पन्ध्र दिनअघि म काम विशेषले भारतको हैदरावाद गएको थिएँ। त्यहाँ एक हप्ता बसेर काठमाडौं फर्किने क्रममा मेरो हवाई ट्रान्सिट दिल्लीमा थियो। हैदरावादबाट जेट एअरवेजको बिहानी फ्लाइटबाट दिल्ली जानुपर्ने थियो। समयमै एअरपोर्ट पुगेँ। चेक इन गरेँ, सुरक्षा जाँच भयो, जहाजका स्टाफले मलाई सहयोग नै गरे। त्यतिन्जेल म आफ्नै व्हिलचियरमा बसेको थिएँ। जब प्लेन चढ्ने बेला आयो तब जेटका बोर्डिङ्ग पास चेक गर्ने स्टाफले भने- 'तपाईँको यो व्हिलचियर प्लेनको सिट भएको ठाउँमा पुग्दैन, के गर्ने होला?'
मलाई यो थाहा थियो। त्यसैले मैले पहिल्यै काउन्टरमा प्लेन चढ्ने बेला मलाई सिटसम्म पुग्ने सानो व्हिलचियर (आयल चियर) चाहिन्छ है भनेको थिएँ र उनीहरूले पनि 'भैहाल्छ सर' भनेका थिए। मैले ती स्टाफलाई भनेँ, 'मैले चेकइन गर्दा नै आयल चियरको माग गरेको छु त।'
ती स्टाफले मेरो कुरा सुनेर आफ्नो मोबालइबाट कसैलाई सम्पर्क गरे। उताबाट के खबर आयो कुन्नि, ती स्टाफले त सो एअरपोर्टमा त्यस्तो कुनै व्हिलचियर नभएको र मलाई प्लेनभित्र लैजान बोकेर सिढी चढाउनैपर्ने बताए। मलाई रिस उठ्यो। म अस्ति भर्खर त्यही विमानस्थलमा आउँदा म बसेको सिटसम्म नै त्यो सानो व्हिलचियर ल्याएर मलाई चढाएर लगेका थिए। मैले त्यो बताए। तर, अहँ ती स्टाफले मेरो कुरा सुन्नै मानेनन्। उनले भने- 'एकदमै ढिलो भइसक्यो, अब हामी जानैपर्छ। हामी सजिलो गरेर चढाउँछौ। ढुक्क हुनुहोस्।'
मलाई उनीहरूले बसबाट प्लेन भएको स्थानमा लैजान लागे। त्यो बसको ढोकामा तीनवटा अग्ला सिँढीहरू थिए। मैले भनेँ- 'अब कसरी चढ्ने?' उनीहरूमध्ये एक स्टाफले भने- 'सर अलिकति हिँड्दिनुस् न।' मलाई दिक्क लाग्यो। मैले भनेँ-“हिँड्न सक्ने भए, म किन व्हिलचियरको प्रयोग गर्थे?' उनीहरू केही बोलेनन्। तीनजना भएर मेरो व्हिलचियर उचालेर बसभित्र छिराउन खोजे। त्यो प्रक्रिया एकदमै अप्ठेरो भयो। मलाई एकदम सकस लाग्यो। मैले गर्न सक्ने केही थिएन। त्यस्तो अप्ठ्यारो गरेर बस चढेर प्लेनको छेउमा पुगेपछि उत्तिकै अप्ठ्यारो गरेर बसबाट झर्नुपर्यो।
अब मेरो अगाडि बडेमानको हवाईजहाज थियो र त्यसको पछाडि पट्टिको ढोकामा रहेका ७ वटा जति सिँढी उक्लेर मैले त्यसभित्र जानुपर्ने थियो। मेरो लागि त्यो यात्रा सगरमाथा आरोहण भन्दा कम हुने थिएन। मैले दिक्क भएर मसँगै रहेका एअरलाइन्सका स्टाफलाई सोधेँ- 'अब कसरी चढ्ने माथि?' उनीहरू आफू नै अलमलमा थिए। एक जनाले नम्र भएर सोधे- 'सर अलिकति पनि हिँड्न सक्नुहुन्न?' मैले केही भनिनँ, झर्को मानेर ऊतिर हेरेँ मात्र।
उनीहरूले अरू केही स्टाफलाई बोलाए र सबैले मिलेर मेरो व्हिलचियर नै बोकेर प्लेनको पछाडिपट्टि सम्म चढाउने भए। मैले विरोध गरेँ, 'व्हिलचियरको यात्रुलाई चढाउने त्यो लिफ्ट हुन्छ नि त्यो खोई? काठमाडौंको एअरपोर्टमा त छ त्यस्तो लिफ्ट, यहाँ छैन?' उनीहरूले मुखामुख गरे। एक जनाले भने- “लिफ्ट त छ सर, तर हामीलाई कसैले खबर नै गरेन। अब त ढिलो भइसक्यो।'
त्यसपछि उनीहरू चार जना भएर मेरो व्हिलचियर बोकेर सिँढी चढ्न थाले। मेरो व्हिलचियरको सबै भागहरू एक अर्कासँग छुट्टिने खालका छन्। त्यही भएर मैले यो व्हिलचियर नउचालौँ, खतरा हुन्छ भनेको उनीहरूले मानेनन्। नभन्दै त्यसै भयो। आधा बाटोमा पुगेपछि, माथिबाट तान्दै रहेका स्टाफको हातमा रहेको व्हिलचियरको खुट्टा टेक्ने भाग खुस्कियो र व्हिलचियर पछाडि झर्न थाल्यो। धन्न पछाडिका मान्छेले अलि दरोगरी समाए र म भुईमा पछारिइन। मलाई एकदमै रिस उठ्यो। हामी फेरि जमिनमै आइपुगेका थियौँ। मैले भने- 'म यो प्लेन चढ्दिन, मलाई मेरो पैसा फिर्ता देऊ।' यतिन्जेलमा जेट एअरवेजको एकजना ग्राउन्ड स्टाफ पनि आइपुगेका थिए। उनले ती लोडरहरूलाई हप्काए- 'किन उहाँलाई यताबाट ल्याएको? उतैबाट ल्याउन पर्दैन, आयल चियरबाट प्लेनको सिट सम्मै पुर्याउन सकिन्थ्यो।' अघि अर्का कर्मचारीले त्यस्तो सानो व्हिलचियर नै छैन भन्थे, अहिले अर्का आएर किन उताबाट नआएको भन्छन्, मलाई यिनीहरुको लापरवाही देखेर एकदमै रिस उठ्यो। मैले ती ग्राउन्ड स्टाफलाई भनेँ- 'यो कुराको तपाईँहरूले जबाफ दिनुपर्छ। मलाई दिल्ली पुग्न दिनुहोस्।' उनले माफ मागे।
त्यसपछि मेरो व्हिलचियरमा जसोतसो उठाएर प्लेनको पछाडिपट्टिको भागसम्म पुर्याइयो। अब त्यहाँबाट मेरो सिटमा पुग्न अर्को चुनौती थियो। प्लेनभित्र गुड्न मिल्ने व्हिलचियर उनीहरूले हेल्चेक्र्याइँ गरेर नल्याएका र मेरो व्हिलचियर त्यहाँभित्र नअट्ने भएकाले अब मलाई मेरो सिटसम्म पुर्याउन बोक्नुबाहेक अरू केही विकल्प थिएन। मलाई भने बोकिन मन थिएन तर म केही गर्न सक्ने अवस्थामा पनि थिइन। त्यसपछि तीनजना भएर मेरो जीउको अलिकति भाग बोकेर र धेरै भाग चाहिँ झुन्डाउँदै सिटमा पुर्याए। मलाई एकदमै अप्ठ्यारो भयो। मलाई उनीहरूले 'आलुको बोरा' जस्तै ठानेर बोके। अरू सबै यात्रीहरूले पनि मलाई नै हेरिरहेका थिए। मलाई कस्तो अप्ठेरो लाग्यो। मेरो लुगा पनि सबै बिग्रिएको थियो। मैले आफू अपमानित भएको महसुस गरेँ। त्यसपछि मैले ती सबै स्टाफ अनि एयर होस्टेजलाई समेत भनेँ- म मेरो देश पुगेपछि, यसको बारेमा संसारमा कुरा पुर्याउँछु।' उनीहरू सबैले मसँग धेरै माफी मागे तर मलाई त्यसले आराम दिएन। मेरो त बरू आँखाभरि आँशु भरिएर आयो।
दिल्ली पुग्दा भने मेरो लागि विशेष व्यवस्था भइसकेको रहेछ। प्लेन रोकिनासाथ सिटसम्मै आइपुग्ने व्हिलचियर लिएर दुईजना सहयोगी आइपुगे। उनीहरूका पछि पछि मुस्कुराउँदै एकजना जेटकै स्टाफ पनि आइपुगिन्। उनले भनिन्, 'हैदरावादमा यहाँलाई दुख भएछ, हामी क्षमा चाहन्छौं।' मैले उनको कुराको उत्तर नदिई भनेँ- 'मलाई यस एअरपोर्टमा रहेका जेट एअरवेजका सबभन्दा ठूला कर्मचारी भेट्नु छ।' उनले केही नाइँनास्ती गरिनन्। म उनीसँगै जेट एअरवेजको दिल्ली एअरपोर्ट कार्यालयमा गएँ। उनले मलाई एअरपोर्ट म्यानेजरसँग भेट गराइदिइन्। उनलाई मैले हैदरावादमा भएका सबै घटना सुनाएँ र सानो व्हिलचियर हुँदाहुँदै यात्रुलाई झुन्ड्याएर, पछारेर, दुख दिएर र अपमान गरेर प्लेनमा चढाउनको के अर्थ हो भनेर सोधेँ। उनी एकदमै लज्जित भए। मेरो कुराले उनलाई पनि चोट पुग्यो भनेर मैले सजिलै बुझेँ। मैले उनलाई अपाङ्गता भएका व्यक्तिहरू तपाईँको हवाईजहाजमा सित्तैमा उड्छन् र यस्तो व्यवहार गरेको भनेर प्रश्न पनि गरेँ। अन्त्यमा मैले उनलाई म यो कुराको सबैतिर प्रचार गरेर तपाईँहरूसँग कानुनी लडाइँ लड्छु भनेर चेतावनी दिएँ। उनले मसँग धेरै विनम्र भएर माफ मागेँ र मलाई २४ घण्टाभित्र यो घटनाको बारेमा छानबिन गरेर जानकारी दिने र हैदरावादको एअरपोर्ट म्यानेजर स्वयंले फोन गरेर माफी माग्ने प्रतिबद्धता जनाए।
त्यसपछि म काठमाडौं आएँ। काठमाडौं आउँदा पनि मेरो लागि एकदमै धेरै स्टाफ खटाइएको रहेछ। काठमाडौं आइपुगेको भोलिपल्ट मलाई जेट एअरवेजका हैदरावाद एअरपोर्टको म्यानेजरले फोन गरेर माफ मागे। उनले त्यसो लापरवाही गर्ने स्टाफलाई कारबाही गरिएको र अब आइन्दा कहिले पनि यस्तो नहुने प्रतिबद्धता जारी गरे। मैले उनलाई यो कुरा लेखेर पठाउन भने र उनले यी सबै कुरा लेखेर मलाई इमेल पनि गरे। मैले त्यो इमेलको जबाफ दिँदै, 'यहाँ कुरा मेरो मात्र नभएर सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू माथि गरिने व्यवहारको भएकाले कुनै एक एअरपोर्टको म्यानेजरले मात्र नभएर मलाई जेट एअरवेजका व्यवस्थापनका तर्फबाट उच्च अधिकारीले अब आइन्दा यस्तो नहुने वाचा गर्नुपर्ने' माग राखेँ। मैले भनेँ- 'नत्र भने यो कुरा अदालत, नेपाल र भारत सरकार देखी देशी-विदेशी मानव अधिकारका केन्द्रहरूमा पुर्याउने छु।'
दुई दिनजतिमा मलाई जेट एअरवेजका उप-प्रमुखले दिल्लीबाट फोन गरेर १५ मिनेट कुरा गरे। उनले मलाई जेट एअरवेजको अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद गर्ने कुनै नीति नरहेको स्पष्ट पारे। उनले मसँग माफ माग्नूको साथै सबै एअरपोर्ट म्यानेजरहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई संवेदनशील भएर व्यवहार गर्न पत्र लेखिएको जानकारी गराए। पछि मैले इमेल चेक गर्दा सबै टिमलाई लेखिएको सो इमेलमा मलाई पनि कपि गरिएको रहेछ।
यसरी जेट एअरवेजका एकजना उच्च अधिकारीले अब यस्तो नहुने भनेर माफ मागेपछि र सबै एअरपोर्टहरूमा अब आइन्दा यस्तो गल्ती हुन नदिन होसियार हुन निर्देशन दिएपछि बल्ल मेरो मनको रिस र चोट दुवै हट्यो। म एक जनाले बोलेर अब उपरान्त जेट एअरवेजका यात्रा गर्ने देशी-विदेशी अपाङ्गता भएका व्यक्तिहरूको यात्रा सहज हुन्छ भन्ने जानेर मलाई आफू ठूलो युद्धमा विजय भए सरहको अनुभव भएको छ। भनाइ नै छ- अन्याय सहनु पनि अन्याय गर्नु जत्तिकै नराम्रो कुरा हो। किनभने यसले अन्याय गर्नेलाई अझ बढी हौसला दिन्छ। मलाई गर्व छ- मैले अन्याय सहिन, अन्याय विरुद्ध र अधिकारको यो लडाइँमा विजयी पनि भएँ।