताउन थालिसकेको थियो। घरमा खानापिना बन्द भैसकेको थियो। भारतीय मिडियाहरुले काश्मिरको तबाही भनेर समाचारहरु निरन्तर प्रसारण गरिरहेका थिए।
हामी बसेको होटलमा न कुनै त्यहाँको सरकारी संयन्त्र पुग्यो, न कुनै अन्य सहयोग, होटलभरि मान्छेको भिडभाड थियो। विस्तारै खानेकुरा सकिँदै गइरहेको थियो। होटलले ‘अब तो रासन भी खत्तम हो रहा है’ भन्दै थियो। त्यहाँ बसेका मानिसहरु घाँटीसम्मको पानीमा हिँड्दै अन्यत्र सुरक्षित स्थानतर्फ सर्दै थिए। तर हामीसँग त महिला तथा केटाकेटीहरु भएका कारण हामीले होटल छोड्न सकिरहेका थिएनौँ। जे दिन्छ, त्यही खाँदै बस्दै रह्यौँ।
अब त खानेकुरा पनि सकियो, पानी पनि छैन भन्न थालिसकेको थियो होटलले। यसरी बसेर कति दिन बिताउन सकिन्छ भन्ने सोचेर साथी हरिशंकर र म घाँटीसम्मको पानीमा तैरिँदै सुरक्षित स्थानको खोजीमा हिँड्यौँ। हिँड्दै जाँदा राजबाग भन्ने स्थानबाट हेलिकप्टरले जम्मु लाँदैछ भन्ने जानकारी पाएपछि हामी राजबागतिर लाग्यौँ। त्यहाँको वस्तुस्थिति बुझेर हामी केही बिस्कुटका प्याकेट र पानी बोकेर होटलतिर लाग्यौँ। होटलमा पुग्दा केटाकेटीहरु पानीमा बिस्कुट चोपेर खाँदै थिए त्यो दृष्य देख्दा रुन मन लाग्यो तर बच्चाहरुले देख्लान् भनेर मन थामेर बसेँ।
दुवै परिवार बसेर सल्लाह गर्यौँ, ‘अब यत्तिकै बसेर केही हुँदैन, यहाँको सरकार अहिलेसम्म सोध्नसमेत आएको छैन यसले केही गर्दैन बरु भोली बिहानै (भदौ २५ गते) डुंगाको व्यवस्था गरेर जाऔँ।’
बिहानै ८ बजे होटलले एउटा डुंगा खोजेर ल्यायो र त्यसमा मबाहेक सबैलाई पहिलो लटमा पठाएँ। म भने ब्यागहरु कुरेर बसेँ। दुई घन्टा बित्दासमेत त्यो डुंगा फर्केर नआएपछि हारगुहार गरेर अर्को डुंगामा परिवारहरु भएको स्थानसम्म पुगेँ। त्यहाँबाट करिब ६ किलोमिटरको दूरीमा रहेको राजबाग पुग्दा त्यहाँ हज्जारौँ मानिसहरु सुरक्षित स्थानमा जान लाइनबद्ध भएर बसेका थिए। त्यहाँ पुग्दा थाहा भयो, श्रीनगरको करिब ८० प्रतिशत भु–भाग पानीमा डुबेको रहेछ।
लाइनमा बसेर पार लाग्ने छाँट नदेखेपछि परिवारका सदस्यहरुलाई त्यहीँ राखेर हरिशंकर र म लाग्यौँ, निकासको खोजीमा। केही निकास मिल्ने संकेत पाएपछि परिवारका सबै सदस्यहरुलाई राजबागको भित्री भाग जहाँबाट हेलिकप्टर चढ्न सकिन्थ्यो, त्यसको नजिकै राख्यौँ। अब थियो, लाइनमा कसरी लाग्ने भन्ने। विस्तारै हरिशंकर लाइनमा घुसे।
हज्जारौँकौ संख्यामा पीडितहरु रहे पनि दुईवटा हेलिकप्टरले मात्रै मान्छे ओसार्दै थियो जसले गर्दा त्यसदिन हाम्रो पालो नआउने भयौँ। बिहानैदेखिको भोको पेट बालबच्चाहरुको अनुहार हेर्यो कि रुन मन लाग्ने। यता बेलाबेलामा नेपालमा रहेका परिवारको सम्झनाले पनि सताउन थाल्यो तर आफूहरुलाई सम्हाल्दै हामी लाग्यौँ, बस्ने मेसो तथा खानपिनका लागि। त्यस बेला रातिको ७ बजिसकेको थियो।
बल्लतल्ल एक जना भारतीय सैनिकले आफूले ओढ्ने गरेको एउटा कम्बल दिए तर भुइँ साह्रै चिसो थियो। ७ डिग्री सेल्सियस तापक्रममा बस्नु कम चुनौतीपूर्ण थिएन, त्यो पनि भोकभोकै। त्यहाँ रहेका भारतीय प्रहरीहरुसँग हामी नेपालबाट घुम्न आएका, हाम्रो विचल्ली भो, बच्चाहरु भोकै छन् भन्दा ‘खाना और कम्बल मिलेगा’ भन्थ्यो तर केको पाउनु। मुस्किलले एउटाको घरबाट भुइँमा बिछ्याउने प्लास्टिकको फोम पायौँ। त्यही भए पनि चारैतिर झोलाहरु राखी बीचमा बस्ने ठाउँ बनायौँ र बच्चाहरुलाई भोकभोकै हेलिकप्टर चढ्ने लाइनमा खुला आकाशमुनि सुतायौँ। हरिशंकरलाई ‘तपार्इँ पनि आराम गर्नुस्’ भन्दै म रातभरि जाग्राम बसेँ।
भदौ २६ गते बिहानै हातमुख नधोई त्यत्तिकै लाइनमा बसेर करिब ९ बजेतिर हेलिकप्टर चढ्न सफल भयौँ र श्रीनगर एयरपोर्टमा पुग्यौँ। दिल्लीमा रहेका हरिशंकरका भाइ जयलाई आफूहरु श्रीनगर एयरपोर्टमा पुगेको जानकारी गरायौँ। त्यहाँ पुग्दा पहिलेदेखि नै हज्जारौँ मान्छेहरुको भिड थियो। सबै जना त्यस ठाउँबाट छिटोभन्दा छिटो निस्कन चाहन्थे। हामीले पनि हामी फर्किने इन्डिगो एयरलाइन्समा अपरेसन इन्चार्ज नवीनजीलाई धेरै आग्रह ग¥यौँ कि हामीसँग बालबच्चाहरु छन्, हामी दुई दिनदेखि भोकै छौँ, हामी नेपाल फर्किन चाहन्छौँ। अन्ततः उनी हामीलाई दिल्ली उडाउन तयार भए र हामी ११:३० बजेको श्रीनगर–दिल्ली उडानबाट १ बजे दिल्लीमा रहेको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्न सफल भयौँ।
दिल्ली पुग्नेबित्तिकै घरमा फोन गर्दा ममीले रुँदै भन्नुभयो, ‘दीपक, तिमी दीपक नै हो?’
मेरो पनि भक्कानो छुट्यो। ममीले सोध्नुभयो, ‘सुजा अनि डल्लु (सान्वी) पनि सँगै त छे?’
मैलै उनीहरुलगायत हामी सबै सँगै छौँ भनेर भनेँ। म पनि खुबै रोएँ। हरिशंकर पनि रुँदै थिए, घरमा कुरा गर्न पाएपछि। हामी त्यहीँ रहेको रेष्टुरेन्टमा केही खानेकुरा खाएर होटलतर्फ लाग्यौँ।
deepakupd24@gmail.com
तस्बिरहरु: (माथिबाट) जलमग्न श्रीनगर, हेलिकप्टरबाट एयरपोर्टमा उत्रँदै, हेलिकप्टर चढ्ने लाइनमै रात बिताउँदै महिला र बालबालिकाहरु, डुंगा चढेर सुरक्षित गन्तव्यतर्फ लाग्दै। घाँटीघाँटी पानीमा हेलिएर बिस्कुट र पानी ल्याउँदै।