सोसल मिडियामा पंण्डित सम्मेलनको सूचना राखेपछि एकजना पंण्डितले सोधे, 'पंण्डित सम्मेलन किन?'
उत्तर दिएलगत्तै उनी सम्मेलनमा सहभागी हुन राजी भए। उनको प्रश्न थियो, पंण्डित भनेको के हो? सम्मेलनको औचित्य, उद्देश्य र किन गर्न लागिएको हो?
पंण्डित शब्द नेपाली समाजमा प्रचलित र परिचित नाम हो। धर्मशास्त्रका विषयमा जन्मदेखि मृत्युसम्मका १६ संस्कारका बारेमा जानकारी राख्ने, यजमानको घरमा पुगेर सल्लाह दिने, कर्म गरिदिने र सस्कारलाई जीवन्त राख्न सहयोग गर्ने व्यक्ति समाजमा पंण्डित भनेर चिनिन्छन्। पंण्डितलाई पुरोहित कर्मकाण्डी आदि नामले पनि पुकारिन्छ। समाजमा पंण्डित कसैको घरमा संस्कारादि कर्म गर्न पुग्ने दिन उनी त्यसदिनका लागि प्रमुख अतिथि बराबर हुन्छन्। परिवारका सबै सदस्यले पंण्डितलाई गर्ने मान सम्मान उपल्लोस्तरको रहन्छ। सबैले शीर भुकाएर सम्मानत गर्छन्। तर, अहिले पंण्डितहरुले गर्ने कर्म, उनीहरुको चरित्र र उनीहरुले गर्दै आएका कर्मकाण्डीय कर्मबारे प्रश्न उठेको छ। अर्थोपार्जनका नाममा हामीबाट धर्म र संस्कृतिका आधारलाई भौतिक वस्तुसँग तुलना गरी संस्कृतिको अपमान पंण्डित र यजमान दुवैबाट बराबरी हुँदै आएको छ। यसबाट आफैँमथि आफूले दण्डनीय काम गर्दै आएको अवस्था छ।
हाम्रो धर्म र संस्कृतिका आधारित रहेर गरिने कर्ममा अर्थको दबाब चलेको छ। पंण्डित (पुरोहित) हरुको व्यवहारबाट यजमान आजित हुन थालेका छन्। मुखले भन्दैनन् यजमानहरु, तर मनमनै भन्न थालेका छन्, पंण्डित लोभी भए।
पंण्डितहरुको पहिचान र मर्यादा के हो? अनेकौं प्रश्नहरु उठन थालेका छन्। गानाबजाना बजाएर सुरिलो स्वरमा श्रीमद्भागवत कथालाई लय र झ्याउरे भाकामा कुमारीहरुलाई नाचगानमा सहभागी गराएर यज्ञ गर्ने, लामो कपाल, श्रृंगारपटार गरी कथा वाचन गर्ने पंण्डितहरुले व्यासपीठको महत्व र अस्तित्वमा प्रश्न उठाइदिएका छन्। 'विद्यावन्ते भागवते परीक्षा' धर्मशास्त्रको अन्तिम परीक्षा श्रीभद्भावगतमा हुने गर्दछ। तर पंण्डितहरु शास्त्र एकातिर कथा अर्कोतिर डोराउँदै रकम असुल्ने काममा धर्मशास्त्रलाई प्रयोग गर्दैछन्। त्यसो तर धर्ममा नाममा उठेको रकम सही स्थानमा सही सदुपयोग भए निकै राम्रो। तर सदुपयोग नहुँदा धर्मका नाममा दान दिने र लिने दुवै उल्टो फल भोग्नुपर्ने शास्त्रीय मान्यता छ। यी र यस्तै कारणले गर्दा पंण्डितहरुको विषयमा समाजमा अनेक सवाल उठन थालेका छन्। ज्योतिषीको नाममा रकमअनुसार फलित गर्ने प्रचलन बढेको छ। रत्न (धातु) र अनेकौं उपायका नाममा यजमानलाई हैरानी तुल्याउने काम गरेको गुनासो सुन्नुपरेको छ।
पंण्डित शब्द र यिनीहरुसँग समाज, राष्ट्र र सनातन धर्म संस्कृतिको अस्तित्व र अपनत्व जोडिएको छ। पंण्डितहरु यजमानले बनाउने नियम अनुसार चल्न थालेका छन् भने पंण्डित आफ्नो स्वार्थ अनुकुल यजमानलाई हिँडाउन थालेका छन्।
गत जनैपूर्णिमाका दिन ठमेलका पर्यटन व्यवसायी कोटेश्वर निवासी जनक थापाका हजुरबुबाको श्राद्ध बिहान ५ बजे सक्ने पंडित पुरोहितको आग्रहमा सहमत भई श्राद्ध कर्म सकेछन्। विचरा पंडितको कमाइ हुने दिन मेरो कारणले किन रोक्नु भनेर। तर, त्यसरात उनको घरमा पिताजीले सपनामा श्राद्ध कर्म गलत भएको भनेछन्। थापा परिवारमा बिहानै ५ बजे श्राद्धको विषयमा बहस चलेछ। पिताजीको श्राद्वमा सहभागी हुन आएकी दिदीले अब तिम्रो घरमा कहिल्यै नआउने भन्ने वाचा गरिछिन्। एकजना पंण्डितको कारण परिवार आएको विखण्डनपछि थापाले यसबारेमा सोधीखोजी गरे, 'साँच्चै बिहान श्राद्ध गर्न नहुने रहेछ।' थापाका बाबु छोरा र परिवार पुनः अर्को तिथिमा श्राद्ध गर्ने पक्षमा पुगेका छन् भने ती पंण्डितलाई समेत बहिष्कार गर्ने निर्णयमा पुगे।
पछि थापाले थाहा पाएछन्, श्राद्ध मध्यानकाल भन्दा अघि वा पछि गर्नुपर्ने नियम रहेछ। उनले यति चासोका साथ बुझे कि यो कर्मको फल कसकसले भोग्नुपर्ला? धर्मशास्त्रका ज्ञाताले भनेछन्, 'पंण्डित र यजमानले आधा आधा।' शास्त्रले भनेको छ, गलत ठाउँ र व्यक्तिलाई दान दिनु र लिनु दुवै पाप हो। अहिले दान दिने होडबाजी चलेको छ समाजमा। यसको अगुवा पंण्डितहरु यजमानलाई दान दिन प्रोत्साहित गर्छन्, स्वयम् पंण्डितहरु दान दिँदैनन्। लिन मात्र जानेका छन्।
एकजना पुरोहितले पंण्डित सम्मेलनका सहभागी हुने शुल्क लाग्ने कुरा गर्दा भने, 'पंण्डितहरुले दिने होइन लिने मात्र हो।' उनलाई सम्मेलन आयोजक समितिले सिधै भनिदियौं, तपाई सम्मेलनमा सहभागी हुन लायक पंण्डित हुन सक्नुहुन्न। तपाईहरुलाई समाजले टपरे शब्दले पुकारिरहेका छन्।
प्राचीनकालदेखि हाम्रा ऋषि महर्षिहरुले कठोर साधना, तपस्या र अनुसन्धान गरी प्राप्त ज्ञान विज्ञानका विषयमा देशकाल परिस्थिति भन्दै आक्रमण हुन थालेको छ। सनातन संस्कृतिमाथि नियोजित ढंगले अपवाह फैलदै छ। यसका दोषी र कारण के हो? पंण्डित सम्मेलनमा यी र यस्ता विषयमा छलफल हुनेछ। समाजमा पंण्डित र यज्ञमानका आचार संहिता बन्नुपर्छ। ड्राइभिङ गर्न लाइसेन्स चाहिन्छ, न्यायालयमा वकालत गर्नका लागि न्यायको ज्ञान हुनुपर्ने जस्तै पुरोहित हुनको लागि पनि यसप्रकारको कर्म गर्नसक्ने व्यक्ति चाहिन्छ। समाज र शास्त्रसम्मत ढंगले अहिले समाजमा पंण्डित(पुरोहित) यजमानका कारण हुने धर्म सस्कृतिमाथिको जटिल सवालका बारेमा केही निर्णय हुन जरुरी छ।
राष्ट्रिय धर्मसभा नेपालले धर्म र सस्कृतिमाथि समाजले उठाएका सवालको उत्तर खोज्ने प्रयासका लागि पंण्डित सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरका ७५ जिल्लाका पंण्डित सहभागी गराउने र हरेक जिल्लाका समस्याहरुको पहिचान गरी समाधानका लागि कसरी के गर्न सकिन्छ भन्नेबारेमा सम्मेलन केन्द्रित हुनेछ। आम सञ्चार विकासको इतिहासमा पनि पंडितहरु समाजमा सञ्चारदूत थिए। सबैको भरोसा र उपल्लो कोटीमा सम्मानित व्यक्ति थिए। समाजका लब्धप्रतिष्ठित व्यक्ति पंण्डित थिए, आज पनि उनीहरुको कार्यशैलीका कारण पंण्डित शब्द र उनीहरुले गर्ने कर्मका कारण समाजमा अपमानित हुँदैछन्।
यतिभन्दा भन्दै पनि यजमानहरुले पंण्डितको सम्मानका कुनै कमी ल्याएका छैनन्। यतिविघ्न प्रतिष्ठित व्यक्तिहरुले किन आफ्नो पहिचानमा प्रश्न उठाउन दिएका हुन्? अब पंण्डितहरुले पनि सोच्नुपर्ने सवाल छ। हामीले गर्ने कुनै पनि धार्मिक साँस्कृतिक कर्ममा पंण्डित पुरोहितको आधा आधा भोग्य फल भोग्नै पर्छ। त्यसले पंण्डित र यजमान दुवैले गर्ने कुनै धार्मिक कृत्यको भागिदार सम्झेर कर्म गर्न जरुरी छ।
'वयं राष्ट्रे जागृयाम पुरोहिता' भन्ने बैद्धिक सुक्तिलाई आत्मसात गर्दै अब पंण्डित एकपटक अगाडिपछाडि फर्केर सोच्नु पर्ने समय आएको छ। यज्ञादि कर्म गरी व्यक्ति, समाज, राष्ट्र र विश्व कल्याणको लागि पंण्डितहरुले अगुवाइ गर्ने प्राचीन परम्परा अद्यापि चलिरहेको छ। ज्ञान विज्ञानका विषयमा जानकारी गराएर व्यक्तिलाई ज्ञानचक्षु खोलिदिने कामको जिम्मेवारी पंण्डितकोको काँधमा छ। अनिष्टकारी योग, उल्का आदिको सम्भावना अध्ययन गरी शास्त्रार्थ विधिले त्यसको उपाय खोज्ने पंडितहरु नै हुन्।
सामान्य गृहस्थबासीको घरमा हुने जन्मदेखि मृत्युसम्ममा १६ संस्कारमा पंडितहरुको सहभागिता अनिवार्य छ। राष्ट्रका ठूलो परियोजना सुरु गर्दा शुभसाइत दिने काममा पंण्डितहरु आवश्यकता रहन्छ। मठमन्दिर एवं तीर्थस्थलको बारेमा जानकारी दिने त्यसको महत्वको बारेमा जनमानसमा उजागर गर्ने क्षमता पंण्डितले राख्छन्। समाजमा बर्षेनी मनाइने पर्व, जात्रा, मेला आदि सनातन संस्कृतीको शास्त्रीय आधार खोज्ने र समाजलाई बुझाउने काममा पनि पंण्डितहरुको योगदान रहन्छ। व्यक्तिको प्रगति र अवन्नतीका क्षेत्रमा पनि ज्योतिषीय आधारमा मार्गदर्शन गर्ने काममा पनि योगदान रहन्छ। समाजसँग प्रत्यक्ष सहभागी हुने पंण्डितहरुका जिम्मेवारी गहन हुँदाहुदै पनि किन समाजमा पंण्डितहरुको विषयमा अनेक प्रश्न उठेको छ? अब पंण्डित र यजमान बीचको सम्बन्ध विस्तार गर्न आचारसंहिता र पंण्डितको क्षमता र आत्मविश्वास प्रबल कसरी हुनसक्छ? पंडित सम्मेलनमा यी र यस्तै विषयमा छलफल हुनेछ।
(लेखक दोस्रो राष्ट्रिय पंण्डित सम्मेलनका संयोजक हुन्।)