तीज आउन एक महिनाअघि नै ममीको प्रस्ताव थियो, “छड्के तिलहरी हाल्ने कि?”
“मलाई मन पर्दैन।” मेरो जवाफ खस्न नपाउँदै, “जन्तर मन पर्छ त?” ममीको अर्को प्रस्ताव।
“ममी मलाई सुन होइन, सुन ढल्काउने संस्कृति मन पर्दैन भन्ने तपाईँलाई थाहा छ नि है?”
ममी सम्झाउन खोज्दै हुनुहुन्थ्यो, “बिहे भएको केटी मान्छे सबैले तीजमा त्यस्तै लगाउँछन्, नलगाउँदा नसकेर नलगाएको भन्ने हुन्छ नि त!”
एक मन त हाँसो उठ्यो, हाम्रा अरु निर्देशित व्यवहारहरु देखेर। आखिर सबै अरुले नै के भन्ला भन्ने त्रासमा हुन्छन्, म कसैलाई केही भन्दिनँ, अरुले पनि केही भन्दैनन् भन्ने विश्वासमा कोही हुँदैनन्।
अघिल्ला वर्षहरुका तीजमा हरियो पोतेमा दोकाँधे पारेर लगाउने छड्के तिलहरीले पिट्ने बजार यो वर्ष जन्तरले पिटेको छ। सक्नेले २२ वा २४ क्यारेटका सुन, नसक्नेले त्यो भन्दा कम क्यारेटका सुन, त्योभन्दा पनि नसक्नेले ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ वाला सुन जलप र त्यो पनि नसक्नेले सुन जस्ता देखिने बजारिया जन्तर लगाउने लहर छ, यसपालि।
तीजमा जन्तर, बेहुलीलाई जन्तर, सासूबुहारी मुख हेराइमा जन्तर, सम्धिनी भेटमा जन्तर, यो वर्षको सुन बजार जन्तरमय छ। जन्तरप्रतिको मेरो विरोध होइन, देखासिकी माथिको हो। अर्कोले लगायो, अर्काले ल्याइदियो, अर्काले पायो हुँदै सुन बजारमा चल्छ लहर गहनाहरुको। अनि यही लहरका बीचबाट चल्छ प्रतिष्पर्धा, सक्ने र नसक्नेको वर्गीकरण, अहं र हिनताबोध ।
मलाई सानो छँदाको एउटा कुरा बेला बखत याद आउँछ। मामाघरमा हुर्किएका म र माइली बहिनीलाई मामाघरको आमाले एकएकवटा पेवा पाठी दिनुभएको थियो। ती बेचेर आएको पैसाबाट बहिनीले सुन जोडिन् र पछि काम पर्दा बेचेर चलाइन्। मैले घर खर्चमै चलाएँ, सक्कियो। त्यसको केही समयपछि मलाई बोध भयो, सुन नलगाए पनि जोड्नु चाहिँ पर्दो रहेछ, काम पर्दा बेच्न सकिन्छ।
तर हाम्रा कति आमा, दिदीबहिनी र भाउजूहरुलाई आफूले लगाएको सुन आफ्नो इच्छा र आवश्यकता अनुसार बेच्ने अधिकार (छुट) हुन्छ? ज्यादै कम मात्र, माइतीले दिएको पेवा वा आफूले कमाएर जोडेको हो भने मात्र। अर्काको अधिनमा चलाउनु पर्ने वस्तुलाई आफ्नो सम्पत्ति भन्न मिल्दैन। यस अर्थमा हेर्दा सुन लगाउने बित्तिकै ऊ सम्पन्नको कोटीमा पर्छ नै भन्ने नहुँदो रहेछ।
अब कुरा आउँछ, सक्नेले त आफैंले किनेर लगाए के भो त? आवश्यक पर्दालाई काम पनि आउँछ। विश्व अर्थ बजारमा सुनको कारोबार जति हुन्छ त्यसको ज्यादै थोरै प्रतिशत मात्रै गहना बनाइन्छन् र लगाइन्छन्। बाँकी सुन ठूलो आर्थिक कारोबारमा इँटका इँट जान्छन्। अझ खोजी पसेरै हेर्ने हो भने पनि गहना बनाइएका सुनभन्दा बाहेकका सुन राख्ने मान्छेले आर्थिक कारोबार बढी गर्छ। किनकि उसको पहिलो र अन्तिम उद्देश्य नै सुनको चलायमानतासँग हुन्छ। तर गहना बनाइएका सुन पैसा जोहोको विकल्प रहेसम्म र उस्तै परे अन्य अचल सम्पत्ति बेचबिखन हुँदासम्म पनि चल्दैनन्।
यस हिसाबले हेर्दा सुनका गहना जोड्नेले परी आउँदा काम लाग्छ भन्नु भनेको आफूसँग भएको पुँजीलाई चलाउन नजान्नेले बहाना बनाउनु मात्रै हो।
अब आउँछु महिलाको गहनायुक्त श्रृंगार संस्कृतितिर। राम्रो बन्ने रहर सबैलाई हुन्छ र सबै युगमा हुन्छ। परापूर्व कालमा फूल, पात, लहरा, काठ, ढुंगा, हाड जस्ता कुरा मानिसका गहना हुन्थे। समय बदलिंदै जाँदा भित्रिएका सुन, हिरा, मोती (जुन जहाँ पायो त्यहीँ पाइँदैन र त्यही नपाइनुलाई आधार बनाएर विश्वमा आर्थिक चलखेल गर्नेहरुले भित्र्याएको प्रयोगवादिता) का रुपमा मानिसले प्रयोग गर्न थाले। यस्ता कुराका महंगो मूल्य नै यिनको महत्व बढाउने कारक बनेका छन्। तर गहना लगाउने जस्ता संस्कृतिभित्र सल्किएको यसको उपयोगितावादले मानिसलाई बाध्यकारी (चलन पछ्याउनेका लागि) बनाएको छ।
त्यसमाथि हरेक सांस्कृतिक पर्व छेक पारेर निकालिने डिजाइन् र व्यवसायिक रुपमा चलेका टेलिभिजन कार्यक्रमहरुमा तिनको प्रयोगले एकातर्फ आम महिलालाई लोभ्याएको छ भने अर्कातर्फ पुँजीवादी अर्थ व्यवस्थाले पैसा कुम्ल्याएको छ। यी सब कुरा नबुझेका हाम्रा आमा दिदीबहिनीहरु त नबुझेरै प्रयोग गर्छन्, नबुझेरै सुझाव दिन्छन्। तर यी सब रणनीति बुझेका समानतामुखी चेत भएका महिलाहरु पनि त्यही छालमा बगेको देख्दा भने उदेक लाग्छ। अनि यी सबै कुरा बुझेर दुनियाँलाई भाषण दिने तर आफ्नै घरका मानिसलाई बुझाउन नसक्ने पुरुष देख्दा धिक्कार लाग्छ।
हामी सबैलाई थाहा छ, जतिजति वर्षहरु थपिँदै छन्, बिवाहदेखि चाडबाडहरुमा खर्चिलो व्यवहार बढ्दै गएका छन। त्यसमा पनि सुनको बढ्दो प्रचलनले कमाउनु र पुर्याउनु पर्नेका ढाड सेकेका छन्। यसले परिवारमा असमझदारी, समाजमा विचलन र देशमा भ्रष्टाचार बढाउन मद्दत पुर्याउँछ। त्यतिबेला समस्याको जड कहाँ थियो भनेर भेट्न गाह्रो पर्छ। त्यसैले देखासिकीको खर्चले होइन, विवेकपूर्ण उपयोगले मानिसलाई सम्मृद्ध, सन्तुष्ट र सफल बनाउँछ। सुन नजोडौं होइन, यसको अधिकतम् आर्थिक उपयोगितामा लक्षित भएर जोडौं, किनकि यसो गर्न सके सम्मृद्ध भविष्य निर्माण हुनसक्छ। जब यसको आर्थिक कारोबार बढ्न थाल्छ, तब यो देखिने रुपमा हुँदैन। त्यसपछि नसक्नेलाई देखासिकी गर्नुपर्ने आवश्यकता हुँदैन र त्यहाँ पनि आर्थिक वचत साथै पारिवारीक समझदारी निर्माण हुन्छ।
गहनाले सुन्दर देखिने कुरालाई भौतिकवादी नजरबाट हेर्दा म पनि नकार्न सक्दिनँ र मलाई पनि सुन्दर देखिन मन लाग्छ। तर बजारमा चलायमान हुनुपर्ने ठूलो अर्थतन्त्रलाई बन्दी बनाइएका गहना लगाएर होइन। विकल्प के त? मैले पनि भेटेको छैन। तपाईँले भेट्नु भयो भने सुझाव दिनुस् है!