नेपाली कागज, मसी भरिएको कलम, मोटा–मोटा ढड्डा अनि सेतो टालोका पोकाहरु। काठको पुराना दराज, स्टील नै भएपनि पालिस उम्किएका। कुर्ची फरक, पर्दा–कारपेट पुरानो तर बिल नयाँ। अभिवादनको शैली धनुष्टङ्कार। सम्मान सम्बोधन बुहारीले छोराप्रतिको आदरभाब शव्द। कालो कोटधारीको सम्मानित घेराको दैनीकी।
समय फेरीयो, प्रविधि फेरीयो मान्छेहरु आजको आजै नतिजा खोज्छन्। तर सम्मानीत अङ्गको सेवा प्रभाव सधै एउटै गतिमा। सोध्न नमिल्ने, गुनासो गरे अपमान, गल्ति औलाए मानहानी।
कतै लोकसेवा, कतै निजी सेवा अवधि (वर्ष) पुग्यो र राजनीतिको आशिर्वाद भयो, मौका मिल्यो भने माननित पद चिट्ठा।
आफू जस्तै अलि तलकोले गरेको निर्णय क्षण भरमै उल्टिन सक्ने। फेरि माथि अर्कै पनि हुन सक्ने। जे भएपनि मौन स्वीकार 'बाध्यता र विवशता'। तीन चरणमा हुने आफ्ना–आफ्ना विवेक।
आज गरेका निर्णका माथि अरुकसैलाई राख्यो भने त्यो फेरीन सक्दो रहेछ त? तल गरेको निर्णय, त्यहि निकायले माथि बदल्दै गर्दा त्यसको क्षतिपूर्तिको व्यवस्था छ कतै?
त्यहाँनेर पर्ने सामाजिक, सांस्कृतिक, मानसिक समस्या प्रति जवाफ दिने कसले? ६५ हजार काम कार्यान्वयन गराउन नसक्नु असफलताको प्रतिशत आफ्नो भागमा स्वीकार गर्दा हुन्छ की हुदैन?
हजारौ काम कति वर्ष अगाडि देखिका बाकि छन्? कति त काम सकिएला भन्ने आशामा सोला चढि सके होलान?
कति सजिलो पेशा, समयमा काम नसकेपनि कुनै असर नपर्ने 'सेवा–प्रदायक'लाई। सेवा–ग्राही घरखेत गएकाहरु, सधै 'गरुढ पुराण' सुनेजस्तो लाग्छ होला, आइतबार बोलाएर फेरि शुक्रबार वोलाउँदा।
काम गर्न नभ्याउने, नसक्ने वा नचाहाने। आफ्नै मातहतकाले गरेको निर्णयलाई उल्टाउने। त्यो पनि माथि उल्टिन सक्छ यदि भेट हुन सक्यो भने।
हिजो आज घण्टा–घण्टामा टेलिभिजनले, अंक–अङ्कमा प्रतिकाहरुले, बुलेटिन–बुलेटिनहरुमा रेडियोहरुले सोचेर, पर्खेर, बुझेर, सल्लाह गरेर समाचार सम्प्रेशन गरिरहेका छन्। मानहानि सँग–संगै फेरि अर्को मानहानी थपिन वेर लाग्दैन।
हामि पनि मान्छे हौ। हामीबाट पनि गल्तीहुदो रहेछ त। हिजो मैले गरेको निर्णय गलत (ठिक भए पनि) रहेछ। माननियले अर्को निर्णय गर्नुभएको थियो। भोलि गर्ने निर्णय चाहि त्यो भन्दा माथि जाने ठाउ छैन ढुक्कले लेख्दा हुन्छ?
हुन त यो गतिमा जाने हो भने 'सामाजिक बहिस्कार'को सजाय दिनेको सख्या पनि कम हुने छैन। भोलि 'सोला' चढाउन चाहिने हातहरु पुग्दो नहुन सक्छ सोच्न जरुरी छ।
आफ्नो कार्यकक्षका सोफा सफा भएर भएन। सेतो टालो भित्रका दशकौ पुराना नेपाली कागजमा मुसाको आचिका डल्लाहरु भेटिन सक्छन्। लौजा त्यहाँ पनि सफा नै होला। सवै सरसफाइ युक्त होला। तलव नेपाल सरकारकै भएपनि, बगैचामा फूल लगाउन गएकाले घरमै गएर मगमगि बासना आउने बनाएका होलान। तर ए हजुर मन पनि त सफा हुनु पर्यो नी।
हो त अपमान कसैको पनि गर्न पाइदैन। सानै भए पनि मान त आफ्नो ठाउँमा ठूलै हुन्छ नी। एउटै ठाउँमा, एउटै विषयमा आफूले भने फरक–फरक निर्णय गर्दा अरुको अपमान नहुने? त्यहि विषयमा वोल्दा, लेख्दा भने भएको धेर–थोर मानको हानि?
कसैलाई 'तेरो बाउको टाउको' भन्यो भने मारिहाल्छ। तर नरम भाषामा 'हजुरको पिताजीको सिर' भन्यो भने सान्तनै रहन्छ। खोजेको मान कस्तो हो 'टाउको कि सिर'?
चिज त्यहि हो, अन्तरवस्तु खासै फरक हुदैन। मात्र हेर्ने–बुझ्ने दृष्टिकोण फरक हुन्छ। कस्ले कस्लाई के भन्यो भन्नु भन्दा पनि किन भन्यो भनि गहिराइमा पुग्ने प्रयास गर्दा राम्रो हुन्छ।
आँखा भरि निर्णयको प्रतिक्षा बोकेका नयनहरु भित्रको तरल पदार्थ नसुकन्जेल सम्म अल्झाउने रोगको औषधि 'लेख्नेहरुले खोज्न नपाउने'?
लौ न हो निर्णय त भएकै हो नी। कार्यान्वयन गराउन नसक्ने आफ्नो असफलता स्वीकार पनि नगर्ने? तथानाम पो भन्न हुदैन कसैलाई पनि। सभ्य भाषामा सोध्न, सिक्न, सिकाउन, सल्लाह दिन, सुसुचित गर्न खोज्दा पनि प्रश्न चिन्ह लागिहाल्छ भने अन्याय सिवाय के होला।
विकसित देशका उदाहरण आफू अनुकुल व्याख्या गर्नेहरुले सेवा ग्राहिको अधिकार त्यता कस्तो? यता कस्तो? मुल्याङ्कन गरिदिए हुन्छ नी कहिलेकाही।
छातिमा हात राखेर आफ्ना जीवन अवधिभर गरिएका सकारात्मक र नकारात्मक भूमिकाको बिचमा मतदान गराइ मत–गणना गर्यो भने ए हजुर कस्को जित हुन्छ? मुल्याङ्कन गरौन।
धर्म निरपक्ष देशमा धर्मको कुरा नै भएन। र पनि यहाँले पुज्ने भगवान, प्रभु, अल्लाह, बुद्धलाई साक्षि राखेर कल्पिनु पर्यो के जे भैरहेको छ, ठिकै हो त?
सबैका सन्तान छन भोलि तिनीहरु पनि यहाँहरु जस्तै भए भने कति 'झुट–मक्कारी' हुन सक्छन्। विज्ञानले त बंशाणुगत गुण सर्छ भन्छ नि। सन्तानमा सर्यो भने मन दुख्ला नी?
त्यसैले पाप–धर्म सिरमा राखेर व्यवहार गरौं। चर्चामा त चरी पनि आएकै हुन। प्रचण्ड पनि चर्चाकै पात्र हुन। स्वर्गमा पुगेका गिरीजा तनावै–तनाव भित्र चर्चामा थिए। राजा विरेन्द्र सालिन थिए, त्यति चर्चामा आएनन् जति ज्ञानेन्द्र आए।
छोरा–छोरी त अरुका पनि छन् नी, पारश, प्रकाश, सुजाता, मानुषि मात्र चर्चामा आए। ७४ वर्ष लामो यहाँहरुको इतिहासमा अरु धेरै चर्चामा आएनन्। जती ८ जनाको चर्चा भयो। अन्य यति धेरै सक्षम नेतृत्व हुदा हुदै 'न्याय प्रमुख र राष्ट्र प्रमुख' एउटैले हाकेको नौटङ्की देखिएकोे हाम्रो देशमा के–के हुदो रहेनछ र? सफल या असफल के भए कटुवाल? राजनीतिलाई गेटबाट भित्र छिर्न दिएनन् रे। तर रिक्त हुदा हुदै त्यहि राजनीतिले यहाँहरुलाई धेरै समय लगायो आफू सफल हुन।
अझ कतिले त प्रचण्डले भाषणमा भने जस्तो 'विदेशी प्रभु' पनि चलखेल गरे भनेर वाहियात हल्ला गरे। हल्लान हो भनेर हामिले कल्पना गर्यौ अनि करैले पत्यायौ।
हिजो एउटा जमाना थियो। गाउँमा मुखिया हुन्थे। पुरै गाउँ उनको वरीपरि घुम्थ्यो। सहि–गलतको अर्थ थिएन। राजतन्त्रमा पनि त्यस्तै थियो, राजा र उनलाई हुने गरि केहि वोल्न–लेख्न पाइदैन्थ्यो। 'गाइ–जात्रा' कुर्नु पर्दथ्यो। त्यो पनि डराइ डराइ लेख्नु पर्ने। दुर्भाग्य मुखिया प्रथाकै शैलीका कारणले राजा तत्कालिन भएका हुन्।
अब पनि कसैले आफूभन्दा माथि कोहि छैन, हुनु हुँदैन भन्ने दम्भ गर्छ भने 'नेपालमा अरु ठाउँमा पनि नागारजुन भेटिन सक्छ।'
लेख्ने–लेखाउने, छाप्ने–छपाउने, बज्ने–बजाउने अन्तरयामी हुन। सत्यका नजिक हुन्छ नै भन्यो कसैले भने त्यो पनि एउटा भुल हो। कलम कुबाटो तिर हिड्यो भने त्यसले पनि देशलाई धोका हुन्छ। तर, श्रीमान सहि कलमले बाटो समात्यो भने विपना त विपना हो सपनामा पनि तर्साउछ। निद्रा नैे लागेन र सपना देख्ने अवसर मिलेनछ भने पनि घर परिवारको मौनताका प्रश्न झन भयानक हुन्छ।