विभिन्न चित्र भएका हुलाक टिकटहरु थुकले भिजाउँदै प्रेम पत्रका गुलाबी खामहरुमा टाँसे होलान् अनगिन्ती प्रेमी प्रेमिकाहरुले। मायाले भरिएका शब्दहरु खाँदिएका आफन्तका चिट्ठीहरु तिनै टिकटसँग टाँसिदै पुग्नुपर्ने व्यक्तिको हातमा पुगे होलान्। या कतै छोडिए होलान्। मैले पनि पटकपटक टिकट थुकले भिजाउँदै टाँसेकी छु खाममा र पठाउने गरेकी छु कहिले 'पेनपल' लाई, कहिले बाल्यकालका साथीभाइलाई र कहिले आफन्तलाई। तिनै टिकट कसको परिकल्पना होला? कसको सिर्जना होला? कहिल्यै कसैले सोचे होलान् सायदै।
समय र परिस्थिति अनि मान्छेभित्र उम्लिरहने रहरका भुल्काहरुले एक मान्छेलाई अनेकन भौगोलिक स्थानहरुमा पुर्याउँछ। मुस्ताङको घाँस भन्ने एउटा सानो गाउँबाट काठमाडौँसम्मका मान्छेलाई पत्र पठाउने म यही कारण राजधानीमा छु आज। परिस्थिति र समय भन्दापनि म भित्रको संकल्प र रहर हुन् मलाई यहाँ ल्याइपुर्याउने। यहाँ आइपुग्नुले मलाई विभिन्न रुपमा जन्मायो पनि। एउटा लेखकको रुपमा। अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि लागी पर्न खोजिरहने एउटा प्रयासीको रुपमा। र, धेरै मित्रहरु बीच पनि केही मित्रहरुको जीवन र परिवारसँगै नजिकिने अधिकार भएको नजिकको मित्रको रुपमा। हो, मैले यही सौभाग्य पाएँ। मैले जिब्रोले छोएका सायद धेरै टिकटहरु उनै व्यक्तिले परिकल्पना गरेका थिए जसलाई मैले पनि बुबा मान्ने अवसर पाएँ।
उनकी एक्ली छोरी मेरी आत्मीय साथी दीपिका राणा यसको भागिदार हुन्। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने क्रममा हामी साथी बन्यौँ। सुरुमा त राणा परिवारको मान्छे, भन्ने मलाई परेको थियो। तर उनको साधारण पहिरन र सरल व्यवहारले मलाई सजिलै उनीतिर खिच्यो। समयको वहावसँगै हामी धेरै नजिक भयौँ यहाँसम्म कि, माता तिर्थको दिन उनले आफ्नी आमालाई लिएर हामी आमा नभएका दुइ टुहुरी साथी म र सुलजा राइलाई सरप्राइज दिइन्। त्यस दिन दीपिकाकी आमाको अनुहारमा हामीले आफ्नी आमालाई हेर्यौँ।
सुरुका दिनहरुमा उनले आफ्नो परिवारको बारेमा केही भनेकी थिइन्। पछि बिस्तारै बताउँदै गइन् जब हामीले पनि आफ्नो कुरा बताउँन थाल्यौँ। उनले 'मेरो बुबा मोहन नरसिंह राणा। हुलाक टिकटको डिजाइनर...' भन्ने बित्तिकै मेरो मानसपटलमा ती दिनहरु खेलेका थिए जुन दिन म पनि निकै चिट्ठी पत्रमा रमाउँने गर्थेँ। झन्डै ३ सय भन्दा बढी हुलाक टिकट डिजाइन गरेका उनै मोहन नरसिंह राणा अब हामीमाझ हुनुहुन्न। आइतबार मात्र नर्भिक अस्पतालमा हाम्रो भेट भएको थियो। त्यही भेट नै अन्तिम रहेछ। त्यही राति १०:३० बजे उपचारको क्रममा उहाँले यो संसारबाट बिदा लिनुभयो ।
लामो समयदेखि घाँटीको क्यान्सरबाट ग्रसित उहाँ देश र नागरिकप्रति कटिबद्ध हुनुहुन्थ्यो। २०५१ सालमा स्वीजरल्याण्डमा भएको संयुक्त राष्ट्र संघको पचासौँ रजत जयन्तीको अवसरमा भएको विश्व हुलाक टिकट प्रतियोगितामा नेपाल प्रथम भयो। १ सय ८८ मुलुकले भाग लिएको त्यो प्रतियोगितामा प्रथम हुने त्यो टिकटको परिकल्पनाकार थिए उनै मोहन नरसिंह राणा। तर विडम्वना, सरकारले उनलाई पुरस्कार ग्रहण गर्ने अवसरबाट विमुख पारिदियो। यहाँसम्म कि त्यो पुरस्कार कुन हालतमा कहाँ छ त्यसको जानकारी समेत परिवारलाई छैन।
'त्यो गोल्डमेडल त बुबाको नामको हो नि, तर खै बुबालाई सरकारले त्यो मेडल लिन जान दिएन। अरु कसैले लियो। अहिले कुन अवस्थामा छ केही थाहा छैन। त्यतिबेला बुबाले खुब चित्त दुखाइस्यो' दीपिका भन्छिन्। यस घटनाबाट प्रस्ट हुन्छ कि हाम्रो देशमा सच्चा इमान्दार व्यक्तिको सधै बेवास्ता भइरहन्छ । यहाँ जो चतुर भयो त्यो माथि पुग्यो। पुरस्कार र सम्मानकै लागि प्राय लबिङ् गर्ने संस्कार बसेको हाम्रो देशमा आफ्नै सिर्जना शक्तिको कारण अन्तर्राष्ट्रिय स्तरमा सम्मानित र पुरस्कृत हुनुको महत्व नबुझ्नु स्वभाविक नै हो। झन्डै ३६ वर्ष बरिष्ठ कला अधिकृतका रुपमा हुलाक सेवामा समर्पित मोहन नरर्सिंह राणाले आफ्नो उपचारको लागि धेरै रकम खर्च गरे। उनलाई सञ्चो हुनु थियो। सञ्चो हुनुको पछाडि फेरि नयाँ नयाँ परिकल्पना गर्दै हुलाक टिकटसँग खेल्ने एउटा रहर थियो।
उनको रहर पूरा हुन पाएन। सरकारले यस्ता कर्मठ र सिर्जनशील व्यक्तिको सम्मान गर्न कहिल्यै जानेन। सम्मान गरिए पनि कसैलाई मृत्युपछि। कसैलाई त्यही पनि छैन। नेताहरु भने राज्यको ढुकुटी रित्याउने गरी उपचारको बहानामा बैदेशिक भ्रमण गर्न र गराउन सक्छन्। तर मोहन नरर्सिंह जस्ता देशमा योगदान दिनेहरुलाई नियम अनुसार पाइने थोरै मात्राको उपचार खर्च पाउन पनि कहाँ कहाँ धाउनु पर्ने हुँदोरहे छ। म आफैपनि दीपिकालाई साथी दिँदै विभिन्न संस्थान र मन्त्रालयहरुमा पुगेकी छु। यतिबेला मलाई भन्न लाज लागेको छ उहाँले यो संसारबाट बिदा लिइ पनि सक्नु भयो तर उहाँको उपचार खर्च स्वरुप पाउनु पर्ने रकम अझै कहाँ छ थाहा छैन। अब त दीपिका पनि थाकिसकिन्...।