हाकु काले रीसले चुर थियो। दुवै हातले टाउको मिच्दै र यताउति गर्दै भनभनिएको थियोः ‘तिमीहरुले गरेर खादैनौ केटा हो। तिमीहरुलाई मैले के ल्याउन भनेको थिएँ। यो केके ल्याएर आयौ? बंगुरको मासु, यो गनाउने झोल, अनि यो चुरोट, खैनी। चुरोटखैनी स्वास्थ्यका लागि हानीकारक छ भन्ने यत्ति कुरा पनि थाहा छैन तिमीहरुलाई? कस्ता गजडी केटाहरु फेला परेछन् भन्या।’
‘हामीहरु कहाँ गएका थियौ र? यो गोफ्लेले मैले ल्याएर आउँछु भनेर एक्लै गएको थियो,’ पाण्डेले भन्यो। ‘मोटो बंगुरको मासु खाई खाई यसको बुद्धि पनि मोटो भएको छ। दिमाग लगा पासा, दिमाग, नत्र तँ सधैभरि यस्तै गोफ्ले नै रहने छस्?
रक्सीचुरोट खाईस भने तँ खत्म हुन्छस्। जीवनमा केही गर्ने हो भने रक्सीचुरोट होइन, दिमाग बढाउने खुराक खाने गर्। बलले मात्र होइन बुद्धिले पनि काम गर्ने गर्।’ हाकु कालेले सम्झाउँदै भन्यो।
‘भैगयो नि त म ल्याएर आउँछु।’ बीचमा प्याच्च मने बोल्यो। ‘हुँदैन, हुँदैन। यही मोटो बुद्धिलाई नै पठाउनुपर्छ। नत्र हाम्रा बैंक लुट्ने योजना नै सब चौपट हुन्छ। बैंक लुट्न जाँदा यो भुलक्कड गोफ्लेले बैंकको क्यान्टिनमा पसेर भुटुवा खाना थाल्यो भने के हुन्छ थाहा छ तिमीहरुलाई? सीधै जेल जानुपर्छ। मसँग काम गर्ने भए दिमागले काम गरौ केटा हो, नत्र, तिमीहरु जस्ता केटाहरु त म गल्ली गल्लीमा पाउँछु।’
‘फेरि एक चोटि भन् त सही। अब सत्ते सत्ते बिर्सिन्नँ।’ गोफ्ले बोल्यो। गोफ्लेको कमस सुनेपछि हाकु कालेले भन्यो, ‘ल सुन्, बाइक लिएर जाने अनि माछा, चना, पालुंगो, अमलाको मुरब्बा, बदाम, दूध, मख्खन, किताब र स्ट्रेबरि लिएर आउने।’
‘ल ल अब त मैले सम्झेँ, बाइक लिएर जाने अनि माछा, गोलभेडा, सुर्ती...’ गोफ्लेले फेरि बिर्सियो। ‘हत्तेरिका फेरि बिर्स्यो यसले?’ हाकु कालेले रिसले टाउको समायो। ‘यो यस्तै छ हाकु, लेखेर दिए भैहाल्यो नि?’ ‘यो नरेको बुद्धि हेरन बुद्धि। यसको बुद्धि पनि एक पैसाको छैन, बैंक लुट्ने बेलामा पनि यसरी नै के के गर्ने भनेर लेखेर लान्छस्?’
‘अनि के गर्ने त?’
‘ए पाण्डे ! तैले उल्लूले जस्तो के टुलुटुलु हेरिरहेको छस्? सिका यसलाई? तैले त पढेको छस् नि?’ ‘सक्दिन मैले यसलाई सिकाउन। कसरी सिकाउने?’ पाण्डे ठुस्सियो। ‘यो पनि मैले नै सिकाउनु पर्ने? पढेको मानिसलाई पनि कसरी पढाउने भन्ने कुरा थाहा छैन रे? यो के सुन्नु पर्यो मैले? त्यही भएर त तैले कही काम नपाएको?’ हाकु बोल्यो। ‘तँ दिमाग लगाउनेले आफै सिकाए भैहाल्यो नि?’ पाण्डे च्याठि्ठयो।
‘हेर गोफ्ले! मैले एउटा टेक्निक सिकाउँछु, तब पनि सम्झिन सकिनस् भने तँ सीधै आउट भइस्, बुझिस्? ल अब राम्रोसँग सुन्।
एउटा बढेमानको माछाले मोटरबाइक चलाएको छ। आँखा बन्द गरेर यो कल्पना गर्। गरिस्?’ हाकुले सोध्यो। ‘गरेँ।’ गोफ्ललेे आँखा बन्द गरेर भन्यो। ‘अनि भन्, चना कसले बढी मन पराउँछ?’ ‘घोडाले।’
‘ठीक कुरा गरिस्, अब कल्पना गर् कि बाइक चलाएको माछा घोडासँग ड्याम्म ठोकिन्छ। घोडा उछिटि्टएर पालुंगोको बारीमा पल्टिन्छ। पल्टिएको घोडाले अमलाको रुख समाएर उठ्न खोज्दछ। रुख हल्लिन्छ। रुखबाट बरर्र बदामका ठूल्ठुला दानाहरु खस्छन्। बदामले लागेपछि घोडा कराउँदै उठ्छ। उसले एउटा खुट्टाले दूधको पाउच र अर्को खुट्टाले मख्खनको डिब्बा समाएको हुन्छ। अनि ऊ एउटा बढेमानको किताबमाथि बस्दछ र राताराता स्ट्राबरि खाना थाल्दछ।
कल्पना गरिस्?’
‘गरेँ, गरेँ।’
‘ल अब भन त? अब तैले केके ल्याएर आउछस्?’ ‘बाइक लिएर जान्छु, अनि माछा, घोडा, ए होइन, चना, पालुंगो, अमलाको मुरब्बा, बदाम, दूध, मख्खन, किताब र स्ट्रेबरि लिएर आउँछु।’
‘आबुई, मलाई त डरलाग्यो, यस्तो मोटो दिमागले पनि काम गर्यो भन्या। अब त हाम्रो काम होला जस्तो छ खत्री।’ हाकु खुसी भयो। ‘हाकु तेरो टेक्निकले त कमाल नै गर्यो।’ खत्रीले हाकुलाई धाप लगायो। ‘त्यही त खत्री, यसको यो मोटो बुद्धिले त काम गर्यो भने यो हाकुको छोराले त अब चमत्कार नै गर्ने छ। अब त मैले मेरो भुन्टेलाई पनि यसरी नै पढ्न सिकाउने छु र डाक्टर बनाउने छु।’
‘यी भुत्रो बनायौ तिमीले छोरालाई डाक्टर? बैंक लुटेर तिमीले छोरालाई डाक्टर होइन, डाँकाको छोरा भने पक्कै बनाउँने छौं। तिमीले अरुलाई दिमाग लगा पासा, दिमाग लगा भन्छौ, तर खै तिमीले दिमाग लगाएको? फिल्म हरेर फिल्मको नक्कल गर्न खोजेर हुन्छ? चोर, डाँका, हत्यारा तथा ठगहरु एक न एक दिन अवश्य जेल जानुपर्छ भन्ने यत्ति कुरा पनि थाहा छैन तिमीलाई? चाल्स सोभराज त जेलमा सढिरहेको छ भने तिमीहरु कुन खेतका मूला हौ र? तीन तीन वर्ष जेलको हावा खाएर अझ तिम्रो सुद्धि पलाएको छैन?’ काखमा भुन्टेलाई लिएर पुतली आइन्।
‘हरे, यो फेरि कहाँबाट आइ यहाँ?’ हाकुले टाउको समायो। ‘मैले लिएर आएकी हुँ।’ ‘आयशा तिमी?’ पाण्डे चकित पर्यो। ‘हो पाण्डेजी म, तिमीमाथि मैले कति भरोसा गरेकी थिएँ। तर तिमी यस्तो रहेछौ? छिः।’ आयशाले आँसु पुछ्दै भनिन्। ‘आयशा मेरो कुरा त सुन।’
‘मलाई हात नलगाऊ, म तिम्रो कुनै कुरा सुन्दिनँ।’
‘हो यार, भाउज्यु र आयशाले ठीक भनेका छन्। हामीले हाम्रो बल र बुद्धिलाई सही काममा लगाउनुपर्छ। लुटेर होइन मेहनतको पसिना बगाएर कमाउनुपर्छ। मेहनत गर्याैं भने खेतमा पनि लहलह सुन फल्दछ।’ पाण्डेले पुतली र आयशाको समर्थन गर्यो।
‘तैले पहिलो पटक सही कुरा गरिस् पाण्डे।’ हाकु काले अगाडि भन्यो, ‘हामी पाँच जना मिलेर मेरो त्यो होटललाई बिस्तार गरौं। दिमाग लगाएर मेहनत गरौं। बल र बुद्धि लगाए पछि गैरकानूनी काम नगरेपनि पैसा कमाउन सकिन्छ। धेरै पैसा कमाएपछि बैंक नै खोलौलाँ नि। अनि बैंक डकैत होइन, बैंकको मालिक नै बनाउला नि कसो?’ ‘कुरा एकदम सही हो। हात मिला।’ नरेले हात अगाडि बढायो। पाँचै जनाले हात मिलाए।
‘हामीले चाहेको पनि त यही हो।’ पुतली र आयशा, दुवै खुसी भए। पुतलीलाई खुसी देखेर हाकु कालेले पुतलीको नाक समात्दै जिस्कायो, ‘यो मेरो पुतलीको नाकमै रिस झुण्डिएको छ, खुसी पनि नाकमै झुण्डिएको छ। हेर त कसरी मुस्कुराइकी? आबुई म त मर्छु कि क्या हो गाँठे?’