जीवनमा कत्राकत्रा दुखका पहाडहरु सजिलै पार गरियो। कति समस्या आए, डर लागेन। आँधी आउँदा डराइन, भुइँचालो जाँदा डराइन तर आज फोनमा घन्टी बज्यो कि यो मनमा भुइँचालो जान्छ। डर लाग्छ। हिजोआज मेरो फोनमा ‘के हो, मेनुकाजी तपाईँको काभ्रेमा त एउटा बाबुले आफ्नै छोरीलाई बलात्कार गरेछ नि’ भन्ने सुन्नु परिरहेको छ।
पुरुषले जे गरेपनि छुट पाउनुपर्छ भन्ने मानसिकताबाट ग्रसित यो समाजमा भएको यो घटना अपत्यारिलो भए पनि सबुद प्रमाणबाट दोषी ठहरिएर प्रहरी हिरासतमा रहेका अपराधीलाई उम्काउन साम, दाम, दण्ड, भेदको प्रयोग भइरहेको छ रे भन्ने सुन्दा पहिलोपटक काभ्रेकी छोरी हुँ भन्दा शिर निहुरिएको छ।
अस्ति भरखरै मात्रै काभ्रेको बनेपामा छ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको समाचार सेलाउन नपाउदै पनौती–२ सुब्बागाउँमा आफ्नै बाबुद्वारा छोरी बलात्कृत भन्ने समाचारले मेरो मन छियाछिया भएको छ। अस्ति तीन दिनपहिले जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट फोन आयो– एउटी आफ्नै बाबुबाट बलात्कृत छोरीलाई तपाईँको संस्थामा केही समय आश्रय दिनुपर्यो। लामो समयदेखि यौनजन्य हिंसा एवं बलात्कारविरुद्ध कार्य गरिरहेका कारण यस्तो पीडितलाई सकेको मद्दत गर्नु आफ्नो कर्तव्य ठानी कार्यालयको एक टोलीसहित म आफू पनि धुलिखेल हान्निएँ।
जिल्ला प्रहरी कार्यालय पुग्दा बाबुबाट बलात्कृत छोरीले प्रहरीको सामुन्ने बयान दिँदै रहिछन्। आफू कहिले र कसरी बलात्कृत भएँ, उनी सबै एक–एक घटना सम्झँदै बेलिबिस्तार लगाउँदै थिइन्। घटनाहरु सम्झिएर बीचबीचमा भक्कानिँदै पनि थिइन्। लामो समयदेखि आफ्नै बाबु र हजुरबुबाबाट बलात्कारको सिकार हुदै आइरहेकी उनले कसैको सहारा नपाएपछि विष सेवन गरेकी रहिछन्। गस्तीमा गएको प्रहरीले उद्धार गरी समयमै अस्पताल पुर्याएका कारण उनी बाँच्न सफल भएकी रहिछन्। १० दिनको अस्पतालको बसाइपछि उनलाई प्रहरीले नै डिस्चार्ज गरी अनुसन्धानको लागि प्रहरी कार्यालय पुर्याएको रहेछ।
उनको हृदयविदारक यथार्थ सुनेपछि प्रहरी, पत्रकार तथा मानव अधिकारकर्मीले उनलाई सोधेका थिए– ‘नानी, तिमी के चाहन्छौ?’ उनीहरुको यो प्रश्नमा उनले रुँदै भनेकी थिइन्– ‘सर आफ्नै जन्मदाता र संरक्षकबाट ममाथि भएको यो शोषण तथा पीडाबारे सबैभन्दा पहिले मैले हिम्मत गरेर आफ्नी आमालाई सुनाएकी थिएँ। मेरी आमा पहिले त रोएकी थिइन्, तँमाथि भएको यो अत्याचारविरुद्ध म बोल्छु, प्रहरी चौकीमा गएर उजुरी गराैँला भनेकी थिइन् तर बाउ र हजुरबाउले के भनी धम्काए वा फकाए, उनले मलाई साथ दिइनन्। त्यसपछि मैले यो कुरा मामा, माइजु र फुपुदिदीलाई भने, उहाँहरुले हाम्रो परिवारको इज्जत जान्छ। समाजले बाउलाई डाँडो कटाउँछ। उसले डाँडो काट्नुपर्यो भने तिमी, भाइबहिनी र ममीको बिजोग हुन्छ, तसर्थ यो हाम्रो घरभित्रको कुरा हो, बाहिर आउन दिन हुँदैन, बरु तिमीले जे भन्यो, हामी त्यही गर्दिन्छाैँ भनी थामथुम लगाए। मैले उहाँहरुबाट साथ पाउने कत्रो आशाले सबै कुरा भनेकी थिएँ तर साथ पाउनुको साट्टो मलाई यातना दिइयो, कति पिटियो, यो टाउकोमा कति ठोकियो, त्यसको लेखाजोखा नै छैन। मेरो जाने ठाउँ पनि कहिँ थिएन। उनीहरुले पिट्दापिट्दा म बेहोस हुन्थेँ, होशमा आउँदा घरमा कोही हुँदैनथ्यो तर त्यो राक्षसी बाउ भनौँदो ममाथि चढिरहेको हुन्थ्यो। मैले अन्यायमा परेँ भन्दा उल्टै मलाई धम्काएर, तर्साएर, पिटेर मेरो कुरा सुनिदिने कोही भएन। मलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, तसर्थ मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ। तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ। मसँग के छ र? को छ र? तसर्थ सर कि मलाई हजुरले बोकेको बन्दुकले ठोकेर मारिदिनुस् कि त वापतीलाई मेरो आँखा अगाडि झुण्ड्याइदिनुस्।’
उनले यति भनेर भक्कानिँदा त्यहाँको माहोल नै स्तब्ध भएको थियो। हामी सबैका आँखा रसाएका थिए। आफ्नै घरभित्र बारबार बलात्कारको सिकार भई मानसिक र शारीरिक रुपमा विक्षिप्त बनेकी यी छोरीलाई सँगै लिएर राति १० बजे हामी काठमाडाैैँ फर्कियौँ।
प्रहरीको सहयोगमा उनको स्वास्थ्य परीक्षण भयो। स्वास्थ्य परीक्षणमा उनीमाथि बलात्कार भएको देखियो भने बारबारको जबर्जस्ती करणीले पाठेघरमा घाउ तथा संक्रमण भएको पाइयो।
विदेशतिर यस्ता जोखिममा परेका व्यक्तिहरुको सबै जिम्मा राज्यले लिन्छ तर हाम्रो देशमा राज्यले लिनु त टाढैको कुरा, राज्यका बागडोर सम्हाल्ने वा समाज हाँक्नेहरुले प्रोत्साहन मात्रै दिएपनि त्यो लाख–लाख हुने थियो।
अत्याधिक रुपमा दिइएको शारीरिक र मानसिक यातनाका कारण उनी साह्रै विचलित छिन्। कसैसँग बोल्न पनि डराउँछिन्, थरथर काम्छिन् अनि बारबार भन्छिन्– म किन बाँचेको होला? मैले न्याय पाउँला त? मलाई न्याय कसले देला?
उनको यो प्रश्नले मलाई गम्भीर बनाएको छ। मेरै जन्मथलोमा भएको यो घटनाले म विक्षिप्त भएको छु तर यो बलात्कारजस्तो जघन्य अपराध र आफ्नै छोरीलाई बलात्कार गर्ने अपराधीको पक्षमा वकालत गर्नेहरु, उसलाई निर्दोष सावित गर्न भए–नभएको प्रपञ्च रच्नेहरुलाई किन नपिरोलेको होला? पैसा नै सबथोक हो र? यस्ता अपराधीको पक्षमा बोल्नेलाई किन लाज नलागेको?
पैसाको खोलो बगाएर भए पनि बलात्कारी बाउलाई निर्दोष सावित गराउने धुनमा एक समूह जुटेको छ भन्ने सुन्दा मलाई काभ्रेमा जन्मिएकोमा सरम लाग्यो।
बलात्कार भनेको महिलाको मात्रै समस्या हैन भनेर बुझ्नु जरुरी छ, किनकि हिंसा भन्ने कुरा कतै पुरुषबाट महिलामाथि हुन्छ त, कतै महिलाद्वारा पुरुष माथि हुन्छ। तर बलात्कार त पुरुषबाट महिलामाथि मात्रै हुने भएकाले बलात्कार यो २१ औँ शताब्दीको नेपाली समाजको कुरुपता हो अनि सम्पूर्ण पुरुषको मुखमा पोतिएको कालो धब्बा। पुरुषप्रतिको प्रश्न चिन्ह हो। तसर्थ यसको जरा उखालेर फाल्न पुरुषले नै नेतृत्व लिने हिम्मत गर्नुपर्छ। सबै पुरुष बलात्कारी हैनन् तर, १,२ जना विकृत मानसिकता भएका पुरुषका कारण सिंगो पुरुष कलंकित बन्दैछन्। अनि हाम्रो सामाजिक सद्भाव खल्बलिदै छ भने पारिवारिक प्रेम तथा विश्वास ढल्दैछ।
एउटा कुहिएको माछोले पूरै पोखरीको पानी नै दूषित पारेजस्तै दिनप्रतिदिन बढ्दो बलात्कारका घटनाले नेपाली समाज नै दुर्गन्धित हुँदै गइरहेको छ। यो दुर्गन्ध सधैँको लागि अन्त्य गर्ने हामी सबैको साझा दायित्व हो। अपराधी अपराधी नै हो चाहे त्यो धनी होस् वा गरिब, नेता होस् वा कार्यकर्ता।
त्यसैले आउनुहोस्, हामी सबै विवेकशील नागरिक एकजुट भई बलात्कारीलाई कडाभन्दा कडा कार्बाही दिलाऊँ। आफ्नो छोरीचेलीको अस्मिताको पहरेदार आफै बनौँ, बलात्कारीलाई फासी नै चाहिन्छ भनौँ।