'कान्ति, टिचिङ, महाराजगन्ज… कान्ति, टिचिङ, महाराजगन्ज … ,' नेपाल यातायातका खलासी कराउँदै थिए। ड्युटीका लागि ढिला भइसकेकाले म फुत्त चढिहालेँ। भित्र खुट्टा टेक्ने ठाउँ थिएन, निस्सासिने गर्मी थियो। 'खै म कता बसम् त?' मुखबाट निस्किहाल्यो। खलासीले भने, 'बस्ने हैन, उभिने हो, अलिकति भित्र सर्नुस्। ए दाइ, तपाईं यता फर्कनुस् त, तपाईं उता, ल यहाँ ठाउँ भो, यहाँ उभिनुस्।' म चुपचाप उभिएँ, एउटा पोजिसनमा उभिएपछि यताउता फर्कनै मुस्किल थियो, सास फेर्न गार्हो थियो, हरेक सिट प्याक थियो, उभिने ठाउँ पनि ढोकासम्मै भरिएको थियो। तैपनि हरेक ‘स्टप’मा खलासी एक दुई जना चढाइहाल्थ्यो, मान्छेहरु चढिहाल्थे, सबैलाई ठाउँमा पुग्नुथ्यो। 'यस्तो भिड छ, फेरि मान्छे किन चढाको?', 'मान्छे कोचेर मार्न मात्र बाँकी छ', 'यस्तो भिड देखेसी त नचढ्नु नि।' यस्तै संवादहरु कानमा परिरहेका थिए। तर मान्छेहरु चढ्दै थिए, खलासी चढाउँदै थियो, भाँडामा नुन हाल्दा ठोकठाक पारेर अझै थप्या जस्तो उसले थप्दै थियो, हाम्लाई ठोकठाक पारेर। 'टिचिङ, टिचिङ…।' म ओर्लेर भाडा दिई अस्पताल छिरिहालेँ। सोचेँ, बल्ल भिडबाट छुटकारा पाए, बल्ल बचेँ।
इमर्जेन्सी छिरेँ, भिड त त्यहाँ झन ठूलो रहेछ। हरेक बेडमा दुईतीन जना थिए, कोही ट्रलीमा, कोही व्हिलचेयरमा, कोही भुइँतिर बसिर'का। ह्यान्डओभर दिने बैनीले 'दाइ, मलाई कुन बिरामीको के भइर'छ, था छैन है, पुरानो हेर्न भ्याको हैन, नयाँ थप्पेको थप्यै छ' भन्दै फाइलहरुको ठूलो थाक बोकेर ह्यान्डओभर सुरु गरिन्। बिरामीको नाम याद हुने त कुरै भएन, नाम सोद्धै के रहेछ हेर्दै अघि बढ्दै गर्यौ। बीचबीचमा नयाँ बिरामी आउँथे, कागज बोकेर 'हाम्रो बिरामी सिरियस छ ,छिटो हेर्दिनुस् न।' म हल्का बाहिरीरुपमा बिरामीको ‘सिरियसनेस’ हेर्थेँ, बाहिरबार ‘रिफर’ रहेछ भने त्यो कागज हेर्थेँ, अनि “एक्छिन् कुर्नुस्, हामी यो सकेर हेर्छौँ” भन्थे। यसो गर्दागर्दै ११ वटा बेडको ह्यान्डओभर लिन १ घण्टा लाग्यो। बेड पो ११ वटा, बिरामी त ३० जना रहेछन्। ११ बेडमा ३० बिरामी, हरेकका २-३, कसैको ४ भिजिटरका हिसाबले ८०-९०जना मान्छे, अनि नयाँ बिरामी आउँदै थिए। त्यो सानो ‘पहेँलो एरिया’मा कति मान्छे थिए होला आफैँ अनुमान लगाउनुस्। कुनै माछाबजार भन्दा कम थिएन।
ह्यान्डओभर सकेर आफ्नो काम सुरु गरेँ। हरेक नयाँ बिरामी हेर्न कम्तीमा पनि १०-१५ मिनेट दिनुपर्ने हो, सबै समस्या सुन्नुपर्यो, राम्ररी जाँच्नुपर्यो, पुरानो रोग हो भने पहिलेका सबै कागज, रिपोर्ट हेर्नुपर्यो। औषधी लेख्नुपर्यो, जाँचहरुको फर्म भर्नुपर्यो। तर म कुनै पनि बिरामीलाई मुस्किलले ५ मिनेट दिइरहेको थिएँ। समस्या सोद्धासोद्धै अलिअलि जाँच गरेर भ्याइसकेको हुन्थेँ। नियमले त बेडमा सुताएर पेट जाँच्नु भन्छ, सुताएर, बसाएर छाती सुन्नु भन्छ। तर यहाँ त्यो सम्भवै थिएन। म व्हिलचेयरमै बसेको अवस्थामा पेट छामछुम पारिरहेथे, भुइँमा बसेर प्रेसर लिइरहेको थिएँ। मलाई ‘यो गर्नुछ, त्यो गर्नुछ’ भन्ने दिमागमा आइरहेको हुन्थ्यो तर सबै सम्भवै हुन्थेन। गर्न सकिने र छुटाउनै नहुने मात्र गरिरहेको थिएँ। आफ्नो बिरामी हरेकलाई ‘सिरियस’ लाग्छ, आफ्नो पहिले पालो आओस् भन्ने लाग्छ, 'मेरो बिरामी हेर्दिनुस् न, हेर्स्योस् न, हेर्दिबक्स्योस् न' सम्म नि सुनिन्थ्यो। मैले उनीहरुको खिसी गरेको हैन, छिटो जाँच्न पाए भन्ने उनीहरुको बाध्यता हो, कुराउनु मेरो बाध्यता हो। कोही 'हाम्रो बिरामी बाहिर एम्बुलेन्समा छ, भित्र ल्याउनलाई ट्रली, व्हिलचेयर केही पाइएन, कसरी ल्याउने होला' भनेर सोध्न आउँथे। 'भका सबै सकिसके, यहाँ भित्रको अवस्था यस्तो छ, अझै यही ल्याउनुहुन्छ? उपचार त गर्ने तर कहाँ राखेर गर्ने?' बाहिरबाट कत्रो आशा लिएर आएका उनीहरुको लागि मेरो पहिलो बोली नै रुखो भएझैँ लाग्थ्यो। 'टाढाबाट आएका छौँ, जसरी नि मिलाइदिनुपर्यो डाक्साब।' सायद उनीहरुलाई लागेको होला, मैले चाहेरै त्यसो भनेको हुँ, चाहेरै बिरामी राख्न नखोज्या हुँ, मैले चाहेँ भने बेड मिलाउन सक्छु। कास् त्यस्तो हुन्थ्यो। 'ल ल यताउता खोज्नुस्, बिरामी भित्र ल्याउनुस्।'
त्योभन्दा खेरि छेउमा अरु बिरामीका भिजिटर उभिर’का हुन्छन्, उता बोलेको सकिन नपाउँदै भन्छन्, 'डाक्साब, बिरामीलाई त साह्रै गार्हो भो, भर्ना गर्नुपर्ने भन्नुहुन्छ तर भर्ना भको हैन, मिल्ने भए छिटो भर्ना गरम् न।' उनलाई लाग्यो होला, मैले भर्ना रोकेर राखेको छु, सबै बिरामीलाई यसरी दु:ख दिने काम मेरो इच्छाले भइरहेको छ।
म सौम्य भएर बोल्छु, 'बिरामी धेरै हुँदा तपाईंलाई नि गाह्रो, हामलाई नि गाह्रो, अनि किन वार्ड नपठा’होला भन्नुस् त? सम्बन्धित डाक्टरले हेरेको छैन, हेरेर बेड छ भने मात्रै भर्ना हुने हो।'
'उहाँ कतिखेर आउनुहुन्छ त?'
'उहाँ यहीँ हुनुहुन्छ, ऊ त्याँ बिरामी हेर्दैहुनुहुन्छ, एउटा एउटा गरेर, एकछिनमा तपाईंको पालो आउँछ।'
त्यत्तिकैमा अघिको बिरामी भित्र आइपुग्छ, 'डाक्साब कता राखौँ?'
म जिल्ल पर्छु, ११ वटै बेड नियाल्छु, हरेकमै कम्तीमा दुइटा बिरामी हुन्छन्। अलि कम सिकिस्त, बस्न सक्ने विरामीहरुलाई एउटामा तीनवटा राखेर नयाँ उठ्न नसक्ने बिरामीको लागि ठाउँ निकाल्छु, 'ल यहाँ मिलेर बस्नुस्।' मलाई आफू दिउँसोको नेपाल यातायातको खलासीभन्दा फरक लाग्दैन। नाम, ठाउँ मात्रै फरक, काम झन्डैझन्डै उस्तै। मलाई बिरामीको वास्तविक उपचारमा भन्दा नि भिड मिलाउन, बिरामीको लागि ठाउँ बनाउन, काउन्सेलिङमा बढी समय खर्चिनु परिरहेको थियो।
एक्छिनमा मेडिसिन, सर्जरीको गरेर ६-७ जनाको भर्नाको कागज तयार हुन्छ। भर्ना भएकाहरुको लागि त बाढी आ'को खोला तरेझैँ भयो होला। तर अरुको कथा त उस्तै हो। समुद्रबाट ४-५ थोपा पानी झिकेजस्तै लागेको थियो मलाई, इमर्जेन्सीको भिड जस्ताको तस्तै थियो। थरिथरिका बिरामी थिए, कोही सुदूरपश्चिमबाट आएका, कोही सुदूरपूर्वबाट आएका, कोही एम्बुलेन्समा आएका, कोही हेलिकप्टर नै चार्टर गरेर आएका, कोही पहुँच भएका (जसका लागि ३-४ ठाउँबाट फोन आइरहेको हुन्थ्यो), कोही केही नबुझ्ने, सोझासाझा, कोही सिधै टिचिङ आएका, कोही महंगा प्राइभेटमा केही दिन बसेर खर्च धान्न नसकी यता ल्याएका। सबैको एउटै उद्देश्य थियो, आफ्नो बिरामी भर्ना गरेर राम्रो उपचार मिलोस् भन्ने। हाम्रो नि उद्देश्य त्यही नै हो। तर डाक्टर, नर्सको संख्या, बेडको सीमित संख्या आदिका कारण चाहेर पनि राम्रो सेवा दिन सकिरहेका थिएनौँ।
कति बेला त लाग्छ, फिल्महलमा जस्तो सिट सकिएपछि हाउसफुल बोर्ड राखेर इमर्जेन्सीको ढोकै थुनिदिन पाए जाती हुन्थ्यो। कमसेकम भित्र भएका बिरामीलाई त राम्रो केयर दिन सकिन्थ्यो। तर अस्पतालको इमर्जेन्सी जस्तो कुरा बन्द हुनु पनि हुँदैन। इमर्जेन्सीमा बेड नभएर बिरामी ढोकैबाट अन्त रिफर गर्दा बिरामीलाई बेफाइदा बढी हुन्छ, उपचारमा झन ढिलाइ हुन्छ भनेर देखिएको छ।
वार्डहरु ‘फुल’ हुनु र इमर्जेन्सी ‘फुल’ हुनु भन्या फरक कुरा हुन्। वार्ड ‘फुल’ हुनु भनेको हरेक बेडमा एउटा विरामी हुनु हो। तर इमर्जेन्सीमा हरेक बेडमा अटाउनसक्ने जति बिरामी (एउटा बेडमा ३-४जनासम्म) राखेर ट्रली, व्हिलचेयर, कहिलेकाहिँ भुइँमा पनि सबै भरिएपछि मात्रै इमर्जेन्सी ‘हाउसफुल’ हुन्छ।
इमर्जेन्सीमाधान्नसकिनेभन्दाबढीबिरामीकोकारणलेकेकस्ताअसरपर्नसक्छन्?
इमर्जेन्सी वास्तवमा इमर्जेन्सी उपचार दिन र भर्ना गर्नुपर्ने भए भर्ना गर्न, नभए डिस्चार्ज गर्नका लागि बनाइएको हुन्छ। अन्तर्राष्ट्रिय स्तरमा ८ घण्टाभन्दा बढी इमर्जेन्सी बस्नुलाई ‘एक्सेस ब्लक’ भनिन्छ। बिरामी त्यो भन्दा धेरै समय बसेपछि उसको इमर्जेन्सीमा गरिने उपचारभन्दा वार्डमा गरिने उपचार सुरु हुनुपर्छ। भर्ना हुन नसकेर इमर्जेन्सीमै रहेका बिरामीहरुको वार्ड, आइसियुमा गरिनुपर्ने उपचार इमर्जेन्सीका डाक्टर, नर्सले गर्नुपर्ने अनि हरेक क्षण नयाँ बिरामी नि इमर्जेन्सीमा थपिँदै जाने भएपछि बिरामीको उपचारमा ‘कम्प्रमाइज’ त हुन्छ नै। अध्ययनहरुले देखाएअनुसार यस्तो अवस्थामा बिरामीको समस्याहरुको छिटो उपचार नहुने, रोग पत्ता लाग्न ढिलो हुने, उपचार लम्बिने, खर्च बढ्ने, नयाँ र वास्तविक इमर्जेन्सी बिरामीलाई चाहिँदो समय, ध्यान दिन नसकिने हुन्छ। त्यस्तै बिरामीमा आएका, आउनसक्ने कम्प्लिकेसनहरुको समयमा उपचार हुन पाउँदैन। बिरामीका कति समस्याहरु छुट्न जान्छ, औषधीहरु समयमा पाउन सक्दैनन्, जसले रोग झन् बढ्न जाने र मृत्युको कारण बन्नसक्ने नि हुन्छ।
यस्ता समस्याहरु मैले आफैँले पनि भोगेको छु। बिरामीको भिडका कारणले नयाँ हेरेर भ्याउनै सकिन्न, पुरानोको समस्या सुन्न चाहेर पनि फुर्सद हुन्न। यस्तोमा कतिपटक त भिजिटरले 'मेरो बिरामी बोल्न छोड्नु भो, चिसो हुनुभो' भनेपछि हेर्न जाँदा मुटुको धड्कन, सास केही हुन्न, अनि ‘सिपिआर’ सुरु गर्नुपर्छ। एउटा बिरामीको छाती थिचिरहेको हुन्छ, त्यही बेडमा सँगै अर्को बिरामी सुतिरहेको हुन्छ। अर्को बिरामीलाई कस्तो असर पर्छ होला? कस्तो अमानवीय कामझैँ लाग्छ। एउटै बेडमा फरक फरक रोगका बिरामी बस्दा, सँगै सुत्दा एउटाको सरुवा रोग अर्कोलाई सर्न सक्छ, शारीरिक, मानसिक कष्ट बढ्छ, बिरामीलाई त सुबिस्ता दिनुपर्ने झन अफ्ठ्यारो बढ्छ। के यो चैँ लापरवाही हैन? एउटा रोगको उपचार गर्न आउँदा अर्को रोग बोकेर गयो भने दोष कस्को? अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपचार भएन भन्ने, लापरवाही भयो भन्नेहरुले यो पक्षलाई खोइ हेरेको? ग्राउन्ड लेभलमा काम गर्ने डक्टर, नर्सहरुलाई मात्र यो कुरा किन छुटाएको, यो कुरा टाइममा किन नभएको, बिरामी कसरी मर्यो भनेर दोष थोपरेर समस्याको समाधान हुन्छ?
किनयस्तोभिडहुन्छ? कसरीकमगर्नसकिएला?
धेरैलाई यस्को कारण बेड संख्या नपुग्नु, इमर्जेन्सी सानो हुनु भन्ने लाग्नसक्छ। तरयसकोवास्तविककारणइमर्जेन्सीभित्रभन्दानिइमर्जेन्सीबाहिरहुन्छ। एउटा कारण त भर्ना हुनका लागि हरेक दिन वार्डहरुमा उचित मात्रामा बेड खालि नहुनु हो। हरेक दिन डिस्चार्ज भएर बेड खालि नभएसम्म इमर्जेन्सीमा भर्ना गरिनुपर्ने बिरामीहरु त्यहीँ अड्केर बसिरहन्छन्, अनि इमर्जेन्सीमा हरेक क्षण नयाँ थपिइरहेको हुन्छ, जसले भिड सम्हालिनै नसकिने गरी बढी हुन्छ। वार्डमा छिटो राउन्ड भएर छिटो डिस्चार्ज भएर बिरामीले छिटो बेड खाली नगर्दिनु अर्को कारण हो। तर यो डाक्टर, नर्स, एटेन्डेन्ट (सहयोगी), क्यासियर, बिरामीका भिजिटरहरु सबैको संयुक्त प्रयासले मात्रै सम्भव हुन्छ। राउन्ड गरेर डिस्चार्ज पेपर बनाएर मात्र के गर्ने, क्लियर गर्ने ठाउँमा लामो भिड हुन्छ, ढिलो त भइहाल्छ। अर्को कारण उचित संख्यामा डाक्टरहरु नहुनु पनि हो। कहिलेकाहिँ सम्बन्धित डाक्टरहरु अप्रेसनमा, वा अन्त कतै व्यस्त हुन्छन् र इमर्जेन्सीमा हेर्नुपर्ने र साधारण उपचार गरेर डिस्चार्ज गर्नसकिने बिरामीहरु पेन्डिङ भएर बस्छन् र भिड बढ्दै जान्छ।
टिचिङ अस्पतालको इमर्जेन्सीलाई सानो भन्न मिल्दैन, इमर्जेन्सीको भुइँतल्लाको ग्रिन, यल्लो र रेड एरिया, माथिको अब्जर्भेसन वार्ड गरेर पर्याप्त बेडहरु छन् र बेड अनुसारको पर्याप्त डाक्टर, नर्स पनि। नमिलेको केभन्दा बेड अनुसारका विरामी भएनन्। यल्लो एरियाको ११ वटा बेडको लागि १ डाक्टर, १ नर्स हाम्रो सन्दर्भका ठिकै हो, तर ११ बेडमा ३० बिरामी बसेपछि लोड धान्न नसकिने हुन्छ। सम्बन्धित वार्डहरुमा पनि पर्याप्त बेड छन्। योभन्दा बढी थप्नु मात्रै समस्याको समाधान हैन। कि बेड अनुसारको डाक्टर, नर्स पनि थप्नसक्नुपर्यो। तर बेड थप्नु भनेको बाटो चौडा बनाएर ट्राफिक जाम घट्छ कि भन्ने सोच्नु हो, जुन हुँदैन। केही समयको लागि हलुका होला, तर बाइक, कारहरुको संख्या लगातार बढेपछि समस्या फेरि आउँछ नै।
अनावश्यक रिफरलहरु आउनाले पनि भिड बढी हुनजान्छ। हुन त देशका सबैजसो शहरहरुमा ठूल्ठूला अस्पतालहरु छन्, तर पनि धेरैपटक ‘पेरिफेरी’मै उपचार गर्नसकिने बिरामीहरु काठमाडौँ, टिचिङ आइपुगिरहेका हुन्छन्। यसमा सम्बन्धित अस्पतालहरुले बिरामीहरुको विश्वास जित्न नसक्नु, विश्वास जित्ने रिस्क लिन नचाहनु, अनि बिरामी, परिवारले पनि ‘पेरिफेरी’का अस्पतालहरुलाई विश्वास नगर्नु, विश्वास गर्ने वातावरण नहुनु जस्ता कारण छन्। टाउकोको चोटको बिरामीले न्युरोसर्जनलाई देखाउन पाए, मुटुका बिरामीले कार्डियोलोजिस्ट भेट्न पाए, प्यारालाइसिसका बिरामीले न्युरोफिजिसियनसँग जँचाउन पाए त धेरै राम्रो। त्यो भनेर सबै त्यस्ता बिरामीलाई काठमाडौँ दौडाइदिनु नि ठीक हुन्न। तर तोडफोड र लापरवाहीको दोष लागिहाल्ने यो जमानामा रिस्क चैँ कल्ले लेला त? न बिरामीहरु त्यो रिस्क लिन सक्छन्, न अस्पतालले लिन्छ, न डाक्टरले। अलिअलि किचकिच भो कि रिफर गर्दियो, आनन्दै। कैलेकाहिँ त झाडापखालाले ‘क्रिएटिनिन’ अलिकति बढ्न पा'को हुन्न, किड्नी फेल भयो डायलाइसिस् चाहिनसक्छ भनेर रिफर हुन्छन्। टाउकोमा सानो चोट लाग्या हुन्छ, केहो केहो भनेर बिरामीका मान्छे आत्तिन्छन्, अस्पतालको पनि कुरा मिल्छ, न्युरोसर्जन खोज्दै काठमाडौँ आइपुग्छन्।
काठमाडौँमै पनि च्याउसरी उम्रिएका धेरैजसो प्राइभेट अस्पतालहरुले साधारण समस्याको त उपचार गर्छन् तर अलिकति कम्लिकेसन देखिन थाल्यो कि, बिरामीको परिवारको केही कम्प्लेन सुन्नुपर्यो कि टिचिङ, वीर पठाइहाल्छन्। सक्नेले त पूरै उपचार नै प्राइभेटमा गराउँछन्, अलिअलि हुनेले प्राइभेटमा उपचार सुरु त गर्छन् तर केही दिनमै खर्च धान्न नसकेर अन्तत: उही टिचिङ, वीरमै आइपुग्छन्। अनि भिड त बढ्ने नै भयो। ‘पेरिफेरी’का अस्पतालहरु, अन्य स्वास्थ्यसंस्थाहरुलाई बलियो बनाउन सक्यो, विश्वासको वातावरण बनाउन सक्यो, अनावश्यक रिफरलहरु घटाउन सक्यो भने पनि टिचिङको भिडलाई केही कम गर्न सकिन्छ कि!
हुन त यो समस्या जुनसुकै देशमा पनि उस्तै हो, बढ्दो जनसंख्या, बढ्दो जटिल रोगहरु, सीमित ‘स्पेसलाइज्ड’ स्वास्थ्यसेवा आदिका कारणले यो आउँदा दिनहरुमा अझै बढ्दै जान्छ। यसलाई अस्पतालको सम्बन्धित निकायले समयमा नै 'सिरियस्ली' समाधानको प्रयास गर्नुपर्छ। साथै सम्पूर्ण स्वास्थ्य निकायहरु (सरकारी, प्राइभेट, काठमाडौँका, मोफसलका)ले नि सेवाग्राहीहरुमा विश्वासको वातावरण बनाउने र कायम राख्ने हरसम्भव प्रयास गर्नुपर्छ।