म गएको साता काम विशेषले भारत गएको थिएँ। त्यहाँबाट फर्कने क्रममा सिराहाका राम जनम यादवलाई भेटेँ।उनी जहाजमा मसँगै को सिटमा थिए। कुराकानीको सिलसिलामा मैले थाह पाएँ कि उनीदुबईमा रोजगारीको सिलसिलामा गएका तर कम्पनीको ज्यादतीका कारण ४ महिनामै फर्किदैं रहेछन्। उनले भने-“तलबनै नदिने सर। चार महिना काम गरायो, दुई महिनाको तलब दियो। त्यो पैसा नि यहीँ फर्किने टिकटमा सकियो। अहिले गोजीमा एक रुपैयाँ पनि छैन।“
मलाई नराम्रो लाग्यो, सोधेँ-“कति पैसा लागेको थियो जान?”
“नब्बे हजार दिएको थिएँ। गाउँकै आफन्त एजेन्ट थियो। ठग्यो।“
“ओहो! अब फिर्ता दिन्छ त? ऋण हो कि आफ्नै पैसा?”मैले सोधे।
“ऋण थियो सर। आफ्नो कहाँबाट हुने। उठाउँछु गाउँमा गएर। तर मलाई ऋणको केही डर लाग्दैन। पहिलाको त्यत्रो १० लाख ऋण त तिरेँ। यो त थोरै नै छ नि। “उनले मतिर हेरेर हाँस्दै भने। सुर्तीले होकी पानले हो उनका दाँत काला भएका थिए।
त्यति धेरै पैसा ऋण लागेको कुराले मछक्क परेँ। अनि सोधेँ-“के को ऋण हो त्यत्रो?”
“सात- आठ वर्षअघि बहिनीको बिहा गराएको ऋण हो सर।“ उनले जबाफ दिए।
“दश लाखको बिहा गरेको? त्यो नि त्यति अगाडि?” मैले सोधे।
“हैन सर। बिहामा त सिर्फ दुई लाख लाग्यो। दहेज दिनु परेन। आठ लाख त क्यास दिएको।“
मलाई एकदमै अचम्म लाग्यो। सोधे-“आठलाख दहेज?”
“हो सर। त्यो बेलामा पनि केटो ईन्टरपास थियो। जग्गा जिमिन पनि एकदमै धेरै। अहिले मेरो बहिनीलाई सुख छ। त्यहीँ भएर त्यो पैसामा मलाई केही दुखमनाउ छैन। फेरि अस्तिको वर्ष सबै साँवा ब्याज तिरीसके। तेह्र लाख पुगेछ।“- उनले फेरि हाँस्दै सुनाए।
“कहाँबाट आयो त दश लाख त्यो बेला?” मैले सोधे।
“छर छिमेक, दाजुभाई सबैले सहयोग गरे। राम्रो केटो छ, उसैसँग बिहा गर्नुपर्छ भनेर सबैले भने, अनि मैले पनि आँट गरे।“ उनले भने।
“अनि कसरी तिरेको त तेत्रो पैसा?”- मैले फेरि सोधेँ।
“साउदी गएर ४ वर्ष बहुत काम गरेँ। ओभरटाईम, साईड जब जे पाउँछ सबै गरेँ। त्यहाँ राम्रै थियो सर कमाई। कहिले काहीँ त लाख रुपियाँसम्म पनि कमाएँ। यो पाली पो फसेँ त। जम्मा ११००० नेपाली दिन्थ्यो, खर्च कटाएर ८००० बच्थ्यो। त्यो नि टाइममा दिए त हो!”उनले भने।
मलाई उनको कुराले दुःख लाग्यो। कति थोरै तलवमा हाम्रो कति धेरै दाजुभाइहरू काम गर्न खाडी मुलुकमा जानुपर्ने बाध्यता छ। मैले उनलाई सोधे-“किन विदेश गाकोत यति थोरै पैसामा पनि!”
“यति पैसा म यहाँ पनि कमाउन सक्छु सर, तर के हुन्छ, एकमुस्ट बचत हुँदैन। फेरि मेरो आमा बिरामी छ। वर्षमा एक डेढ लाख त उसको लागि पनि मैले कमाउनुपर्छ।“ उसले भने।
मैले जिस्किएर सोधे- “आमाको माया लाग्छ?”
उनले गम्भीर भएर भने- “सानैमा मेरो बुवा मरे सर। त्यो बेलादेखी मलाई र बहिनीलाई आमाले हुर्काएको हो। बहुत दुःख गरेकी छन् मेरी आमाले।“
मलाई रामजनमको कुराले मनमा छोयो। उनकी आमा कस्ती भाग्यमानी रहिछन् जस्तो लाग्यो। फेरि मलाई अहिलेको उनको अवस्था देखेर माया पनि लाग्यो। एक रुपैयाँपनि छैन भनेर उनले भनेको सम्झेँ, त्यस कारण केही पैसा दिन खोजेँ। तर उनले लीन मानेनन्। भने-“मलाई केही टेन्सन छैन सर, अहिले खान यहीँ (प्लेन) मै खाई हालियो। अब सिधैँ गौशाला जान्छु। गाउँतिरको गाडी छ धेरै- एउटालाई पक्डेर घर गईहाल्छु। त्यस पछि त सब ठीक हुन्छ।“उनले उही हाँसोका साथ भने।
काठमाडौं पुगेपछि रामजनम र म छुट्टियौं। तर उसले भनेका धेरै कुरा मेरो मनमा बसिरहेँ। रामजनमको भन्दा मेरो तलब धेरै छ- तर उ म जस्तो पैसा कम भयो भनेर दुःखी छैन।
मलाई सधैँभरी खुशी नाप्ने एकाइ पैसा नै होला जस्तो लाग्ने गर्थ्यो। मलाई लाग्थ्यो धेरै पैसा भएपछि मात्र मान्छे खुशी हुन्छ होला। तर, होइन रहेछ। सिराहाका रामजनम यादवलाई भेटेपछि मलाई लाग्यो- जिन्दगीमा खुशी नाप्ने एकाइ पैसा हैन रहेछ। आत्म सन्तुष्टि रहेछ।