अहिलेको परिवेश तीजमय भएको छ। लामो दूरी र छोटो दूरीका बसहरुमा भनौ या अडियोका दुकान भएका महलहरुमा, खोला नाला र खेत बारीमा पनि तीजका गीतले छोपेको छ। जता ततै तीजका गीत गुञ्जिरहेको छ। सिँतारा जडेको राता साडीमा मन नै लोभ्याउने गर गहनाले सजिएका महिलाहरु डफ्फा का डफ्फा बाधेर तीज गीत कार्यक्रममा हिडिरहेको देखिन्छ।
पौराणीककालदेखि चलिआएको यस तीज पर्व श्रीमहादेव पति पाउँ भनि पार्वतीले ब्रत बसेको प्रसंगसँग जोडिएको छ। आफ्ना पिता हिमालयले विष्णुसँग विवाह गरिदिने कुरा थाहा पाएपछि दुःखी भएकी पार्वतीलाई आफ्ना संगिनीहरुले अनकन्टार जङ्गलमा लगेर लुकाएका थिए। सोही ठाउँमा पार्वतीले महादेवको पूजा अर्चना गरी व्रत बसी श्रीमहादेवको आराधना गर्दा श्रीमहादेव प्रसन्न भई दिव्यस्वरुप दर्शन दिएको र पार्वतीको मनोकामना पुरा भएको धार्मिक मान्यता रहेको छ।
समयकालसँगै यसको स्वरुप बदलिदै ब्रतसँगै छोरीहरु माइत जाने, दिदी बहिनीहरुसँग भेटघाट गरी 'मिलन उत्सव' को रुपमा मनाई वर्ष भरीका दुःख–सुखका, मनका बह र बेदना अनि पीडालाई गीतको माध्यमबाट पोख्ने पर्वको रुपमा विकसित हुन गएको छ। अहिले सामाजिक न्याय, सचेतना, महिला सशक्तिकरण र जागरणलाई अगाडि बढाउने माध्यमको रुपमा तीज पर्व बनेको छ।
हाम्रो समाजमा त्यो जमाना पनि थियो, ब्राह्मण, क्षेत्री आदि वर्णका मानिसहरु आफ्नो वर्ण अनुसार वेद, पुराण, स्मृति र अन्य धर्मशास्त्रहरुको अध्ययन गरेर अरुलाई पनि पढाउने गर्थे। त्यो आध्यात्मिक ज्ञानको प्रभावबाट आफ्नो कर्म गरी इच्छाएको फल प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता थियो।
हिन्दु विधि विधानमा व्रतको साहित्य विशाल छ। व्रतहरुको श्रेणी विभाजन पनि छ। महिला र पुरुष दुबैलाई व्रतको व्यवस्था गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। केही हरितालिका तीज र वटसावित्री जस्ता व्रतहरु महिलाहरुको लागि मात्र प्रतिपादित गरेको छ। तर अहिले महिलाहरुको हाराहारीमा पुरुषहरुको पनि सहभागीता बेस्सनी देखिएको छ। संस्कृतिको स्वरुप बेला बेलामा बदलिएको पाइन्छ। “धर्मशास्त्र का इतिहास” का अनुसार भाद्र शुक्लपक्षको पञ्चमीको दिन मनाइने ऋषिपञ्चमी व्रत पहिले सबै वर्णका पुरुषहरुका लागि प्रतिपादित थियो, तर अहिले व्रत अधिकांशमा महिलाहरुले मनाउने गर्छन। यदि पत्नीले कुनै कारणवश व्रत राख्न सकिन भने आफ्ना पतिले पनि व्रत राख्ने प्रावधान विधि विधानमा व्यवस्था गरिएको छ। हुन सक्छ समयकालसँगै तीजको महिमालाई आत्मसात गर्दै तीज पर्व पुरुषहरुको लागि पनि मान्य हुन सक्छ।
सांस्कृतिक पक्षमा अलि सम्बेदनशील हुनु पर्ने कुरा समय, काल, परिस्थितिवश संस्कार र संस्कृतिको स्वरुपमा केही फेरबदल हुन्छ र हुँदै आएको पनि छ। तर संस्कार र संस्कृतिमा जुन विकृति र विसंगति भित्रिएको छ त्यो चिन्ताको विषय बनेको छ। यस्तो हुनुमा एकातिर बाहिरी संस्कृतिको प्रभावले केही सघाएको छ भने अर्को तिर हाम्रा जति पनि विधि विधानका धर्म ग्रन्थहरु छन् ति पुस्तकहरुको भाषा संस्कृत भाषाका छन्। संस्कृत भाषा सबैले बुझ्ने लोकभाषा नभएर उच्च शिक्षित वर्गहरुका लागि मात्र बोधगम्य रहेको छ।
साथै पुरोहितहरुले पनि संस्कार कर्मको भाषालाई परिवर्तन गर्नमा कुनै प्रयत्न र चासो देखाएका छैनन् किन भने धार्मिक विधि विधानको रहस्यात्मक र अस्पष्ट प्रकृतिको सुरक्षाको लागि सदा व्यग्र नै रहेका छन्। यसले गर्दा जुन कुरा बोधगम्य हुँदैन त्यसबाट कर्ताहरुमा लोलमति आउनु स्वभाविक नै हो। आजकालका पण्डितहरुको पनि त्यही हाल छ, न धार्मिक ग्रन्थहरुको र धार्मिक विषयमा गहन अध्ययन गर्छन् न मर्मज्ञ ज्ञानी पण्डितसँग नै सोध्ने गर्छन्। यही कारणले अर्कै अर्कै व्याख्या गर्ने गर्छन्। यो राम्रो हुन्थ्यो कि धार्मिक विषयमा गहन अध्ययन गरेर मात्र धर्म–निरुपण तिर लागोस्।
अहिले सबै जसो संघ संस्थाहरु तीजमय भएका छन्। कोही छुटेको छैन होला। विभिन्न सामाजिक संघ संस्था, विद्यालय, विभिन्न दलका जनवर्गीय संगठनहरु, यहाँसम्म कि वैदेशिक रोजगारसँग आबद्ध व्यवसायीहरुको संस्थाहरु पनि तीज पर्वको महिमालाई आत्मसात गर्दै तीजको कार्यक्रमको आयोजना गरिरहेका छन्। 'सेवा नै धर्म हो' भन्ने उच्च लक्ष्य लिएको नेपाल रेडक्रस सोसाइटीले पनि दिदी बहिनीहरुको 'स्नेह मिलन' कार्यक्रमको रुपमा तीज कार्यक्रम गरेर दिदी बहिनीहरुका बीच 'सिस्टर रिलेसन' को मजबुत गाँठो पार्ने काम गरेको छ। 'पीडितलाई सहयोग गरेर साथी उद्धार गरौन। सेवा नै धर्म हो भन्ने मान्यता अगाडि बढाऊन्।' समयसँगै यी सचेतनामूलक तीज गीत राम्रा छन् नि। तर जुन विकृति र विसंगतिलाई अँगाल्दै अहिलेका केही गीतहरु सुन्नमा आएका छन् त्यसलाई प्रतिकार गर्न अर्को तीज गीत कार्यक्रम भएको समाचार पनि संञ्चार माध्यम आइरहेको छ।
'कति राम्रो पियालो पटुकी ,रानीघाट तरेर जाने हो सटुकी...., सललल म बगी आम्ला पातलो टुनीको डुँगा मै....., आमा तिम्लाई पिर पर्यो भने भन्ने छैन भदौरे भेल पनि....' आमा प्रतिको अगाध माया समेटिएको गीत, हाम्रो समाजमा बहुविवाहलाई पहिले सामाजिक समर्थन थियो। 'मर्दको सातवटी' भन्ने म्यानइगो थियो। तर महिलाहरुलाई त्यो सैन थियो। यो पीडालाई “....सातवटी सौता बाबा पैतालुको धुलो।, एक्लो झट्केलो भएको छ मुटुको किलो...' भाकाले उजागर गरिएका तीज गीत, त्यस बखत आफ्नो देशमा केही विकास नभएको र सरहद पारि कम्पनी सरकारले विकास गरेको टुलुटुलु हेर्नु पर्दाको बेला 'हाम्रा राजाले के जानेका छन् र?....., अँग्रेजी राजाले सडकुमा रेल धुमाउँछन्.....' भन्ने भाकाका गीतहरु जब थपडीको तालसँगै गुञ्जिन्थ्यो निशाको नीरवतालाई चिर्दै पल्लो डाडाँमा ठोक्किएर प्रतिध्वनित हुँदै ओल्लो डाडाँमा बस्नेहरुको कानमा ती स्वरले स्पर्श गर्थ्यो, मन नै खुलुलुलु पार्थ्यौ। अहिलेको तीजको गीतमा यो वजन खोज्नु पर्ने भएको छ।
'दर' शब्दको अर्थ झर्रो नेपाली भाषाले तीजका अघिल्लो रात आइमाईले खाने थोरै तर दरिलो भोजन भन्ने जनाउँछ। अनि 'दर खानु' भन्नाले अलेलि खानु, थोरथोरै खानु तर नामक (राम्रो) भोजन खानु भन्ने बुझिन्छ। 'कारन ते कारज है नीका। जथा कंद ते दर रस फीका।' विश्राम शब्दसागरका यी हरफहरुले “दर” शब्द पद्यमा प्रयुक्त हुँदा उखु भन्ने बुझाउँछ। गुलियो र मिठाससँग उखुको प्रकृति जोडिएको छ। सायद मीठो भोजन खाने भएकोले 'दर' शब्दको प्रयोग भएको विषयमा शोधखोजको खाँचो छ।
तीजमा खाने दरको प्रकृति र आयतन फेरिएको छ। गत साल अख्तियारले तडक भडकसाथ तीजमा दर खाने र खुवाउने कार्यक्रम आयोजना गर्नेलाई कानून अनुसार पच्चीस हजार रुपैयाँ जरिवाना सहित १५ दिन कैंद वा दुबै सजाय गर्न सक्ने नियम अगाडि सारेपछि केही कमी त आएको छ। तर, यो एउटा कानून हो, हामी हाम्रो आफ्नो संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्न आफै लाग्नु पर्दछ। तीज मितव्ययी, सौम्य र परम्परादेखि चलिआएको संस्कृतिको आभालाई समेट्दै यस तीज पर्वलाई 'मिलन उत्सव' र संस्कृतिको जगेर्ना गर्ने सेतुको रुपमा अगाडि सार्यौं भने हाम्रो पहिचानको खोजीको लागि दुःख गर्नुपर्दैन। अहिले हामी हाम्रो घर हेर्न पल्लो डाँडामा गएर हेर्ने बानी बसेको छ, अब हामी आफ्नो घर हेर्न घर भित्रैबाट हेर्ने बानी बसाल्यौ भने त्यो राम्रै हुनेछ।