प्रिय आत्मन्!
तीजको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना।
हजुरहरुलाई मैले तीज जस्तो महत्वपूर्ण दिवस सम्झनाको रुपमा छोडेकी छु। सदियौंदेखि तपाईंहरुले मनाउँदै पनि आउनु भएको छ। नारदको सल्लाहमा विष्णुसँग विवाहको तयारी चल्दै गर्दा आफ्नो प्रेम प्राप्तिको लागि मैले चालेको क्रान्तिकारी कदमको बारेमा सुन्नुभएकै होला।
मैले आफ्नो लागि आँफैले रोजेको योग्य व्यक्तित्व प्राप्त गरेको दिन हस्ता नक्षत्रले युक्त भाद्र शुक्ल तृतीयाको दिन थियो। यही तृतीयाको ब्रत नै तीज ब्रत हो। हामी मध्ये धेरैले भ्यालेन्टाइन डे मनाउने गरेका छौं होला। त्यो भन्दा पनि धेरै महत्वपूर्ण दिन तीजको दिन हो, किनभने यो दिन संयोगको दिन हो। प्रेमको वास्तविक जितको दिन हो। छोरीमाथि लादिएको वैवाहिक दबाव विरूद्धको दिन हो। मेरै योजना मुताबिक आली अर्थात् संगिनीहरुद्वारा अपहरित भई लुकेर शिवजीको आराधना गरेको हुनाले यो दिनलाई हरितालिका पनि भनिन्छ।
प्राचीन कालदेखि नै हिमवत्खण्डमा बस्ने आमा दिदीबहिनीहरूले भगवान् शिवजीको आराधना गर्दै आएका छन्। विशेष चाडपर्वहरूमा पनि भगवान् शिवजीको आराधना हुने पर्वले नै अधिक महत्व बोकेको देखिन्छ। नारीहरूले कहिलेदेखि शिवजीको आराधना गर्न सुरू गरे? यकिन गर्न नसकिए पनि सतीको पुनरवतारको रूपमा हिमालय पर्वतकी छोरी भई जन्मेर शिवजीलाई पतिको रूपमा प्राप्त गर्नको लागि मैले कठोर तपस्या गरेकी थिएँ। सती वियोगले विक्षिप्त एवं विरागी बनेका शिवलाई अनुरक्त गर्न मैले ७४ वर्षभन्दा बढी कठोर साधना गरेँभन्दा तपाईहरुले जिब्रो टोक्नु पर्ने कुनै कारण देख्दिनँ। मेरा मर्मान्तक पीडाहरुलाई भविष्योत्तर पुराणको हरगौरी संवादमा तथा मार्कण्डेय पुराणको केदारखण्ड अन्तर्गत गरिएको छ। जे होस् मेरा पिताले मेरो लागि किनिदिएका तमाम गहना र बहुमूल्य कपडाहरुको मैले कुनै मूल्य देखिनँ। ब्रतमा बाधा होला भनेर महिनौँदेखि पानी पनि खाइन। केवल मेरो सुकेकेा ज्यान र अड्डी, अनि मलाई हराएकी सम्झेर पिरोलिएका बाबाआमाको छट्पटिलाई देखेर संगिनीहरुले वेदनाका पोकाहरु खोले। गाए। मलाई स्वतन्त्रता औधी प्यारो लाग्छ।
पौराणिक कहानीको वर्णनले मात्र समाज सापेक्ष सन्देश नजान पनि सक्छ। अर्कोतर्फ स्रष्टाको (जसले पुराणादि ग्रन्थ रचना गरे तिनको) व्यङ्ग्यार्थ विपरीत भई अन्यथा हुने भय पनि रहन्छ। जे होस् जस्ताको तस्तै पुराण रट्नुले वा तदनुरूप चल्नुले संस्कृतिको स्वादमा नयाँपन थप्दैन। न त वाञ्छित परिवर्तन नै ल्याउन सकिन्छ।
मैले किन शिवलाई मन पराएँ?
हामी नारीहरूमा प्रेमलाई सम्मान गर्ने प्रवृत्ति हुन्छ। पुराणमा दक्षपुत्री सतीको शिवप्रतिको आस्था र श्रद्धा, मेरो आशा र विश्वासको माध्यमबाट स्त्रीमनको सत्यप्रियता र प्रेमप्रतिको अटुट आस्था देखाइएको छ। मैले किन त्यति मरिहत्ते गरेँ शिवलाई पाउन? यो मेरो वैयक्तिक रोजाई हो। के म पहिलाकी सती नै हुँत? योग साधनाको त्यो समयमा पूर्वजन्मका घटना थाहा पाउनु सामान्य कुरा थियो। चेतना पनि शक्ति हो र यसको स्थायी नाश हुँदैन केवल रूपान्तरण मात्र हुन्छ भन्ने कुरा योगको आधारभूत सिद्धान्त हो। शिवले मलार्ई आफ्नी अर्धाङ्गिनी स्वीकार गरे। आफूले इच्छाएको व्यक्तिले भावनाको कदर गर्यो भने त्यो भन्दा खुशिको कुरा अरु के हुन सक्छ?
शिवको स्वरूप
पूर्वीय दर्शनमा कल्पना गरिएको शिवको साकार रुप विशेष विचित्रताले युक्त छ। त्रिशूल धारणको अर्थ आध्यात्मिक आधिदैविक र भौतिक तीन प्रकारका दुःखको नाश गरी सहजानन्दको बोध गर्नु भन्ने हुन्छ। पुरक, कुम्भक र रेचक तीन प्रकारका प्रणायाम गरी स्वस्थ बन्नु भन्ने अर्थ पनि हुन सक्दछ। डमरूले संगीतलाई संकेत गर्दछ। मेरा शिव यतिविधि नाट्यप्रिय छन् कि ताण्डव गीतले प्रभावित भई माग बमोजिम मलाई नै रावणको हातमा सुम्पिदिए। अनाहत (हृदयमा कुनै सामग्री विना उत्पन्न हुने संगीत) संगीत सुन्नेहरुमा शिव जस्तो योगी न भयो न हुन सम्भव छ। शिवजीले भस्म धारण गरेर आफूलाई लोभ रहित एवं अनाशक्त प्रमाणित गरेका छन्। ज्ञान, ज्ञान अनुरूप आचरण एवं अदम्य साहस यी तीन कुरा जीवन सपार्ने सूत्र हुन। शिवजीको त्रिपुण्डले यही बुझाउँछ। महादेवले शिरमा धारण गरेको गंगा र चन्द्रमाको विषयमा पुराणमा रोचक कथा लेखिएको पाइन्छ। गंगा निरन्तरताको प्रतीक हुन्। गंगाजल समान अनवरत रूपमा मेहनत र श्रम गर्नुपर्छ भन्ने सन्देश एकातिर छ भने अर्कोतिर शीलको कुरा छ। ढल मिसाए पनि, फोहरहरू फाले पनि नदीले हरेक चीजलाई समुद्रमा लाने भरमग्दुर प्रयास गर्दछ।
फोहरको संयोगले धमिलो देखिए पनि पानी जुन हाइड्रोजन र अक्सिजनको अणुयोग हो त्यो त रहन्छ नै। त्यही नै गंगा हो। गूढ अर्थबाट हेर्दा गंगा चित्तको प्रतीक हुन्। बुद्धले सुभूतिलाई चित्तको बारेमा बुझाउँदा नदी र बालुवाको धेरैपटक दृष्टान्त दिएका छन्। शीतलताको प्रतीक मानिने चन्द्रमाले शान्ति र धैर्यताको पाठ सिकाउँदछ। यसबाट व्यक्ति सौम्य धैर्यवान् एवं चेतनशील हुनुपर्छ भन्ने अर्थ लाग्दछ। शिवले वासुकि नाग धारण गरेर सृष्टिका हरेक प्राणीप्रति समभाव मात्र प्रकट गरेका छैनन। अपि तु सर्प जस्तो प्राणी पनि पारिस्थितिक पद्धति कायम राख्न उपयोगी छ भन्ने कुरा बुझाउँछन्। योगको दृष्टिकोणबाट हेर्दा नागले कुण्डलिनी शक्तितर्फ संकेत गर्दछ। सर्पको प्रयोगबाट अनेकैां रोगहरू समेत निको भएका उदाहरणहरू समाजमा प्रशस्तै भेटिन्छन्। अहिलेको भाषामा भन्नुपर्दा शिव नै पहिलो डक्टर हुन्। रूद्राक्षको माला तथा जटाले बुद्धिलाई तीक्ष्ण बनाउने उपाय तर्फ इङ्गित गर्दछन्।
शिवले कैलाश अर्थात् हिमाललाई हाम्रो बासस्थान स्वीकारेका छन्। यसबाट उनको सौन्दर्यप्रियता र प्रकृति प्रेमको भावना स्पष्ट हुन्छ। काला पत्थरमा एकदिन बैठक बस्दा विश्वको ध्यान आकर्षित हुन्छ तर हाम्रो परिवारको यो सन्देशलाई विश्वले किन सुन्दैन? नारीहरूले विशेषतः श्रावण महिनामा हरियो चुरा, मेहन्दी धारण गरेर शिवजीको ब्रत बस्नुको अर्थ हिमालयको संरक्षणसंग पनि सम्बन्धित छ। श्रावणको व्रतलाई मैले जलवायु परिवर्तन विरूद्धको हरियो आन्दोलनको रूपमा बुझ्ने गरेकी छु।
प्रिय आत्मन्! प्रकृतिसँग समानता राख्ने मेरी छोरीले यौटै प्रेममा विश्वास गर्ने, अरूको दुःख मा दुःखी हुने, संगीतप्रिय, निर्लोभी, साहित्यानुरागी, स्वाबलम्बी, ज्ञानी, आचारवान् एवं साहसी, मेहनती, धैर्यवान्, आशुतोष एवं प्रकृतिप्रेमी कुशल डक्टर, योगी एवं प्रवक्ता आदि सबै गुणले युक्त शिवजीको आराधना गरी आँफूले पनि त्यस्तै पुरुषको कामना गरिन् भने उनलाई म सम्मान गर्नेछु। उनी उपहासको पात्र बन्नेछैनन्। उनी स्वयं देवी हुन्। प्रकृति र पुरुषको सम्बन्धले नै सृष्टिमा सुवास थपेको छ।
पुरूषवादी सोच हावी भएको समाजमा आफू जति नै आचरणहीन एवं दुर्गुणी भए पनि प्रेमिका वा पत्नीले आफ्नै दीर्घायु एवं प्रगतिको लागि व्रत बसेकी छन् भन्दै दाह्री मुसार्ने लाजमर्दो अवस्था छ। यदि अभिमान रहित निस्वार्थ प्रेम छ भने कसले कसको गोडा छोयो? भन्ने कुराले त्यति महत्व राख्दैन।
हामी नारीहरू आफ्नो घर, समाज देश र विश्वमा शान्ति चाहन्छौँ। अनेकतामा एकता चाहन्छौँ। शिव खरानी धस्ने दिगम्बर भएर पनि गरगहनाले धपक्कै बलेकी मसँग अगाध प्रेम छ। मेरो सिंहले शिवजीको गोरूलाई कहिल्यै झम्टँदैन। कुमारको मयूर, शिवजीको सर्प र गणेशको मूसाका बिच अनौठो मित्रता देखिन्छ। यो समाज पनि शिवजीकै घर हो। फरक स्वभाव, आकार र विचारका तपाइँहरु पनि एक अर्काको अस्तित्वलाई स्वीकार्दै सहमति सहकार्य र एकताको भरमा अगाडि बढ्नु राम्रो हुन्छ।