२०१२ मार्च ११ तारिखमा झन्डै साढे ५ वर्षको जापान बसाइपछि नेपाल फर्केको छु, हरेक भेटघाटमा मलाई सोधिने प्रश्न एउटै हुन्छ- पत्तो कति ल्याइस्?
जापानबाट फर्केको चानचुन अढाइ वर्ष भयो। अहिलेसम्म पनि यो प्रश्नको बहार भइ नै रहेको छ। नेपालमा मान्छेको चेतमा पैसाभन्दा अरु कुनै कुरा छजस्तो लाग्दैन। ५, ७ वर्षअगाडि १ कोठामा भातखाट गर्नेहरु कुनै व्यापार व्यवसाय नगरी काठमाडौंमा तीनतले, चारतले घरको मालिक भएका रहेछन्। हरेकको कम्तीमा ४ आना जग्गामा घर छ। सानका साथ १५ लाख आनामा किनेको र घर बनाउँदा ४० लाखको हाराहारीमा खर्च भयो भन्छन्। ठाडो हिसाबले पनि १ करोडको हिसाब आउँछ। ताज्जुब लाग्छ, कसरी ५, ७ वर्षमा यत्रो पैसा कमाइ भयो?
प्रश्न सोध्नेहरुमा निजामती कर्मचारीका खरदारदेखि सहसचिवसम्मका मानिस अनि अहिले ल्याण्ड डेभलोपर भनिने ज. द. (जग्गा दलाल) हरु छन्। ५, ७ वर्षअगाडि अहिलेको खरदार बेरोजगार थिए, अनि अहिलेको अफिसर, या त खरदार या त नासु थियो। कोहीकोही उति बेलामै अफिसर भएकाहरु या त अफिसर नै रहेछन्, या त उपसचिव, सहसचिव। कुरो आउँछ, ५, ७ वर्षमा परिवार पालेर डेरा बसेर कम्तीमा १ करोडको जेथो कसरी बन्यो?
म सन् २००६ को अक्टोबरमा जापान गएको हुँ। गएको दिनदेखि फर्किनु अघिल्लो दिनसम्म सरदर १ लाख ५० हजार रुपैयाँ मासिकको छात्रवृत्ति पाउँथे, र त पत्तो बनाउन सकिन भने यहाँ कसरी त्यत्रो पत्तो कमाइ भयो? खर्चको कुरा गर्ने हो भने महंगी यती साह्रो बढेछ कि जापान र यहाँ खासै फरक लागेन। कर्मचारीको हकमा भ्रष्टाचार नगरी अरु कुनै उपाय म कल्पना गर्न सक्दिन। ज. द. हरुले आयकर तिरेनन् या त नेपालमा आयकरको नियम नै छैन।
यो ५, ७ वर्षमा मान्छेहरु यति निच भैसकेछन् कि आजसम्म कसैले के पढिस्, कति पढिस् भनेर सोधेकै छैनन् जबकि म छात्रवृत्ति पाएर पिएचडी गर्न गएको सबैलाई थाहा छ। यही स्थिति रहिरहने हो भने पैसा कमाउन बन्धक बनाउनेलाई पनि कानुनी रुपमा छुट दिए के फरक पर्ला र? आखिर हरेकको उद्देश्य एकै रहेछ, पत्तो कमाउने। दैनिक नेपालको समाचार हेर्थे बन्धक बनाउने, मार्ने, पैसा असुलीका समाचार हुन्थे। मनमा लाग्थ्यो, यो के भएको हो नेपालमा। मान्छे कति पापी भएका हुन्। तर यहाँ आएपछि यस्तो लाग्यो कि सरकार नै यो गराउँदैछ। हैन भने कसले कसरी कति कमायो, यसको हिसाब सरकारले खोज्नु जरुरी छ।
यदि यही स्थिति रहने हो भने धनी बन्ने होडमा अझै कति बन्धकका, हत्याका अपराधहरु यो देशमा हुने हुन्? जंगलराज, लुट, हत्या, आतंक कहिले सम्म रोकिन्छ र जनताले राहतको सास फेर्ने? पत्तो कति ल्याइस् भन्नेहरुले कति पढेर आइस् भनुन् भन्ने मेरो कामना कहिले पूरा होला? मैले साढे ५ वर्षमा ५ वटा पत्तो कमाएँ। एउटा मास्टर डिग्री, एउटा पिएचडी डिग्री, एउटा कनिकुथी जापानी भाषा बोल्नसक्छ भन्ने प्रमाणपत्र अनि एउटा पिएचडी डिग्रीमा पाएको डिरेक्टर अवार्ड र आफूलाई निरोगी बनाउँ न त भन्दाभन्दै सिकेको कराँतेको ब्ल्याक बेल्टको प्रमाणपत्र। सानका साथ मैले यति नै पाँच पत्तो कमाएँ भन्ने दिन कहिले आउला?